~मीन राना~
यहाँ
ठगिएकाहरूको सूची हेर्ने हो भने
पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन्
बेचेर राष्ट्रको स्वाभिमान
उर्बर मगजहरूलाई
एक्कामा टाँगिएको छ
सर्वसाधारण किसान मजदुरहरूको
आँखैमा पट्टी बाँधिएको छ
सत्तासिनहरू र
सत्तँरोहणका प्रत्यासीहरूको घाँटी
कुनै विदेशी प्रभूहरूसँग गाँसिएको छ
बस्तीको कुना काप्चा चहार्दै
चर्को आतङ्क मच्चाउँदै बजार भाउ बढ्छ
कुखुराको पोथी झैँ कर्कराउँदै
मिडिया आवश्यकता कुर्लन्छ
र, कुर्लन्छ अधिकारका कुरा
पसिनाको मूल्य झन् घट्छ
देशको निरीहता
गरिखानेहरूको दुरावस्था
मुक्तिदाता भनाउँदाहरूको भक्तिमोह
देखेर हार्दिक मगजहरू
अझ निराश हुन्छन्
बुढो बाबाको अवस्था हेर्दा लाग्छ
यो वर्षको गाइजात्रा
आफ्नै घरबाट निस्कने पक्का छ
चाला यस्तै हो भने अर्को साल
काल आमासँग पनि जिस्कने पक्का छ
कमाई गतिलो हुन नसके यसै वर्षबाट
छोराछोरीको पढाइ बिच्कने पक्का छ
यो विषम घडीमा
नबिदेशिउँ त
जहान परिवार भोको हुने निश्चित छ
बिदेशिउँ त
अभावको पहाड पल्टाउने आशामा
विदेशको यात्रा पनि मात्र धोको हुने निश्चित छ
विदेशिए पनि÷नबिदेशिए पनि
नाफाखोर र दलालहरूको नाफाका निम्ति
बलिको बोको हुने निश्चित छ
हुतिहारा सरकार
मिचिएको सीमा क्ष्ँेत्रबाट सगौरव
बहादुरीका साथ वर सरे झैँ
हामी कतिपछि पर्दै जाने
हामीमाथि चलाखी गर्नेहरूले
विदेशी चलखेल वाल्ल परेर हेरे झैँ
आफूमाथिको थिचोमिचो
शोषण÷भावनामाथि दमन
कति दिनसम्म सहँदै जाने
ऐजेरू पलाएको रूख झैँ
आकाशे बेली फस्टाएको झ्याङ झैँ
कहिलेसम्म यसरी मर्यो मर्यो भएर बाँच्ने
खेपेर हरेक पाइलामा सास्ती
लुटाएर आफ्नो अभिमान
गुमाएर आफ्नो भूमि
भ्रम र जालमा आधारित
यो व्यवस्थाका सञ्चालकहरूलाई
कहिलेसम्म स्वस्ति गर्दै जाने
यो देशलाई कहिलेसम्म
पराधीनताको छायाँमा हेर्दै जाने
ए ! ज्युँदाहरू हो ?
मर्नु त सबैले पर्छ
तर कति दिनसम्म मारमा पर्दै जाने
मृत्युको झासाले
कहिलेसम्म तर्सदै जाने ?
(कविको प्रकाशित कविता सङ्ग्रह ‘विषको खेती’ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ५ – Dec. 16, 2015 – २०७२ पौष १ गते, बुधबार)