~सबिन प्रभात~
म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। एकदिनको भनाभन र झगडाले साथीको सल्लाह अनुसार प्रेममा पूर्णविराम लगाएँ, निकै माया गर्ने मायालुसँग छुट्टिएँ । एक महिना जति त म बौलाहा जस्तै भएथें । त्यसपछि ऊ पनि काठमाडौंको पढाइ बिचैमा छोडेर आफ्नै गाउतिर लागी ।
प्रेम वियोगबाट उम्केर अध्ययनलाई निरन्तरता दिएँ। साथीहरू भन्छन्, म एकसुरे बनेको पनि त्यही बेलादेखि नै हो । पढाई सकाएपछि मैले छिट्टै जागिर पाएँ । दुईतीन वर्षपछि धुमधामसँग मेरो बिहे गरियो उपल्लो खानदानी बाउकी छोरीसँग । जागिरकै कारण केटीका बाउले मसँग बिहेको कुरा चलाएछन् । म तटस्थ रहेकोले मेरो घरमा पनि नस्वीकार्ने कुरै भएन ।
बिहेपछि स्वास्नीकै इच्छा अनुसार अफिसकै क्वार्टरमा बस्न थालियो । गाडीमा एक घण्टा पनि नलाग्ने दुरीको घर जान पनि हप्ताको एकचोटी मात्रै हुन थाल्यो। बिस्तारै यो क्रम महिनाको एकचोटीसम्म पनि पुग्यो, स्वास्नीको त दुई महिनामा एकचोटी पनि पुग्यो। ऊ घरभन्दा बढी माइत पुग्थी। बिस्तारै म आफ्नै घरबाट टाढिदै गएँ ।
आमाको पेटको अप्रेशन गर्नु पर्ने भयो । एकहप्ता अस्पताल राखेर अप्रेशन गरियो। डाक्टरले एक महिना बेड रेस्ट गर्न भनेका थिए। दश दिन मैले अफिसमा बिदा लिएँ त्योभन्दा बढी बिदा लिन मिलेन। बीस दिन स्वास्नीलाई घरमा बस्न भनेको दश दिन मात्र बसेर अफिसको क्वार्टरमा आइपुगी। त्यो बेला भाइ पढ्न विदेशमा थियो।
मैले उसलाई आमा ठीक नहुन्जेल घरमा बसेर रेखदेख गर्न भने तर उसले मानिन बरु बिहे भैसकेकी बहिनीलाई बोलाएर बस्न भनौ न भन्ने असान्दर्भिक तर्क दिई। मैले उसलाई ‘खुरुक्क घर जाने भए जा नत्र जतासुकै जा मलाई मतलब छैन’ भनिदिएँ। उसले माइत जाने कुरा निकाली। मलाई निकै रिस उठ्यो। ऊ पनि ठूल स्वरमा झर्किन थाली। झगडा पर्यो। अफिस नभएको भए मैले उसलाई झापड पनि हानिसक्थें होला। बिहेको डेढ वर्षसम्म सम्बन्ध ठीकै भए पनि त्यो झगडाले सम्बन्ध बिग्रियो। मैले झोकमा भनिदिएँ– घरमा बिमारी सासू छोडेर तँलाई माइत बसेर मोज गर्ने कुरा गर्न लाज लाग्दैन नकचरी!’ उसले जवाफ फर्काई– सक्दिनँ अब म तिम्री आमाको मात्रै सुसार गर्न।
‘तँ गैहाल याँबाट’ मैले भने।
‘पर्या छैन यस्तासित बस्नु पनि’ आँशु झार्दै उसले कपडा प्याक गर्न थाली। नभन्दै ब्याग लिएर लुसुक्क निस्कन खोजी मलाई नहेरिकन। ढोकाबाट निस्कनै लागेको बेला उसको हात तान्दै बिस्तारामा घचेटिदिएँ। हात फुत्काउन खोज्दा चुरा फुटेर उसको हात काटेछ। झोला टेबुलमा राखेर फेरि बाझ्न थाली। म रिसले चुर भएँ –कहिलै आउन पर्दैन तँ हरामी, जता मुन्टिने हो मुन्टे, गैहाल् याँबाट।
