~बिपना ढुङ्गाना~
निदाउन दिएन भोगाइले,
खुशी दिएन अपेक्षाले,
शान्ति दिएन अशान्त मनले,
फगत! जिन्दगी रित्तिदै गयो
आफ्ना रिझाउने प्रयासले।
राम्रो गर्यो,औल्याउछन्
आफु हाँस्यो त आफ्ना रिसाउँछन्
सत्य बोल्यो,शिर घुमाउँछन्
हात नजोडौँ त आफ्ना,
क्षणमै अन्जान बनिदिन्छन्।
भुल सायद यहाँ गरेछु,
सम्बन्ध बटुलेर हिँड्दै गर्दा
हँसिला मुहारका रेखामा
बेरिएका बिषालु चित्रमा
आफ्ना लुक्या हुन्छन् भन्ने
यथार्थ भुलेछु।
तर बिना गल्ती,
हरेकपटक शिर झुकाउन
मलाई मेरो आदर्शले दिँदैन
क्षमा दिनुहोस् “मेरा आफ्ना ”
अब कसैको,कुनै निदर्यी व्यवहार
मेरो संस्कारले लिँदैन।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)