~गोविन्दप्रसाद आचार्य~
तिम्रो घरमा बुढा बाउको टुप्पी घोटेका छौ
अनाहकमा भाइ मारेर अंश जोडेका छौ
नमस्ते साइनो पनि तिम्ले तोडेका छौँ
खाउँ बस आरामले अंश जोडेका छौँ
मिलाउँदिनँ हात पनि रगत लागेको छ
आउँदिनँ म तिम्रो घरमा रगत पाकेको छ
मणि खान सम्झौताको टोपी थापेका छौ
याद गर अंश खाने भाइलाई मारेका छौ
भुहारीको अगिल्तिर भाइलाई मारेका छौ
बुहारीलाई जीवनभरि रूने पारेका छौ
तिम्रा कुरा सुन्दा विश्व चकित परेको छ
भाइको टोपी देखाएर माग्नु परेको छ
मर्नेहरू मरिगए तिम्रो घर बन्यो
सबको घर बन्नु पर्यो तिम्रो मात्र बन्यो
सानो हो र घर पनि साहुकोभन्दा ठूलो
पानी हैन घर बनाउन रगतको खोलो
घर बनाउने रक्त खोलो उर्ली आउनु पर्छ
भाइका छोरा छोरी पनि बस्न पाउनु पर्छ
असिना झैँ लक्ष्यहरू सबै बिलाएका
सुखी युग ल्याउने भन्दै रगत बगाएका
घर बनाउन यति ठूलो बलिदान भयो
बलिदानको रगतले तिमीलाई खान भयो
क्षयहरू पगालेर घर अग्लिएको
रगत बग्यो खेत हाम्रो समाज बदलिएको
सिर्जनशील रगतमाथि बन्यो तिम्रो घर किन ?
मुसलधारे पानी परोस् तिम्रो घरमा ओत लाग्दिनँ
साँझको बत्ती निभेको छ त्यसैले म आउँदिनँ
स्यालको ओडार जस्तो लाग्छ त्यसैले म आउँदिनँ
पाहुनाको रूपमा पनि तिम्रो घरमा म आउँदिनँ
थकाइ र निद्रा लागोस् बास बस्न म आउँदिनँ
तिम्रो घरको रगतमा समाजको लक्ष्य थियो
संसारलाई बदल्नुको आशा ज्योति धप्प थियो
मानिसलाई माया गर्ने लक्ष्य तिमीभित्र छैन
तिमी हैन अब अर्कै मान्छे उठ्नु पर्छ
सम्झौताको तिम्रो घर मान्छे उठ्दा भत्किने छ
तिम्रो घर भत्किएर नयाँ घर सिर्जिने छ
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३८ – Aug. 26, 2015 – २०७२ भाद्र ९ गते)