कविता : धोती टोपी

~दण्डपाणि जैसी~dandapani-jaisi

लाज छोप्ने धोती प्यारो भनुँ कि शिरको शोभा टोपी प्यारो भनुँ?
शितल पहाड प्यारो भनुँ कि पहारिलो मधेश प्यारो भनुँ ?
दुई आँखाका नानी मध्ये कुन चाहीँ नानी प्यारो भनुँ ?
साथी! तिम्रो प्रश्नै गलत छ ।

अब म प्रश्न गर्छु तिमी उत्तर देउ
हात ठुलो कि खुट्टा?
मुख ठूलो कि पेट?
टाउको ठूलो कि शरीर?
हात र खुट्टा बीच पनि कहीँ लडाइँ हुन्छ ?
मुख र पेट कहिलै लडेका छन्?
दुइ आँखा बीच कहिलै लडाइँ हुन्छ?
लाज छोप्ने धोती र शोभा दिने टोपी बीचको कस्तो लडाइँ?
मानव मानवबीच कहीँ लडाइँ हुन्छ?

साथी!
लडाइँ त मानव र दानव बीच पो हुनुपर्ने हैन र?
भ्रष्टाचार र गरिबी विरुद्धको लडाइँ हुनु पर्ने हैन र?
अशिक्षा र अज्ञानता विरुद्ध लड्नु पर्ने हैन र?
सामाजिक विकृति विरुद्धको लडाइँ खोइ?
साँस्कृतिक विचलन विरुद्धको लडाइँ खोइ?
अशान्ति विरुद्धको लडाइँ अशान्ति हुन सक्छ?
के क्रोधलार्इ क्रोधले शान्त पार्न सक्छ?

लाखौं युवा विदेसिएका छन्
वेरोजगारी विरुद्धको सबैभन्दा ठूलो युद्ध कहिले लड्ने?
भो साथी अति भो
अब धेरै खती भो
भो अब लासको भारी नबोकौ
अब त लासलार्इ काँधदिने मलामी खोइ?
अस्ति बैसाखमा मात्रै त हो प्रकृतिले सत्रमा आठ थपेको
पच्चिस हजार लास के कम हो र?

खाडीबाट आएका आफन्तका लासमाथि छाँद हाल्दै
दिनहुँ भक्कानो फुटाएर रोइएकै छ
आँशु पनि रित्तिइसके
अब सुख्खा रोदन कति रुने?

भो अब देशलार्इ लासको खात नबनाऔं।
सीमांकनबाट मधेश जल्दा, निर्दोष मारिँदा,
नामाँकनबाट पहाड जल्ने तयारीमा रहँदा
मलार्इ त रिंगटा लाग्न थालेको छ ।
के तिमीलार्इ रिंगटा लाग्दैन साथी?

प्रष्ट भन्छु, सुन साथी
मलाई मेरो लाज छोप्ने धोती पनि चाहिन्छ
शिरको शोभा टोपी पनि चाहिन्छ
सबै थोक गुमाएर
मलार्इ ‘धोती न टोपी’ हुने रहर छैन।

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.