एकाङ्की : आधुनिकताको एउटा पात्र

~अर्जुन थापा~

पात्रहरु :
१. निता (वर्ष ३०)
२. कविता (वर्ष ३८)

समय : साँझ
स्थान : झमेलको कुनै एक रेस्टुरेन्ट ।
निर्देशन : (पर्दा विस्तारै खुल्दै जान्छ । रेस्टुरेन्टको बाहिर पट्टी रहेको मेचमा बसेर कविताको प्रतिक्षा गरी रोखेकी हुन्छिज् निता । हिन्दी गीत बजी राखेको हुन्छ भित्र । एक ग्लास पानी र खानाको मेनु टेबलमाथि राखेर वेटर भित्र पसिसकेको हुन्छ । टाउको यता उती घुमाएर हेरिराखेको हुन्छिन् निता । टाढैबाट हात हल्लाउँदै निताको अगाडीपट्टी रहेको मेचमा आएर बस्छिन् कविता)

कविता : कतिखेर भो आको ? आउन ढिला त गरिन नी मैले ?

निता : (घुर्की देखाउँदै) अझ ढिला त गरिन पो भन्छेस त ? नक्कली !

कविता : (एकछिन् हाँसे पछि) मेरो बानी तँलाई थाहा छँदै छ नि । समयमा पुग्यो वा समयमा गरेको काम मेरो सफल हुँदैन भनेर । नरिसा न मोरी ।

निता : ल, ल ! के खाने चाँडो भन ? भोकले मुसा दौडेर पनि भाग्न लागिसक्यो पेटमा आफ्नो

कविता : आज तेरो छनौटको जे भए पनि हुन्छ ।

निता : झोल म:म र सुकुटी खाउ, हुन्छ ?

कविता : तेरो जे इच्छा । आज मेही भन्दिन म । आजको साँझ तेरो छनौटमा ।

(अब दुवै जना साथीहरु (निता र कविता) कुरा गर्न थाल्छन् । खाना अझै आईसकेको हुँदैन । मान्छेहरु विस्तारै आउने क्रम बढ्दै गई रहेको छ । उनीहरु साधारण घर, पढाई तथा कामको कुरा गरि सकेपछि ।)

निता : विवाहको कुरा लगभग पक्का भयो रे नि तेरो, होइन ? ल बधाई छ । ढिला नै भएपनि विवाह गर्ने निर्णय लिएको सुन्दा खुशी लाग्यो ।

कविता : (लामो हाँसो हाँस्दै) अझै पक्का भईसकेको छैन । आफुलाई तयार पार्न खोज्दै छु विवाहको लागि । जाबो विहेको लागि के हतार गर्नु छ र । चाहनु मात्र प¥यो मैले । लाइन लाग्छन् मुला केटाहरु घरको अगाडी ।

निता : (कविताको आँखामा हेर्दै) कति संकुचित छन् विवाह प्रतिको तिम्रो सोचाई ।

कविता : (मोबाइल खेलाउँदै) सिउँदोमा सिन्दुर हाल्देर र घाँटीमा पोते लगाई दिँदैमा आजिवन लोग्ने तथा उसंग सम्बन्धित व्यक्तिको खुट्टा ढोगी बस्नुपर्ने ढोङ मलाई अपाच्य छ ।

निता : प्रकृतिको विरुद्धमा गएर बोल्दै छेस त ।

कविता : हामी २१औं शताब्दीमा छौं । के लगाउने, के खाने, कहाँ जाने, को सँग प्रेम र विवाह गर्ने निर्णय अरुलाई छैन । यो शरीर मेरो हो र यसलाई कसरी जिउनुपर्छ भन्ने सम्पूर्ण अधिकार मात्र मलाई छ ।

निता : के विवाह गर्ने जति सबै महिलाहरु दुखि छन् त ?

कविता : मलाई अरुको केही मतलब छैन । सबैभन्दा ठुलो म आफु खुशी हुनुपर्छ । अरुलाई सेवा गरेर, आफ्नो भाग अरुलाई दिएर र अरुलाई खुशी पार्ने चक्करमा आफु दुखी कदापी हुन सक्दिन ।

निता : त्यसो भए के अब संधै एक्लै भएर बस्छेस त ?

