~हरिप्रसाद भण्डारी~
जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले आफूलाई आफ्नो ग्याङको नायक सम्झन्छ । अनुशासन, नैतिकता, मर्यादा आदि कुरा कहिल्यै अनुसरण गरेन उसले । जब ऊ सडकमा उत्रिन्छ र मात्तिएर चर्को स्वरमा तथानाम बोल्न थाल्छ तब अरू मानिसहरू भित्र पस्न बाध्य हुन्छन्— डर र लाजले ।
जनआन्दोलन चर्किरहेको थियो । दिनभरि जुलुस हुन्थ्यो । साँझमा कहिले मसाल जुलुस त कहिले ब्ल्याक आउटको कार्यक्रम पर्दथ्यो । सारा जनता मन, वचन र कर्मले आन्दोलनमा होमिएका थिए । एक दिन साँझ ब्ल्याक आउटको कार्यक्रम तय भएको थियो । निर्धारित समयमा ‘बत्ती निभाउन अनुरोध गर्दै’ आन्दोलनकारी समूह सडकमा उत्रियो । प्रायः सबैले बत्ती निभाए । वातावरण पूरै अन्धकारमय बन्यो । आन्दोलनकारीहरू नारा लगाउँदै मूल सडकतिर लागे ।
“ए साले बत्ती बाल ।” एकै छिनपछि आमा चकारी गाली गर्दै र चारैतिर ढुङ्गा हान्दै अर्को समूह आयो । दोस्रो समूह जगतेकै नेतृत्वमा आएको रहेछ । यिनीहरू चोकमा जम्मा भए र सबैलाई तथानाम गाली गर्दै आन्दोलन विरोधी नारा लगाउन थाले । चोकमा एकछत्र राज जमाएर उफ्रिरहेका थिए, त्यस्तैमा आन्दोलनको पक्षमा नारा लगाउँदै आन्दोलनकारी समूह फर्कियो । आन्दोलनकारीहरू आएको देखेपछि हुल्याहाहरू त्यहाँबाट भागे । त्यो दिन त्यसरी नै बित्यो ।
अर्को दिन कफ्र्यु तोड्दै दशौँ लाखको जुलुस सडकमा निस्कियो र चर्का नारा लगाउँदै सहर परिक्रमा ग¥यो । जनताको बृहत् सहभागिता देखेर विदेशीहरूसमेत दङ्ग परे । निरङ्कुश शासकहरू अत्तालिए । साँझ पनि ब्ल्याक आउटको कार्यक्रम थियो । ‘आज झडप हुन्छ ।’ धेरैले यही अनुमान गर्दै थिए तर परिस्थितिले कोल्टे फेरेछ । बत्ती निभाउने समय हुँदा नहुँदै हिजोका दादाहरू चोकमा जम्मा भए र उल्टै कार्यक्रमको समर्थन गर्दै बत्ती निभाउन अनुरोध गर्नलागे । साथै उनीहरू हिजो जसको पक्षमा जिन्दावादका नारा लगाएका थिए उसैलाई आज मुर्दावाद भन्दै थिए ।
अनुमान गर्न गाह्रो परेन, दिनमा निस्केको विशाल जुलुसले उनीहरूको रङ फेरिदिएको थियो । *** ।
–२०६३/०१/२३, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)