~अनुपम ‘नवोदित’~
जतिवेला
अन्यायले सीमा नाघ्दै थियो
त्यतिबेला
पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल
गाएको हुँ स्वतन्त्रताको गीत
लाएको हुँ वर्गीय प्रीत
लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा
बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक
जुधेको हुँ पूरानो राज्यसत्तासँग
कुदेको हुँ तूफानसँग
जीएको हुँ गीठा, भ्याकुर र पतिंगरसँग
लिएको हुँ मृत्यु या मुक्तिको शपथ
जमिन, जल र जङ्गलमा
सर्वहाराको स्वामित्वको लागि
चढेको हुँ बारुदको चुचुरो
लडेको हुँ भीमकाय मुक्तियुद्ध
बढेको हुँ संघर्षको दावानलतिर
सडेको हुँ जेलको चिसो छिंडीमा
चुँडालेको हुँ फलामे जन्जीर
लगाएको हुँ गोलीको जन्तर
जङ्गललाई मङ्गल बनाउने भन्दा भन्दै
जाज्वल्यमान बिहानी ल्याउने
हर जोखिम मोल्दा मोल्दै
जीतको संवाद चाख्दा नचाख्दै
जबर्जस्त तूफान रोकियो
जङ्गलको पतिंगर ओड्नेहरू
बातानुकूलित
पूरानै महलमा विराजमान भएपछि
जनताका मुद्दा ज्यूँका त्यूँ रहेपछि
आकाश जस्तो छाती बनाएर
मैले कसको जयजयकार गरूँ
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।
२६ जनवरी, २०१९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )