~शर्मिला खड्का दाहाल~
‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका इन्सपेक्टरले विदेशमा गई आत्मदाह गर्नुपर्यो आखिर किन तिनले जीवनलाई समाप्त पानुपर्यो सायद सत्यको न्यायलयले यही फैसला गर्यो ।…………..’
यो मेरो लामो लेख .(माथि छोटो अंश मात्र दिइएको छ ) एउटा पत्रिकामा प्रकाशित भएको थियो । यो लेख छापिएको पत्रिकाको वेवको लिंक मैले फेसबुकको स्टाटसमा सेयर गरेको थिएँ । यस लेखमा धेरै प्रतिक्रियाहरू आए तर ती मध्ये एउटा प्रतिक्रियाले मलाई अचम्मले रन्थनाइदियो । प्रतिक्रिया यस प्रकारको थियो —
‘तपाईंको यो लेख पढेर म अत्यन्त विचलित भएको छु । मलाई लाग्छ कतै यो लेख मेरो लागि नै लेखिएको हो कि मलाई सत्यको अदालतमा रिट निवेदन गर्नुछ । के मलाई मौका दिनुहुन्छ ?
यो प्रतिक्रिया पढेर म अचम्मित बनँ । कस्तो प्रतिक्रिया हो ? के भन्न खोजिएको हो ? मैले केही बुझ्न सकिनँ । मैले उसलाई च्याट गर्न अनुरोध पठाएँ । उसले पनि मेरो अनुरोध स्वीकार गर्यो ।
मैले उसलाई लोडसेडिगको मूड ठीक भएको बेला च्याटमा आउन समय दिएँ । तोकिएको समयमा ऊ च्याटमा देखा पर्यो । हुन त यो डिजिटलीय संसारमा कुनै कुराको विश्वास हुँदैन तर पनि नयाँनयाँ कथावस्तु र विभिन्न खालका पात्रको खोजीको क्रममा यस्ता सुरुङ्गेमार्ग लाभदायी हुनसक्छन् । खोतल्दै जाँदा रहस्यको कुन धरालतमा पुगिन्छ भन्ने कुरा आफैलाई अनुमान गर्न गाह्रो हुन्छ । त्यसैले यस्ता अविश्वासी कामहरूलाई पनि म रोमाञ्चक ढङ्गले विश्वासका साथ गरिरहेको हुन्छु ।
अहिले म च्याटमा बसिसकेको छु ।
केही समयपछि उक्त पात्र देखापर्यो । उसले सम्बोधन जनायो । मैले प्रतिउत्तर दिएँ । उसले एउटा लिंक हेर्न अनुरोध पठायो । मैले तुरुन्त उक्त लिकं खोलेर हेरेँ । त्यो लिक सहरको प्रतिष्ठित र धनाढ्य व्यापारीको हत्या गरिएको न्युज थियो । म अलमल्ल परेँ । उसले किन यसप्रकारको लिंक पढ्न अनुरोध गर्यो ? पक्कै यहाँ कुनै रहस्यमय कुरो छ । जुन कुरा खोतल्न म उत्साही भइरहेको थिएँ ।
“यो लिंक पठाउनुको रहस्य ?” मैले सोधेँ ।
उसले लेख्यो— “त्यो न्युज तपाईँको लेखसँग सम्बन्धित भएको हुनाले मैले लिंक पठाएको हुँ ।”
“मतलब.. ?” मभित्र कताकता त्रासको विकिरण फैलन थाल्यो । कतै म अपराधिक गतिविधिको सन्जालमा फस्ने त होइन भन्ने शंका उपशंकाहरूले मलाई पोल्न थाल्यो ।
“नडराउनुहोस् लेखिकाज्यू, तपाईँले जे लेख्नुभएको छ एकदम सही लेख्नुभएको छ । तर कुनै पनि कुरालाई एकपक्षिय रूपलेमात्र सोच्न हुँदैन जुन तपाईँहरू जस्तो लेखकको कमजोरी हो । त्यसको अर्को अध्यारो पाटोलाई पनि हेर्नुपर्छ ।” उक्तपात्रले च्याटमा लेख्यो ।
“ठीकै छ तपाईँ बताउनुहोस् न त उज्यालोमा बस्नेले अँध्यारोको महसुस गरेको हुँदैन ।” मैले असन्तुष्टिको मन्द राप रापेँ ।
“हो तपाईँले ठीक भन्नुभयो । तपाईँलाई त्यो अँध्यारो पाटो देखाउने कर्तव्य ठानेर मैले यी सबकुरा भन्दैछु ।
“ल भन्नुहोस् न त । के तपाईँले त्यो व्यापारीको हत्यालाई स्वभाविक ठान्नु भएको छ ?” मैले जिज्ञासा उघारेँ ।
“हो त्यही म भन्दैछु त्यो व्यापारीको हत्या हुनु स्वभाविक थियो । त्यो हत्या कसरी भयो तपाईँलाई थाहा छ ?”
