~बिक्रम भक्त जोशी
‘हेलो…’
‘………’
‘हेलो…’
‘………’
उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर भाको देखिएन।
यतिबेला फोन गरेर नबोल्ने कि त चिनजानकैहरु जिस्किंदैछन् या त कोई अन्जान ब्लफ मार्दैछन्। यहि सोच्दै मात्र थिएं कि फेरि घण्टी बज्यो। उही नम्बर।
उठाउंछु। यसपटक म बोलिनं। फोनमा गाना पो बज्न थाल्यो।
‘सम्झी बस्छु कता कता यो सांझको मन्द रातमा…’
१९७४ ए.डि.को गाना बज्दै थियो। फिरोज स्याङ्देन आफ्नो छुट्टै खाले धोद्रे स्वरमा गाउंदै थिए। म एकतमासले सुन्दै थिएं। बिस्तारै रहस्यको पर्दा उघ्रींदै गयो। यो त्यही गाना जुन मलाई पहिलोपल्ट उनैले सुनाकी थिईन्। यो गाना पछि नै हो मेरो १९७४ ए.डि.संग परिचय भाको।
गाना सकियो। म मोबाईल कानमा टांसेर सुनिरहेकै थिएं। स्वाईंय्य आवाज माझ सुस्केरा हालेको मधुरो आवाज सुन्छु। सायद फोन गर्नेले आफ्नो आवाज नफुत्कियोस् भनेर ट्याप्प मोबाईलको माउथपिस छोपेको हुंदो हो। पांच मिनेटसम्मको शुन्यता पछि मै बोलें।
‘श्रीया…’
हत्त न पत्त उताकोले फोन राख्दिन्छ। मोबाईल कानबाट हटाएर स्क्रीनमा टोलाउंछु। नयां फोन नम्बर मोबाईलमा एक छिन पिलिक्क गरेपछि होम स्क्रीन देखापर्छ, अनि केही छिनमा ब्ल्याङ्क।
जुनसुकै नम्बरबाट गरेपनि मलाई थाहा थियो फोन गर्ने उनै थिईन् … श्रीया … जसले छ महिना अगाडि मबाट टाढा जाने फैसला सुनाकी थिईन्।
म उनको हरेक चाल थाहा पाउन सक्छु। उनको श्वास लिने तरीका। उनले श्वास छोड्ने तरीका। उनको नबोलिकनै पनि बोल्ने तरीका। कहिलेकाहिं यसरी नैं राती राती सम्म हामी केही नबोलिकनै घण्टौं फोनमा बिताउने गर्थ्यौं, एकार्काको निश्वास सुन्दै। शुन्यतामै पनि हाम्रो वार्तालाप हुन्थ्यो। यसरी नै भित्ते घडी टिकटिक गरिबस्थ्यो। यसरी नै छिनछिनमा लाटोकोसेरो अन्धकारमा चिच्याउंथ्यो। पल्लो घरको जापानीज स्पिट्ज रातविरात भुकिबस्थ्यो, यसरी नैं ।
* * *
‘सुत्ने बेला भा’छैन भन्या?’ टिकटिक गर्दै गरेको भित्ते घडी हेर्दै मैले भनें।
‘ह्या… भर्खर त एक बज्यो।’ श्रीयाको बिन्दास जवाब।
‘भोलि झुम्म पर्छ के!’
