कथा : इतिहासको पानाबाट

~केशव अर्याल~

मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम जारी नै रहन्थ्यो । घटना दिन दिनैका थिए तर साङ्केतिक रूपमा एक दिनको एउटा सानो घटना मात्र यहाँ स्मरण गरिएको छ । सुन्दा नौलो लाग्न सक्छ तर घटना थियोे वास्तविक ।

मखमली भन्छे श्रावण महिना थियो । खेतबारीमा काम गर्नु पर्ने बेला धान रोप्ने, कोदो रोप्ने, मास भटमास छर्ने, काम कति हो कति । गाई भैँसी बाख्रा सबैलाई घाँसको व्यवस्थापन गर्नु घरका मानिसलाई खाना पकाउन धान कुटी चामल बनाउने मकै पिसी पिठो बनाउने दाल तरकारीको जोहो गर्नु उनीहरूको नियति नै जस्तो मानिन्थ्यो । घरमा खासै काम पनि नदेखिने फुर्सद पनि कहिल्यै नहुने, यी थिए गृहिणी महिलाको आफ्नै खालको समस्याहरू । मानिसका, पशुका खानपानको व्यवस्थापन गरिरहनु कम्ती चुनौतीको काम थिएन । झरी परिरहेको थियो, भकारीमा धान थियो कुट्नका लागि सुकाउन पाएको थिएन । ढिकीको ओखल पानीले भरिएको थियो । ओखलको पानी निखारी धानकै भुस हाली सफा गरियो धान कुटियोे, केलाउँदै जाँदा चामलभन्दा कनिका पो बढी निस्कियो । डालोमा केलाएको चामल घ्याम्पामा राखी मान्छेलाई खाने व्यवस्था मिलाइयो । गाई र भैँसी ब्याएका सात दिन पनि भएको थिएन, खोले पकाउने पिठो पनि घरमा नहुनु मकै पिस्न घाम लागेकै थिएन मान्छेको भए सात दिनका सुत्केरी भनी चिल्लो तातो खुवाउनुपर्छ भन्थे, तर विचरा पशुहरू । झरीमा के खान्न दिने चिन्ताले सताउँदै थियो उनीहरूलाई ? मकै पिस्न सुकाउन नपाएकोले जातोमा पिस्न सकिने अवस्था थिएन, तैपनि नगरी भएन हत्केलाभरि ठेला पारी मैले र कालिकाले जातो पिस्दै थियौँ । मकै पिस्दा पिठोभन्दा च्याख्ला मात्र धेर्रै आए पछि म र कालिका बिहानको खाना खाएर धोक्रोमा मकै हाली पिस्नका लागि घट्टतिर लाग्यौँ । सिमसिम पानी परिरहेको थियो, बाटो चिप्लो थियो । हामी घुम ओढेर घट्टतिर लाग्यौ । करिब एक घण्टाको बाटो हिँडेर पुग्न सकिन्थ्यो बाटो चिप्लो भएकोले डेढ घण्टामा लड्दै पड्दै घट्टसम्म पुगियो ।

घट्ट खोलाको पारिपट्टि थियो खोलामा काठको फड्के तरेर जानु पर्ने हुँदा पारिबाटै घट्टेरा दाइलाई बोलायौँ घट्टेरा दाइले भारी बोकेर फड्के तारिदिए । घट्टे छाप्रोभित्र लगेर बिसाए । मैले र कालिका आफनो घुमलाई घट्टे छाप्रोको एकाकुनामा राखी घट्टेरादाइले ओछ्याई राखेको गुन्द्रीमा गएर बस्यौ । घट्ट आफ्नै गतिमा घुम्दै थियो । सोलीबाट मकै झर्दै थियो । त्यहाँ काठको चराले घुमेको घट्ट र घट्टेछाप्रोमा झुन्डाइएको सोली बीचमा एक प्रकारको सम्बन्ध स्थापित गरिरहेको थियो । जति बढी गतिमा घट्ट घुम्छ त्यत्तिकै गतिमा चराको पुच्छर उफ्रिदा सोलीको मकै त्यतिकै गतिमा घट्टको बीचमा रहेको प्वालमा झर्दथ्यो । आहा ! कति राम्रो सम्बन्ध । सोली, चरा र घट्टको । तीनै चीज निर्जीव थिए तर एक आपसमा तीनै मित्र थिए । कति राम्रो चरो उफ्रिएको हगि दिदी ? कालिकाले मलाई सोधी । मलाई पनि राम्रो लागेकोले दुवैजनाको ओठ आफै फाटे हाम्रा मनभित्रमा मुस्कान मुखबाट बाहिर आए र हावामा तैरियो । घट्टेरादाइले हामीतिर हेरे । हामीले लाजले मुन्टो लुकायौ । ती पनि खिस्स हाँसे । दुवैको अघि भारी बोकेर आएको थकाई मरिसकेको थिएन । पानी पर्दैगर्दा हिँडेर आएका हुँदा केही भिजेका पनि थियौँ । बाहिर भिजेका भए पनि भित्र शरीरमा भारी बोक्दा आएको पसिनाले गर्मी भएझँै लागिरहेको थियो । केही बेरको आराम पछि शरीरको पसिना ओभायो । तर लुगा चिसा भएकोले जाडोको महसुस हुन थाल्यो । घट्टेछाप्रोको अर्को छेउमा अगेनो थियो वन नजिकै भएर होला अथवा सलाई लाइटर चिसोले पर्दैन तमाखु खान, खाजा बनाउन पनि आगो पाइँदैन भनेर हो घट्टेरादाइले अगेनुमा ठूलो मुढो जोतेका रहेछन् । जोतिएको मुढो मन्द गतिमा नचलिकन बलिरहेको थियो । आगो झर्भmराउँदो थियो । मैले र कालिकाले आगो ताप्न थाल्यौँ ।

घट्टमुनि पानी छ्वाङछ्वाङ गरी बगिरहेको थियो । पानी ठाडो वेगले बगेको हुँदा उछिट्टिएका पानीका थोपाहरू फोका फोका बन्दै जमिनमा परेका त्यही बिलाउँदै थिए, फेरि कुलोमा परेका फोका पानीमै मिसिएर रमाउँदै वेगका साथ वग्दै थिए । निर्मल भएर चाँदीझैँ टल्किएर । त्यही पानीको वेगले घट्ट दौडिरहेको थियो । नथाकिकन घुमिरहेको थियो । पानीको बलेले मानी र फालीको सहाराले घट्ट बत्तीको वरिपरि घुमेको पुतलीभन्दा पनि छिटो छिटो घुईक् घुईक्….. आवाजका साथमा घुइकिँदै थियो । सोलीको मकै घट्दै थियो । घट्टको वरिपरि पिठो सगरमाथाको चुचुरा जस्ता चुचुरा बनेर थुप्रिँदै थियो । घट्टेरादाइले कुचोले पिठो बढारे । एक जना अधबैसे मान्छेले धोक्रो थापे पिठो धोक्रामा बढ्दै गयो घट्ट वरिपरिका पिठोका चुचुरा सबै हराए । ती अधबैँसे  मान्छेले  आफनो  स्टकोटको खल्तीबाट तमाखु निकाले बाँसको सोतेमा चिलिम राखे र भरिएको तमाखुमा झर्झराउँदो आगो राखी स्वा….स्वा…स्वा…. गरी छोटो छोटो सासले तान्ने र मुख र नाकबाट एकैपटक बाक्लो कुहिरो जस्तो धुवाँ माथितिर फाँले । फेरि घट्टेरादाइलाई दिए । उनले पनि त्यसै गर्दै थिए । बिडम्वना ! त्यही बेला घट्टले विश्राम लियो । पानीको वेग हरायो । कुलो सुक्यो । हतारिँदै घट्टेरादाई घट्टेछाप्रोबाट माथितिर दौडिए ।

