कथा : चोरीको पर्स

~सविना सिन्धु~

‘सुको कमाई भएन आज। सिक्री फुत्काइयो भनेको। त्यो पनि नक्कली’

‘ग्यारेन्टिवाला होला । सौ – पचास त आउला नि !’

‘के को आउँथ्यो। खुइलिइसकेको छ।’ ‘कस्तो नचिनेको त यार।’

‘पाँच वर्षको अनुभव सबै स्वाह! हिजो आज मान्छेले सक्कली सुन लाउनै छोडे कि क्या हो?नक्कली र सक्कली सुन चिन्न पनि गाह्रो।’

‘लाउँछन् कसै कसैले। पाँच ६ पटक जेल परिसकेको मान्छले यस्तो भन्न सुहाउँदैन। हामी जस्तो नयाँले मात्र त्यसो भन्न मिल्छ।’

‘आज बयासी नब्बेको पालो है। तिमीहरू गोङ्गबुबाट चढ्नु। म चाबहिल गौशलातिरबाट चढ्छु। तिनकुने पुग्दासम्म त झ्याप् पारिसक्नुपर्छ। केही नभए पनि बीस पच्चिस हजार।’

दुई चार पटक कानेखुसी गरेझैं सानो सानो स्वर सुनिन्छ। उनीहरू आ–आफ्नो योजना अनुसार लागि परेका छन्। आखिर कमाइ गर्नैपर्‍यो। सबैलाई चाडवाड लागेपछि उनीहरुलाई नलाग्ने कुरै भएन। काम गरिखाने भन्दा ठगीखाने संस्कारमा हुर्किएका मान्छे।

साथीभाइको संगत पनि उस्तै। रोजगारीका अवसर पर्याप्त छैनन्। सानो तिनो ब्यापार व्यवसायमा कसले दुःख गरोस्। सानो मान्छे बन्न मन पनि नहुने। त्यसैले उनीहरुको पेसा नै यस्तै..। बुझ्ने शब्दमा भन्दा ‘चोर’ र ‘पाकेटमारा’। पुलिसले समात्छ। अलि महिना जेल हाल्छ । जेल बाहिर आएपछि फेरि त्यही काम।

बिहान बेलुकी चिसो भएपनि दिउँसो मज्जाले घाम लागेको थियो। गोङ्गबुबाट पालैसँग तीन केटा गाडीमा चढे। दुई जना मतवाली जस्ता देखिन्थे भने अर्को चाहिँ बाहुन क्षेत्री झैं देखिन्थ्यो। उनीहरुले मुखामुख गरे। गाडीमा भीड हुन थाल्यो। खलासीसँगै अरु दुई केटा पनि झुण्डिएका थिए। चोरी गर्न र पाकेट मार्न खप्पिस उनीहरु गाडीमा छिरिसकेका थिए।
‘ए काले!’, केटोले अर्कोलाई बोलायो।

अर्कोले पुलुक्क हेर्‍यो र इशारा गर्‍यो। त्यसपछि अर्को केटो भए छेउ अरु दुई पनि सरे।
‘ए दिदी ! अलि पर सर्नुस्। झ्यालतिर ठाउँ छ।’, खलासीले भन्यो।
‘कहाँ सर्नु र? यो भन्दा उता त ठाउँ छैन।’, केटीले जवाफ फर्काई।

सहचालक १५/१६ वर्षको हुँदो हो। केटी २७/२८ कि। यसो देख्दा पनि हुने खानेकी छोरी जस्ती। उसले घाँटीमा सुनको जस्तो देखिने सिक्री लगाएकी थिई। औंलामा औंठी थियो।
हातमा गहकिलो चुरा पनि थियो। मेकअप अरु गहनाले गर्दा ऊ भोज भतेर वा पार्टीतिर गएर फर्किएकी हो की जस्तो देखिन्थ्यो। उसले लगाएको पोशाक अलि बढी लामो र टल्किने थियो। केटी राम्री थिइ।

