कविता : आमा ! म अवश्य नेपाल फर्केर आउनेछु!!

~राजन कोइराला~

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।

हरेक वर्षको चाडपर्वमा मेरो बाटो हेरेर बस्छौ रे
अब त छोरो आउँछ भन्दै पात्रो केरेर बस्छौ रे
गाईवस्तुको गोठबाट निस्कनेबित्तिकै सफा लुगा फेरेर बस्छौ रे
साँझ परेपछि मझेरीमा पट्टिले टाउको बेरेर बस्छौ रे
भो आमा, अब तिमीले मेरो बाटो हेरिरहनु पर्दैन
मेरो चिन्ता गरेर तिमीले टाउको बेरिरहनु पर्दैन

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।।

सुविधा दियो अमेरिकाले, तर चैंनको निद्रा दिएन
पोलेको कुखुराको सपेटा दियो, तर नेपाली सिद्रा दिएन
घुम्ने ठाउँ प्रशस्त भेटिए, तर चौतारीको शितलता दिएन
भिड त अत्याशलाग्ने देखें, तर नेपाली आत्मियता दिएन
भो आमा, अमेरिकाको रमझममा म हराउन सकिन
यो अनौठो संस्कृतिलाई कसैगरि मन पराउन सकिन

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।।

अर्धनघ्न नारीहरुको बीचमा बसेर नाच्न जानिन
पश्चिमेली संगीतको तालमा कम्मर भाच्न जानिन
आधुनिक युवाजमातबीच मित्रताको माला गास्न जानिन
गामबेसी सम्झी मन रुँदा, बनावटी हाँसो हास्न जानिन
भो आमा, लाज पचाई अमेरिकालाई आफ्नो भन्न सकिन
नेपाली माटोमा चुहाउनुपर्ने पसिना रोपी डलर गन्न सकिन

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।।

आकाशजमिन उस्तै लाग्यो, गामबेसिको झझल्को मेटिएन
अंकमाल गर्दै सुसेली हाल्ने गोठाला साथीहरु भेटिएन
तिर्खा लाग्दा एक अम्खोरा पानी दिने कुनै संस्कार भेटिएन
रात्रिक्लबहरु प्रशस्त छन्, तर देउसिभैलोको तिर्सना मेटिएन
भो आमा, यो भिडमा आफ्नो अस्तित्व गुमाउन चाहन्न
तिम्रै काखमा लुटुपुटु गर्छु, मन अन्त घुमाउन चाहन्न

आमा ! म अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको लोभलालचबाट सदासदा तर्केर आउनेछु ।।

यसपाली दशैंमा तिमीले जमरा राखेहुन्छ, अक्षेता मुछेहुन्छ
तिहारमा दिदीबहिनीले दियो बालेहुन्छ, मखमली माला उनेहुन्छ
आँशु झर्ने तिम्रो बानी अब बन्द गरेहुन्छ, मेरै भर परेहुन्छ
पात्रोमा म आउने दिन अंकित गरि भित्तामा टासेहुन्छ
भो आमा, आफ्नै मन खुम्चाएर अमेरिका बस्न सकिन
यहाँको जीवन रमाइलो भनि कसैसंग चेपारो घस्न सकिन

आमा ! म यसपालीको दशैंमा अवश्य नेपाल फर्केर आउनेछु
यो अमेरिकाको रहनसहनबाट सदासदा तर्केर आउनेछु ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.