सुँक्क सुँक्क गर्दै ब्याग टिपेर ऊ निस्की। चैतको महिना साँझको साढे छ बजेको थियो होला। बार्दलीबाट मैले उसलाई हेरेँ। पल्लो घुम्तीबाट अलिबेर अफिस क्वार्टरतिर हेरेर ऊ ओझेल परी।
म त्यत्तिकै थन्किएँ, खाना बनाउने जाँगर चलेन। भोक पनि हरायो। त्यो दिन शुक्रबार थियो। रेस्टुरेन्टतिर गएर चार पेग जति रक्सी पिएर आएँ त्यही चिन्तामा। रक्सीको नशामा लठ्ठिएर त्यो रात बेहोसीमै बिताएँ। भोलिपल्ट निकै ढिला उठें। भोक लागेको थिएन फ्रेस भएर घरतिर लागेँ।
चिन्तित अनुहारबाट आमाले बुझिहालिन्। कुरा खोतल्न खोज्दा म बिमारी आमासँग समेत झर्किएँ। स्वास्नी माइत भागेको कुरा मैले घरमा बताइन्। क्वार्टरमा नबसी घर आउने जाने गर्न थालेँ। आमालाई सुधार हुदै गयो।
स्वास्नीसँग झगडा परेको पाँचौ दिन म घर फर्किदा रात छिप्पिइसकेको थियो। घरमा पुग्दा म झस्कें– ससुरा बा आएका रैछन्। स्वास्नी भागेर माइत गएको कुरा सबैलाई थाहा भैसकेछ। ससुरा बा भोलि अफिसबाट ससुरालीसम्म पुगेर उसलाई ल्याउने सल्लाह दिदै थिए। मेरो पारो तातेर आयो –त्यो कन्चनीलाई मैले पुराको थेँ र म लिन जान्छु ! आए आउछे नत्र मतलब छैन। ससुराको मुख बन्द भयो।
दुई महिना बित्यो, स्वास्नी आइन न त म नै लिन गएँ। ससुरा बाले धेरैपल्ट खबर गरे। आधा बाटोसम्म भए नि लिन जान आग्रह गरे। तर मैले कुरै सुनिन।
स्वास्नीलाई फिर्ता ल्याउन भन्दै मलाई घरमा पनि दवाब दिन थाले तर लिन मेरो अभिमानले दिएन। रिस त मरिसकेको थियो र गल्ती मेरै हो जस्तो पनि लाग्थ्यो। तर भागेर माइत गएकी स्वास्नीलाई लिन जाने हुतिहारा बन्न मेरो अभिमानले दिएन।
ससुरा बा र जेठानहरु पनि धेरै पटक मलाई सम्झाउन आए। मैले भन्थें– म मरे पनि लिन जान्न। बरु तपाईँहरुले नै ल्याएर छोडिदिनुस्। उनीहरु नाजवाफ भएर फर्कन्थे। उनीहरुले माइत बसेकी मेरी स्वास्नीलाई निकै गाली गरेछन्। म गएर सम्मानपूर्वक ल्याएँ भने आउने र नत्र नआउने भन्ने उसको अडान रैछ।
म लिन जान नमान्ने र ऊ आफैं आउन नमान्ने गर्दागर्दै छ महिना बिते। यसरी मैले स्वास्नी गुमाएँ। स्वास्नीसँगै केही खुसी पनि गुमेको अनुभुति भयो। दिनभरिको कामले लखतरान भएर जब म उसलाई सम्झन्थें सारै रिस उठेर आउथ्यो। लोग्ने र सासु ससुरालाई छोडेर यत्तिका समय माइतमा बस्न सक्ने कन्चनी मोरी! कसरी बस्न सकेकी होली! उसलाई सम्झेर रिस उठ्दा मलाई क्याम्पस पढ्दाताकाकी प्रेमिकाको निकै याद आउथ्यो अनि जसरि भए पनि उसलाई भेट्न गैहालु जस्तो लाग्थ्यो। सोच्थें– मेरी स्वास्नीको ठाउँमा ऊ भएकी भए म कति सुखी हुन्थें होला।
