~सविना सिन्धु~
आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको गन्ध पनि अनौठो लाग्छ उनलाई । बिहान खलक्क नुहायो अनि फेरी त्यही दैनिकी । सीता अँगेनामा हुन्छिन् । आगो झोस्दै । घरमा सामान्य स्टोभ र ग्यास स्टोभ समेत छन् । तर सीतालाई भएका दाउरा तह लगाउन मन लाग्छ। पैसो सित्तैमा आउँछ र ? घर वरपर र जङ्गलबाट समेत बेलाबखत दाउरा बटुल्न पाइन्छ । जसले गर्दा दुई चार रुपैयाँ जोगिन्छ । कुनै बेला बिरामी परिएला खर्च चाहिएला । छोरीहरु हुर्कँदै छन् । आज भन्दा भोली भन्दा उमेर पुग्दै जान्छ। गर्मीमा पनि अँगेनोमा आगो झोस्दा गर्मीले असिन पसिन भईसकेकी हुन्छिन् ।
“ठूली अलि उत्ताउली छे । जो सँग पनि बोल्दै हिड्छे । उमेर नपुग्दै हिँडी पो जान्छे की ?”मानबहादुर काका बेलाबखत यस्तै यस्तै भनेर ममतालाई जिस्काउँछन् । कहिले काही त ममता ङिच्च हाँस्छे र टारिदिन्छे । कहिले भने मानबहादुर काकासँग बाझ्न जान्छे । नभए काठको मुढो…लौरो.. उज्याउँछे ।
“ज्याद्रो पो रैछे यो ।”, मानबहादुर काका यति भनिसकेर आफ्नो घर तिर हिँड्छन् । पटक पटक झैं यस पटक पनि यस्तै हुन्छ ।
“हिर्काई भने मरी पो हालिन्छ त !”, उनी सोच्छन् ।
‘छोराकै अवतार जस्ती छे रतन की जेठी छोरीे । लाज डर केही छैन । काहीँ नभएकी बलिई । यसले त भोलिपर्सी सासु, ससुरा, देवर नन्द सबैलाई तह लाउँदी हो ।’, मानबहादुर काका फत्फताउँछन् ।
‘‘राक्षसनी” भन्दै सामुन्ने पोख्न नसकेको रिस एकान्तमा पोख्छन् । ममता आठ कक्षमा पढ्छे तर उमेर भन्दा अलि ठूली र परिपक्व देखिन्छे । हलक्क बढेकी र खाईलाग्दो ज्यान भएकी छे । बहिनी कोपिला ठिक उल्टो । सानी गाँठकी उमेरले पनि सानी भर्खर पाँच कक्षामा पढ्छे ।
रतनको घर अगाडि बारी छ। अलि पर बघैंचा । जसमा फूलहरु मात्र नभएर मौसमी फलफूलका रुखहरु पनि छन् ।
एक कालो रात अँध्यारोले रतनको घर ढपक्कै छोपेको थियो । गाउँ निदाएको जस्तो सुनसान थियो । मतलब मान्छेको आवाज सुनिएको थिएन । तर पर जङ्गलमा स्याल कराएको सुनिन्थ्यो ।
‘स्याल गाउँ छिर्यो भने बाख्रा पाठा बाँकी छोड्दैन ।’, सीताको मन बिचलित भईरहेको थियो । छोरीहरुले सागपातको मुठा बाँध्न सघाएका थिए । भोलि हाटमा लगेर बेच्नको लागि । यतिबेला छोरीहरु निदाईसकेका थिए । भोलीको त्रास उस्तै थियो । गाउँमा रात विरात चोर लाग्न सक्थ्यो । गोठमा भएका बाख्रा पाठाले कान फड्फडाएको बाहेक अरु पनि मसिना आवाज सुनियो ।
भोलिको दिनका लागि प्रतिक्षा गर्दै थिए । जुन दिन रतनको परिवारको लागि कालो दिन हुनेछ भन्ने कसैले चिताएकोसम्म थिएन ।
शनिवार हाट लाग्थ्यो । रतन र सीता आफूले उब्जाएको अन्नबाली र सागपात बजारमै लगेर बिक्री गर्दथे । सबेरै उठेर घर धन्दाका काम ममतालाई जिम्मा दिएर उनीहरुले आ–आफ्नो ठेला गाडा बाहिर निकाले । सीताले मुठा पारेर राखेको साग सब्जी ठेलामा हालिन् । रतनले मकै, गहुँ र दाललाई छुट्टा छुट्टै बोरामा हालेर त्यसलाई ठेला गाडामा हाले । साथमा ढक तराजु त छँदै थियो ।
सीतालाई साग मुठा पार्न पनि ममता र कोपिलाले बेलुकीपख निकै सहयोग गरेका थिए । राती अबेरसम्म बसेको हुँदा कोपिला ओच्छ्यानमै थिई ।
“नानी गाई वस्तु फुकाएर लेर जा है ।”, सीताले कोपिलालाई भनिन् ।
“हुन्छ । ”, कोपिलाले ओच्छ्यानबाटै उत्तर दिई ।
