कविता : के छ खबर ?

~जयकला राई~

के छ खबर ?
जवाफ त उहि नै हो
ठिकै छ ।

तर आफै भित्र बेठिक
भएको कसले देख्या छ र !
कसरी झुटा बोल्न पुग्छु म
र उत्तर फर्काई दिन्छु
ठिकै छ ।

हुन त तिमी पनि त उस्तै नि
मलाई ठिक नभएको
थाहा हुँदा हुँदै
प्रत्येक दिन
हरेक पटक
उहि प्रश्न दोहोर्याई रहन्छौ
के छ खबर ?

तल्ला घरे राम दाईले
प्रति बर्ष पाँच ओटा
बेच्ने अन्डामा प्रति गोटा
दुई रुपैया कर लाग्छ।
निर्मलाले न्याय हराउछिन्
डाक्टर अनसन बस्छन्
हिजो शिक्षक कुटिइए
सि.डि.ओ. कुटिइए
आज लेखापाल कुटिइए
अनि कुटिइए सचिव पनि
मर्यादाक्रममा उक्लिएका
अमर्यादित सोचहरु
कठै उत्प्रेरणा !
तिमीलाई ठिक छ त ?
फेरी सोधुँ
के छ खबर ?

हात सकृय छन्
संघ, प्रदेश नं. यति
फलना स्थानीय तह
फटाफट माउस चल्छ
यहाँसम्म ।
माउस त यहाँ नेरी अड्किन्छ
जब चाहिन्छ
एक क्लिक सहमतिको
अध्यादेशका सबै शर्तहरु मञ्जुर छ ।
हात थर्थराउछ ।

मनमा ज्वाला उठ्छ
बिचरा ! म
आँखा चिम्म गर्छु
माउस क्लिक पार्छु ।
बिर्सिन भन्छु मनलाई
ती शर्तहरु ।

अनि सम्झाउछु आफैलाई
भगवान भरोसा
जे होला राम्रैको लागि होला ।
फेरी पनि प्रश्न आउँछ
के छ खबर ?
जवाफ त उहि नै हो
ठिकै छ ।

(स्रोत : प्रशासन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.