समय बित्दै गयो तर म माइत गएकी स्वास्नीलाई लिन गइनँ। सासू बिमारी भएको बेलामा लोग्नेसँग झगडा गरेर माइत जाने स्वास्नीलाई लिन म नजाने नै निर्णय गरें। यसमा सबै दोष उसकै भएकोले ससुराले कानुनी प्रक्रियामा जान चाहेनन्, त्यसमाथि इज्यतको पनि त सवाल थियो। आठौं महिना पनि स्वास्नी आइन। न फोनमा कुराकानी भयो।
एक दिन पाटनको मेलामा अचानक मेरी स्वास्नीलाई देखें। ऊ एकजना अधवैंसे केटाको हात समातेर हिँडिरहेकी थिई। मलाई देखेपछि ऊ अचानक रोकिई। उसको अनुहार रातोपिरो भयो। केटाले घुरेर मलाई हेर्यो। बोलचाल भएन। केहीबेरको हेराहेरपछि मेरी स्वास्नीको हात तान्दै उसले लिएर गयो। म अलमलमा परें। मेलाको घुइचोमा मैले पछाडीबाट उसलाई फेरि देखिन।
त्यो रात मलाई निकै छटपटी भयो। पटक्कै निद्रा परेन । स्वास्नीलाई पर पुरुषसँग देखेको कुरा मैले घरमा कसैलाई पनि बताइन। त्यो घटनाको एकहप्तापछि अफिसमा आएको स्वास्नीको चिठीले अचम्मित बनायो।
खै कसरी सम्बोधन गरुँ ! अस्ति हजुरले देख्नुभएको घटना एकदम सत्य हो। गल्ती मेरो थियो, झगडा गरेर माइत आउनु तर हजुर मलाई लिन आउनु भएन। मेरो आशा गलत साबित भयो। मेरो अनुपस्थितिले हजुरलाई केही फरक नपार्ने रहेछ, त्यसैले म भार बन्न चाहन्नँ। मैले आफ्नो फैसला गरिसकें। हजुरले मलाई माया दिन सक्नुभएन। म फोन पनि गर्न सक्थें तर धेरै समयसम्म नबोलिएकोले चिठी नै सजिलो लाग्यो। भगवानले हजुरलाई सधै खुशी राखून्!
उही
सुम्निमा
चिठी पढिसकेपछि केहीबेरसम्म शुन्यतामै भासिए जस्तो लाग्यो। तर आफूलाई सम्हालें। अनपेक्षित यस्तो चिठीको झोकमा टन्न रक्सी तानेर मनलाई सान्त्वना दिएँ। स्वास्नी नभएपछि रक्सी खाने क्रम बाक्लिएको थियो। त्यो उकुसमुकुस धेरै दिन रहेन।
केही दिनमै उसले माइतबाट पनि टाप कसिछे। त्यही अधवैंशे केटाले भगाए होला।
मेरो घर परिवारमा पनि त्यो कुरा फैलियो। मलाई सबैले अर्को बिहे गर्न कर गर्न थाले। छिमेकीहरुले पनि केटीहरुको कुरा चलाउन थाले। वैवाहिक जीवनको झमेलाले मलाई वाक्क बनाइसकेको थियो अर्को बिहे गर्ने सोच ममा आएन। बिहे नगर्ने कुरामै अडिग रहेँ।
***
मोबाइलको घण्टीले म झसंग भएँ! ओहो, कतिबेरबाट मैले यस्ता कुराहरु सोचिरहेको रहेछु। फोन उठाएँ, खाना खाने गरेका होटल मालिकले गरेका थिए। ‘सर निकै बेरसम्म पनि खाना खान आउनुभएन र फोन गरेको’ उनले भने। घडी हेरेको साढे नौ बजिसकेको रहेछ। सधैँ आठ बजेतिर नै खाना खाने म दश बाह्र बर्ष अघिका घटनाहरु सम्झेर निकै बेरदेखि टोलाएर बसेको रहेछु। हतार हतार होटलमा गएँ। हल्का खाना खाएर फर्किएँ। एकहप्ताका लागि मुस्ताङ ट्रेकिङ जान लागेको कुरा होटल मालिकलाई बताएँ।
कोठामा आएर फेरि पुरानै सोचाईलाई निरन्तरता दिएँ। दुई तीन वर्ष कर गर्दा पनि केही नचलेपछि घर परिवारमा बिहेको निम्ति कर गर्न छाडे। ३८ वर्ष पुग्नै लाग्दा पनि एक्लो छु। मलाई अर्को बिहे गर्ने अर्ती दिदाँदिदँै सबैजना थकित भए। घरमा भाइको बिहे गरियो तर मेरो दोश्रो बिहे गरिएन।
हिजो आज कामको चापले जब दिमाग भारी हुन्छ, कोठामा केही खान मन नलाग्ने भएकोले होटलमै खाना खाने गरेको छु। सोचाइ अलि परिवर्तन भएको छ। एउटी माया गर्ने स्वास्नी त नभई नहुने रहेछ भन्ने पनि लाग्छ। जब अफिसको काममा फेरि ब्यस्त हुन थाल्छु अनि यो सोच त्यत्तिकै बिलाउछ। थकित भएको अवस्थामा जब फ्रिजबाट जुस वा पानि आफै निकालेर पिउनु पर्छ त्यसबेला स्वास्नीको मायालु हातले दिएको भए कति मज्जा हुँदोहो भन्ने कल्पना गर्न पुग्छु। जब मेरो उमेरका कोही दम्पतीहरु बच्चालाई स्कुल पठाउने तर्खर गरेको देख्छु, मनमा नमिठो जलन आउँछ तर यस्ता कुराहरु त्यति दीर्घकालीन हुन सकेनन् एकाध घण्टामै म पुनस् आफ्नै सुरको बनिसक्थें। यति लामो चिन्तन यस अघि कहिलै गरेको थिएन। मैले स्वास्नीलाई निकैबेर सम्झिएँ । आज भने ऊप्रति रिस उठेन। उसलाई जे ठिक लायो त्यै गरी अनि न त मलाई पछ्चाताप नै भयो, मेरो त कुनै गल्ती नै थिएन। रात निकै छिप्पिसकेपछि मात्रै म सुतेँ।
साढे चार बजेतिर मोबाइलले अलार्म लगाउनासाथ उठेर नुहाएपछि अलि आनन्दको अनुभव भयो। मनमा एक प्रकारको ब्यग्रता थियो, अलि छिटै उठिएछ। एक कप कफी बनाएर पिउञ्जेल पनि पाँच मात्रै बजेको थियो। पहिलो गाडीमा जाने विचारले म पृथ्वीचोकतिर निस्किएँ ब्याकप्याक बोकेर। गाडीहरु उति सारो चलिसकेका थिएनन्। गाडीको प्रतिक्षा गर्दै नजिकैको चिया पसलमा बसें। पसलमा अरु तीन चार जना मान्छे पनि थिए, मेरो नजर एक महिलामाथि अडियो। म एकटकले हेरिरहें केहीबेर !
‘सुम्निमा…’ एक्कासी मेरो आवाज निस्कियो।
‘मलाई बोलाउनु भएको हो?’ ती महिलाको प्रतिप्रश्नले मात्रै मैले उनलाई नै बोलाएको थिएँ भन्ने हेक्का भयो।
‘हो तिमीलाई नै’ मैले भनें ‘मलाई चिन्यौ ?’
‘ओहो !’ एकछिन मेरो मुखमा हेर्दै ऊ राती भई, निकै राम्री देखिएकी थिई। पहिलाभन्दा पनि राम्री, हल्का दुब्लाएकी मात्र ।
‘हे भगवान्, हाम्रो भेट हुन्छ भन्ने त लागेको थियो तर यसरी याँ पोखरामा हुन्छ भन्नेचाहिँ एकरति पनि सोचेकि थिइन!’ उसले थपी ‘हजुर यता के गर्दै हुनुहुन्छ नि ?’
‘यौटा बैंक हेर्छु’ मैले सोधेँ ‘अनि तिमी के गर्दै नि ?’
‘म यता पढाउँछु, तीन वर्षजति भो। बिहान कलेज, दिउँसो स्कुल। अहिले पनि कलेज हिँडेकी तर आज बिदा भन्ने खबर आएकोले यता चिया पिउन पसेकी’, मुस्कुराउँदै उसले सोधी ‘हजुरको यात्रा कतातिर नि ?’
‘यसो मुस्ताङतिर घुमौ भनेर निस्केको,’ मैले भनें ‘को को छौ त यता ?’
