~तिर्थराज अधिकारी~
छन्द : शार्दूलविक्रीडित
छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी
पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी
आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको
यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१।
नानी तुल्य छ रूपमा मृदुल यो मोती छ यो मोलमा
तारा तुल्य छ ज्योतिमा कुसुमको हो बाग भूगोलमा
बाढी मत्त उठी कुनै लहरले तानेर तानिन्न यो
आस्थाको छ विशाल भाव जगमा प्यारो छ नेपाल यो ।२।
डाँफे रंग तरंग ताल कति छन् , छन् गीतका किन्नरी
ल्याई घाम सजाउने हृदयमा छन् दूधका पोखरी
चोखो मूल अनन्त कल्कल कला सुक्दैन , लुक्दैन यो
यात्री सागर ज्वारको , लहरको प्यारो छ नेपाल यो ।३।
हिँसा , मार र काटका छल यहाँ आफैँ गली ढल्दछन्
सच्चा देव दया यतै मनुजका छाती खुली बल्दछन्
होला रात प्रभात- काल नहुँदा अन्योल क्यै त्रासको
न्यानो घाम उदाउँदा जगतकै प्यारो छ नेपाल यो ।४।
भो ! भो ! हेर्न कदापि सक्दिनँ कतै संग्राम यो ग्रामको
भो ! भो ! सुन्न कदापि सक्दिनँ कतै दुर्नाम यो धामको
उम्लेका मनका कुनै जहरले डामेर झर्दैन यो
यै लाखौँ बुटीको अपार थल हो प्यारो छ नेपाल यो ।५।
आँखा, नाक , गला, कला फरक छन् – राम्रो भयो सृष्टि यो
पेसा , भेष , छटा थला फरक छन् – शृंगारले चम्किलो
नेपाली थर-जात हो सकलको सम्मान सद्- भावको
गुम्बा , मस्जिद भेद छैन मठमा प्यारो छ नेपाल यो ।६।
होलान् बास सुदूर पूर्वतिर क्यै , होलान् कुनै उत्तर
होलान् पश्चिममा र दक्षिण कुनै , हो मृत्तिका यै भर
मिल्दा आपसमा कला सकलका नौलो छ यो रूपको
माली हात चलाउँने जतनमा प्यारो छ नेपाल यो ।७।
त्यागी पूर्वजका अदम्य बलका सत्कर्मका पाखुरा
जस्तै बन्न सके उदार मनका फुल्छन् यिनै टाकुरा
तापैताप फलाउने असुरको माटो कुनै हैन यो
ज्ञानी ज्ञान सजाउने रहरमा प्यारो छ नेपाल यो ।८।
जन्मे जीवन ज्योतिमा प्रबल भै सत्-काव्यका साधक
जन्मे वीर यतै यसै प्रकृतिमा जन्मे महानायक
माटो रंग फुलाउने हृदयमा साँच्चै कलाकार हो
उच्चा उर्वर प्राणका नजरमा प्यारो छ नेपाल यो ।९।
प्यारा सन्तति दूरका रहर क्यै मेट्दै फिरून् द्वारमा
बत्ती स्वागतका निमित्त उनकै बल्नेछ संघारमा
चोथो हैन यहाँ कथा कहरको खाँचो छ उत्सर्गको
लाग्ने सिर्जन मार्गमा अकलको प्यारो छ नेपाल यो । १०।
(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )