पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~

परिचय

कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एवम् कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खरेल हिमायती (साहित्यिक मासिक) कावासोतीका सम्पादक पनि हुन् ।। पल्लव साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य परिषद,नवलपरासी, नवलपरासी साहित्य परिषद नवलपरासी, लक्ष्मीस्मृति साहित्य समाज, नवलपरासीसँग आबद्ध रहेका खरेलले शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेवापत शिव मा.वि. शिवबस्तीबाट स्तरीय शिक्षण सम्मान(२०६०) जनता उच्च मा.वि. डण्डाबाट स्तरीय शिक्षण सम्मान( २०६३) ,यिनै संस्था उच्च मा.विमा स्तरोन्नती भए पछि पनि क्रमश २०६४ र २०६५मा स्तरीय शिक्षण सम्मान प्राप्ग गर्नुको साथै उत्कृष्ट शिक्षक सम्मान (२०७२) र यसै वर्ष, वर्ष शिक्षक सम्मान समेत प्राप्त गरी आफूलाई उत्कृष्ट शिक्षकको रूपमा परिचित गराइसक्नु भएको छ । साहित्यिक सम्मानमा खरेलले, प्रतिभा युवा क्लब, विष्णु नगरबाट उत्कृष्ट नाटक लेखन,लक्ष्मीस्मृति साहित्य समाजबाट –२०७१मा साहित्य सम्मान, नवलपरासी साहित्य परिषदबाट २०७२मा सम्मान, नारी साहित्य समाज सम्मान –२०७४ र महामण्डल साहित्य सम्मान २०७४, प्राप्त गरिसक्नु भएको छ । साहित्यकार खरेलको साहित्यिक जीवनी केलाउँदा उत्कृष्ट छन्देली कवि र पेशाले उत्कृष्ट शिक्षक, सरल एवम् मिलनसार व्यक्तिको रूपमा मैल पाएको छु ।

कृतिको संरचना –

शब्दयात्री छन्दोबद्ध कवितासङ्ग्रह, आवरण पृष्ठ सहित १६९ पृष्ठको रहेको छ । कृति पल्लव साहित्य प्रतिष्ठान नारायणगढ, चितवन द्वारा प्रकाशन गरिएको र मूल्य ३०० रुपियाँ राखिएको छ । स्नेहमयी जननी स्व. पूर्णकला खरेल (१९८९–२०६४)प्रति समर्पित,यसकृतिमा ७१ओटा कविताहरू समावेश गरिएका छन् ।

विभिन्न साहित्यकारको यस कृति र कविप्रति राखिएका धारणा – मीना लामिछानेले यो कृतिको प्रकाशकीयमा, लोकप्रिय विधामा कृति प्रकाशन गर्न लागेकोमा,कविलाई हार्दिक शुभकामना दिनु भएको छ । यस कृतिको भूमिका लेख्दै डा. धनपति कोइरालाले भन्नु हुन्छ– ‘‘विषयबस्तुगत विविधता प्रस्तुत कृतिको अत्यान्त सवल पक्ष हो । मानवतावादप्रति अतिशय आकर्षण तथा राष्ट्रप्रेम यसको मुख्य स्वर हो ।’’ गोविन्दराज विनोदीले यस कृतिप्रति लेख्नु हुन्छ –‘‘विषयगत विविधताका साथै लय वा छन्दगत विविधता र भावगत नवीनता यस कृतिमा सङ्गृहीत कविताहरूको सम्प्राप्ति हो ।’’ गोर्खे साइँलो कवि खरेलप्रति आशावादी हुँदै लेख्नुहुन्छ –‘‘कवि खरेलमा भएको उर्वरालाई,अझ विकाशोन्मुख बनाएर अघि बढेमा आगामी दिनहरूका उहाँका विविध काव्य, खण्डकाव्य र महाकाव्यजस्ता पुस्तकहरू पढ्न पाउने विश्वास लिएको छु ।’’ कवि स्वयम्को यस कृतिप्रतिको धारणा – ‘‘विभिन्न छन्दका माध्यमबाट आफ्नै देशको प्रकृति, समाज र सिङ्गो राष्ट्रका पक्षलाई अन्तस्करणको अनुभूति जीवन भोगाई दृश्यावलोकनको चित्र कोर्न प्रयासस्वरूप प्रस्तुत शब्दयात्री कविता सङ्ग्रह जन्मिन पुगेको छ ।’’ लोकनाथजीका यी धारणालाई कविताहरूले पनि स्पष्टरूपमा बोलेका छन् ।

कृतिभित्र प्रवेश गर्दा – खरेलजीले यस कृतिमा विषयगत विविधताले भरिएका विविध छन्दले सिङ्गारिएका, राष्ट्रियताले ओतप्रोत भएका सामाजिक चित्रणले सवलरूप लिएका मानवतावादी स्वरले अन्तस्करण छोएका यी ७१ पुष्प गुच्छाहरूको एक एक भावसारतिर नलागि विविध धारणातिर लम्कन चाहान्छु । विविध छन्दमा रचित याी कवितामा कवि राष्ट्रियताका भावनाले सागरझै लहरिएका छन् । यिनका यी सामुद्रिक छालसँग म पनि यसरीनै लहरिन जान्छु –

राष्ट्रियता र शब्दयात्री– खै राष्ट्रको अस्मिता, राष्ट्र र राष्ट्रियता, मेरो धर्ती , पीडा, खै उन्नति, फर्केर आऊ घर, लक्ष्यहीन ,तब बन्छ राष्ट्र यो, के हुन्न कर्म गरे, नियति, खै शान्ति यो देशमा, नेपाल मेरो घर, यो देश टुक्रिन्छ कि, खडेरी परेको देश, गन्तव्यहीन यात्रा, सङ्घीयता, यो देश, भावना, भूस्वर्ग, खोज्दै छु नेपाल, फुल्न नसकेको फूल, आकाश चुम्ने कुरा, खै शान्ति नेपालमा, सुन्दरी, गणतन्त्र, नयाँ नेपाल, तीतो सत्य र पहिचान, कविताहरूलाई राष्ट्रियताप्रति कविको गहन चिन्तन रहेको छ र यसै विषयमा अध्ययन गर्न सकिन्छ । कविले राष्ट्र अधोगतितिर लागेको, नेपाली पन नभएको, लुट्ने र धुत्ने प्रवृत्तिले देश छिया छिया भएको, जननीलाई चोक्टामा विभाजन गरिएको, घर्तीलाई छियाछिया पारिएको र देशलाई अन्धकारतिर ढकेलिएको आदि राष्ट्र राष्ट्रियताप्रति पोखिएका धारणामा केही पङ्क्तिलाई अध्ययन गरौं –

यस्तो सुन्दर शान्त देश सब यो उठ्नै नसक्ने भयो,
के भो आज विवेकहीनहरूको धर्ती मुठीमा गयो
देश स्वाधिन यो भनौ म कसरी नेता पराधीन छन् 
आफ्नी यी जननी लुछेर अबता काटेर नै बेच्दछन् ।
पृष्ठ ११

गास बास कपासहीनता, रोगहरूको कारणले मानिस मर्न बाध्य, भाइ लडासउने दुर्गन्धको खेल, बलिका बोका बनाएर रगतको भेल,जनहरू टुहुरा भएको, राष्ट्र बचाउने सुदिलको नेता नजन्मिएको,शकुनीकोजस्तो निर्लज्य राजले स्थान पाएको, आदि धारणाको साथमा कवि भन्छन् –

‘‘देशै गृष्म भयो कडा अनलको ज्वाला बलेको यहाँ
माटो जर्जर भो वसन्त वध भो वर्षा हरायो कहाँ’’
पृष्ठ १४

कविले देशमा विकास भएको देख्न चाहान्छन् । देश विकासको लागि उदार हृदय चाहिन्छ र कृयाशील हुनुपर्छ भन्छन् । उर्जाले भरिपूर्ण भए पनि अन्धकारले व्याप्त छ । सम्पन्नता पूर्ण हुँदा हुँदै पनि सम्पन्नताको अभाव भएको कविको ठम्याइ छ –

गौरीशङ्करको निवास धरती सम्पन्नतापूर्ण छ
छैनन् खै हरिया उचा शिखर ती आगो सधैं बल्दछ
अस्थीपञ्जरझैं छ शेष अबता संमृद्ध बन्ला कहाँ
छैनन् राष्ट्र बनाउने तरुण ती जन्मिन्छ कैले यहाँ
पृष्ठ ३५

राष्ट्र निर्माण गर्न सबै जुट्नु पर्छ, भ्रष्टचार हट्नु पर्छ , मूर्ख बनाउन छाड्नु पर्छ, अमूल्य जीवनलाई राष्ट्र निर्माणमा लगाउनु पर्छ , लुछाचुडी छाड्नु पर्छ , दीनदुखीे उठ्नु पर्छ । भविष्यको अवलोकन,गर्दै देशको शान, मान र माटो राखेर देश निर्माण गर्नुपर्छ र देश टुक्रिन दिन हुँदैन भन्छन् कवि –

‘‘मुर्कट्टाहरूको छ राज कसरी बन्ने धरा पूर्ण भै
नाङ्गो नाच न लाग्छ लाज तिनमा आशा गरौं के अझै
चुस्यौ चुस्न अनेक जाल छ सधैं रित्तो सबै हुन्छ कि
खै यो राष्ट्रियता धराप छ सदा अस्तित्व नै गुम्छ कि’’
पृष्ठ ५९

देशको काँचुली फेर्न सकिने धारणा राख्दै कवि लेख्छन् –

‘‘पानी मात्र पिएर राष्ट्र अबता जागेर बाँच्ने छ यो
प्यारो राष्ट्रियता उचा छ शिर यो नेपाल झुक्दैन हो
बाँचने आश्रयमा अझै कति यहाँ फैलाउँदै अञ्जुली
आफै खोज गरौं विभिन्न पथ ती फेरिन्छ है काँचुली’’
पृष्ठ १०५

लोकतन्त्रप्रति कविको धारणा– देशमा लोकतन्त्र, गणतन्त्र, आए पनि जनताले गणतन्त्रको अनुभूति गर्न सकेका छैनन् । जनताका सपनाहरू चिहान भएका, सुमार्गको खोजी भएका छैन, धरा उठ्न सकेका छैन, जनताले गासबास कपास प्राप्त गर्न सकेका छैनन्, त्यसो हुँदा लोक तन्त्रमा दियो बल्नुपर्छ, उषा खिल्नु पर्छ , सुधा मिल्नु पर्छ , वसन्त आउनु पर्छ सुवर्ण चम्कनु पर्छ भन्दै कविले यसरी लोकतन्त्र आएको अनुभूति महसुस हुनको लागि अझै मौजुदा रहेका पाखण्ड, घमण्ड, र स्वार्थको अन्त्यहुनु पर्छ , विनाशको बाटो छोड्नु पर्छ सधै उज्यालोको अनुभूति हुनु पर्छ भन्दै कवि भन्दछन् –

‘‘सधै उज्यालो धरती प्रभातको
सुवर्ण चम्के तब लोकतन्त्र यो’’
पृष्ठ ४

मानवीयप्रवृत्तिप्रति काविको धारणा – बास्तवमा मानिस दम्भी छ , स्वार्थी छ,ऊ यथार्थ भन्दा आफूलाई माथि सम्झन्छ, लगाएको गुनलाई, उदार ममता र मानवतालाई बिर्सन्छ ,सियो भै पस्छ हात्ती भै निस्कन्छ,, औला दिंदा हातै निल्छ आदि मानवको वैगुनी प्रवृत्तिप्रति कविले कटाक्ष गर्दै भन्दछन् –

‘‘स्वार्थैले मदमत्त भो अपचभै मान्छे बनाएपछि ,
नाता प्यार रहेन मत्त हुनगो पैसा कमाएपछि ।
सोझो मार्ग बताउँदा पनि यहाँ उल्टो सधैं हुन्छ नि,
धोका हुन्छ सहेर बस्नु कसरी मान्छे तहो वैगुनी ।’
पृष्ठ ५२

सीमा अतिक्रमणप्रति कविको धारणा– बास्तवमा नेपाल सानो छ ।छिमेकी ठूला छन् ।ठूला या साना देशको अस्त्त्वि भने समान हुनु पर्ने तर त्यो नभएर सीमाका पिल्लरहरू रातारात सारिन्छ र हाम्रो देशप्रति अतिक्रमण भएको छ । यस्तो छिमेकीको हेपाहा प्रवृत्तिप्रति कविको धारणा यसप्रकारको आएको छ –

सुस्ता त्यो लिपुलेक गुम्छ अब ता खोसेर खाँदै छ नि,
भाग्यो सुन्दरता अपाङ्ग तनको उत्थान के हुन्छ नि ।
बाँझो कोख भयो सपूत युगको जन्मेन ऐले यहाँ,
शोभा छैन लुट र जर्जर बनी आमा रुँदै छिन् यहाँ ।
पृष्ठ ९९

आन्दोलनको उपलब्धि ? – आज देशमा विकासको लहर चल्ला, जनताले विकास भएको अनुभूति पाउन सक्लान, देशलाई नेतृत्व वर्गले देश निर्माण गर्लान् भन्दा पनि सत्ताको खेलमा नेतृत्ववर्ग रमाएका छन् । प्रजातन्त्रको लागि र।ाणा कालदेखि आजसम्म आन्दोल भएका थिए र छन् पनि तर त्यसवाट प्राप्त उपलब्धिलाई नेतृत्व वर्गले व्यवस्थित गर्न सकेन र आज आन्दोलनहरू महगो भएको छ भन्दै कविले आफ्नो धारणा राखेका छन् –

सत्ताको बसमा परे मनपरी के पुष्टि भयो युद्धको
कालो बादल खै हटेन युगको डुब्दै छ नेपाल यो
छोरा नाती गुमेगुमे पनि यहाँ एक्लो भयो जीवन
सोझा ती जनता मरेर महगो बन्दै छ आन्दोलन
पृष्ठ ११७

नेतृत्व वर्गमा सत्ता लोलुपता–काम गरे के हुन्न ? सबै चीज गर्न सकिन्छ तर नेतृत्ववर्गमा काम गर्ने इच्छ्याशक्ति देखिदैन र देश बन्न पनि सकेको छैन भन्छन् कवि –

‘‘क्वैली मौन रयो वसन्त ऋतुमा आगो लगाएपछि,
छैनन् मङ्गल दीप ती गगनमा आकाश रोए पछि ।
के हेर्छौ दुनियाँ सधै दिन यहाँ रातै बनाएपछि,
के बन्थ्यो धरणी बिते युग यहाँ नेता गनाए पछि ।
पृष्ठ ३९

शहीदप्रतिको धारणा– कविले शहीदले देशको कालो बादललाई आफ्नो वलिदानबाट हटाए तर आज देश हाक्ने हरूले सहिदको सपना पुरागर्नुको सट्टा केवल माला लगाएर औपचारिकता निभाएकोमा कविले भन्छन् –

‘‘स्वप्ना बा बाकि रहे शहीदहरूका सम्मान गर्ने गर,
नेता छैन कुनै विशाल दिलको यो देश के बन्छ र ।
जस्को सुन्दर योगदान सपना कुल्चेर हिड्नेहरू,
के हुन्थ्यो यसरी भलो मुलुकको हे धूर्त नेताहरू ।’’
पृष्ठ ५७

प्रेममय जीवन गाथा– कवि सम्भोग शृङ्गारको वर्णन गर्न पनि उदार देखिन्छन् र सम्भोगको वेलामा लिइने र दिइने आनन्दको पूर्णरूपले वर्णन गर्छन् –

‘‘ती उस्का कलिला दुवै करहरू बढ्दै थिए माथमा,
चिम्ली लोचन दीर्घ सास अडियो आएर यो काखमा ।
माया बन्धनमा छु मस्त मस्त अति नै सानन्द मिल्दो छ है ,
के के भो कति बेर भो मनपरी त्यो काल ताजा छ है ।’’
पृष्ठ ६३

रोजगारीमा कविको धारणा– देशले रोजगार दिन सकेन, रोजगारीको लागि युवाहरू पलायन भए । आफूमात्र पलायन भएर नपुगी पत्नीलाई सहरमा लगेर राख्ने चलन पनि बढ्यो र घरमा बुढाबूढीले आगन कुरेर बस्नु पर्ने, छोराको आर्जन बुहारीले उपभोग गर्ने, साहुको ऋण पनि नतिरिने, अन्त्यमा पत्नीले अर्कैसँग विवाह गरेर जाने कटुसत्यलाई कविले यसरी धारणा राखेका छन् –

‘‘साना भाइ र वृद्ध बाबुजननी बाटो उतै हेर्दछन् ,
बारीखेत सबै लिलाम ऋणले साहू मिली घेर्दछन् ।
छोटो बुद्धि पुगेन है कपटले आयो नि आँफू रुदै,
भागे हेर विवेकहीनहरूको पैसा र पत्नी दुबै ।’’
पृष्ठ ९४

विविधताले भरिएका धारणाहरू– कविले हृदय खोलेर नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गरेका छन् । हिमाल पहाड र तराइमा देखिएका द्वन्द्व र त्यबाट निम्तिएका दुष्परिणामहरू, भाइभाइ बीचको द्वन्द्वको परिणतिले देश जर्जर भएको धारणा, संविधानले दिन नसकेको सन्तुष्टि, देशमा शान्तिको खोजी, देशको व्यप्त गरिबी र राजनीति परिवर्तनले जनतालाई दिन नसकको समृद्धि, जनतामा चाहिएको एकता, राष्ट्रको अखण्डता, समुन्नति, देशको विषम परिस्थितिले मानवीय जीवनमा पारेको प्रभाव, सभ्य र समुन्नत देश बनाउनको लागि युवाहरूलाई गरेको आह्वान, महाकावि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानले धन्य भएको धारणा, युगान्त भरिलो र व्योममा चम्किलो अमर काव्य र ज्योत्स्नाझै कवि बन्न पर्ने धारणा, खाली शब्द थुपारेर सुन्दर कविता नबन्ने, स्वार्थमा लिप्त नेताहरूले टाउको दुखे पनि विदेशमा उपचार गराउने, निमुखा जनता औषधी नपाइ मर्ने, भूकम्पले आठ हजार खाएको, कतिलाई अलपत्र पारेको, विविध नोक्सानी गराएको, अपनत्व हराएको, भ्रष्टचार मौलाएको, देश ठग प्रवृत्तिको जालले जेलिएको, राज्य पद्धति दलालको हातमा गएको, संघियताले देश टुक्रिन सक्ने, आपसमा द्वन्द्व निम्तिन सक्ने, संघियता अभिशाप हुन सक्ने आशंका,वर्गिय उन्नतिको लागि सबै लाग्न पर्ने, चोर्ने वाँदर र चुस्ने ब्वाँसा बाट देश बन्न नसक्ने, आजका मानिसको केन्द्र विन्दु भनेको आर्जन तथा पैसा भएको, ब्याठे बोकालाई सिंहले झम्टन थालेको, खोजेमा ईश्वर भेट्न सकिने तर सज्जन भेट्न नसकिने हुँदा सबै मिलेर यो बन्धन तोड्न सक्नु पर्ने, देश बनाउने नायकको जन्म नभएको, चुनावमा धेरै झुटा आश्वासन र पैसा बाँडिने साथै चर्का नारा लगाइने, जिन्दगी खोलाको पानी बग्दाझै बग्दै गएको, यो जीवन आमाको ऋणमा रहेको र चुक्ता गर्नु पर्ने भएको, आफ्नो मौलिकतालाई मासेर मासिदैन भाषा विगार्न पाइँदैदन, युवतीहरू लुटिएको, अस्मिता लुटिएकहो , सक्नेले सबै लुट्ने र कसैको सुरक्ष नभएको धारणाहरू कविले पस्केका छन् र सारा विसङ्गति र विकृतिबाट उठ्न पर्छ भन्ने कविको अठोट्ता छ ।

माथिका धारणाहरूले कविताको संरचनालाई प्रष्ट पारेका छन् । कविताहरूले आजका नेपालको परिवेशलाई समाएका छन्,यथार्थतामा रमाएका छन्, कटुसत्यलाई बताएका छन् । कविको राष्ट्र र राष्ट्रीयताप्रतिको गहन धारणा, उच्च भावना, सवल र सक्षम राष्ट्र वनोस् भन्ने परिकल्पना, वीरहरूले स्थापित गरेका गौरवमय इतिहासमा ह्रास नआवस् भन्ने धारणा, विषयवस्तुगत विविधताको सवलता, मानवतावादप्रतिको प्रवलता, प्रकृतिप्रेम,लोकतन्त्रप्रतिको आदर्शता, शान्तिको कामना आदि आदि धारणालाई कविले केलाउँदै सवल राष्ट्र र समाजको निर्माणको उद्देश्यलाई आत्मसात गर्दै यो कवितासङ्ग्रहको सिर्जना भएको मैले महसुस गरेको छु ।

भाषशैली– लय र छन्दमा विविधता, भाषशैलीमा सरलता,उखान टुक्कामय सूक्तिले गर्दा यस कृतिमा प्रयोग गरिएको भाषा सबै वर्गका पाठकको लागि ग्राह्य देखिन्छ ।

शीर्षकीकरण– यस कृतिको शीर्षक शब्दयात्री राखिएकोमा कविले शब्द शब्दमा गरेको रमण र प्रस्तुतिमा देखिएको रमणीयताले गर्दा शीर्षक सान्दर्भिक नै देखिन्छ ।

अन्त्यमा कवि खरेलजीलाई छन्दमा गहन कवितासङ्ग्रह पस्केकोमा बधाई ज्ञापन गर्दै उहाँका प्रकाशोन्मुख सबै कृतिहरू प्रकाशन हउन् भन्दै समुज्ज्वल भविष्यको कामना गर्दछु ।

मिति २०७४ साल मुगसिर २० गते , शान्तिचोक , नवलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.