‘हुन्न काय्।’
लाडे पल्टेर बोल्नु पर्दा श्रीया अनौठौ पाराले बोल्ने गर्थी। ‘क्या’ लाई ‘काय्’ गर्थी, ‘हुन्न बा’ भन्नलाई ‘हुन्न बाय्’ गर्दै लेघ्रो तानेर बोल्थी। शुरुमा त अनौठो लाग्थ्यो, तर पछि बानी परेपछि यिनै पनि प्यारो सुनिन थाल्यो।
पल्लो घरको जापानीज स्पिट्ज अचाक्ली नै भुक्दै थियो। जिम्मी – निख्खर सेतो सानो कांटको कुकुर। रातीको बेला घरको आंगन वरिपरि ओहोरदोहोर गर्दै भुक्दै गर्दा सानो सेतो भुत्ले भकुण्डो यता र उता गुड्दै गरेको जस्तो देखिन्थ्यो।
पर्दा बन्द गरेर म फेरि श्रीयालाई फोन राख्न कन्भिन्स गर्न थालें। तर माने पो। जिद्दी पनि कस्तो ज्याद्रो! झ्वाप्प फोन हाल्दिम्, भोलि महाभारत हुने पक्का।
‘ल अब म ढल्न लागें के। निद्रा लाग्यो नि त।’
‘नाटक होईन है। भन्द्याछु।’
‘सिरियस्ली! रातभरी जाग्राम राख्ने बिचार हो कि क्या हो?’
‘ल ल। गफ नदेउ। तिम्लाई मन लाग्यो भने ब्यान पाँच बजेसम्म’नि बस्न सक्छौ। था’नपा हो र!’
‘भोलिपल्ट शनिवार थियो नि ऊ बेला, तिम्रो टाउको!’ म अलि झर्केर बोलें।
‘ल ल… बढी होईन। मेरो प्रशंसामा दुई चार कुरो गर। अनि बल्ल सुत्न पाउंछौ।’ यति भनेर उनी खित्खिताउन थाली।
निद्राले फनफनी हुन थालेको दिमागले प्रशंसा के गर्न सक्नु! त्यसमाथि अब त म ईरिटेट हुन थालिसक्या थिएं। तैपनि आफूलाई सम्भाल्दै भनें,
‘लौ न क्युटिपाई, बेबीडल, स्वीटी। निद्राले इन्तु न चिन्तु भएं। दया गरेर सुत्न देउ न।’
‘प्लिज… भन न त। ही ही ही।’
‘प्लिज। ल भो?’
‘छ्या। त्यस्तरी झर्केर भन्नु पर्छ र?’
‘कसरी भन्ने त?’
‘प्लीईईईज… यसरी नि।’
‘प्लीईईईईईईईज। ल भो?’
‘ही ही ही।’
‘ल बाई।’
‘ओई। राख्ने होईन।’ मलाई थर्काई।
‘दादागिरी?’ मैले हांस्दै भनें।
‘भोलि आउने नि टाईममा। अस्ति जस्तो कुराउने होईन नि।’
‘हस् हजुर। अब राख्दिउं?’
‘ल ल बाई । छुच्चा।’
मस्किंदै फोन राखी श्रीयाले। लगत्तै म बेडमा लडिहालें।
बाहिर लाटोकोसेरो अलि लामै करायो। मैले अर्धबेहोशीमा सुनें, आधा निदाईसकेको जो थिएं।
* * *
‘मिष्टर जगराज प्रधान। के यहि हो हजुरको आउने टाईम?’
हस्याङ्गफस्याङ्ग गर्दै जांदा समेत भन्या समयमा पुग्नै सकिनं। ठ्याक्कै आधा घण्टा ढिलो पुगेछु। खाउंला झैं गरी हेर्दै थिई, उनी अर्थात् श्रीया।
डबल स्ट्याण्ड लगाको आफ्नो रातो होण्डा डिओ स्कुटीमा धम्मरधुस्स परेर बसेकी थिई। दुवै हात छातीमा बांधेर, एउटा खुट्टो हल्का हल्लाउंदै, आँखा तर्दै गर्दा यिनी मलाई मेरो स्कुलको हेडमिस जस्तो लाग्यो। डल्ली डल्ली हाम्री हेडमिस अङ्ग्रेजी पढाउंथी। पहिलो कक्षा उनैको हुन्थ्यो। स्कुल ढिलो पुग्दा, होमवर्क नगर्दा यिनी सबैलाई यसरी नैं हकार्थी, सात्तो लिन्थी। यमराज झैं लाग्थ्यो। क्लास सकेपछि साथी साथी मिलेर यिनले नसुन्ने गरी यिनैको हुर्मतै लिन्थ्यौं, अनि मरीमरी हांस्थ्यौं।
‘आमालाई जंचाउन लग्या थिएं नि। पालो आउंदा आउंदै ढिलो भो।’ म आफ्नो बचाउ गर्दैथिएं श्रीया सामु। हेडमिस अगाडि निरीह उभिएर गिड्गिडाउंदै गरेको विद्यार्थी झैं।
‘हस्पिटल जानुपर्ने मान्छेले किन टाईममा आउंछु भन्नु पर्या? झुठ किन बोल्ने?’ ऊ च्याठिंदै थिई।
‘हस्पिटल लानु पर्ने बिर्सें नि त।’
गोरो अनुहार, बान्की परेको आँखा, भरिलो ज्यान, टुप्पोतिर हल्का ब्लीच गरेको कुर्लुङे केश, सेतो टपमा कालो चुज पाईन्ट। औधि नै राम्री देखिएकी थिई। तर श्रीयाको सुन्दरतामा ग्रहण लाईदिने उनको रुखो व्यवहार हुने गर्थ्यो। आफूले भनेजस्तो भएन भने अगाडि पछाडी नहेरिकन आफ्नो रोष झारिहाल्थी। अहिले म उनको त्यही क्रोधाग्नि सामु नतमस्तक थिएं।
दुई वर्ष देखि मलाई अटुट अनि अथाह माया गर्दै आएकी प्रेमिका, अनि चौबिस वर्षदेखि मेरा हरेक आकांक्षा पूरा गर्न अहोरात्र लागिपरेकी मेरी आमा, जो पछिल्लो तीन वर्षदेखि रोगको चपेटामा परेकी थिई। एकका अगाडी मनले हार्थें, अर्काका अगाडी दिमागले। एक मेरो चयन, अर्का मेरा जिम्मेवारी। यी दुई नारीहरु बीच म चेपोमा परेसरी थिएं।
‘सरी बाबा… गल्ती भो।’ ङिच्च हांस्दै लाचारी देखाएं।
‘एभ्री टाईम। जहिले यहि ताल। मैले संधै तिम्लाई कुर्ने ठेक्का ल्या’छु र? अरुको भए केटीले कुराउंछन्, ह्याँ चैं उल्टो।’ श्रीयाको फिमेल ईगो बोल्दैथ्यो। ‘देख्नेले नि के भन्दा हुन्।’
‘के भन्नु नि, केटा भाग्यमानी रैछ भन्लान् नि।’ मैले आँखा झिम्क्याउंदै भनें।
‘भन्यो खुप! केटी मूर्ख रैछ। कस्तो लापर्वाह केटोको पछि लाग्यो भन्ला नि।’
‘मूर्खै भएर पनि खराब त छानिनौ क्यारे।’
‘खुप असल बनिटोपल्ने। बानी हेर न बानी। अर्काको छोरीलाई बाटो बीचमा घण्टौं कुराउने। केटाहरु यत्रा यत्रा आंखाले हेरिजान्छन्। कुन चैं बेलामा कल्ले लग्ला, अनि ठिक्क पर्ला।’
‘लग्या लग्यै भो! लानेले पनि झगडालु बानी चाल पाएपछि फर्काउला बरु।’ मैले ठट्यौली गर्ने पाराले भनें।
‘गाह्रै पर्ला।’ हल्का मुस्कुराउंदै भनी। उनको रीस साम्य हुंदैथ्यो। ‘मेरो जादु चल्यो भने कस्ता कस्ता त लट्टु हुन्छन्।’
‘भन्या मतलब लग्या लग्यै हो?’
