कविता : हामी कसरी फरक

~कल्पना पौडेल “जिज्ञासु”~

म पनि मानव
तर तिमीलाई मैले छुन सक्दिनँ
हाम्रो जात फरक छ रे ?
आत्मियता दर्साउँदै
प्रेमको अनुभूतिमा खुशीले
विभोर हुँदै
तिमीलाई अँगालोमा कस्न सक्दिनँ
न त हात मिलाउन सक्छु
न त दुई हात जोडेर
शिष्टता नै गर्न सक्छु
किनकि हाम्रो वर्ग
हैसियत, प्रतिष्ठा सबै
धेरै फरक छ रे ¤
तिमी दलित हौँ
गरिब छौ
तिरस्कृत छौ
त्यसैले त
अपहेलित र अपमानित
भएर हेपिन्छौँ
म इमान र जमान
अनि नैतिकताको कङ्गाल छु
र पनि प्रतिष्ठाको निकै धनी छु
किनभने
म ब्राह्मण हुँ
हाम्रो अन्नपानी, नुन एउटै छ
खुन एउटै छ
तर हामी दुई मान्छेबीचमा
यति धेरै फरक किन ?

सबै एक दिन मरेरै जानु पर्छ
हामीले टेक्ने धर्ती एउटै
जुन, तारा, चन्द्र, आकाश एउटै
अनि के मनुष्यबीचमा
मन, भावना र आत्मा कसरी फरक ?
हैसियत, मूल्य र प्रतिष्ठा
फरक भएका
आचरण
इमान,
जमान,
र नैतिकता फरक भएका मानव
एक धर्तीमा बसेका छन् ।
र हामी कसरी फरक
कस्ले दिन्छ यसको
जवाफ ?

गैडाकोट– ४, नवलपरासी, हाल इजरायल

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २५ – May 8, 2013 – २०७० बैशाख २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.