गाडीमा भीड भएको हुँदा यात्रुहरु गर्मी महशुस गरिरहेका थिए। केटीको निधारमा अलिअलि पसिना देखिन थालिसकेको थियो। खलासी मुसुमुसु हाँस्दै थियो। बेलाबेलामा ऊ ताल न सुरको गीत गाउँथ्यो। अनि यात्रु बोलाउँथ्यो। गन्तब्य आएपछि यात्रु ओर्लिँदै जान्थे। नयाँ मान्छे चढ्दै जान्थे। सहचालक यात्रु कोच्नमा ब्यस्त थियो।

‘यस्तो सास्ती खेपेर पनि के गाडी चढ्नु।’, एउटी अधबैंशे महिला भन्दै थिइन्।

‘सबैलाई जानु छ। हिजोआजका गाडी यस्तै हुन्,’ अर्को पुरुष स्वर सुनियो। आमाको काखमा बसेको सानो केटो मस्त निन्द«ामा थियो। उसलाई दायाँबायाँको हल्लाले केही असर गरेको थिएन। गाडीको झ्याल भन्दा माथि, ‘पाकेटमारदेखि सावधान लेखिएको थियो।’ गौशलामा आइपुग्नु भन्दाअघि नै अर्को केटो चढ्यो। गाडी चढेका पाकेटमारा एक अर्कालाई ईशारा गर्दै थिए। एउटाले बेस्सरी ढकेल्यो। मान्छ धकेलिए। अर्कोले सिठ्ठी सुसेल्यो।

केटीलाई ब्यागको चेन खोलेको पत्तो भएन। केटोले बैजनी रङको पर्स सुटुक्क निकाल्यो। दायाँ बायाँ उभिएका र बसेका मान्छेले समेत भेउ पाएनन्। योे पर्स त गरुङ्गो छ। दह्रै कमाइ भयो। केटोले सोच्यो। अर्को केटोले भलाद्मी देखिने पुरुषको पकेट छाम्न भ्याइनसकेको रहेछ। पकेटबाट बीस रुपैयाँको नोट र एटिएम कार्ड खस्यो।

–‘धत् हजार रुपैयाँ घटी त के पाकेट मार्नु।’, उसले मनमनै सोच्यो।
‘दाइ पैसा खस्यो,’ उसले भन्यो।

अघिको मानिसले खसेको २० रुपैयाँको नोट र एटिएम कार्ड टिप्यो।

उसले भन्यो, ‘धन्यवाद भाइ। हिजोआजको जमानामा यति इमान्दार मानिसहरु पनि हुँदा रहेछन्।’

अर्को साथीले उसलाई इशारा गर्दै थियो। तिनकुने पुग्नुभन्दा अगाडि नै उनीहरु पालैसँग ओर्र्लिए।

‘ए ! दह्रो माल हात लाग्यो यसपटक। २०/२२ हजार त होला।’

‘होला….होला,’ अर्कोले भन्यो।

‘त्यत्रो पैसा बोकी होला र त्यो केटीले। मलाई त विश्वास लागेको छैन। विद्यार्थी जस्तो देखिन्थी,’ मंगोलियन अनुहार भएको केटोले भन्यो।
साथीहरुले उसको कुरा सुनेनन्। चोरेको पर्स खल्तिमै थियो। उनीहरु खुल्ला चौमा गए। चोरी गरेर पाएको रकम मध्ये अलिकति सहचालकको लागि राखेर बाँकी रकम एक अर्कालाई भाग लगाउनु थियो।

चौरमा उनीहरु गोलो घेरा लगाएर बसे। चोरीको सामान निकाले। त्यो पर्स पेन्सिल ब्याग जस्तो तर बाक्लो थियो। खोलेर हेर्दा उनीहरु अचम्मित भए। त्यो साधारण पर्समा एक पैसा पनि थिएन। बरु त्यसमा एउटा सानो आकारको लिपिस्टिक, दुईवटा पेन्सिल गाजल, फेस क्रिमको सानो प्याकेट र एउटा लिप ग्लस अटाएको थियो। उनीहरु छक्क परे। एक अर्कालाई हेर्न थाले। कालेले भन्यो, ‘उफ् आज पनि कमाइ भएन।’

००

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.