‘जाने पनि त मान्नु पर्यो नि। के गर्नु मूर्ख छु। लापर्वाह केटो भनेर जान्दाजान्दै अरुको बारे सोच्न पनि त सक्दिनं।’ छड्के नजरले मलाई हेर्दै भनिन्।
श्रीयाका यिनै यस्तै कुरामा म प्रतिको उनको माया लुकेको भेट्थें। अनि उनका रीस नखरा सबै सहन्थें।
त्यो दिन उनलाई उनकै स्कुटी पछाडी राखेर कलङ्कीबाट खेतको छेवै छेउको सडक हुंदै पुरानो नैकाप अनि दहचोक पुगेर फर्क्यौं। उनको सामीप्यताले मेरो तन अनि मन दुवै पुलकित भयो।
छुट्टिने बेलामा श्रीयाले स्कुटीबाट पछाडि फर्किंदै भनिन्,
‘अस्ति मैले भनेको कुरो सिरियसली सोच है।’
म चैं कुन कुरो होला भनी गम्दै लगनखेल जाने बस चढें।
घर पुग्दा सांझै परिसक्या थियो। आमा गाह्रो मानी मानी भान्छाको काम गर्दै थिइन्। मन अमिलो भो। बिहानको धुनुपर्ने भांडा त्यत्तिक्कै असरल्ल थिए।
‘खै आमा म सघाउंछु।’ मनमा कता कता पश्चातापको झिल्को बल्यो। आमाको यो ताल, अनि छोरो दिनभरी रल्लिने।
‘आ पर्दैन बाबु। भर्खर आको छौ। मुखसुख धुनु बरु। जाउ। भात बसाल्या छु। एक छिनमा पाकिहाल्छ। बिहान कै काउली तताउंला। शीशीको अचार छंदैछ।’
‘शीशीको अचार नखानु भन्या छ हैन डक्टरले तपाईंलाई?’
‘भन्दै गरोस्। मलाई अचार बिना रुच्दै रुच्दैन।’
‘अचारै खानु परे शीशीको नखांदा हुन्न?’
‘भैहाल्यो आजलाई। भोलि छोप बनाउंला।’
खाना खाइवरी अनि भांडाकुंडा सिनित्त पारीवरी कोठामा छिरें। किताबको चाङ यता उता छरपष्ट थिए। एग्जाम आउन लागिसक्या थियो। बि.ए. को अन्तिम वर्ष। तयारी साह्रै नाजुक। पढ्न बस्यो, ध्यान कता हो कता मोडिने। अहिले पनि श्रीयाले अघि मलाई सिरियसली सोच्नु भन्या कुरो के रैछ भन्दै सोच्न थालें।
चार पांच दिन अगाडि फोनमा उनले भनेको कुरा सम्झें।
‘जग्गु, अब हामी दुबैको ब्याच्लर पनि सक्किनै लाग्यो। फर्दर के गर्ने सोच्ने बेला आयो। यहाँ माष्टर्स गरेर पनि खासै केही गर्न सकिने वातावरण छैन। जिन्दगीलाई ट्विष्ट नदिई प्रगति हुन्न।’ श्रीयाले आफ्नो कुरो राखेकी थिई फोनमा। ‘आई एम थिन्किङ्ग अफ ट्राईन्ङ्ग अब्रोड। तिमी पनि बाहिर जाने कोसिस शुरु गर। आखिर हामी एक अर्कालाई सपोर्ट गर्न सक्छौं। एफ्टर अल, वी आर टु बी टुगेदर फर लाईफ। जिन्दगीभरिको साथ निभाउनुछ हामीले।’
‘केही त बोल।’ मेरो कुनै प्रतिक्रिया नसुनेर श्रीयाले झक्झक्याएकी थिई।
‘के भन्नु खै। तिमीलाई थाहै छ मेरो स्थिति। एक त अफोर्ड कसरी गर्नु, अर्को आमाको अवस्था। दिन पर दिन स्वास्थ्य खस्कंदोछ। यस्तो बेला हाउ टु लीभ हर अलोन?’ मैले भनेको थिएं।
