कविता : हे पैसा तँ कति शक्तिशाली ?

~प्रल्हाद बुढाथोकी~

मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस्
नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस्
इमान र बलिदानको तँ बजार लगाउन सक्छस्
मौका परे देशकै सीमा हटाउन सक्छस्
हे पैसा तँ कति शक्तिशाली ?

न्यायको चिहान त कति खनिस खनिस
विवेकको तँ बिस्कुन लगाउन सक्छस्
समयको गतिलाई अाफुतर्फ मोड्न
समाजको मतिलाई भाँङ धतूरो ख्वाऊन सक्छस्
हे पैसा तँ कति शक्तिशाली ?

जति कालो त्यति धेरै बैँस चड्छ तँ मा
अंध्यारोमा रमण गर्ने निशाचरको भेषमा
उज्यालोलाई छल्न पाए षड्यन्त्रको भरमा
शकुनि भई पल्टाउछस पाशा एकै रातमा
हे पैसा तँ कति शक्तिशाली ?

मारुनीको रुप लिन्छस मोहनी छ मन्त्र
सुरसाको मुख जस्तो बनाकोछस यन्त्र
साम्राज्य नै खडा गरिस कालो धनको बलमा
सबलाई किन्ने सबलाई बेच्ने गर्छस प्रपन्च
हे पैसा तँ कति शक्तिशाली ?

कतिसम्म चुरिफुरी कति राँइदाँई गर्ने
कैले सम्म मानवमाथि तेरो रजाइँ चल्ने
अवश्य नै अाउछ एकदिन नाकमा नत्थी लाउने
तैंले होइन तँलाई कजाई मानिसले बाँच्ने ।
हे पैसा तँ कति शक्तिशाली ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.