कविता : विवाह गरेर मात्र सबै कुराले पूर्णता पाउँछ भन्ने तिमीहरु जस्तो १४औं शताब्दीको विचार बोकेका महिलाहरु देखेर दया लागेर आउँछ मलाई ।

निता : अरु केही होइन । आधुनिकताको भुत चढेको छ तँलाई ।

कविता : आधुनिक छु म । विवाह नगरी ति सब कुराहरुको अनुभव लिन चाहन्छु । मनले मन पराएको प्रेमी । अग्लो, गोरो, शरीरका हरेक अंगहरुमा ठोस लगाउन नसक्ने । साथमा संगै लिएर हिँड्दा सबैको नजर उसैमा पर्ने । मेरो एक इशारामा आफ्नै आमा बुबालाई पनि त्याग्न तयार हुने । मेरो मनको चाह व्यक्त गर्नुपूर्व आफैले बुझेर पुरा गरिदिने । पैसा, पढाई देखि हरेक कुरामा निपूर्ण व्यक्ति हुनुपर्छ लोग्ने हुनलाई मेरो ।

निता : सपनाको संसारमा छेस त । व्यँुझि र यथार्थतामा बाँच्न सिक ।

कविता : के कमि छ र म मा ? मेरो एक इशारा नै काफी छ ।

(म:म तथा सुकुटी सेलाई सक्न लागेको छ टेबलमा । कविता एक कुनामा गएर मोबाइलमा कुरा गरी राखेकी हुन्छे । निता फेरी एक्लै पर्छे । दिमागमा कविताले भनेका कुराहरु खेली रहेको हुन्छ निताको । विस्तारै अँध्यारो हुँदै गईरहेको छ । अलिक पर बसेर बियर पिउँदै गरेका केटाहरु घरिघरि उनीहरुलाई हेर्दै मस्कि रहेका हुन्छन् ।)

कविता : बिहान काम गर्ने मान्छेले ओछ्यानमा २ कप चिया ल्याएर, पिए पछि उठ्ने । टक्क परेर, कानमा हेडफोन लगाएर डान्स क्लासमा जाने म । मेरो इच्छा अनुसार घरमा खाना पाक्ने गर्छ । हप्तामा एक पटक रेस्टुरेन्टमा गएर साथीभाईहरुसंग रमाइलो गर्नुपर्ने मलाई । काठमाण्डौमा कुनै नयाँ लुगा आउनासाथ बुटिकबाट फोन आउँछ मलाई । साथीहरु, दिदी बहिनीहरु मेरो लुगाको र फेसनको नक्कल गर्छन । साथीभाई तथा इष्टमित्रहरु मसंग बसेर फोटो खिच्दा गर्व गर्छन भने बिहान ५ बजे उठेर मन्दिरको घण्टा बजाएर लोग्ने, सासुहरुको खुट्टा ढोगेर उनीहरुले भने अनुसार काम गर्न कुनै हालतमा सक्दिन म । यस्तो जतन गरेर राखेको शरीरलाई कुनै मन नपरेको पुरुषलाई खेल्नको लागि दिनु आफुलाई अन्याय गरे सरह हुनेछ ।

निता : (अचम्म मानेर) म भन्दा उमेर तथा अनुभवले पनि पाको छेस । तर पनि किन यस्तो ? श्रीमानको माया, न्यानो अंगालो र स्पर्शको महत्व तँलाई के थाहा ? आफ्नो बच्चालाई छातीमा राख्नुको आनन्द तँलाई के थाहा ? त्यो तोते बोली, मिठो मुस्कानको आनन्द के थाहा ?

कविता : (म:मको अचारलाई चम्चाले खेलाउँदै) बच्चा पाउनलाई लोग्ने नै चाहिन्छ भन्ने छैन । पुरुष भए पुग्छ । अझ २१औं शताब्दीमा त पुरुष पनि चाहिन्न । विज्ञानले धेरै फड्को मारीसकेको छ मेरो प्यारो साथी र आफैले बच्चा जन्माएर झनझट लिन चाहन्न म । दाई, भाई र दिदी बहिनीका बच्चाहरुलाई कहिले काँही खेलाए त पुगी हाल्यो नि ।

निता : कसरी सम्झाउ तँलाई म ! आफ्नो घर, श्रीमान र परिवार भनेको आफ्नो हुन्छ ।

कविता : बकवास कुरा गर्दै छेस त । यो संसारमा कोही आफ्नो हुँदैन । अर्को कुरा जन्म दिने आमा बाबु, दाजुभाई, दिदी बहिनी चाँही आफ्ना होइनन् र ? बिहे गर्दैमा उनीहरुलाई हामीले गर्नुपर्ने कर्तव्य हट्छ र ?

निता : मेरो कुराको फेरी गलत मतलब निकालीस तैंले । श्रीमतीले जति, श्रीमानको घर र आफन्तको हेरविचार गर्छे त्यत्तिकै श्रीमानले पनि श्रीमतीको आमा बाबुलाई हेर्नुपर्छ । तर यसको मतलब यो होइन की श्रीमतीको माइतीको भान्छामा दाल, चामल, नुहाउने साबुन सकियो तथा पर्दामा प्वाल पर्दा समेत छोरीले गएर समाधान गर्ने । माइती पक्षका मानछेहरुले पनि हरेक कुरामा हामीले भनेकै वा हाम्रो इशारामा चल्नु पर्छ भनेर कान भर्ने काम कदापी गर्नु हुँदैन । हरेकको आफ्नो जिम्मेवारी हुन्छ ।

