~जीवनाथ धमला~
एउटा कुरुक्षेत्र जितेर म
घर आइपुगेको छु,
मेरो आगमनलाई—
आमाका आँखाहरूबाट बर्सेको हर्षाश्रुका अविरल ध्वनिहरूले
स्वागत गरिरहेछन्,
आमाको अनुहारमा अहिले सत्य छचल्केको छ,
मेरो विजयको अबिर पोतिएको अनुहारलाई
यतिखेर आमाको प्रसन्न मातृत्वले देखिरहेछ ।
आकाशले चैतन्यको गर्भ बिसाएको छ आँगनमा
र, उड्दै/बस्दै गरेका कपोतहरू
आँगनबाटै क्षितिजको सौन्दर्य पिइरहेछन्,
अहिले सत्य ढोकाहरूबाट छिरेर
दुखेका घाउहरू खोजिरहेछ ओछ्यानहरूमा
र, सुकेका आँतहरू छामिरहेछ मझेरीहरूमा
यसरी सत्य सधैँ सत्यकै खोजी गर्दो रहेछ ।
सत्यका गतिहरूले माथि पुग्नु छ, धेरै माथि अठोटका शिखरहरूमा
जहाँबाट नदेखियून् माटोमा अँध्याराका टुक्राटाक्रीहरू
र, बढून् गतिहरू, पुछ्दै परेलीमा टल्किरहेका पीरहरू,
आज, माटोको चन्दन लागेको छ निधारहरूमा,
निधार झुक्दैन, जहाँ सत्य छ,
सत्यको शिर सधैँ उच्च हुन्छ, झुक्नै जान्दैन,
आँखाहरूमा कान्ति छ, कान्तिमा सत्य छ
यतिखेर सत्य आमाको दूध बनेर
नानीहरूको ओठ छाम्न खोजिरहेछ ।