~हिरारत्न श्रीशा~
नेपाल बन्दको सुनामीले पेट खाली हुन्छ एक दिन
यही गतिमा हिँडेपछि रित्तो थाली हुन्छ एक दिन
चोर, फटाहा डाँका पनि राजनेता भएपछि
गुरु खराब चेला जाली हुन्छ एक दिन
हत्या, हिंसा बढाएर हप्तैपिच्छे नेपाल बन्द
गर्ने नेता मर्दा जनताको ताली हुन्छ एक दिन
भ्रष्टाचार, छलकपट गरी धेरै फुलेपछि
आँशु लागी जनताको भाच्या डाली हुन्छ एक दिन
नेपाली सोझा जनता साउने मूल ठान्ने नेता
सहनशीलको बाँध नाघी महाकाली हुन्छ एक दिन
हाल कुवेत
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २२ – April 7, 2013 – २०७० बैशाख ४ गते, बुधबार)