कविता : तेरो कुरा मलाई केही पचेन । आफ्नो मनको पिडा आफ्नो आमालाई नभने अरु कसलाई भन्न जानु ? म त हरेक कुरा भन्छु मेरी आमालाई । आमा मात्र नभएर गुरु पनि हुन् मेरी आमा । उहाँले सदैव मेरो राम्रो होस भनेर नै मलाई सिकाउने हो । उहाँको हरेक आदेशलाई मान्छु म ।

निता : तेरो यस सोचले गर्दा पछि तँलाई नै बेफाइदा हुनेछ ।

कविता : मतलब छैन मलाई भोली के हुन्छ । पढेलेखेकी छु । कमाउने छु । मलाई कसैको तल परेर बस्न कदापी स्विकार्य छैन । अरुलाई तल पार्ने खालको मान्छे हु म । भोली के हुन्छ कसले देखेको छ र ? आज रमाउन जान्नुपर्छ र मेरी आमा भन्नु हुन्छ कि, “जवानीमा सुन लगाउने धोको थियो पुरा भएन । यो उमेरमा सुन, हिरा सब छ, तर लगाउन मन छैन । त्यसैले जे छ जवानीमा गर्नुपर्छ ।” त्यसैले मेरो आमाको कुरा सदैव मलाई याद हुन्छ । दाँत झरे पछिको रमाइलो के काम । यहि हो मोजमज्जा गर्ने उमेर । जवानीमा नगरेको मोज कहिले गर्नु । बुढी भएपछि त कसले हामीलाई हेर्छन र हो !

निता : यो तेरो आधुनिकता र स्वतन्त्रता नभएर व्यविचार हो तेरो । पछुताउने छेस कुनै दिन त ।

(दुवै जना फेरी चुपचाप लाग्छन् । दुवैलाई एक अर्काको विचार प्रति असहमति भएको प्रष्ट थाहा हुन्छ । साँझ धेरै नै भईसकेो छ । टेवलमा दुईकप कफी राखेर वेटरभित्र पस्छ । रेस्टुरेन्टमा मान्छेहरु पातलिँदै गएका छन् । उनीहरु बसेको वरिपरी फूलहरुले छुट्टै आनन्द छरिरहेको छ । बत्ती बल्दा झन छुट्टै विशेष देखिएको छ ति फूलहरु । दुवैजना ति फूलहरुलाई हेरिरहेका छन् ।)

कविता : (फूललाई देखाउँदै) यी फूलहरुमा भमराहरु आउँछन् रस चुस्छन् जान्छन । तर केही गर्न सक्दैनन् यी फूलहरुले । यदि कुन भमरालाई रस चुस्न दिने भन्ने अधिकार ती फूलहरुमा भएको भए के हुन्थ्यो होला ?

निता : हेर, महारानी ! त संग कुरा गरेर मैले सक्दिन् । बरु जा कुनै ध्यान केन्द्रमा । तेरो सोचले तँलाई बर्बाद गरेर छोड्ने छ । जीवनमा मोज मज्जा, रमाइलो र मैले भनेको नै हुनुपर्छ भन्ने सोचले कुनैदिन एक्लै पार्ने छ तँलाई । अहिले ज–जसको साथ पाएर यति माथि उडी राखेकी छेस एकदिन सबैले तेरो साथ छोड्ने छन् । अझै पनि केही सक्किसकेको छैन । हुन त मान्छेले जन्मजात लिएर आएको स्वभावलाई परिवर्तन गर्न सक्दैनन् भन्छन् । तेरो साथी मात्र नभएर बहिनी बनेर तँलाई सम्झाको छु ।

कविता : यसको लागि धन्यवाद । के गर्नु म मान्छे नै यस्तै छु । मलाई जोखिममा जीवन बिताउन मन लाग्छ । कविताले एकपटक जे निर्णय लिन्छे त्यसपछि पछाडी कहिल्यै फर्केर हेर्दिन चाहे त्यो निर्णय गलत नै किन नहोस ।

निता : यो तेरो घमण्ड बोली रहेको छ । त इल्युजनमा बाँची राखेकी छेस ।

कविता : सबैले बिताई रहेको जीवन बिताउनमाके मज्जा छ र साथी । सबैभन्दा फरक तरिकाले बाँच्न चाहन्छु । आकामा उडी रहेको चराहरु जस्तै । जता उडे पनि त्यसलाई रोक्ने कोही नहोस् । स्वतन्त्र भएर खुल्ला आकाशमा उड्न चाहन्छु म ।

निता : त तेरो स्वतन्त्रता तँलाई नै भयो । रात पर्न लाग्यो हिँडौ अब । घरमा उ मलाई कुरी राखेको होला । के गर्नु म अगाडी नभई भुजा समेत नै खाँदैन उसले ।

(निस्कन्छन् दुवै जना त्यहाँबाट । रेस्टुरेन्टमा विस्तारै बलिरहेको बत्तीको संख्या कम हुँदै जान्छ ।)

(पर्दा बन्द हुन्छ ।)

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.