~टंक कार्की~
म यात्रामा थिएँ
धेरै डाँडा काटी सकेको थिएँ
मेरो गाउँ, मेरो थातथलो अझै टाढा थियो धेरै टाढा थियो
बसन्तपुर पारी तीनजुरे नाघेर
खोजीमा निसकेको म
लखतरान थिएँ
तै पनि
म बसन्तपुरको बीचो–बीच गुराँसको बागमा
आइपुगेको थिएँ
गोधुलीको बेला
ढकमक्क लालीगुराँस फुलेको
ती मुस्कुराए
कतै हराएको प्रेमी झुलुक्क झुल्के जस्तो
म प्रफुल्ल थिएँ
प्रतिक्षामा हैरान प्रियसी भेटे जस्तै
म रोकिएँ र गम खाएँ
यी प्रियसी
गगनबाट झरेका परी जस्तै
उस्तै उस्तै चिटिक्क कोरीबाटी
न कोही मैया छन् न कोही सुसारे
न हुकुम छ न भक्ति नै
न तानातान छ न लछारपछार
यिनले जे जानेका छन् मुसुक्क हाँस्न जानेका छन्
मिल्न जानेका छन्
पुगीसरिका छन्
यसै गम खान्छु,
यी यतै कतै सधैं सधैं रही दिए त ?!
स्वर्ग बिरानो के को हुनु र ?!
म अझ घोत्लिन्छु
यी यहाँ अनित्य भएर आउँछन्
लिला न हो
बाहु पासमा लट्ठ प्रेमी
होशमा आउँदा फगत सपना बाँकी हुन्छ
उता विरहको पाश्र्व संगीतको धुन हुन्छ
जंगलभरि न्याउली उस्ताद बनेर
दिलदार छन् यिनी
बिरह र बिलाप सुनेर
अर्को साल
फेरि झुल्किन्छिन् यिनी
खेल्दै
अनित्य र आवृत्तिको लुकामारी
यहाँको आफ्नै विधान छ
मैले शिरानतिर तिनजुरेलाई हेरेँ
सत्तिसाल झैं ठिङ्ग उभिएको
न चट्याङ्गले घायल बनायो
न हुरी बतासमा आँखा छोप्यो
न त हिउँमा काप्यो नै
उस्तै उसरी नै ठिङ्ग उभिएकोयो अजंगको पहाड
जो नित्य छ
तिनजुरे र यो बसन्तपुर– यो गुराँसको बाग
नित्य र अनित्यको बेजोड संगति
हुन् त छिमेकीहरू
वर्षौ बसेका छन्
आफ्नै धर्म र पहिचानमा
सामाजिक सद्भावमा
मेरो गाउँ मेरो थातथलो
आफ्नै रंगको
यहाँ वरपर बेलिका फूल
राता, सेता, छिर्के्मिर्के
घरघरमा, करेसाबारीमा
छन् त बाह्रै मास उस्तै ढकमक्क फुलेका
बेग्लै चलन छ यहाँ
खाली हुन नजान्ने माना पाथी
झुसीका झुसी
गर्जो अनुसार
परस्परमा खुसुक्क साउती गर्छन्
दुइटै छिमेकीहरू
गोठालाहरू यहाँ निस्फिक्री छन्
हराउदैनन् उनका भेडाबाख्रा
करुणाकी देवी जो रखवाली गर्छिन्
चाँदीले मोरिएको सिंगो पहाड यतै छ
कञ्चन छ शिशा जस्तै
र नै घामको पहिलो झुल्को उसैलाई भेट्न आउँछ
सबैका कर्म छन्
अनन्त म्याराथुनमा निसकेको तमोर
कम्मर मर्काई मर्काइ नृत्यरत नागबेली कावेली
ढुक्कले विश्रान्ति लिएको कुम्भकर्ण
सबको आफ्नै सुर छ, आफ्नै ताल
यहाँ सबै नित्य छन्
मेरो गाउँ मेरो थातथलो
म यात्रामा छु ।
(स्रोत : छलफलविक्ली डट कम)