~विजयकुमार महर्जन~
सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ र सपना पूरा हुँदै जान्थ्यो । एउटापछि फेरी अर्को चाहनाले मनमा डेरा जमाउथ्यो । यहि क्रममा जिन्दगीको २७ औं बसन्तको बैशाख महिनामा मेरो जीवनमा अर्को सपना पूरा भयो । मेरी धर्मपत्नी सपनासँगको शुभविवाह जुन एउटा सपना थियो । सपना अत्यन्तै राम्री, सरल स्वभावकी र मिजासिली थिईन् । हरेक कोणबाट वर्णन गर्दा पनि उनको सौन्दर्यताको वर्णन कम हुन्थ्यो । म कहिलेकाँही अतितका व्यतित पलहरुको संगालो डायरीमा कोर्थे । सपनाको सौन्दर्यताको बारेमा जति लेखे पनि कम हुन्थ्यो । उनले मलाई गर्ने माया, सदभाव, आदर अनि सत्कार जहिले म त्यसको प्रशंसा गर्थे । हुन त भर्खर भर्खरको विवाहले गर्दा पनि होला हाम्रो माया जस्तो कसैको माया नहोला भन्ने भान हुन्थ्यो हामीलाई । उनका मायाका कुरा,प्रतीक्षाका कुरा, सदभावका कुरा,आदरका कुरा अनि उनको संस्कार र सत्कारका कुराहरु जुन भावनाका साथ ममा पोख्थी ती सबै-सबै डायरीमा कोर्थे । मेरा लागि यति धेरै माया गर्ने मान्छे उनी बाहेक सायदै कोही संसारमा होला झै लाग्थ्यो मलाई ।
संयोग भनौ, मेरा सानैदेखिका साथी सञ्जय, मेरो विवाह कै दिनमा जन्त जान आएका थिए । त्यसपछि अष्ट्रेलिया फर्केका उनी अहिले फेरी १८ महिनापछि पुनः विदा मिलाएर नेपाल फर्कदैछन् । उनलाई लिन हामी श्रीमानश्रीमती दुबैजना घर तलको सविनको ट्याक्सी लिइर एअरपोर्ट गयौं । सञ्जय त झन राम्रा र हृष्टपुष्ट भएछन् । बलिउड फिल्मको कलाकार झै भएछन् । उनको आगमन विमानस्थलमा भयो । अहो ! कत्ति परिवर्तन हुँदो रैछ त विदेश पुगेपछि । उनी पढाई र कामका लागि भनेर अष्ट्रेलिया पुगेका थिए । अहिले किन फर्केका हुन थाहा छैन मलाई त । हाँसीखुसी साथ हामी घरतिर लाग्यौं । हामीले विभिन्न उखानटुक्का मिसाउँदै कुरोलाई मसालेदार बनाउने प्रयत्न गर्यौं । उनले २ महिनाको छुट्टी मिलाएर आएका रहेछन् । त्यहाँ लामो समयदेखि बस्दै आएका हाम्रा अर्का साथी विशेषको घरमा बस्थे उनी । विशेषले नै सबैकुरा मिलाएर सञ्जयलाई उता बोलाएका थिए । त्यही भएर त्यहाँ जानासाथ कलेजमा भर्ना भएर माछा फ्याक्ट्रीमा काम पाए सञ्जयले । यहि जानकारी दिए उनले । हामी घर पुग्यौं । मेरो घरसँगै थियो सञ्जयको घर । आज उनको आगमनमा हामीले हाम्रै घरमा हामी सबैका लागि खानाको व्यवस्था गरेका थियौं । मलाई लुगाहरु र सपनालाई श्रृङ्गारका सामानहरु बोकेर आएका रहेछन् सञ्जयले । रातको १२:४५ सम्म हामी सँगै बसेर भलाकुसारी गर्यौ ।
“धेरै थाक्नु भो होला विदेशको सफर अब सुत्न जानुस” भनेपछि उनी घरतिर लागे । उनको बुबा र आमा मात्र हुनुहुन्थ्यो । भोलिपल्ट विहान सञ्जयको बुबा-आमालाई भेट्दा छोरा अब नफर्कने गरी आएको होला जस्तै महसुस गर्दै थिए उनीहरुका साना-साना आँखाले । तर उनीहरुलाई थाहा थिएन सञ्जयको सपना उनीहरुले सोचेको भन्दा निकै ठूलो थियो ।
