कविता : म, सहर र बसाइँ

~जयन्ता पोखरेल~

आकाङ्क्षाबाट ओर्लिएको सुनामीजस्तै
रहरबीच उच्छालिने
पीडाको प्रशव प्रहरमा
रातमा ब्यूँझन्छन् मेरा असहजहरू
आखिरी
बल्छीमा अल्झिएको
गड्यौँला रहेछ सहर
कृत्रिमताको त्रि-स्वादहरू खोज्दै
म बसाइँ सरेपछि
धनजिते हराएजस्तै
म हराउँदैछु सहरमा
उडान झार्न सक्ने
व्यधाका खटनहरूमा
मत्मुनिका टुडाँल चित्रहरूमा
ग्वाजेहरूका गजब गोदावारीभित्र
ठाट्को र्‍याम्प उक्लिएर
डगवाक गर्नेहरूको लैबरीमा
म बसाईँ सरेपछि
मनजिते हराएजस्तै
म हराउँदैछु सहरमा
स्वमनबाट विभाजित
विनिर्मित धड्कनहरू
सगर धर्ती मच्चिरहने
फरक वेथितिहरू
कचौरीमा पोषण चाख्नेहरूको सिकोमा
म बसाइँ सरेपछि
वलजिते हराएजस्तै
म हराउँदैछु सहरमा
जति छामे पनि
गाउँबस्तीमा उचालिने छाती
विना खर्च-
विना चर्चा-
नउठ्ने रहेछ स्वाभिमानको पहाड
लामबद्ध समयमा
एक प्राप्ति पर्खिरहने
उडुसजस्तै मान्छेहरूको सुरमा
सस्तै सस्ताको फरक टोल
खोजेर डेरा बसेपछि
कलजिते हराएजस्तै
म हराउँदैछु सहरमा
दोष-
बत्ती र पुतलीको यथार्थता
कति नबुझ्नु हो
दोष-
सपना चेपेर
रित्तो भर सहर पस्नु हो
दोष-
परीजस्तै लाग्ने
पूणिर्माको रातसँग रत्तिएर
गाउँबाट लुसुक्क भाग्नु हो
हराउनुभित्र
आफू नभेटिने सम्भावना
अविश्वासका अक्षरहरूमा तरेलिन्छ
विना पानी कट्ने प्यासको छट्पटी
सङ्घर्षको पानामा नलेखिकनै
वाकयुद्धको पट्यार लाग्दो
विश्राममा पछारिन्छ ।
असफलताको अनेक जुलुससँगै
म बसाइँ सरेपछि
सरजिते हराएजस्तै
म हराउँदैछु सहरमा ।
अब सर्छ रे !
सहर पनि प्रान्तीय बस्तीहरूमा
चुरो नमर्दा सपनाको
मझैँ आत्तिएर
नसर्नु किमार्थ बसाइँ …. …. …. ।

विराटनगर
हालः काठमाडौँ

(स्रोत : मधुपर्क २०६६ मंसिर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.