कथा : एक दिन नारी बन्दा

~बिष्णुमणि अधिकारी~

१७ बर्ष अगाडि सपरिवार यात्रा गर्दै गर्दाको गाडी दुर्घटनामा बाबा आमाको ज्यान गुमेको अलि अलि झझल्को आउँदा आज पनि त्यो दिनले लखेटिरहन्छ साँझ बिहान अनि हर प्रहरमा | ” जिन्दगी खास रुनैको लागि र संघर्ष गर्नैको लागि रैछ” भन्ने अनुभूति आज झन धेरै छ | डिग्री सकेर पनि राम्रो एउटा जागिर नभेट्नु, अनि बिदेश जानको लागि अलि अलि जम्मा भएको पैसा दलालले खाइदिनुले देउता जस्तो दाइ पनि आजकल प्रायः साँझतिरै मातेर कोठा आइपुग्छ | दिक्कको जिन्दगी बिताउदै गर्दा उहीँ १७ बर्ष अगाडि बाबा आमा संगै माथी जानुपाएको भए भन्ने पलपलमा दिमागमा खेलिनै रहन्छ |

बिहानै कलेज अनि दिउँसो मेनपावरको रिसेप्सनको जागिर, त्यसैले पाक्दै छ आजकल कोठामा जाउलो | दाइले के गर्छ कति कमाउछ अनि कतिको जाँड खान्छ भन्नेनै थाहा हुन छोडेको छ आजकल |

सधैंझै आज पनि बिहानै उठेर लागें कलेज, त्यस्तै हुन केटाहरु क्याम्पस बाहिर चुरोट तान्दै भन्न भ्याइहाल्छन, ” क्या बुलेट छे यार यो केटि”!

आजकल माल, बुलेट, च्वाक, बबाल छे जस्ता शब्द पचाउन थालिसकें कति संग झगडा गरुँ ?
बिहानै बाट पेट अलि अलि दुख्ने बित्तिकै थाहा छ फेरि गडबडी भयो महिनावारी ! कुन जुनिको पापले होला कहिले १७ दिन कहिले २० दिन कहिले २४ दिनमा एक जुनि फेर्न भनौं या कालको मुखबाट भाग्न झैं बनाउछ |

क्याम्पस पुग्दा झनै बेतोडले पेट दुखाइ चर्कियो, अब फेरि दबाइ नखाइ अडिनै सक्दिन के गर्नु ? मेडिकल पनि खुलेको छैन ! मिल्ने साथी जमुने पनि आज आइनछ क्याम्पस, एक पिरियड जिनतीन टिकेपछी निक्ले आफैं ! मेडिकल पुगेर एक पत्ता औषधि र एउटा सेनेटरी प्याड बोकेर पुगें कोठा |

आज फेरि अफिसमा असाध्यै काम छ जसरी पनि जानै पर्छ ! दुबै डिउटी फ्रीमा ३०० जनाको डिमान्ड छ पर्सि बाट इन्टरभ्यु ! ह्या सम्झिदै दिक्क लाग्दो !

औषधि खाएं अलिक कम भो दुख्न ! झोलामा औशधिको पत्ता हालेर खाना खाने मूड पनि चलेन निक्ले अफिस ! माघ सकिँदा पनि चिसो कति साह्रै हो ठगठगी कमाउछ त, अब झन यो माइक्रो बस सम्झिदा पनि ज्यान सिरिङ्ग हुन्छ, बौद्ध देखि सिनामंगल सम्मको अफिस टाइमको यात्राले मुटुनै कपाँउछ तैपनी के गर्नु बिकल्प पनि त छैन !

ठ्याक्कै आयो माइक्रो पनि हुत्तिएर, खुट्टा हाल्ने ठाउँ छैन जान हतार छ फेरि कतिबेला आउँछ अर्को ठेगान छैन, ह्या जतिबेला आएपनी यस्तै प्याक नै आउने हो जान्छु यसैमा! खलांसिले सुरुमै चान्स मार्न खोजिहाल्यो अलिक भित्र छिर्नु दिदी ट्राफिकले समाउँछ ढोका लगाउनु पर्छ भन्दै, ढाडमै हात राखेर ठेलिगो ! भित्र पनि अटुन्जेल केटाहरुनै खाँदिएर बसेका छन, यस्तो बेलामा दुव्र्यवहार नगर्ने केटा मैले आज सम्म भेटेको छैन माइक्रोमा! माइक्रो रोक्दा होस, या पिक अप लिग्दा त्यी राक्षसरुपिहरुले आफ्नो हर्कत देखाइहाल्छन !

मन लाग्छ यहीँ ठूलो युद्ध गरुम यी सबैलाइ एक एक थप्पड लगाइदिंउ तर के गर्नु आफ्नै ब्यइज्त हुन्छ त्यँहा।
यस्तो समाजमा हुर्काइदियो मलाइ यहाँ बलत्कारीहरु छाती फुलाएर हिड्छन अनि बलात्कृत चाहिँ जिन्दगिभर मुन्टो निहुराएर हिड्छे !

