~जीवन थिङ~
कुसमयमा गर्भपात
गर्भपातमा झरेको
एक मुट्ठी आकाश बोकेर
सन्निपातका रापहरूमा आवेशको घोड़ा
युद्ध जित्न बढ़ेका खिनौरा हत्केलाभरि
हर साँझ, यो आँखाभरि
दौडन्छ – सुनाखरीको प्रत्येक कोपिला कुल्चँदै
म भन्दैछु तिमीहरूलाई
तीनवटा युद्धपोतहरू काफी छ
काफी राम, भरत, लक्ष्मण यो युद्ध जित्नलाई
तिमीले व्यर्थै अँगाल्यौ
शिवबाट उम्रेको कमल झैं तेस्रो नयनलाई
जोगिनु सक्नुपर्छ –
यो आगोबाट – यो लाभाको मुहान फुटिरहेको
धकधकाउने ज्वालामुखी हो
प्रत्येक रात अब तिमीलाई अनुभव हुँदैछ शायद –
यहाँ सपनाहरूमा तिमीलाई
गिज्याउन आउँछन् सयकडौं
बेकारी मुखहरू रित्तो पेट र रक्स्याहा आँखाहरू
तिमीलाई अब पिउनुपर्छ
आफैले बगाएको रगतली प्यालाहरूमा –
उदघोषणा पर्खनुसम्म
लेकबाट फेरि एउटा बुद्ध वर्लेर वंशेलीमा मृत्यु भोगिसकेको हुनेछ
शायद तिमीले अँगालेको सर्प
एउटा तक्षकको महाशक्तिलाई उछिनेर
हजारौं वर्षअघिको श्रापलाई सम्झेर उठ्नेछ
अनि वेष्ठित हुनेछ
तिम्रो गर्भको इतिहास
तिम्रो प्रेमको धरती
तिम्रो आराधनाको भूमिमा
तिमीले लत्याउन सक्ने छैनौं बिदम्बका आँखाहरू
हेर्नु बिहान बिहान गिद्धे आँखाहरू
बसैं सर्दै यतै आउँदैछन्
युद्ध सम्झ्यौं भने तिमी यसलाई शत्रु ठाने हुन्छ
दाँत पक्रेर उठ्न खोज्ने जस्तो
यो भोकले माहुतेलाई पछार्न सक्ने
पागल हात्तीको खापा खापामा
तिम्रो पवित्रतालाई कुल्चेर
व्यङ्ग्य कस्दै आउँदैछन् – पर्ख
यो तिम्रो शहरमा नपोस्।
हेर !
म नितान्त एकलो छु
तिमी शुन्य शुन्य छौ
हामी खलास भइसकेका छौं
अब बन्द गर्नुपर्छ चुहुने पवित्रताहरू
तिम्रो हाम्रो दृष्ट दृष्टिमा फरक छ
म रितिँदै हुन्छु
तिमी रितिँदै हुन्छौ
तर कसैले हामीलाई निल्दै हुन्छ
मैले प्रवाहरूलाई समेटेर बुझ्न खोज्दा
प्रत्येक झोंकामा प्वासका धुँमाहरू
हाम्रा चिम्नीबाट बग्दै गएको बोधमा
सल्केर देवरालीमा
मुटुले उभ्याइदिएको पर्खालमा पर्खालमा
सक्रियताका गर्मीले उसिनिदिएका दिवास्वप्नहरू
कुहेर फत् फत् झरेको
एक हातले भुईं हेरेर छामिसकेको छु।
मध्यान्तर हो भनेर सम्झौं भने
जम्मै मेरा आँखाखा बलात्कृत भइसके
म देख्छु मेरा खोक्रा सन्तानलाई
घरको ठूलो मूर्तिअघि
एउटा ठूलो बलिबेदीमा उभ्याएर तमासेहरू
नारा लगाइरहेछन् निरन्तर
निरन्तर मेरा सन्तानका कावा खाएर
काला कौवाहरू प्रत्येक बिहान बेलुकी
समाधिस्थ भइसकेको इतिहासको नाममा
रामधुनहरू रागमा सुनाएर झुक्ने गर्छन्
कस्तो मासुका रेखाहरू –
