~राजेन्द्र खरेल~
हिउँदमा पश्चिमबाट हुरी चल्ने
वर्षामा पूर्वबाट मनसुन बहने
प्राकृतिक नियम आफै तोडिंदै छ
केही समयको स्थिरतासँगै
हिउँद र वर्षाको समायोजन हुने गरी
ब्वाँसाहरूको “सेतो महल” लाई निसाना ताकेर
एकसाथ पूर्व र पश्चिमबाट
शक्तिशाली हुरी चल्दैछ
बोलिभियाको जंगलबाट
एउटा तोपको फायरसँगै
बंगालको खाडीमा राँको बल्ने गरी
याङत्सी नदीको तुफानी भेलसँगै
भुमध्येको गर्भबाट
एउटा गर्विलो इन्कलावी हुरी चल्दैछ
भोकाभोकै छटपटाउने
लुटेराहरू मोटाउने
“उत्कृष्ट प्रजातन्त्र”
उडाउने मिसन बोकेर
सेता, काला
भोका, नांगा
शोषणका धरापमुनीका
गोर्कीका अनन्त आमाहरूका
“जिउने” अभिलाषा पूरा गर्नलाई
संसारभरका उत्पीडितहरूको
अन्तर्राष्ट्रियतावादी हुंकार सँगै
पृथ्वीमा हुरी चल्दै छ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३९ – Aug. 21, 2013 – २०७० भाद्र ५ गते, बुधबार)