‘तिमी उता सेटल नभएसम्म म व्यहोर्छु। चिन्ता नगर। म मेरो बाबालाई कन्भिन्स गर्न सक्छु। रह्यो तिम्रो आमाको कुरा। केही वर्ष उहांलाई कुनै आफन्तकोमा छोड। हामी उता सेटल भएपछि उतै बोलाउंला। उपचार उतै पनि भैहाल्छ।’
म के भनुं भनुंको अवस्थामा थिएं। आमालाई एक्लै छोडी जानु? जब कि उहाँलाई मेरो जरूरत सबैभन्दा धेरै अहिले छ।
‘मलाई सोच्न देउ, श्रीया।’ मैले भनेको थिएं।
‘सोच। तर तिम्रो नाईं सुन्न नपरोस्। हाम्रो जिन्दगीको सवाल छ।’
सवाल त के के को छ छ नि। बूढी रोगी आमालाई एक्लै छोडिजाने सवाल। केटा भएर केटीको पैसोमा बिदेश जांदा पुरुषत्वमा पुग्न जाने ठेसको सवाल।
उही बेला दिमाग भारी भाको थियो। पुन: सम्झेर भारी बल्झियो।
अनि मेरो दिमाग भारी हुने क्रम एवं रीतले बढ्न थाल्यो। किनभने श्रीया यही विषयमा मलाई वारम्वार र्याखर्याख पार्न थाली। हरेक भेटमा, फोनमा बस यही कुरो। अनि हरेक पटक मेरो आनाकानी।
महिनौं त्यसरी नैं बित्यो। श्रीयाको चिड्चिडाहट झनै बढ्दो थियो।
अनि एक दिनको भेटमा मसंग छिनोफानोकै भाषामा सोधी,
‘ल आज फाईनल भन। यस अर नो?’
‘तिमीलाई मैले के कुरो लुकाको छु र? मेरो सम्पूर्ण बाध्यता तिमीलाई थाहै छ। आमालाई यो अवस्थामा एक्लै छाड्न मेरो मनैले मानेन।’
‘भन्न खोज्या के?’ उनी कड्किईन्, ‘मलाई छोड्न चैं तिम्रो मन मान्दैछ?’
श्रीया आज झगडा गर्ने मुडमा रहेको कुरो पक्का भो।
‘सानो स्वरले बोल न। तिमीलाई छोड्ने कुरो मैले गरें र?’ म वरीपरी आँखा दौडाउंदै भनें। एकजना मान्छे हामीलाई फर्कीफर्की हेर्दै गयो। मेरै घरको पल्लो घरमा डेरा गरि बस्ने पो हो कि जस्तो लाग्यो। ‘अब जाउं यहांबाट। जात्रा नगर।’
‘तिमी नै जाउ, जहाँ जहाँ जान मन छ, त्यतै जाउ। म तिमीसंग कतै जाने वाला छैन।’ श्रीया ठुस्की। म हतप्रभ भएं।
त्यो दिन पनि हाम्रो डेटिङ्ग धराशायी भो। श्रीया फन्केर गई। म ट्वाल्ल परेर उनको रातो स्कुटी टाढा पुगेको हेरिरहें। फर्केर आउला कि भनेर केहि समय कुरें। आईन। कुर्नुको कुनै अर्थ रहेन। अनि म’नि हिंडें।
हाम्रो सम्बन्धले कोल्टे फेर्या हो कि जस्तो भान पर्र्यो।
समस्या के हो भने नि श्रीयाले मेरो बाध्यताहरु बुझेर पनि बुझ पचाउंथी। मैले आफ्नो जिन्दगीको किताब ह्वाङ्गै खोलेर देखाकै हो। आफू परिस्थितिको जालोमा जकडेको कुरा उनलाई सयौंचोटि सुनाकै हो।