एउटा युद्ध जितेर पुगेँ अफिस ! आज पनि १० मिनेट ढिला भैसकेछ, काम छ भनेको दिनमा पनि एकैछिन छिटो गरेर आउन सक्दैनौ है बिन्दा तिमी ? अफिसमा फर्म भर्न लाइन बसेका सबैको सन्नाटा छाउने गरि बोल्यो म्यानेजर ! भने, सरि सर जाममा परेर हो ! धेरैजसो यहि हुन्छ तिम्रो नाटक ! जाम हुन्छ भनेपछी १० मिनेट छिटो निक्लिन सक्दैनौ घरबाट! ल ल फटाफट फर्म भराउ यी सबैलाइ ।

शारीरिक पीडा अनि मानसिक पीडा यी सबै झेल्नै पर्‍यो के गर्नु नुन तेलको सबाल छ!

अघि घरबाट लगाएर आएको प्याड पुरै भिजिसकेको थाहा पाउँदापनि बाथरुम गएर अर्को प्याड फेर्ने फुर्सद सम्म छैन ! एक ग्लास तातोपानी खाँन पाएपनी अलिक कम हुँदोहो त्यो पनि कहाँ पाउनु ? बल्ल बल्ल एकैछिन है दाइ भन्दै बाथरुम पुगेर डबल प्याड लगाएं छि कति बगेको रगत पनि, दुखाइ पनि त्यस्तै, निथ्रुक भिजेर आफैलाइ सिकसिक् भयो छ्या जिन्दगी!

जिनतिन दिन कटाइयो ७:३५ भैसकेछ बेलुकाको, हतार हतार निक्ले रूम तिर फेरि बाहिर पानी पो परेछ, छाता पनि पो छैन,

काम गर्ने भाइले भन्यो त्यहा सम्म दौडिदै जानू न अनि माइक्रोको त छत हुन्छ नि भिजिन्न!

अँ त है ! म निक्ले है कान्छा ! ल ल जवाफ संगै झरे तल अनि लागे माइक्रो स्ट्यान्ड तिर! छि रगत पनि कति बगेछ पाइन्टको आगाडिनै देखिएछ पछाडी झन कस्तो भयो होला” अब कसरी जानू माइक्रोमा” ह्या होस बरु हिड्दै जान्छु माइक्रो पनि आउदैन होला अब त! त्यो दिनेशलाइ भनेर बाइकमा छोड्न लगाउनु पर्‍यो कति बेला पुग्नु हिड्दै त, दुखाइ ले मुटुमा छोको छ फेरि काँस पनि लागेर पाइला सार्न नहुने गरि पोलेको छ!

फोन लगाए दिनेशलाइ एक पल्ट सम्पर्क हुन सकेन, अर्को पल्टमा फोन उठ्यो, हँ बिन्दा भन् कता छौ? सिनामंगल चोकैमा छु हेरन् पानी परिराको छ माइक्रो पनि पाइएन, त्यसैले आउन मलाइ कोठा छोड्देउ! आज सन्चो पनि नभएर कति गाह्रो भैराको छ!

हेरन अफिसको कामले धुलिखेल गाको थिएं, रेनकोट पनि ल्याउन बिर्सेछु कत्रो मुसलधारे पानी परेर म त यहिँ पलाँसेमा पो ओत लागेर चिया खादै छु ! पानी रोकिने बित्तिकै आइहाल्छु बस्दै गर् न त त्यतै चिया खाँदै ।

भयो उसोभए ढिला भैसक्यो दाइले कराउँछ अहिले म हिड्दै जान्छु तिमी यहाँ आइपुग्दा त म नै घर पुग्ने रैछु!
पेटको दुखाइले चरम युद्ध लढ्दै थियो झमझम परेको पानी अनि कम्मर मुनि आधी जस्तो रगतले भिजेको शरिरको भारिलाइ थेग्दै लागें रूमतिर ।

एउटा पानी किनेर फेरि एक चक्की औषधि खानुपर्‍यो भन्दा एउटा पसल खुल्ला छैन, ८ बजेनै सबै चकमन्न, बाटैमा भेटे एउटा कसैले खाएर फालेको बोत्तलमा थोरै पानी अनि असाध्यै दुखेकोले दुई चक्की औषधि एकैपल्ट खाएर लागेँ गन्तव्य तिर!

रुम पुग्दा झन्डै ८:५० को हाराहारी भएछ, दाइ आजपनी मातेर बसेको! एक शब्द बोल्न नपाँउदै, कहाँ गएर आइस यति राती ? अफिस छुटेपछी दुनियाँ केटा संग जाने होकि सरक्क रूम आउने ?

होइन दाइ अफिसमै ढिला भयो आज, गाडी पनि पाइएन, नाटक गर्छेस ? कति जानेकी कुरा बनाउन, दाइले गालामा एक थप्पड जोडले पड्काए! आँखा पुरै भरिए ग्लानी शरीर भुँइमा बज्रीयो, म निशब्द भएँ!

यत्तिकैमा अर्लाम बज्यो, झसंग भएर ब्युझिँए! पानी त परेको छैन ओछ्यानमा तैपनी पसिनाले निथ्रुक्क भिजेछु! पहिला के सपना देखियो यस्तो भनेर आफू केटा हुँ कि केटि भनेर कन्फर्म गरेँ, धन्न प्रभु म केटा नै रहेछु |

नुवाकोट, बुधसिङ्ग गाबिस ०८
हाल: दक्षिण कोरिया

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.