‘म र छोरी’ छोटो जवाफ दिई।
‘अनि हस्ब्याण्ड ?’ तुरुन्तै सोधें।
‘मन मिलेन तीन वर्ष भो म एक्लै छु।’ उसले भनी। चिया पिउँदै गरेका सबैको नजर हामीमाथि पर्यो।
“अनि काठमाडांै किन छोडेकी त?’ मैले सोधें।
‘त्यस्तै भो। त्यसबेला काँचो उमेरमा बुद्धि पुगेन। गल्ती मेरो थियो । मलाई अहिले माफ गर्दिनु है ।’ ऊ अलि भावुक भई, मैले उसको आँखामा हेरें तर कुनै जवाफ दिनु पर्नेजस्तो लागेन। फेरि उसैले सोधी ‘हजुरको परिवार नि ?‘
‘मम्मी बाबा उतै हुनुन्छ, ममात्र यता छु।’
‘अनि जहान केटाकेटी नि ?’ अलिकति हाँसेर उसले सोधी।
‘अँ… मेरो पनि मन मिलेन अनि यत्तिकै’ होटलका सबैले हामीलाई हेरे।
‘यस्तै रहेछ जिन्दगी, समयले कताकता पुर्याउँछ, आफूले चाहेजस्तो हँुदै नहुने’ चिया सुरुप्प तान्दै उसले भनी।
‘तिमीप्रति मेरो भावना आज पनि उस्तै छ, हिजो राति पनि निकैबेर तिमीलाई सम्झेको थिएँ, कस्तो संयोग आज यसरी तिमीसँग भेट भयो’, मैले भनें।
‘म पनि त हरेक रात हजुरलाई सम्झन्छु।’ उसले केही लजाएर भनी।
चिया सकिसकेको थियो। मैले दुवै जनाको पैसा तिरें। दुवै जना निस्कियौँ। हिँड्दै गर्दा उसले मलाई झगडा गरेर माइत गएपछिका सबै कुरा बताई। बिबाह, ठूली छोरीको मृत्यु, सानी छोरीको जन्म, डिभोर्स अनि पोखरा आउञ्जेलसम्मको कथा।
झलमल उज्यालो भइसकेको थियो। सडकमा गाडी पनि बढ्दै थिए। हामी सडकको किनारामा उभिएर गफ गरिरहेका थियौँ। मैले पनि उससँग छुटिएपछिको आफ्नो कहानी सुनाएँ।
म जाने गाडी चल्ने तर्खरमा थियो। केही यात्रुहरु सरसमान प्याक गर्दै थिए। ड्राइभरले गाडी स्टार्ट गरेपछि उसले एक्कासी मेरो हात समाती। बोल्न सकिरहेकी थिइन। उसको शरीर काँपिरहेको थियो। गाडी चल्नै लागेको बेला ऊ जोडले मसंग टाँसिई। केहीबेरदेखि दुबै जना मौन थियौं। गाडी छुट्ने अन्तिम निमेषमा थियो। मसँग पटक्कै समय थिएन। के गर्ने र के नगर्ने भन्ने पनि सोच्न सकेन। उसलाई हेरें। आँखामा आँशु टलपल थियो। मैले मुख खोलें–सुमिना विल यु म्यारी मी?’ उसले सकेको बलले मलाई अठ्याई। गाडी छुट्यो एक पलमै।
गाडी हिँडेपछि लामो सास तान्दै सोधें– सुमिना मसँग बिहे गर्छयौ ?’ आलिंगनमा अलि खुला भएर उसले भनी– म हजुरलाई एकदम माया गर्छु तर मसँग छोरी छे, म यौटी आमा पनि हुँ, म पहिला बच्चाकी आमा हुँ ।’
‘क्यै फरक पर्दैन, ऊ हाम्रै छोरी हुन्छे, हामीबाट कहिलै टाढा राख्नु हुदैन, भर्खर तीन वर्ष भएकीले उसलाई धेरै कुरा याद हुँदैन, मलाई नै आफ्नो बाबा सम्झन्छे हामीले पनि उसलाई यो सत्य कहिलै बताउने छैनौं’ मैले भनें । ऊ फेरि अंगालोमा टाँसिई र मलाई चुम्बन गरी, धेरै पछि अनोठौ अनुभूति भयो। उत्साहले मन भरिएको थियो, जीवनले पूर्णता पाएजस्तो, सबै कुरा पुगेजस्तो। बाटाका मान्छे हामीलाई हेर्दै थिए। कसैको प्रवाह नगरी मैले सुमिनालाई चुम्बन गर्दै भनें–ल यो मुस्ताङ यात्रा क्यान्सिल भो अर्को वर्ष तीनै जना जाउँला।
(स्रोत : गोर्खाआवाज डट कम)