सानै छंदा बाबाले हामीलाई छोडेर जानुभाको थियो, कहिल्यै नफर्किने गरि। चुरोटको अमली। घांटिको क्यान्सरले बित्नुभो। आफू त जानुभो, हामीलाई भने आर्थिक रुपमा कमजोर बनाएर जानुभो। उपचारको खर्च जुगाड गर्न सानेपाको जग्गा बेच्नुपर्यो। तर सब पानीमा।
आमाको जिन्दगीमा शुरु भएको त्यो बज्रपातको क्षण अनवरत पीछा लाग्दै गिर्दो स्वास्थ्यसम्म पुग्दा उहाँ आधा ज्यू भैसक्नुभएको थियो। उमेर छंदै बिधवा हुनुको पीडा त छंदै थियो, एक्लो नारी ज्यानले बिना बाउको बालक हुर्काउनुको चुनौती कम सकसपूर्ण हुन्थेन।
माईती अनि आफन्तहरुको सल्लाहलाई लत्याउंदै उहांले मेरो मुख हेरेर अर्को बिहे गर्नु भएन। खाउंखाउं लाउंलाउंको उमेरमा दुखजेलो गरेर मलाई पढाउनुभो, हुर्काउनुभो।
त्यही भएर आमाको ठूलो गुण छ म माथि। त्यसमाथि आमाको रोगी थिलथिलो ज्यानका कारण उहांलाई मेरो खाँचो झन् बढी हुन थालेको थियो।
यी यावत् कुरा कैयौं पटक श्रीयालाई सुनाउंदा पनि उनी अबुझ पल्टिरही।
* * *
फेरि अर्को समस्याले गिजोल्न आईपुग्यो। आमाको मुटुमा समस्या भन्ने पत्ता लाग्यो। अरिद्मिया। मुटुको चालमा गडबडी। यसै पनि पहिल्यै सुगर, प्रेसर अनि बाथ त छंदै थियो, अर्को पनि थपियो। थोरै परिश्रमले पनि स्वाँ स्वाँ आउने, थकाई लाग्ने, रिंगटा लाग्ने, मुटु लयमा नधड्किने। आमाको हालत झनै खस्कियो। मेरो बढ्ता समय आमाको सेवामा बित्न थाल्यो।
स्वभावत: त्यसपछिका दिनहरुमा श्रीयाको र मेरो भेट पातलिन थाल्यो। भेटै भयो भने पनि हरेक भेटघाट वादविवादमा पुगेर टुङ्गिन थाल्यो। बाहिर सेटल हुने विषय किन हो कुन्नि ठ्याम्मै निकाल्न छोडी। तर ऊ हरेक भेटमा एउटा न एउटा किचलो बोकेर आउंथी। कहिले उल्लाई मैले लाको शर्टको कोलर मैलो भाकोमा गुनासो हुन्थ्यो। सुकिलो लुगा नलाकोमा गुनासो हुन्थ्यो। त कहिले लुगा मैलिनुको दोष काठमाडौंमा बढेको धुआंधुलोमाथि थोपर्थी अनि भन्थी काठमाडौ साह्रै पल्युटेड भो, एकदम फोहोरी। बस्न लायकै रहेन यो ठाउँ। उनकी काकाको छोराछोरी दुबै मेल्बर्नमा सेटल थिए। उनको सपना पनि उतै कतै सात समुद्र पारी सुकिलो सफा ठाउंमा उड्दै उड्दै पुग्दो हो!
आखिर एकदिन श्रीयाले सानो कचकचको दौरान महिनौंदेखि पालेको मनको तुष ओकलेरै छोडी। स्कुटी पङ्चर भाको रीस म माथि बेफ्वांकमा थोपरेर मेरो मर्दाङ्गीपनलाई राम्रै हल्लाईदिई।
‘एउटा बाईक’नि किन्न नसक्ने कस्तो हुत्तिहारा। मेरो स्कुटी पछाडी कति घुम्छौ? लाज लाग्दैन?’