दिनहरु वित्दै गए । सपनाले मलाई उनको सपनाको बारेमा बताईन् । उनको सपना थियो विदेशमा गएर बस्ने र धेरै पैसा कमाउने । यही जिकिर गर्थिन् पहिला पहिला । अहिले सञ्जयको आगमनसँगै दिनदिनै उनको सपनाले पुनः प्राथमिकता पाउन थालेको छ । दिनको एकपटक यो कुरामा डिस्कस हुन्छ, नभएको दिन नै हुँदैन ।
“जहिले गाउँको जिन्दगी, तरकारी खेती, बजारसम्मको यात्रा काठमाण्डौसम्म घुम्न जान, मुभी हेर्न जान पनि दशैं आउनुपर्ने………………” उनका यी र यस्तै कुराले मलाई त्यस रातभरि विझाईरह्यो । नयनहरु आँसुले भिजिरहे। कहिलेकाँही आफुले सोचेजस्तो सहज र सरल जिन्दगी नहुँदो रहेछ । जीवनमा पहिलोपटक मैले उनको पूरा गर्न असमर्थता जनाउनुपर्यो । किनकि त्यो मेरो पहुँचको विषय थिएन । एक त मलाई मेरो देशको माया यति धेरै लाग्छ कि म यो भूमी छोडेर कहिँ जान सक्दिन । दोस्रो, अष्ट्रेलिया जान सक्ने सामर्थ्य त्यति बेला मसँग थिएन । यति नढाँटी भन्नैपर्छ मैले ।
सञ्जय नेपाल आएको पाँचौ दिनदेखि हामी बिचमा यस बिषयले प्रवेश पाएको थियो । हामी बिचको छलफल यति बढ्दै गयो कि उनी आएको नबौं दिनमा हामी श्रीमानश्रीमती दुबैजना सञ्जयको घरमा गयौं । बेलुकीको खाना उनैकोमा खाने व्यवस्था मिलाएका थिए सञ्जयले । उनीसागको भलाकुसारीमा मैले सपनाको कुरा लुकाईरहन सकिनँ र सविस्तार भने । मलाई पढ्नु नि छैन,विदेशमा गएर काम गर्नु पनि छैन केवल मेरो धर्मपत्नी सपनाका लागि जे गर्न पनि तयार छु । उनको सपना जसरी पनि पूरा गर्ने मात्र मेरो सोच थियो । संञ्जयका अगाडि हामी दुबैले यही करो राख्यौँ ।
सञ्जयले एउटा जुक्ति निकाले । कोर्टमा भाउजूको पेपर म्यारिज गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने । यस विषयमा मलाई केही अत्तोपत्तो थिएन ।
“विहे गरेको १८/१९ महिना त भयो । फेरी कसरी कोर्ट म्यारिज र पेपर म्यारिज गर्नु? सोधेँ मैले ।
“तिम्रो हैन मेरो चाँहि बिहे गर्ने भनेको हो।” उनले भने ।
“कससँग ?”
“भाउजुसँग ।”
“ओहो! गज्जब भो त त्यसो भए भाउजु को हो? कहाँ छन्न नि? छुपा रुस्तम मलाई केही जानकारी नै नदिई यस्तो योजनासाथ पो आउनुभएको रहेछ ।” भनेँ ।
“भाउजु उहा नै हो नि ” हाँसी-हाँसी सपनातिर हेरे । सपना झस्किन । मैले रिस थाम्नै सकिन र लगाएँ एक झापु । उनले केही बोलेनन् र मलाई सम्झाउनतिर लागे ।
“हेर अवशेष, भाउजु त भाउजु नै हो नि । म पनि भाउजु नै मान्छु तर भाउजुको चाहना पूरा गर्न तिमीले भाउजुलाई मसँग पेपर म्यारिज गराउनैपर्छ जसको लागि ३ जना साक्षी चाहिन्छ । यो फेक हो तिमीलाई थाहा छ । मलाई थाहा छ अनि हाम्रो परिवारलाई थाहा छ । अरु के चाहियो । विश्वास ठुलो कुरो हो साथी,विश्वासले नै संसार चलेको छ । यसरी कयौं हाम्रा दाजुभाई दिदीबहिनीहरु विदेशमा पुगेर डलर कमाउन सफल भएका छन् । उनीहरुका चाहना र सपनाहरु पूरा भएका छन् ।” उनले यी यावत कुराहरु सम्झाउन थाले ।
रातको २:४५ बजेसम्मको त्यो हामी ३ जनाका बिचमा भएको भलाकुसारीले एउटा मोड र निचोड लियो । मैले सञ्जयको घरबाट फर्किदा पनि सपनालाई धेरै सम्झाएँ तर उनी सञ्जयको कुरामै अडिइन् । म मात्र तल झरेको रै’छु ।
मेरो मनमा कुरा खेल्न थाल्यो ।”आखिर जाने नै पो के छ र । फेरी नदेखेको विदेश देख्न नि पाईने । उता पुगेर उनीहरुले पि.आर. पाएपछि दुबैजनाले एकअर्कालाई डिभोर्स दिएर फेरी मसँग पेपर म्यारिज गरेपछि त म पनि त विदेशमै हुन्छु नि ।
मेरी सपनाले देखेको सपना जस्तै सपना देख्न थालेँ मैले पनि । मनमा रातभर कुराहरुको फुटबल चलिरह्यो ।
म राजी, मेरी श्रीमती राजी, साथी सञ्जय राजी भएपछि अरु के चाहियो । सञ्जयले भने जस्तै गरी वकिल लगाएर तयार पारेको सपनाको र मेरो भनिएको फेक डिबोर्स पेपरमा मैले दस्तखत गरिदिएँ । सञ्जय र सपनाको पेपर म्यारिजका लागि चाहिने ३ जना साक्षीमध्येको एकजना आफै बनिदिएँ ।
त्यस दिनदेखि न त रातमा निद्रा न त दिनमा चैन भयो । सपना भने आफ्नो सपना पूरा हुने मै ढुक्क थिईन् । आज-भोलि भन्दा-भन्दा सञ्जयको २ महिनाको छुट्टी पनि लगभग सकिन लाग्यो । उता सञ्जयले सपनालाई सँगै लानका लागि सबै व्यवस्था मिलाईसकेको रहेछ । मेरो भने मन भारी हुन्थ्यो । सपनालाई नजान, मलाई एक्लै नबनाउन कयौ अनुरोध गरेँ । सबै बेकार । रात-रातभरको मेरो अनुरोध पनि उनलाई फिक्का लाग्न थालिसकेको थियो । मेरा कुराहरुलाई सुने पनि नसुने झै गर्न थालिसकेको थिइन् । मैले सम्झनाउँदै गर्दा उनी गहिरो निद्रामा पुगिसकेकी हुन्थिन् । सबैभन्दा माया गर्ने मान्छेलाई मनमनै भन्दा उनले पनि मनैले थाहा पाउँछिन भन्थे । यही भएर मैले पनि कहीँकतै सपनाले सुनिहाल्छिन् कि भनी मनमनै बोल्न थालिसकेको थिएँ । तर मेरो सुनुवाई भएन । म हारेँ । आखिर २०७३ असारको ९ गतेका दिन रातको ८:४५ बजे मेरी प्राणप्यारी सपना विमान चढेर सञ्जयसँग अष्ट्रेलियातिर लागिन् ।
अब मलाई दिनपनि रातपनि लामो लाग्न थाल्यो । सुर्योदय हुँदा कहिले सुर्यास्त हुन्छ झै हुन्थ्यो । अनि जब रात पर्थ्यो सुर्योदयको प्रतिक्षा हुन्थ्यो । मनमा अनेक-अनेक कुरो चल्थ्यो । सबै कुराहरुको समाधान उनले भाईबर र मेसेन्जरमा भिडियो च्याट गर्दा हुन्थ्यो । उता गए पनि उनी रुन्थी कराउँथी । १ महिनासम्म यस्तो प्रक्रिया चलिरह्यो । काम पाउन नसकेको, सञ्जयले समय दिन नसकेको आदि-आदि कुराहरु गर्थिन उनी मसँग ।
दोस्रो महिनादेखि सपनाले पनि काम गर्न थालिन् । आफुलाई सबैभन्दा माया गर्ने व्यक्ति नभएपछि रमाईलो ठाउँ र वातावरण पनि न्यास्रो लाग्ने रहेछ । अब भने मलाई हतार थियो त केवल सञ्जयसँग सपनाको डिभोर्सको । त्यसपछि नेपाल फर्केर आई सपनाले मलाई पनि उनीसँगै लग्ने दिनको प्रतीक्षा थियो ।
दिन महिना हुँदै वर्ष बित्न थाल्यो । चुरो कुरो मैले बुझ्नै सकिनँ । म प्रत्येक रात आगोले पोले झैं छट्पटिन्थेँ । भद्रकालीमा फेक भनिएको सञ्जय र सपनाको म्यारिजको फोटो हेर्थे । फोटोमा सञ्जयले बरमाला पहिरिएको थिए । सपनाले पनि दुबोको माला गलाभरि पहिरिएकी थिइन् । सपना उनीसँगै टाँसिएर उभिएकी थिइन् । उनको भावभङ्गिमा हेर्दा लाग्थ्यो उनी मेरी होइन सञ्जयकै श्रीमती हुन् । उनको ध्यान अरुतिर भन्दा पनि सञ्जयतिरै खिचिएको थियो । चुम्बकले फलामलाई तानिए जस्तो उनी सञ्जयतिर तानिएको जस्ती देखिइन् ।
“धत् यस्तो अशुभ पनि सोच्नुहुन्छ! उनी त सल्लाहमै सञ्जयको नक्कली श्रीमती बनेर पो गएकी हो त । उनी सञ्जयकी साँच्चिकैकी श्रीमती हुन् र ! यस्तो अनावश्कय शङ्का पनि गर्नुहुन्छ र !” फोटो हेर्दा हेर्दै अचानक यस्तो सोच्न पुग्थेँ ।
“त्यसो हो भने किन फोन नगरेकी त? मबिना एकछिन पनि छुट्टै बस्न नसक्नेले उता जाने बित्तिकै राम्रोसँग सम्पर्क गर्न पनि छाडी त ! कहिलेकाँही बोलिहाले पनि बेकारमा बोल्नुपरे जस्तो गरेरे बोल्न थालिन् । किन ?” मैले केही बुझ्न सकिरहेको थिइन ।
आज फोन गर्लिन भोलि फोन गर्लिन् भन्दाभन्दै उनका तर्फबाट फोन आउन नै बन्द भयो । कहिलेकाहीँ मैले नै गर्दा पनि व्यस्त छु भन्थिन । मनले मान्दै माननेन । शुभको ठाउँमा अशुभ सङ्केतले टाउको उठाउन थाल्यो । नचाहँदानचाहँदै पनि अनेक सोच्न थालेँ ।
मनले मान्दै नमानेपछि एकदिन मैले साथी विशेषलाई सम्पर्क गरेँ । उनीसँग पनि धेरै समयपछि कुरा भइराखेको थियो । उनी त सञ्जयसँग झगडा गरेर छुट्टै बस्न थालेका रहेछन् । किन ? भनी सोध्दा उनले जे भने त्यसले मेरो सपनामा पहिरो जान थाल्यो । पहिरोको बिचमा म थिएँ । वरिपरिबाट ढुङ्गामुढाहरु सोहोरिएर मतिरै आइरहेका थिए । उनीहरु मलाई छोप्न खोज्थे, कसो कसो गरेर म आफूलाई बचाउँथेँ । यो क्रम निक्कै बेर चलिरह्यो । मैले आफूलाई बचाउन गरेका प्रयत्नहरु व्यर्थ साबित हुँदै गए । कारण पहिरोको हिलोले मलाई डुबाउन थालिसकेको थियो । जति जति माथि उक्सिन खोज्थेँ उति उति हिलोभित्र फस्थेँ । संयोग नै भन्नु पर्छ, अब भने नबाँच्ने भएँ भन्ने लागिसकेको थियो र मृत्युलाई नजिकबाट देखिसकेको थिएँ;त्यही समय हिलोसँगै पानीको ठूलो भल म भएतिरै बग्न थालेको देखेँ । अब भने नबाँच्नेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ थिएन । आत्मसमर्पण बाहेक दोस्रो विकल्प बाँकी थिएन । अचम्म ! भलले हिलो बगायो र हिलोसँगै मलाई पनि बगाएर लगेर पाखामा पछारिदियो । यतिसम्म थाहा छ, त्यसपछि चारैतिर अध्याँरो छायो ।
बिउँझिँदा म एउटा चिसो ढुङ्गामाथि बजारिएको रहेछु । जाडोले जिउ लगलग कामिरहेको रहेछ । पूर्वतिर हेरेँ भुकभुक उज्यालो हुनथालेको रहेछ । पश्चिम अझै अध्यारै रहेछ । उठ्न खोजेँ । सकिनँ । बिस्तारै आफूलाई सम्हालेँ । चिसो ढुङ्गामाथि उभिने प्रयत्न गरेँ । सकिनँ । जसोतसो आफुलाई सम्हालेँ । एकछिनसम्म आँखा चिम्म गरेर सबै कुरो सम्झने प्रयत्न गरेँ । सम्झनामा पहिरो आयो । पहिरोले बगाएकोसम्म सम्झेँ । त्यही बेला सञ्जय र सपना मलाई देखेर हाँसिरहेका रहेछन् र उनीहरुलाई देख्दा लाग्थ्यो, मेरो बर्बादीमा उनीहरु दुबै खुसी छन् । उनीहरुले षडयन्त्रपूर्वक मलाई फसाएका रहेछन् ।
“आय्या ! कमिलाले पाखुरामा चिलेको रहेछ । म त विशेषसँग फोनमा कुरा गर्दागर्दै उनले दिएको सूचनाले तन्द्रामा पुगिसकेको रहेछु । तन्द्राबाट फर्किँदा शरीर पसिनाले निथुक्कै भिजेको रहेछ । के भएको हो? कस्तो अचम्म ! सपना त सपना नै रहेछ । देख्न मात्र रमाईलो । भङ्ग हुँदा पीडादायक हुँदो रहेछ । टेबुलमा हेरेँ,सपना र मेरो तस्बीर धमिलो देख्न थालेँ । मेरा ठाउँमा सञ्जयको आकृति गाढा हुँदै गएको देख्न थालेँ ।
(स्रोत : शब्दाङ्कुर २०७५ मंसिर)