कुलो केही पर भत्किएको रहेछ । कुलो बनाएर उनी आउनुभन्दा अघि नै घट्ट पूर्ववत् रूपमा पुतलीझैँ घुम्दै थियो । सोलीको मकै सकिन लाग्यो वरिपरिकोे पिठो फेरि बढारे घट्टेरादाइले फेरि धोक्रोमा उठाइदिए । सोली रित्तिएछ । ती अधबैँसे मान्छे आफनो धोक्रो बोकेर घरतिर लागे । घट्ट पहिले भन्दा केही चलाख भएर घुम्न लाग्यो । कालिकाले बोकेर लगेकी धोक्रो घट्टेराराईले सोलीमा घन्याए । काठको चरो केही रिसाएझैँ पहिलाको जस्तो राम्ररी उफ्रिएन् । आवाज पनि पहिलाको जस्तो चर्को थिएन । घट्टेरादाइले मन खुम्च्याउँदै भने “मकै सुक्न पाएको रहेनछ ।”

कहाँबाट सुकोस् ! घामको मुख नदेखेको आज सात दिन भैसक्यो । उनैले बुझेकै कुरा हो । बिस्तारै सोलीको मकै घट्दै गयो घट्टको वरिपरि पिठोको पहाड देखापर्न थाल्यो घट्टेरादाइले पिठो उठाएर धोक्रोमा राखिदिए । सोलीमा खन्याएको मकैबाट घट्टेरादाइले पाँचमाना मकै झिके र छेउमा राखेको ठूलो थुन्छेमा खन्याएँ । सायद उनको अडकल कालिकाले बोकेकी धोक्रोमा दस पाथी मकै थियो । त्यही भएर नै ज्याला पाँचमाना लिए नि !  म र कालिका मुखामुख गरी घटेरादाइले झिकेको ज्याला हेर्दै थियौ । सोध्न पनि नपर्ने ! कसरी दस पाथी नै मकै ल्याएका छन् भनी जानेका, हामी अचम्मित भयौ । सायद सोलीभित्र कुनै चिनो पो लगाएका छन् कि ? केही बेर घट्टको मात्र आवाज सुनियो, हाम्रा आवाज मनभित्रै गुम्सिएका थिए । खाजा खाने बेला भयो भोक पनि लागेको थियो तर के खाने ? म र कालिका गुनगुन गर्दै थियौ । घट्टेरादाइले अगेनुको छेउँमा राखेका गोलो ढुङगाको ताँवा अगेनुमा बसाले । घट्टेछाप्रोका अलि पर रहेको केराको गाँजबाट पात काटेर ल्याए त्यसपछि केराको पातमा मकैको पिठोको रोटी तातेको तावाँमा राखिदिए ।

“मुढाको आगो तातेको तावाँ तीनवटा रोटी एकैछिनमा पकाएँ ।” घट्टेछाप्रोमा फलेको बयरे खुर्सानीमा नुन हालेर सिलौटो जस्तो ढुङगामा पिसेर अचार पनि बनाए । हरियो खुर्सानीको वास्ना चलेको थियो । हामीलाई एक, एकवटा रोटी दिए । अचारसँग रोटी तीनै जनाले खाइयो । पीरो त अचम्मै थियो, तर पनि हामीले मीठो मानेर खाइयो किनकि त्यहाँ पीरोलाई भोकले जितिसकेको थियो । सोलीको मकै घट्दै थियो, कालिकाको भारी पिसी सक्दा घामले डाँडामा अँगालो मार्न पुग्यो । घट्ट घुम्दै थियो । त्योभन्दा छिटो सूर्यनारयण घुम्दै डाँडापारि पुगे, घट्टे छाप्राको छेउको खेतमा झ्याउकी कराउन थाले, आकाश बदली थियो । कहीँ कहीँ तारा मुस्किलले चम्किरहेका थिए । कालिकाको भारी पिस्ने काम सकियो । मेरो भारी सोलीमा खन्याइयो । घट्ट घुम्दै थियो रमाउँदै थियो । जूनकिरी पनि आफ्नो बत्ती बाल्दै खेतको वरिपरि घुम्न थाले । भ्यागुताहरू ट्वाँर ट्वाँर शब्द निकाली कराउन थाले । खोलाको पानी पहिलाभन्दा बढी आवाजका साथमा कराउँदै बग्दै थिए सुनसामन रातमा ।