श्रीयाको टोकेसोले त्यो दिन म आधा मरेतुल्य भएं। यस्तो छ्युद्र वचन उनको पहिलोपल्ट सुन्दैथें मेरो लागि। आफैलाई धिक्कारें। एउटा बाईक पनि किन्न नसक्ने आफ्नो दयनीय औकातलाई धिक्कारें। अनि फेरि सम्झें रत्नपार्कबाट पुल्चोक घरसम्म बस भाडा जोगाउन हिंड्दै आईपुग्ने मेरी आमा। सम्झें मेरो बि.ए. भर्नाको लागि आफ्नो बिहेको बेलाको सुनको तिलहरी बेच्ने मेरी आमा। अनि सम्झें लगालग तीन वर्षसम्म एउटै सारीमा दशैं टार्ने मेरी आमा। त्यस्ती आमाको बेजागिरे छोरो म। अनि आफ्नो औकातको औचित्यलाई स्वीकार गरें। जे छ ठिकै छ।
त्यो घटना पछि एक महिनासम्म मेरो श्रीयासंग भेटघाट भएन। भेटघाट त के, कुरोकानी पनि भएन। मैले कल गर्दा पनि फोन काट्दिन्थी। हुंदाहुंदा मैले गर्ने बारम्बारको फोन रोक्न मेरो नम्बरै ब्लक गर्न थाली।
अर्को एक हप्ता बित्यो। अनि एकदिन, न्यूरोडमा हिंड्दै गर्दा भेटेकी श्रीयाकी साथी कृपाले मसंग गरेको एउटा कुरोले मेरो मन खङ्ग्रङ्गै पार्यो।
‘जगु, के तिम्रो र श्रीयाको ब्रेकप भाको हो?’
‘होईन त। किन र?’ मैले अचम्म हुँदै भनें।
‘खै… भन्न हुने हो कि होईन!’ अप्ठ्यारो मान्दै कृपाले भनी।
‘के कुरा हो, भन न।’ मेरो मनमा ढ्याङ्ग्रो ठोक्किन थालिसकेको थियो। सम्भाव्य अपसकुनका विभिन्न तस्वीरहरु आँखा अगाडि चलायमान भए।
‘रमिल चिन्छौ होईन?
‘को? रमिल श्रेष्ठ? श्रीयाको कलेज सिनियर?’
‘अँ।’
कृपा केही छिन चुप लागी। भिडलाई छल्दै हामी भूगोलपार्कमा छिरेका थियौं।
म कौतुहलपूर्ण नजरले उनलाई हेर्दै थिएं। नराम्रो भन्दा नराम्रो खबर सुन्न आफूलाई मानसिक रूपमा तयार बनाएं।
‘रमिलसंग मैले श्रीयालाई धेरै पटक संगै देखेकी छु।’
‘के भो त? केही काम परेर होला नि।’ म आफैलाई सान्त्वना दिंदै थिएं।
‘होला। तर अस्ति सिभिल मलमा देखेकी थिएं। मलाई तिनारुले देखेनन्। हातमा हात हालेर एउटै बोतलबाट कोक पिउंदै थिए। श्रीयाको अनुहारबाट यस्तो लाग्थ्यो एज ईफ शी वाज सो ह्याप्पी के! खिल्खिलाएर हांस्दै थिई। अनि फेरि हिजो गोदावरीमा। ढेप्पिंदै हिंड्दै थिए। म परिवारसंग थिएं। हात हल्लाउंदा’नि देखेनन्।’
आफैलाई सान्त्वना अब के भनेर दिउं? भाउन्न भो। भूगोलपार्कको बीचमा रहेको डल्ले ग्लोव फन्फनी घुमे जस्तै लाग्यो। कृपा बोल्दैथी।
‘मैले सुन्या रमिलको स्टेट्सको डिभी प्रोसेस ओके भो रे। अनि श्रीया पनि उतै स्टुडेन्ट भिषा ट्राई गर्दैछे।’
अल वाज फलिङ्ग इन्टु प्लेसेज। जिग्ज पजल जस्तै। बाफिलो कोठामा धमिलिएको चश्मा शर्टको छेउले पुछेर लगाउंदा देखिने प्रष्ट छवि जस्तै। अब हरेक कुरा प्रस्टिंदै थियो। मसंग हरेक कुरामा निहुं खोज्ने श्रीयाको बदलिंदो व्यवहार। उनको महत्त्वाकांक्षाले भरिपूर्ण सपनाहरु। मेरो निम्ति प्रयोग हुने हेयपूर्ण वाक्यहरु।
कतै पढेको थिएं, अब लाग्दैछ सांचो रैछ। जब कुनै केटी ब्रेक अप चाहन्छ, दश थरी कुरोमा अत्तो थाप्न थाल्छे। निहुं खोज्न थाल्छे। झर्किन्छे। खर्रो नमीठो बोल्छे। उसलाई जसरी भए पनि मुक्ति जो चाहिएको हुन्थ्यो। केटाहरु पनि सायद यस्तै गर्थे कि? कमसेकम मलाई त्यो अनुभव रहेन।
हुन पनि उनको सपना र मेरो विपना बीचको बेमेल दिन र रात जस्तै फरक थियो। कहाँ ऊ आलिसान बंगला र चिल्ला गाडीमा हुइकिंदै बिदेशमा सेटल हुने सपना बोकेकी कल्कलाउंदी युवती, अनि कहाँ म नाजुक आर्थिक अवस्थामा जेलिंदै रोगी आमाको जिम्मेवारीमा अल्झेको अदना मान्छे। कतै कुनै सामन्जस्यता नैं थिएन। अनि आफैलाई लाग्थ्यो, जे गरि ठिकै त गरि। म भए’नि त्यस्तै पो गर्थें कि?
