~प्रदीप ज्ञवाली~
निहुरेर अलिकति
खसाइदेउ ए आकाश !
नबिटुलिएका शीतका थोपाहरू
ताराको टल्किने जर्री
बादलको श्यामश्वेत पछ्यौरी
र रेसुङ्गाको शिरमाथि पोतिएका
अलिकति गोधुली रङ्गहरू
म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस
सुन्यौ आकाश !
म बनाउँदैछु सालिक नायकहरूको
अर्थात् आमाहरूको
जसको आजसम्म कुनै इतिहास छैन !
कुनै सालिक छैन !
बगाउँदा–बगाउँदा सेतो गङ्गा
जसको छाती बन्छ
हिमपहिरो पछिको उराठ अन्नपूर्णा !
मध्यरातसम्म पानीपट्टी फेर्दाफेर्दा
जो हुन्छिन् स्वयं तेल सकिएको दियो !
हुन्छिन् अस्ताउँदै गरेको छायाँ !
चारा खुवाएर, पखेटा नचाएर
उड्न सिकाउँदा सिकाउँदै
जो हुन्छिन् एक दिन रित्तो गुँड !
सुकाएर बिस्कुन ताराहरूको
आमाहरू कुरिरहन्छन् आकाशमा आरु फुल्ने याम !
आमा– अर्थात् इरेजरले मेटाइएको रेखाचित्र !
आमा– अर्थात् सरकारी बहीखाताभित्रको खाली पाना !
हो आकाश !
तिनै आमाहरू हुन् मेरा कविताका नायक
जसको आजसम्म कुनै सालिक छैन !
हात फैलाएर अनन्तसम्म
मलाई देउ ए धरती !
एक मुठ्ठी धुलो
ठिहीले खाएका, घामले सुकाएका
एक लहर सिरुका फूल !
कसैले उखेल्न नसकेको रुखको जरा
र तिम्रो छातिमा गर्भस्थ
एक टुक्रा निख्खर फलाम
अक्षरहरू कुँदेर बनाउँदैछु म यौटा सालिक !
हो धरती !
म बनाउँदैछु सालिक नायकको
अर्थात् बिस्मृत सिपाहीको !
तिनै हुन् मेरा कविताको नायक
जसको अहिलेसम्म कुनै सालिक छैन !
च्यातिएको पछ्यौरी र मैलो कमिज जस्तै
जसका सपना अल्झिएका छन्
यतै कतै जङ्गलमा !
तुना चुँडिएको बिजोडी चप्पलजस्तै
जसको यात्रा हराएको छ
यतै कतै एकलासमा !
बाटोको खोजीमा हिँड्दा हिँड्दै
हराएका छन् पाइतालाका डोबहरू
हुरीले उडाएको पातजस्तै गायब छ ठेगाना
र पत्करमुनिको भुइँ जस्तै
पुरिएको छ नाम अन्त्यहीन विस्मृतिमुनि !
रङ्गबिहीन भएका छन्
रगतका दाग र आँसुका ढिक्का !
हो, धरती !
तिनै गुमनाम सिपाही हुन् मेरा कविताका नायक
कालो बादलमुनि जसको कुनै सालिक छैन !
टक्क अडिएर एकछिन
मलाई देउ ए कालिगण्डकी !
एक चिम्टी सौदामिनी !
बिसाएर पोखिदेउ एकछिन
अँजुलीभरि शीतल मुस्कान !
देउ तिमीले ताछेका
केही थान चिल्ला शालिग्रामहरू !
अनि, हीरा जस्तै चम्किलो
एक डोको बालुवा !
म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिक
हो गण्डकी ! म बनाउँदैछु सालिक नायकको
अर्थात् खण्डहर गाउँको
तिनै हुन् मेरा कविताका नायक
युग बितिसक्यो जसको कुनै सालिक छैन !
गाउँ, जो सधै निर्यात गर्छ मधुमासका रातहरू
र बर्षेनी भित्र्याउँछ
कफिनभित्र फुटेका चुराका टुक्राहरू !
गाउँ, जसले पठाउँछ पहरोजस्ता छाति बाहिर
र बर्षेनी भित्र्याउँछ
टक–टक बैशाखीका आवाजहरू !
गाउँ, जसले बिदा गर्छ राता स्याउ
र बर्षेनी भित्र्याउँछ केही थान एड्स र सिफलिसहरू !
जसको जगमा टेकेर उभिन्छ
काठमाडौंको स्तम्भ !
उमेर जति पोखेर बगरको बालुवामा
आफू बन्छ घाटछेउको खण्डहर !
हो गण्डकी !
यही ढाड कुप्रिएको गाउँ हो मेरो कविताको नायक
जसको यस संसारमा कुनै सालिक छैन !
यस्सो भित्तातिर अडेस लागेर
उघारिदेउ हे अनन्त जङ्गल !
यौटा सानो खुल्ला चौर
अलिकति छेउँ लागेर
बिछ्याइदेऊ घामको एउटा गुन्द्री !
देउ न्याउलीको यौटा बिरह गीत
‘हुन्छ’ भन्दै टाउको हल्लाएर
झारिदेउ अलिकति पहेंला पात
र फूलका रङ्गीन पत्रहरू
म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिक !
सुन्यौ जङ्गल !
म बनाउँदैछु सालिक नायकको
अर्थात इतिहासको
जो हो मेरो कविताको वास्तविक नायक
जसको यस धरतीमा कुनै सालिक छैन !
गजुरलाई आकाश छुन पठाउँदा
धरतीभित्रै भासिएका जगका ढुङ्गाहरू !
दुनियाँलाई पार गराउँदा असारे भेल
प्वाल परेर डुब्नै लागेका पुराना डुँगाहरू !
अर्काको मूर्ति कमनीय बनाउँदा
भत्किएका हत्केला र फुटेका ठेलाहरू !
सेनापतिलाई जिताउन सरपट दौडिंदा
घोडा बिनै रित्तिएका तबेलाहरू !
हो जङ्गल !
कुनै भोजपत्रमा नलेखिएको
कुनै शिलामा नभेटिएको
यही तिरस्कृत गोरेटो
यिनै बिर्सिइएका गीतका अन्तरा र
छिनोका टुक्–टुक्
यिनै हुन् मेरा कविताका नायक
जसको कहीँ कतै कुनै सालिक छैन !
शुभ्र आकाश, हे हरियो छायाँ पर्खिरहेको समुद्र !
उत्ताल गण्डकी, हे शश्यश्यामला धरती !
सीमाना चिरेरै देउ मलाई अन्धकार तोड्न
उज्यालो उपहार !
जसलाई घोलेर मेरा अक्षरहरूमा
म एउटा अभेद्य सालिक बनाउँछु !
(स्रोत : कविको प्रकाशित कविता संग्रह– “बिना सालिकका नायकहरू” बाट सभार )