म र कालिका मनमा केही डर केही सन्ताप लिएर सोलीको मकै कहिले सकिएला भनी हेर्दै थियौँ । घट्ट घुमेझैँ घडी पनि आफ्नै गतिमा घुम्दै थियो । त्योभन्दा बढी हाम्रो मन मुटु घुम्दै थियो । घटेरादाइले सोलीबाट पहिला झैँ पाँच माना मकै झिके । उनको अडकल ठीक थियो उनी सोलीमा मकै खन्याउँदा कति पाथी मकै छ भन्ने कुरा कसैलाई सोध्दैनथे । उनको अडकल ठीक हुन्थ्यो । सोलीमा भित्रपट्टि सायद उनले केही सङ्केत राखेका थिए

कि ! रातको नौ बज्यो मकै पिसेर सकिन लाग्यो घट्टवरिपरिका पिठोका चुचुरा सबै कुचोले सम्म पारियो । मानौँ ढलेको रूख जस्तै गरी । पिठो धोक्रामा राखी घट्टेरादाइले धोक्रोको मुख बाधिदिए र घट्टका सोलीमा अर्को धोक्रो खन्याए ।

अँध्यारोमा सानो टुकी घट्टको छेउँमा बालिएको थियो । धोक्रो बोकी बाटो छामछाम छुमछुम पार्दे भूत, प्रेत, पिचास, बाटाका सर्प आदिको, केही डर मान्दै, केही शङ्का उपशङ्का लिँदै म अगाडि कालिका पछाडी पिठोको भारी बोकी घर तिर लाग्यो । बाटोमा कालिकाले दिदी घरमा छोराले दूध खान नपाएर रुँदै होला यता मेरो छाती चर्किएर पछाडिको भारी जस्तै गह्रौ भएको छ । दिदी ऊ आफ्ना वेदना पोख्दै थिई । मेरो बालबच्चा थिएनन, मलाई बच्चाको  पीर  थिएन  ।  उता  घरमा कालिकाको सानो छोरा आमाको दूध खोजी रोहिरहेको थियो । वाबु हरिदेवले निकै फुल्याउने जोड गरेछन् तर केही सिप लागेनछ । कालिका र म घट्ट गएका बाटोतिर दुई भाइ आएछन् हामीलाई खोज्न भनेर । बीचबाटोमा भेट भयो कालिकाको भारी हरिदेवले मेरो भारी जयदेवले बोकेर ल्याए । घर  आएर  कालिकाले  छोरालाई  दूध खुवाइन् । बच्चा आरामले सुत्यो मानौँ उसको निद्राले आमाको दूध मात्र खानका लागि पर्खिन दिएको थियो । हामी सासू आमाले पकाएर राखिदिएको खाना खाएर आआफ्ना बिछ्यौना गएर आरामले सुतियो ।

घरमा चामल र पिठोको व्यवस्था मिलाएपछि गृहेकीको एक दुई हप्ताको टाउको दुखाइ निमन जस्तै भयो । जातो पिस्दा हातमा ठेला नउठ्ने भए हामीहरू आनन्दमा केही दिन बिताउन पाउने भएकोमा आफैलाई भाग्यमानी ठानियो, आनन्दले निदाइयो । तर आजकाल ती पानीघट्ट हाम्रा लागि नै इतिहास भइसके मकैको पिठो कसरी खाने भन्ने प्रश्न आउन सक्ने भए सेता चामलको भात मात्र खाँदा जब रोगले सताउन थाल्छ तब ती हाम्रा बाजे बराजुले स्थापित गरेका नियमको खोजी हुन थाल्छ । बलियो बाङ्गो हुँदा जे जे खाए पनि शरीर कमजोर भएपछि पुर्खाका नियमले नै काम गर्ने देखियो आजको विज्ञानको युगमा पनि । ती हाम्रा बाजे बराजुलाई किन वैज्ञानिक भन्न सकेनौँ हामीले त्यसैमा मलाई पश्चात्ताप लागिरहेछ । मेरो यो बुढेसकालले ती पुराना बाजेका नियमले यमराजका दूतहरूलाई मसम्म आइपुग्ने बाटोमा तगारो हालिरहेका छन् । धन्य ती पुर्खाहरूलाई । आजका नातिले देखाएका खानपानको नियमभन्दा पुर्खाका नियम नै उत्तम लाग्यो यो धर्तीमै बिसाउने बेला भएको मेरो बूढो शरीरलाई ।

(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.