कविता : श्रद्धाञ्जली

~एम.एल. ओली~

हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो
देशको शान धरहरा मेरो ठहरै पार्दियो
शहर मात्र घाइते छैन गाउँको त्यै हाल
सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल ।

देवता बस्ने मन्दिर पनि छोडेन साथीले
चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले
सुन्दर थियो आमाको रूप कुरूप बनायो
भूकम्प आयो नासेर गयो बिपत्ती जनायो ।

बसेको बास उत्तानो भयो सुनियो चित्कार
राष्ट्रले पीडा भोगेको बेला पन्छिनु धिकार
नदिई निम्तो आएर पियो नेपाली रगत
खबर सुनी बगायो आँशु रोएर जगत ।

देशमा आयो विपत्ति ठूलो तर्सिए मानव
पङ्क्षीले गुँड छोडेर उड्यो बौलियो दानव
भागेन पीडा कुनामा बसी भजन गाएर
उद्धार गरे दयाले हेरी छिमेकी आएर ।

सहयोगी हात बढेको थियो देखर विपत्ति
मसानघाट आत्तियो धेरै लासको आपत्ति
विपत्ति पर्दा सयोग गरौँ मानव धर्म हो
राहत देख्दा कारेको र्‍याल पातकी कर्म हो ।

फाटेको तन दुखेको मन आँशुले ढोकेको
मिलेर उठौँ सङ्कट टार्न देशले भोगेको
पल्टाई बास तोपेर मार्दा आएन बिहान
बसुला भनी हालेको घर भएछ चिहान ।

साहसी मेरो नेपाली जन सङ्कट धपायो
विपत्ति सारो भएर पनि सहेर पचायो
श्रद्धाको जल अर्पण गर्छु ढलेका वीरमा
कामना गर्छु घाइते पीर दुखेका शिरमा ।

(रुकुम)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २६ – May 28, 2015 – २०७२ जेष्ठ १३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.