~अनिलकिशोर घिमिरे~
यस पटक प्रकृति पनि मात्तियो
क्रुर बनेर सबै सोत्रान्न पार्यो
क्षत विक्षत माटोभित्र
सिङ्गो बस्ती गुट्मुटाइदियो
डाँडादेखि फेदसम्म केही सग्लो रहेन
आकाशका चम्किला ताराहरू पनि
प्रकाश दिन छाडिसके
शोक र सन्तापले,दुख र पीडाले
सारा पृथ्वी सेलायो
मानौँ, सूर्य समेत चिसियो
संसार पो टुहुरो भयो कि
उदीयमान पुस्तालाई युगले
बोझको भारी बोकायो
उराठिलो र दयनीय जीवन
कठोर निन्याउरो अनुहार
त्रिपालका चुहुने झोपडीहरूमा
सहानुभूतिको के गुञ्जन ।
मेघ गर्जन थाल्यो, भेल उर्लन थाल्यो
बिगार्ने, भत्काउने, उखेल्ने वाहेक
बनाउने त कोही हुन्न कि
पहिरोमाथिीो कुहिरिमण्डलमा
चित्कारको आवाज सुन्ने कोही भएन
गगनचुम्बी शिखरबाट झरेको
हिमआँधीबीचको कोकोहोलो
कसले छेकोस् ?
आपत्तिहरू घिस्रिँदै आए
तुवालोसरी गाउँभरि
चुनौती सामु झन् अजङ्गको
पहाड खडा भएको छ
तर, निसाना पहिल्याउने निकाय छैन
सुनकोशीको कलकलमा
बिहानीको लाली चम्कने होला कहिले
सुन्दर बगैचाको निर्मल सुसाइ
फर्कने होला कहिले ।
मिर्मिरे उषाको प्रतिक्षामा
जाग्राम बसेको हिसाब छैन यहाँ
तर, दुखक खोचहरू सकिएका छैनन्
कठोर जाडोको सन्नाटाले
मर्माहत पीडा थप्ने निश्चित छ
सौभाग्यको युग त क्षितिजपारि पो छ रे
प्रतिक्षा कति गर्नु
शङ्का र सुस्केराको पनि बेला होइन यो
तर कतिपय पाखुरामा बिल्ला भिरेर
भोजको मञ्जिल बनाउँदै छन् रे
मगज खियाउनेहरूको बकबासले
सिङ्गो बस्ती त्राहिमान छ
पुँजीको सिक्रीमा जकडिएकाहरू
सुँक्क सुँक्कको नाटक गर्दै होलान्
अनि, भावनाको नक्कली जालभित्र
पीडालाई थुपारेर कोही
कालो नकावधारी वस्त्र पहिरिँदै होलान्
नयाँ निर्माणको शिलन्यास
हुन्छ हुदैन थाहा छैन
नयाँ जीवनको सञ्चार
हुन्छ÷हुदैन थाहा छैन
सन्त्रासको गास निल्दै कति बस्नु अब
सुखमय बसन्तको वहारको
खोजीमा निस्कनु पर्छ
हिउँका हुरीहरू
अनि, वर्षातका गर्जनहरूलाई
जित्ने आँट गर्नु पर्छ
मृत्युको झम्ट्याइलाई रोक्ने
अदम्य हिम्मत बोक्नु पर्छ
अब आफ्नै विश्वासको
मधुरतम गीतमा रम्न सिक्नु पर्छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २९ – June 6, 2015 – २०७२ असार २ गते, बुधबार)