सानै भएपनि गाउँले परिवेशमा हुर्किएको हुँदा उनीहरु यस्ता काममा खप्पिस भईसकेका थिए । बिहानको साँढे दश एघार बजेको हुनुपर्छ । ममताले बुबा आमालार्ई खाना पु¥याउन एउटा झोलामा खानाका डब्बाहरु तयार पारी र बोकेर बजार हिँडी । प्राय शनिवारको दिन यस्तै हुन्थ्यो । उनीहरु अभ्यस्त भइसकेका थिए। कोपिलाले भने गाइवस्तु फुकाएर लिएर हिँडी । जङ्गल वर घाँसहरु बाक्लै हुनेगरी उम्रिएका थिए । उ वस्तु लिएर प्रायः त्यतै जान्थी । नजिकै बोट बुट्यानहरु पनि थिए ।
राणा शासन हुँदा जङ्गल भएको ठाउँमा सुख्खा चिहान थियो रे । त्यहाँ मरेका मान्छेहरु गाड्ने र पोल्ने गरिन्थ्यो । राणाहरुले नै त्यहाँ रुख–बिरुवा रोपेर नजिकै मन्दिर बनाई पूजा पाठ गर्ने चलन चलाएका थिए । कालान्तरमा त्यस ठाउँ जङ्गलमा रुपान्तरण भयो र नाम रहन गयो – चिहानघारी जङ्गल ।
चिहानघारी भन्दा वर घाँसे मैदान थियो । त्यो भन्दा वर किसानले बाली लगाएका थिए । बाली तीर गाईवस्तु छिरे भने बाली सखाप पारिदिन्छन् । उसले गाइवस्तु लखेट्दै जङ्गलको छेउमा लिएर गई । गाइवस्तु चरिरहेका थिए । त्यस समयसम्म सबै ठिकठाक चल्दै थियो । कोपिला काठको मुढोमा टुसुक्क बसेकी थिई । खेल्नको लागि साना साना गट्टाहरु जम्मा गर्दै थिई । वस्तुहरु चर्दै थिए ।
केही वस्तु सितलमा बसेर उग्राउँदै थिए। कोपिलाले झोला निकाली झोलामा भएको मकै भट्मास र साँधेको गुन्ध्रुक खाई । पानी पिउनका लाथि खोलामा गई ।
आज अचम्मै भयो घाम डुब्न लाग्दा पनि कोपिला घर फर्किएकी थिइन । सीता बजारबाट आईसकेकी थिइन्् । रतन भने बजारमै थिए । ममता बेलुकीका लागि तरकारी केलाउँर्द थिई ।
“जा छोरी बहिनीलाई लिएर आइज । साथी भेटेर खेल्न थाली की । कहाँ अल्मल्लिई केटी । ”, सीताले भनिन् । ममता दौडिई । गाइवस्तु लिएर फर्किरहेका अरु मानिसहरु देखि तर उसले बहिनीलाई भने देखिन । “कोपिलालाई देख्यौ ?”, उसले सोधी ।
“अहँ देखेनौ। हामी त पिपलचौर तिरै थियौं । कोपिला चिहानघारी तिर गई कि ?”, उनीहरु मध्ये एउटाले जवाफ दियो ।
ममता चिहानघारी तिर लागि । उसले गाइवस्तु त देखि । वस्तुहरु मालिक चिनेर होला उसैतिर फर्किए ।
“कोपिला ! ए कोपिला !!”, उसले ठूलो स्वरले बहिनीलाई बोलाई । धेरैपटक बोलाई । यता हेरी उता हेरी कही देखिन । ‘गाइवस्तु छोडेर गाउँतिर खेल्न हिँडी की’, उसले सोची । ममताले गाइवस्तु धपाएर लिएर गई ।
घर पुग्दा रतन आईसकेका थिए । “बहिनी त छैन आमा ”, ममताले भनी । “गाइवस्तु भएतिर खोज्दा पनि छैन ”, ममताले फेरी भनी ।
उनीहरु कोपिलालाई खोज्न हिँडे । साथमा अरु दुई चार जना गाउँलेहरु पनि थपिए । उनीहरुको हातमा टर्च लाईट थियो । घाम डुबे पनि अलिअलि उज्यालै थियो । उनीहरु जङ्गल भित्र छिरे । धेरै बेरको प्रयासपछि उनीहरु टक्क रोकिए । त्यहाँको दृश्य विभत्स थियो । कोपिलाले लगाएको जामामा रगतका टाटाहरु थिए । परबाट हेर्दा ऊ जिउँदै थिई वा थिइन छुट्याउन गाह्रो थियो । लुगाहरु च्यातिएका थिए । नाडी छाम्दा नाडीमा गति थिएन । शरीर चिसो र अररो भईसकेको थियो । ऊ मृत अबस्थामा थिई । शरीर र वरपरको दृश्य हेर्दा बलात्कारको शिकार भई मारिएकी थिई भन्ने कुरा प्रष्ट हुन्थ्यो । रतन र सीता यो दृश्य देखेपछि काहालिलाग्दो गरी रोए । “गाउँघरमा पनि छोरी जोगाउन गाह्रो । ”, रतनले रुँदै भने ।
ममता भएकी भए त्यस अपराधिलाई ठहरै पारिदिन्थी होला । ऊ बलियी थिई र बाठी पनि । मुढा, ढुङ्गा र हातैले पनि किन नहोस् दुई चार जनालाई तह लगाउन जानेकी थिई । तर अपराधिको तारोे सोझो र निर्धो ब्यक्ति नै हुने रहेछ । बुद्धि पलाउने र प्रतिकार गर्न सक्ने उमेर नभएका स–साना बालिकाहरु पनि बलात्कारका शिकार हुने गरेका छन् । समाजमा यस्ता घटनाहरु घटिनै रहेका छन् ।