लेख : हाइकु – जापानी कविता

~अर्जुन शर्मा~

साहित्यका धेरै विधाहरू छन् गद्य, पद्य, निबन्ध, निःयात्रा इत्यादि । यहाँ यो लेखमा पद्य तथा कविता सम्बन्धी केही चर्चा गरिनेछ । कविताका पनि धेरै रूपहरू छन् । आदि कालमा श्लोकबद्ध कविता लेखिन्थ्यो जो छन्दोबद्ध हुन्थ्यो । समयको अन्तरालसंगै कविताको रूपमा पनि परिवर्तन हुँदै आयो । पहिला लामालामा कविताहरू लेखिन्थ्यो । काव्य, खण्डकाव्य, महाकाव्य धेरै लेखिएका छन् ।

आधुनिक कालमा आएर छन्दोभंग कविता लेख्न थालियो । गद्य कविताहरू लेखिन्छन् आजकल । हिजोआज कवितामा एकरूपता छैन । आजकल देश, काल र परिस्थितिलाई हेरेर कविता लेखिन्छन् ।

हिजोआज नेपाली साहित्यमा छोटा कविताहरू मुक्तक, विम्व, युग्मक तथा तीन हरफे कविताहरू पनि लेखिन्छन् तर छोटा कविताहरूमा अहिले सम्मकै सबैभन्दा छोटा तथा वामपुड्के कविता ‘हाइकु’ हो । यो हाइकु कविता जापानी शैलीका छोटा तथा वामपुड्के, बोनसाई कविता हो ।

अब यो जान्न आवश्यक छ कि वास्तवमा हाइकु कस्ता कविता हो त ?

यो कविता जापानमा इडो युगका कवि तथा चित्रकार ‘मात्सुओ’ले शुरू गरेका थिए । उनी हाइकुको जन्मदाता हुन् ।

उनको प्रसिद्ध हाइकु यस्तो छ–
पूरानो ताल
उफ्रिएका भ्यागुता
जलतरंग ।

जापानका अन्य चर्चित हाइकुकारहरूमा कुसोन, सिक्की र इस्सा हुन् । हाइकु सम्पूर्णमा एउटा छोटो सन्देशमूलक, व्यंग्यात्मक विशिष्ट कविता हो । कविताका सम्पूर्ण गुण हाइकुमा पाइन्छ । जापानी हाइकुमा प्रकृतिको एउटा तत्व उल्लेख गरिनुपर्छ । हाइकु सत्र अक्षरको विम्बात्मक कविता हो जहाँ पहिलो पंक्तिमा पाँचवटा अक्षर दोस्रोमा सातवटा अनि अन्त्यको पंक्तिमा पाँचवटा अक्षर हुन्छन् तर खुट्टा काटिएका र आधा अक्षरको गन्ती हँुदैन ।

जस्तै–
थन्कियो न्याय
प्रजातान्त्रिक देश
जन्ता हैरान ।

पहिलो र तेस्रो लहरमा परस्पर विम्ब झल्केको हुनुपर्छ ।

जस्तै–
चाँदी श्रीपेच
घामका झुल्काहरू
मुसुक्क हिउँ ।

चिसो हिमाल
सफेद गलबन्दी
सेतो बरफ ।

विभिन्न ऋृतुहरूलाई लिएर पनि हाइकु लेखिन्छ । ऋृतुसूचक हाइकुमा मौसमको बारेमा उल्लेख गरिनु पर्छ ।

जस्तै–
कालो गुलाब
मगमग वासना
बसन्त ऋृतु ।

शरद ऋृतु
चरीको चिरबिर
सुन्दर पृथ्वी ।

वर्तमान समयमा हाइकु भारतेली भाषा हिन्दी र बंगलामा पनि लेखिएको पाइएको छ । भारतमा हाइकु विश्वकवि रविन्द्रनाथले अंग्रेजी सम्वत् १९२२ सालमा जापानी हाइकुको बंगला अनुवाद प्रकाशित् गरेका थिए । हिन्दी भाषामा पनि हाइकुहरू धेरै लेखिएका छन् । नेपाली भाषाको पहिलो हाइकु विक्रम सम्वत् १९१९ सालमा श्री शंकर लामिछानेको ‘सूर्यदय’ शीर्षकको हाइकु हो ।

वर्तमान समयमा नेपाली भाषामा लेखिने आधुनिक हाइकुहरू प्रायः स्वतन्त्र रूपमा लेखिएको पाइन्छ । जापानी हाइकुको खाँट्टी नियमलाई पालना गरिएको पाइँदैन तर पनि आधुनिक हाइकुमा एउटा कवितामा हुनुपर्ने विम्ब समावेश भएको पाइन्छ ।

जस्तै–
पापी बादल
छेकिरहेछ सूर्य
पाप न पुन्य ।

शैशवकाल
लुटपुटिने काख
माटोमा मिल्यो ।

म रमाउँदा
तिम्रा ती आँसुहरू
मोती बन्दथ्यो ।

“जापानका अन्य चर्चित हाइकुकारहरूमा कुसोन, सिक्की र इस्सा हुन् । हाइकु सम्पूर्णमा एउटा छोटो सन्देशमूलक, व्यंग्यात्मक विशिष्ट कविता हो । कविताका सम्पूर्ण गुण हाइकुमा पाइन्छ ।”

– अर्जुन शर्मा, गीतखोला
कालेबुङ, भारत

(स्रोत : प्रवासी आवाज साहित्यिक स्मारिका–२०७५)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.