म कोशिका कोशिमा
आफ्ना अहोभाग्यहरू अध्ययन गर्दै मर्छु
दिन्हौं दिन्हौं म आत्मसात भएर आफ्ना अभाग्यहरूमा
दुर्घटनाको पाप बोकेर इतिहास
मधुपर्क छर्ने अभिनय लिएका काला ओंठहरूसित आत्मसात मर्छु
म मरुद्यानको इच्छा बोकेर सुक्दै सुक्दै जान्छु
मेरा आँखाअघि उनिउँ र तितेपाती झ्याङ्गिन्छन्
मेरो निधारमा पसिना गन्हाएर चाउरी परिसके
प्रत्येक बाटोमा एउटा फूल रोप्नअघि
एक झोंका बतासले उष्णता फ्याँकेर जान्छ सूर्यको
सूर्य जहाँ पट् पट् मरुभूमिजस्ता तप्तलाग्दो बग्छ
भोका अनुहारका रेखाहरू
मरेको शिवका रित्ता आँखा बोकेर बूढ़ो सूर्य सकी नसकी
हिमालतिर बढ्न हात फैलाउँदैछ
पापी हत्केलामा हेर्नु नियालेर
भर्खर आमाको हत्या गरेर लागेका रगतका टाटाहरू
सबलाई अभिशाप दिन बढ़ेका छन्।
समात्यो भने त्यो रक्तिम हत्केलालाई
एउटा जीवनको डील डीलमा
सहारा बोकेको प्रायश्चित रुनलाई
आकाशमा उन्न सक्ने थियौं
प्रश्नहरूमा उठेका हाम्रा टाउकाहरूले नियालून्
प्रत्येक – यी खोक्रा सन्तानहरूले
धर्म दर्शनको पानामा लुकेका पहाड़हरूले
पखालून् आफ्ना छाती टकटकाएर
आफ्ना हारमा झुकेका सतहका आयतनहरू
तिमीले पनि हेरेछौ
मैले पनि हेरेको छु
र यसरी हामीले हेऱ्यौं
शताब्दीसम्म झुल्केको बूढ़ो घाम आजकल बिम्ब हराएर
अन्धानुकरण माग्छ प्रत्येकलाई
तिमीलाई उसले एक छाक माग्छ
एक बटुको छांग माग्छ
तर मेरो सपनाका आधारहरू
यस्ता वक्षस्थलसम्म आस्था रोज्दैनन्
नत्र मेरो बिहानमा कलंक मात्र जन्मन्छ
हेर्नू साँझको गीत मैले सुनाएको थिइनँ।
हामीले ओछ्याएको हिमालमा
चिट्ठी साटासाट भएजस्तो
तिमीले किन साटासाट गऱ्यौ
हेर्नू अस्वस्थ वायुका झोंकाले
तिम्रा सम्पूर्ण सन्तान मासिनेछन्
मेरो याकथुम्बाका भाइ
तिमीले एउटा विशाल फूल चुँड़लेर सिउरेका छौ
प्रत्येक रात सुत्नअघि सिरानमा तिमीले
मायालुका चिट्ठीसितै
विषले भरिएका सन्धिपत्र पनि ओढ़ेका छौ
त्यसैले प्रत्येक रात दिउँसैजस्तो
तिमीलाई ऐंठन पर्छ
मेरो हिमालको छोरो
हिमाल तिम्रो आफ्नै हो।
सारंगीमा गाउन लागेको धुन तिमी
मैलेजस्तै अब आफ्नै मुटु उन्न सकेनौ भने
फ्याँकिदेऊ सयपत्रीको हार चुँड़ाउनको सट्टामा
सयपत्रीको हार तिहारलई
सारंगीको दुन तिहारलाई
तर तिमी कहिल्यै गधालाई धोएर गाई बनाउन सक्दैनौं
त्यसैले घरका झ्याल ढोकाहरू बन्द हुनुपर्छ
र प्रत्येक घुम्तीमा खोर्सानीको धुवाँमा विरोध रोप्नुपर्छ।
तिमीले अतिक्रमण गरेको पहाड़मा
एक थुङ्गा गुराँसलाई टिपेर
सबै पत्रदल यत्रतत्र पारिदेऊ
र भुईंलाई नियाल
कस्तरी साक्षात्कार हुनसक्छ शिवको जिउँदो रूप
किनकि प्रत्येक पाइला देवरालीमा
तिमीले आँसु पखालेका छौ
अब सबै पोखिएको आँसु समेटेर पिउन
तिम्रो अगि हिमाल छ।
पहाड़ छ।
बिहान छ।
साँझ छ।
पद-चिह्नहरू उखेल्न एउटा आकाश पनि छ।
सारहीन घर बोकेको सभ्यताले अघाउँदैलौं
किनकि हाम्रा पसीना ओह्रालो बग्छन्
किनकि हाम्रा पर्खालहरू ओह्रालै लड्छन्
कहिवे ठड्याउनु पर्ने आफ्नैपनका सारत्तवहरू
किनकि आजभोलि हाम्रा शिरहरू काटिँदै जान्छन्
किनकि हाम्रा युगका घेराहरू ओह्र्लै मात्र कुद्छन्
हाम्रा पराक्षेपहरू
हाम्रा अघिकरणहरू
हाम्रा आलिङ्गनहरू
कसिँदै – फुस्किँदै गर्छन्
किनकि हाम्रो क्यान्भासमा रंगहरू तलै चुहुँदै जान्छन्
अब चुकुल लाउनु पर्छ मूल ढोकामा
कि हाम्रा बतासहरू नचुवोस्
कि हाम्रा जीवनहरू नतुरोस्
ढोकाभित्र पस्ने प्रत्येक इच्छालाई सोध्नुपर्छ
कि उसको क्षितिजमा उसले
हाम्रा भाग्यरेखाहरू पनि कोरेका छन् कि
कि उसका हत्केलामा तीन थुङगा फूलहरू ओइलनेछन् कि
किनकि प्रत्येक थुङ्गा फक्रँदा
एउटा युग उठ्न खोज्छ
साँचो अर्थमा ओसिरसको श्रीपेचमा एउटा रंग थपिन्छ।
सिंहासन भरतलाई सुम्पेर
राम खोलापारि पुगिसके
यो भरतको शासनमा
थाङ्का च्यातिएजस्तो
धुजा धुजा भएर
छातीभरि भरि घाउ लागेजस्तो
छटपटाइरहेछन् प्रत्येक डाँड़ामा
हात उचालेर आफ्नो अभाग्यलाई धिक्कार्दै
मृत्युदूत पर्खेको आकाश
यो रित्तो आकाश
यहाँ तिर्खाले छटपटाएर
सधैँभरि काकाकुलहरू विचरण
आफ्नै टिस्टाको पानीलाई
खात सम्झी पिउन नसकी
क्का हान्दै आफ्नै निधारलाई।।
(मई,2010)
(जीवन थिङको अप्रकाशित र अपूर्ण खण्डकाव्य)
1978 मा दिवङ्गत सिक्किमका जीवन्त कवि जीवन थिङले मृत्युभन्दा केही दिनअघि मात्र यस खण्डकाव्यको रचना प्रक्रिया शुरु गरेका थिए, जो तिनको असायमिक निधनले गर्दा अपूर्ण रह्यो। थिङले ‘नार्सिसस’ – बारे भनेका थिए – “नार्सिसस ग्रीक मिथोलोजीको त्यो सुन्दर युवा हो जो आफ्नो सुन्दरतामा मक्श भएर पानीमा आफ्नो प्रतिबिम्ब हेरेर प्राण त्याग गर्छ। हामी पनि आफ्नै निष्क्रियता र आफ्नैपनमा मस्त रहँदा आज अस्तित्वहीन भइरहेका छौं। युगलाई आफ्नोअनुसार चलाउने (युगलाई ओछ्याएर जिउनेहरू) एकमुठी शक्तिशालीहरूका नियन्त्रणमा हाम्रा भाग्यहरू निर्धारित भइरहेका छन्, जसलाई देखेर हाम्रो महानताको प्रतीक कञ्चनजङ्घा पनि धराशायी भइरहेछ।” – सुवास दीपक