एक महिना पछि जब भेटें, ऊ आफ्नो निर्णय सुनाउने हिसाबले भेट्न आएकी थिई। दरवारमार्गको पिज्जाहटमा। बाह्र बजेतिर खासै भिड थिएन। उनैले दुई कप क्यापुचिनो मगाईन्। मलाई सोध्दा’नि सोधिन।
एक छिनको शुन्यता पछि आफूसंग ल्याएको सेलवेजको झोलाबाट मैले उनलाई उनका बर्थडे अनि त्यत्तिकै पनि दिएका सानातिना गिफ्टहरु झिक्दै म तिर तेर्स्याए। ट्विटी, पुह, टेड्डी सप्पै लश्करै मेरो अगाडि प्रस्तुत भए। मलाई सबैभन्दा मन पर्ने टिगर पनि लश्करमा सामेल हुन आए। लगत्तै मैले दिएका कार्डहरु चाङ लाग्न आईपुगे।
‘पसल थाप्न लागेकी?’ मैले हल्का तवरले सोधें।
‘सामान मन परेन। फिर्ता गर्न आएकी।’
‘सामानमा के खोट छ?’
‘बस, मन परेन।’
‘बर्षौं खेलेर अब रिटर्न गर्न मिल्छ?’
‘मन लागे फिर्ता लिउ। नत्र यतै मिल्काएर जान्छु।’
‘अब आउने नयां सामानहरु राम्रा होलान्, हगि? जतन गर्नु। फेरि फिर्ता गर्नु नपरोस्।’
‘नन अफ योर बिजनेस।’ उनी झर्किईन्।
‘अल द बेष्ट!’
‘थ्याङ्क्स!’
यतिन्जेल कफि सेलाईसकेको थियो। एकै घुट्कोमा सकाई। बिल मगाएर आफैले तिरी अनि हुर्रिंदै गई, बाई पनि नभनी।
यसरी छ महिना अगाडि श्रीयाले कुनै शब्द उच्चारण नैं नगरी मबाट टाढा जाने फैसला सुनाकी थिईन्।
* * *
सुन्छु, रमिल स्टेट्स उड्यो। श्रीयाको भिषा लागेन। तेश्रो प्रयासमा पनि।
अहिले पनि कहिलेकाहीं रातिको १२:३० मा मोबाईलमा ब्ल्याङ्क कल आउँछ। अनि फिरोज स्याङ्देन आफ्नो छुट्टै खाले धोद्रे स्वरमा गाउन थाल्छ।
‘सम्झी बस्छु कता कता यो सांझको मन्द रातमा
कति धेरै तिमीलाई, मात्रै तिमीलाई
तिमीलाई नै सम्झेर, सम्झेर…’
*समाप्त*
(यस कथाको शीर्षक तथा कथामा प्रयोग भएको गीतको अंश १९७४ ए.डि.को कालजयी गाना ‘सम्झी बस्छु’ बाट लिईएको हो। यस गीतका गायक दाजुहरु फिरोज स्याङ्देन, एड्रीयन प्रधान तथा १९७४ ए.डि. ब्याण्डलाई विशेष धन्यवाद दिन चाहन्छु।)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )