~नैना सुब्बा बराईली~
साहित्यको विविध विधाहरूमध्ये नाटक एक हो अनि यसलाई सबैभन्दा प्राचीन विधा मानिएको छ । काव्यलाई दुई भागमा विभाजित गरिएको छ, अभिनय अर्थात् दृश्य काव्य र पाठ्य अर्थात् श्रव्य काव्य । नाटक यही अभिनय तथा दृश्य काव्य अन्तर्गत पर्छ । जुन रचनाले श्रवणद्वारा मात्र होईन अपितु दृश्यद्वारा पनि दर्शकहरूका हृदयमा रसानुभूति गराउँछ त्यसैलाई नाटक अथवा दृश्य काव्य भनिन्छ । नाटकमा श्रव्य काव्यभन्दा अधिक रमणीयता हुन्छ । लोक चेतनासित यो अपेक्षाकृत धेरै नै घनिष्ठ रुपले सम्बद्ध रहेको हुन्छ ।
विविध प्रकारका कलाहरूका उपयोग गरि लौकिक क्रियाकलापलाई अभिनयको माध्यमबाट दृश्यात्मक रुपमा प्रस्तुत गरिने भएकाले नाटक काव्यहरू मध्ये सर्वश्रेष्ठ मानिन्छ र विश्वको प्रत्येक देश र समाजमा यो लोकप्रिय भएको देखिन्छ । नाटकले जीवनगत कार्यव्यापारलाई रङ्गशालामा प्रस्तुत गर्दछ, जुन उसले जगत र जीवनकै रङ्गशालाबाट टिपेर ल्याएको हुन्छ ।
विश्वमा नाटक कसरी उत्पत्ति भएको रहेछ भन्नेबारे विभिन्न मतहरू देखिन्छन् । त्यसमा पनि केही पाश्चात्य मतहरू छन् भने केही पूर्वीय मतहरू छन् । पूर्वीय धारणाअनुसार, नाटकको उत्पत्ति सम्बन्धी कतिपय मतहरू छन्, जसको संक्षिप्त चर्चा यहाँ गरिन्छ ।
धार्मिक उत्पत्ति सम्बन्धी मत भरतमुनिसित सम्बन्धित छ । उनको नाट्यशास्त्र अनुसार एक समयमा नाना प्रकारका रोग, शोक र सुर्ताले पीडित अवस्थामा रहेका स्त्री र शुद्रहरूका दयनीय अवस्था देखी दयाद्रवित देवताहरू ब्रह्माको सेवामा गए । ती देवताहरूले मानव खास गरि स्त्री र शुद्रहरूको मनोविनोद र मन बहलावको लागि कुनै पञ्चम वेदको सृष्टि गरिदिने अनुरोध ब्रह्मा समक्ष राखे । ब्रह्माले तथास्तु भनि ऋग्वेदबाट पाठ्य, सामवेदबाट गीत र यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रस जस्ता चार प्रकारका तत्वहरू झिकि पाँचौं नाट्य वेदको रचना गरिदिए । यस नाटकमा शंकरले नृत्य र पार्वतीले लास्य दिनुभयो । विश्वकर्माले रङ्गशाला बनाइदिए अनि ब्रह्माको आदेशले भरतमुनि संसारमा नाटकको प्रदर्शन गर्दै डुल्न थाले । नाटक उत्पत्तिको यही कथाको अनुशरण गर्दै शारदातनयले ‘भाव प्रकाशन’ नामक ग्रन्थमा केही भिन्न मत व्यक्त गरेका छन् । नाट्यशास्त्रको प्रणयन मनुको पालामा भएको हो भनि यस पुस्तकमा उल्लेख गरिएको छ ।
मेक्समूलर, लेवी, हरटेन, ग्लेडनर, हिलेब्रा जस्ता पाश्चात्य विद्वानहरू भारतीय नाटकको उद्भव वेदलाई नै मान्छन् । कतिपय भारतीय विद्वानहरू पनि यो मतप्रति सहमति जनाउँछन् । वेदमा यम (यमी सम्वाद, पुरूरवा(उर्वसी आदिका सम्वाद, मन्त्रोच्चारणमा पाइने अभिनयात्मक कार्यव्यापार जस्ता नाटकीय तत्वहरू फेला पर्छन् । यसैले वेदलाई नाटकको प्रेरणास्रोत मान्नु युक्तिसंगत छ भनि कतिपय विद्वानहरू तर्क प्रस्तुत गर्छन् ।
कीथजस्ता केही पाश्चात्य विद्वानहरू रामायण र महाभारतलाई नाटकको उत्पत्तिको आधार मान्छन् । महाकाव्यको निर्माणपछि नै नाटकको रचना हुन गएको हो भन्ने उनीहरूको मत छ । महाकाव्यमा वर्णित विषयवस्तुलाई लिएर नै नाटककारहरूले नाटक लेखेका हुन् भन्ने उनीहरूको तर्क छ । होमरको इलियड र ओडिसीपछि नै ग्रीक नाटकहरू लेखिएको अध्ययनबाट थाहा लाग्छ । भारतीय नाटकलाई पूराणबाट उत्पन्न भएको हो भन्नुमा यही मान्यताले सघाएको छ ।
लौकिक उत्पत्ति सम्बन्धी मत पनि छन् । प्रो. हिलेब्रा र कानों लौकिक विडम्बना (स्वाङ्ग वा प्रहसन) बाट नाटकको उत्पत्ति भएको ठान्छन् ।
अर्को एक मत पनि छ, त्यो हो विदेशी प्रभाव सम्बन्धी मत । बेबरको विचारमा संस्कृत नाट्यकलाको उदय र विकास ग्रीक नाट्यकलाबाट प्रभावित छ । ग्रीक र बैक्ट्रियन राजाहरूको पञ्जाबका राजाहरूसँग घनिष्ठ सम्बन्ध थियो । त्यसैको फलस्वरुप भारतीय नाट्यकला विकसित भयो ।
यजुर्वेदमा “नृत्ताय सूतं, गीताया सैलूषम्” भनि नटको उल्लेख भएकोले विद्वानहरू कुनै न कुनै रुपमा वैदिक युगमा नै अभिनय प्रचलित थियो भन्ने निश्कर्ष निकाल्छन् ।
हिन्दीमा नाटक लेखनको प्रारम्भ भारतेन्दु हरिशचन्द्र कालदेखि सुरु भएको हो भन्ने मानिन्छ । त्यसकालका भारतेन्दु तथा उनका समकालीन नाटककारहरूले लोक चेतनाको विकासको लागि नाटकहरूका रचना गरेका हुनाले त्यस समयको सामाजिक समस्याहरूले नाटकहरूमा राम्ररी अभिव्यक्त हुन पाएको देखिन्छ ।
नेपाली नाटकको पृष्ठभूमि खोतल्दा नेपालमा किराँत, लिच्छवी र मल्लकालमा डबली तथा लोक नाटकहरूका प्रारम्भिक रुपहरू रहेको प्रमाण प्राप्त अभिलेखहरूबाट थाहा लाग्छ । त्यसमा पनि नेपाली नाटक लेखनकाल मूलतः अनुवादबाट हुर्केको देखिन्छ । मल्लकालमा आइपुग्दा त्यस सयममा विभिन्न कला, कौशल र सांस्कृतिक गतिविधिको विकाससंगै नाट्यकलाले पनि एउटा ठोस रूप लियो । इतिहासकारहरू मल्लकाललाई नाटकको स्वर्णकाल समेत मान्दछन् । मल्लकालमा नाटक भन्नाले गीत, नृत्य र अभिनयको समिश्रण मानिन्थ्यो । खासगरी त्यसताका गाइजात्रा, इन्द्रजात्रा जस्ता विभिन्न जात्राको अवसरमा प्रस्तुत हुने नाट्यकला विशेष उल्लेखनीय छ ।
नेपाली नाटकको माध्यमिक काललाई मोतिरामले नयाँ युगमा प्रवेश गराए । थपमा पहलमानसिंह स्वाँरले नेपाली नाटकमा मौलिकताको बिजारोपण गरे । बालकृष्ण समले आधुनिक नेपाली नाटक र रङ्गमञ्चको ढोका मात्र खोलेनन्, नेपाली नाटकलाई शिखरसम्म पु¥याउने काम समेत गरे । त्यसमा गोपालप्रसाद रिमालले यथार्थवादी रङ थपे भने गोविन्द मल्ल गोठाले र विजय मल्लले मनोविश्लेषणात्मक दृष्टि दिएर नाटक र रङ्गमञ्चलाई सबल तुल्याए ।
व्यवसायिक परम्परालाई भारतेन्दुले अस्वीकार गरेर भारतीय रङ्गमञ्चमा नवीनता दिन खोजिरहेको समयमा मोतीराम भट्ट भारतेन्दुको सम्पर्कमा पुगे । उनीबाट प्रभावित मोतीराम नेपाल फर्केपछि (वि.सं. १९४३ तिर) उनले नेपालमा पनि भारतेन्दु शैलीलाई प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ । राणा दरबारहरूमा भएको फारसी रङ्गमञ्चको प्रभावलाई हटाएर नेपालीपन र स्तरीयता दिने उनको प्रयास रहेको थियो । मोतीरामले वि.सं. १९४४ मा पहिलोपल्ट नेपाली रङ्गमञ्चमा नेपाली भाषामा कालिदासद्वारा लिखित ’अभिज्ञान शाकुन्तलम्’ को अनुवाद गरी ’शकुन्तला’ नाटक प्रदर्शन गराए । हिन्दी र उर्दूको तत्कालीन बाहुल्यता तोडेर नेपाली भाषाका नाटक प्रस्तुत गर्ने उनको यो जमर्को क्रान्तिकारी कदम थियो । त्यसैले उनी नेपाली रङ्गमञ्चका प्रणेता मानिन्छन् ।
अब नाटकको विषय वस्तुको कुरा गरौं । नाटकको कथावस्तु पौराणिक, ऐतिहासिक, काल्पनिक या सामाजिक हुन सक्छन् । नाटक धेरै प्रकारका हुन्छन्, जस्तै ऐतिहासिक नाटक, पौराणिक नाटक, समस्याप्रधान तथा सामाजिक नाटक, प्रतीक नाटक, गीति नाटक, एकांकी नाटक, प्रहसन, सडक नाटक, ध्वनी नाटक अथवा रेडियो नाटक ।
प्रभावको दृष्टिकोणले नाटकलाई नै सबैभन्दा सशक्त माध्यम मानिन्छ । समयको गतिसितै नाटक लेखनमा पनि परिवर्तन आउँदै गएका छन् । अब विशेष–विशेष अवसरहरूमा मात्र ऐतिहासिक र धार्मिक नाटकहरू लेखिन्छन् अनि मञ्चन हुन्छन् । बढ्दो जनआवादी, बेरोजगारी र अनेकौं समाजिक विसंगतिहरूले डम्म भरिएको आजको मानव समाजलाई एक निश्चित परिवर्तनतर्फ अग्रसर गराउनुपर्ने दायीत्व नाटककार र कलाकारहरूको अघि पनि खडा रहेकोले गर्दा आज यही लक्ष्यले नाटकहरू लेखिन थालेका छन् । देशको ठूलाठूला परिवर्तनहरूमा रंगकर्मीहरू प्रत्यक्ष एवं भौतिक रुपमै सहभागी भएका छन् । तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा के हो भने, रंगमञ्च, कला, साहित्य, संगीत र संस्कृतिको क्षेत्रका संस्था, समूह र कलाकारहरू, साहित्यकारहरूले आ–आफ्नो विधा मार्फत आम मानिसलाई सचेत गराउने, जागरुक गराउने, जुन अप्रत्यक्ष आन्दोलन गरेका छन् ती अभिलेखीकरण हुन जरुरी छ । मानिसलाई यसको माध्यमबाट अन्तस्करणबाटै जागरुक बनाउन नाटक क्षेत्रले गरेको योगदानका कारण नै मुलुकमा ठूला जनआन्दोलनहरू सफल भएको कुरा पनि हामीले बिर्सनु हुँदैन । सौन्दर्ययुक्त, सम्प्रेषणीय र परिवर्तनकारी रंगमञ्चले विगतमा गरेका क्रियाकलापलाई फगत मनोविनोदका साधनका रुपमा मात्र बुझिन खोजियो भने यसको विशालता माथि अन्याय गरेको नै ठहरिने छ ।
नाटक अभिनय कलाको क्षेत्र भएकोले गर्दा आज कुनै पनि देशमा फिल्मका लागि मात्र होईन तर टेलिभिजन आदिमा प्रस्तुत गरिने कैयौं कार्यक्रमहरूका लागि पनि अभिनय कलाले पोख्त कलाकारहरूको आवश्यकता पर्ने हुनाले नाटक क्षेत्रलाई धेरैले नै अप्नाएको देखिन्छ । नाटकसित सम्बन्धित कैयौं क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संगठनहरू सक्रियताका साथ काम गरिरहेका छन् । यस्ता संगठनहरूमा सङ्गीत नाटक एकाडेमी, भारतको मानव संसाधन विकास मन्त्रालय अन्तर्गत संचालित सङ्ग एण्ड ड्रामा डिभिजन, नेशनल स्कुल अफ ड्रामा, इन्टरनेशनल थेटर इन्सटिच्यूट, इन्टरनेशनल एशोसिएशन अफ थेटर फर चिल्ड्रेन एण्ड यङ्ग पिपल इत्यादिको नाम लिन सकिन्छ । आज हिन्दी सिनेका जगतमा लोकप्रियता आर्जन गरिरहेका कैयौं कलाकारहरू छन्, जसले नेशनल स्कूल अफ ड्रामा अर्थात् एन.एस.डी.बाटै प्रशिक्षण प्राप्त गरेका हुन् । नेपाली नाटकको क्षेत्रमा पनि नाटककारहरू, कैयौं संघ संस्थाहरू सक्रिय रुपले यस क्षेत्रको विकासमा लागिपरेका छन् । नाटकले मनोरञ्जन मात्र होइन तर समाज र देशभित्र व्याप्त कैयौं कुरीति, अन्धविश्वास र विसंगतिलाई उजागर गर्दै मानिसहरूलाई सही मार्ग दर्शन गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो जातीय, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरूका सामाधानको दिशामा नाटकले सदैव देश र समाजलाई सही दिशाबोध गराउने काम गर्दै आएको छ ।
-नैना सुब्बा बराईली
नयाँ दिल्ली
(स्रोत : प्रवासी आवाज साहित्यिक स्मारिका–२०७५)