“मैले कसरी थाहा पाउनु ? ऊ कस्तो किसिमको मानिस हो भनेर ?” मैले भनेँ । मेरो मनमा त्रासको डढेलो सल्किरहेको थियो ।
“हो मैले तपाईँलाई सत्यको यो पर्दा उघार्न अनुरोध गरेको हुँ । त्यस व्यापारीको हत्यारा को हो थाहा छ ?”
उसले यसोभन्दा मेरो जीउ थरर काम्यो । मैले उसलाई बेकारमा च्याटमा आउन भनेछु भनेर पश्चातापको भाइरसले आक्रमण गर्यो मलाई । म निकै घोरिएँ । अहिले नेपाली समाज नै हत्या, हिंसा र अपहरण जस्ता महारोगले सङ्क्रमित छ । विशेषगरी ठूलठूला व्यापारीहरू यसको शिकार भएका छन् । यो किन, कसरी भइरहेछ भन्ने कुरा सर्वसाधारणको सोचाइको सीमाभन्दा बाहिरको छ । यस्तो विषयमा ऊसँग कुरा गर्दा आफू पनि उक्त रोगबाट सङ्क्रमित भइने होकि ? सोचाइको भाइरसले मेरो मस्तिष्कको सफटवेयरलाई ह्याङ्ग बनायो । यक्तिकैमा उसले टाइप गरी पठाइसकेको थियो ।
“त्यो हत्यारा मै हुँ लेखिकाज्यू ।”
मेरो जीवनमा पहिलो पल्ट कुनै हत्याराले म हत्यारा हुँ भनेर दावी गर्दैछ । म आफू कमजोर भएको महसुस गर्छु । जुन नराम्रो हत्याकाण्डले पत्रपत्रिकाहरूमा राम्रै स्थान पाएको थियो । हत्याराको खोजीको लागि ठूलठूला नाराजुलुश हुन थालेको थियो । संसद नै अवरुद भएको थियो । यस्तो हत्याको हत्याराले मसँग आएर हत्यारा हुँ भनिरहेको छ । कतै उसले चिटिङ्ग त गरिरहेको छैन । विश्वास गर्ने कुनै आधार थिएन तर अविश्वास गर्ने कुनै धार पनि थिएन । उसलाई कुनै गुप्तचर विभागले अनुसन्धान गरेझैँ अनुसन्धान गर्ने मनसाय मभित्र उम्रियो अनि टाइप गरी पठाएँ ।
“तपाईँ हत्यारा हुँ भनी कसरी दावी गर्नसक्नुहुन्छ ? तपाईँसँग के प्रमाण छ ? अनि किन यसरी हत्यारा बन्नु भएको ? अरुलाई मार्दा पापको डर लाग्दैन ?” मलाई उसलाई धेरै कुरा सोध्न मन थियो तर उसले तुरुन्त टाइप गरी पठायो ।
“हो हत्या गर्नु पाप हो, मानिसहरू अपराधी भन्छन् । घृणा गर्छन् । तर एउटा असल मानिस कसरी हत्यारा बन्छ भन्ने कुरा के तपाईँले अनुमान गर्नुभएको छ ?”
उसको यो धम्कीपूर्ण संवादले म निकै आतंकित बन्छु । तर पनि समाजका यस्ता विकृति विसगतिलाई राम्ररी चिरफर गरेर समाजलाई देखाइदिनुपर्छ भन्ने कर्तव्यबोधले सामान्य बनेँ । मैले सोचेँ उसले अघि त्यो अँध्यारो पाटोको कुरा गरेको सायद यही होला भन्ने लाग्यो । अनि केही विनम्रता विछ्याउँदै टाइप गरेँ —“हेर्नोस् हत्याराज्यू तपाईँले यति कुरा बताइसकेपछि तपाईँको बारेमा केही कुरा जान्ने उत्सुकताले मलाई छोपेको छ । कृपया बताउनु होला ।”
मेरो संवादले उसलाई केही छोएछ होला उसले संवादको शैली फेरेर लेखिपठायो ।
“हो लेखिकाज्यू कोही व्यक्ति चाहेर हत्यारा हुन्छन् तर धेरैजसो बाध्यताले र परिस्थितिले हत्यारा बनाउँछ । म पनि उही समयको चक्रले पिल्सेर अधमरो भएर बाँच्नको लागि हत्यारा बनेको हुँ । म तपाईँलाई आफ्नो सम्पूर्ण वृतान्त बताउँछु ।” उसले भन्यो
“भन्नुहोस् न ।” मैले संवाद लम्बाउन संवाद गरेँ ।
“उक्त व्यापारीको पसलमा म पाँचवर्षदेखि लगातर काम गर्दै आएको कामदार थिएँ । हुन त उसले मलाई मुखले नराम्रो कहिल्यै भनेन । तर उसको हृदय सफा थिएन । एउटा तल्लोस्तरको कामदारलाई गर्ने व्यवहार ऊ मलाई गर्दथ्यो । उसका परिवारहरूले पनि उही व्यवहार गर्दथे । उनीहरू सरभेन्ट भनेर बोलाउँथे । उनीहरूको मनमा दयाको भावना पटक्कै थिएन । म गाउँबाट क्याम्पस पढ्न भनी काठमाडौँ आएको थिएँ ।”
“अनि…..? मेरो मस्तिष्कमा आम नेपाली गाउँका केटाहरू काठमाडौँमा आएर कामको लागि भौतारिएको दृश्य प्रतिबिम्बित भयो ।
“अनि एकजना मामा पर्नेले उसकहाँ काम लगाइदिएका थिएँ । बेलुका पढन जान्थे । दिनभर पसलमा काम गर्थे । मसँगै अरू दुइजना कर्मचारी पनि पसलमा थिए । म सोझो थिए अरू दुइजना निकै बाठा थिए । उनीहरू पसलको पैसा हिनामिना गर्दथे तर व्यापारीले पटक्कै थाहा पाउदैनथ्यो । उसले दिएको तलवले मलाई मुश्किलले काठमाडौँमा खान र बस्न पुग्दथ्यो । महिनाको सुख्खा पाँचहजारले एकजनालाई घर भाँडा तिर्न, खान र बस्न मुश्किलले पुग्दथ्यो । पसलमा हजारका गड्ढीहरूको लेनदेन हुन्थ्यो । ती लाखलाखको बिटा देख्दा म घुटुक्क थुक निल्दथे । घरमा आफ्ना बाआमा, भाइबहिनी एकछाक खान पनि धौधौ भएको आँखामा झलझली सम्झन्थे । कहिलेकाहीँ ती पैसाको गड्डी बोकेर भागुँ र बाआमा भाइबहिनीहरूलाई राम्राराम्रा लुगा, मीठामीठा खानेकुरा लगिदिउँ जस्तो लाग्दथ्यो फेरि यस्तो अपराध गर्न हुँदैन भनेर आफै सतर्क हुन्थे । उक्त व्यापारी सारै लोभी र छट्टु थियो । चन्दा माग्न आउनेलाई पनि मान्छे हेरी पैसा दिने गर्दथ्यो । उसलाई धम्काउने आयो भने डरले जति भने पनि दिन्थ्यो । तर सज्जन मानिसहरू राम्रा कामका लागि आए भने एक कौडी पनि दिँदैनथ्यो । उसको त्यो कठोर हृदयदेखेर मलाई रिस उठ्दथ्यो । यसरी मेरो जीवन चलिरहेको थियो ।” उसले लेखेर पठायो ।
“त्यसपछि……।” मैले टाइप गरेँ ।
उसको जीवन कथासँगै मपनि बगिरहेको थिएँ । गरिबीले मानिसको जीवनमा कतिसम्म उपहास गरेको हुन्छ भन्ने कुराको धेरै उदाहरण मेरो दिमागमा उम्रियो । केहीसमय अघि गरिबीका कारण आमाले आफ्नै छोराछोरीलाई विष खुवाएर आफूले विष खाएर मरेकी समाचारमा म संवेदीत बन्न पुगेँ । भर्खरै भारतको एउटा नगरमा आफनो बाबुले बैकको ऋण तिर्ननसक्दा जेलमा हालिएको अवस्थामा न्यायलयमा नै आगो लगाई आत्महत्या गरिएको घटना ब्युझियो मभित्र । उसको कथाले मलाई उही गरिवीको आक्रमित डढेलोमा लगेर हुत्याइदियो । म त्यो रापले भतभती जल्न लागेँ । म छटपटिन लागेँ । हे भगवान ! यो तिम्रो लीला अपरम्पार छ । कही कसैलाई गरिवी के हो ? आभाष सम्म छैन । कही यो ताण्डव नृत्य ? यो सुनामी ? कसरी थाम्न सक्छन् बाँच्नका लागि बाँचेका आत्माहरूले । भो अब बन्द गर यो तिम्रो लीला मेरो मुखबाट अनासय निस्क्यो — बुद्धम् शरणम् गच्छामि । आफूलाई केही सन्तुलित र संयमित बनाएँ अनि च्याटमा घोरिएँ । यतिञ्जेल उसले लेखिपठाइसकेको थियो ।
“त्यसपछि, एकपल्ट मेरी आमालाई एपेनडिक्स भयो । आमालाई अस्पतालमा भर्ना गरिएको थियो । मसँग पैसा थिएन । सहरमा जागिर खाने छोरोले पैसाको जोहो गर्ला भन्ने सोचेछन् क्यार बाले । त्यसैले बासँग पैसा हुने कुरा नै भएन । मेरो आशाको केन्द्रविन्दु तिनै व्यापारी थिएँ । मैले व्यापारीसँग तीस हजारको लागि अनुनयविनय गरेँ । तर उसको हृदय पटक्कै गलेन । मैले अन्य पार्टीलाई हजारौँ रुपैया चन्दा दिएको कुरा उठाएँ । यो कुरा सुनेर ऊ अझ बढी रिसायो र धम्काउँदै भन्यो —“तँ फिस्टो मलाई धम्की दिन्छस् । तँलाइ अहिले म मामाघर पर्ुयाइदिन्छु मलाई के ठान्छस् ।” उसले तुरुन्त पुलिस बोलाएर मलाई पक्रायो । मलाई चौकीमा पुर्याइयो । चौकीको इन्सपेक्टरलाई मैले आफ्नो सम्पूर्ण वृतान्त सुनाएँ । इन्सपेक्टर असल रहेछन् भोलिपल्ट मलाई छाडिदिएँ । म तुरुन्त नर्सिङ्ग होम गएँ । तर ढिलो भइसकेको थियो । आमाको जीवित शरिर निर्जिव भइसकेको थियो । मेरो विलाप सुन्ने एकमात्र ईश्वरपनि बहिरा भइसकेका थिए । समयले मलाई निरङ्कुश आक्रमण गरेको थियो । प्रतिवाद गर्ने मसँग कुनै शस्त्र थिएन । निशस्त्र म निर्जिव बन्नुको विकल्प थिएन । त्यसपछि ….।”
उसका संवादले म निकै भावुक बन्छु । अझ आमा भन्ने शब्दमा कही पीडा मिसिएको सुनेँ वा देखेँ भन्ने अत्यन्त मर्माहत हुन्छु । आमा भन्ने शब्द मेरा लागि अत्यन्त हार्दिकता र आत्मीयताले भरिएको शब्द हो । आमाको तुलना यो लोकमा अरू कुनै कुरासँग हुनसक्दैन । अझ आमाको अभावको पूर्ति के ले होला ? आमाको ममताको मूल्याकंन कसरी होला र ? उसका भावनासँगै म पनि बग्छु अनि लेखिपठाउँछु ।
“त्यसपछि……?”
“त्यसपछि आमाको लाश लिएर म गाउँ पुगेँ । आमालाई घाटमा अन्तिम संस्कार गर्न लगियो । आमाको लाश समाएर रुदाँरुँदै म विहोश भएछु । मलाई गाउँलेले लगेर होश फिराएछन् । मैले दागबत्ती दिन पनि सकेनछु । मेरो सानो भाइले दागबत्ती दियो । जसलाई के थाहा होस् उसकी आमा अब नफर्कने बाटोमा गई सकेकी छ भन्ने कुरा । मेरी आमा मेरो जीवनको सहारा थिइन । अझ भनूँ मेरो आत्मा नै थिइन । म विमारी हुँदा उनलाई पीडा हुन्थ्यो । घरको जेठो छोरो भएकोले ममाथि उनको ठूलो आशा थियो । उनलाई सतगत गरेर कसरी घर फर्के मैले थाहा पाउन सकिनँ । म चट्टानजस्तो बनेँ । आमाको विछोडको पीडाले बा ढुङ्गोजस्तो हुनुभयो । घरमा भाइबहिनीको विचल्ली भयो । तातोपानी तताएर दिनेसम्म कोही भएन । म मेरो बा र भाइबहिनी हालत देखेर व्यापारीको पारिवारले मोज गरेर खाएको, हिँडेको सम्झन्थे अनि तुलना गरेर सोच्थे । जति सोच्थे मभित्र त्यति नै जलन, आक्रोश र विद्रोहको भावना जन्मन्थ्यो । मभित्रभित्र आक्रोशित बन्न पुगेँ । दिनपरदिन व्यापारीले मप्रति गरेको व्यवहारले मभित्रभित्र जल्न थालेँ । आफू जलेर सखाप हुनुभन्दा व्यापारीलाई सखाप पार्ने अन्तिम उपाय मभित्र सिर्जित भयो । त्यसपछि म यो प्रतिशोध लिने विचार लिएर काठमाडौँ फर्किए । बा र भाइबहिनीलाई गाउँको काका पर्नेको जिम्मामा छोडे ।”
“त्यसपछि ….।”मेरो हृदयमा कारुणिकता र मतिष्कमा उत्सुकताका सुरियाहरू रोपिन थाले ।
“त्यसपछि म अपराधी गतिविधिमा लागेकाहरूको संगत गर्न थालेँ । गाउँको एउटा सोझो केटो अहिले सहरको नामी गुण्डा भनौँ डन भइसकेको थियो । ठूलो अपराध गर्नु अघि गिरोहका नायकेहरूले सानातिना अपराध गर्न लगाउँछन् । गर्दागदैँ म अपराधी भइसकेको थिएँ । उक्त व्यापारीको हत्या गर्न मलाई कुनै गाह्रो काम थिएन । मैले मेरी आमाको वर्खान्तको दिन उक्त व्यापारीको हत्या गरेर बदला लिन्छु भनेर कसम खाएको थिएँ । त्यो कसम मेरो पूरा भइसकेको छ ।”
उक्त हत्याराको सम्पूर्ण वृतान्त सुनेपछि मलाई मानवीय छालहरूका तरङ्गले तरङ्गित पारिरह्यो । एउटा मानिस कसरी हत्यारा बन्छ भन्ने यो सत्य घटना थियो । तर उसले जतिसुकै आफूलाई निर्दोष देखाउन खोजेपनि म उसको भावनामा सहमत हुन सक्दिनँ । किनभने मेरो विचार नै जीवनको अन्तिम सत्य मृत्यु होइन भन्ने हो ।
मैले पुन च्याटमा लेखेँ ।
“हत्याराज्यू तपाईँ के यो सब बताउनको उद्देश्य म जान्न सक्छु ?”
“हो लेखिकाज्यू यो सब बताउनको पछाडि एउटा रहस्य छ । मैले व्यापारीको हत्या गरेर प्रतिशोध लिएँ तर तपाईँले लेखमा लेख्नुभएझै त्यो हत्यापछि मैले मानसिक शान्ति पाउन सकेको छुइनँ । दिनपरदिन हत्याका विषयमा छपिने न्युजले म भावुक र विचलित हुँदै गएको छु । व्यापारीको हत्यापछि उसको पत्नीको अवस्था अनि छोराछोरीको विचल्ली देखेर म भित्रभित्रै गल्न थालेको छु । अनि तपाईँको लेखमा लेखिएको कतै मेरो अन्तिम सत्य पनि मृत्यु नै पो हुने होकि भनेर म चिन्तित हुन थालेको छु । कृपया मलाई न्याय गरिदिनु होला ।”
अहिले मलाई महान् नाटककार सेक्सपियरको सम्झना भयो । उनले नाटक म्याकवेथमा भनेका छन् A guilty mind recoils itself अथार्त् अपराध आफैतिर फर्कन्छ । यो भनाइको प्रयोग सम्पूर्ण ग्रीसेली नाटकमा लागु गरिएको छ । त्यसैले सेक्सपियरका सम्पूर्ण ग्रीसेली नाटकमा अपराधीहरूले आफनै हत्या गरेर प्रायश्चित गरेका छन् । कतै उक्त हत्याराले पनि उही भनाइ सार्थक पार्न खोजेको त होइन ? मभित्र शंकाको अंकुश पलाउँछ । म उसलाई सान्त्वाना दिने प्रयास गर्दै भन्छु ।
“हो हत्याराज्यू तपार्इँको त्यो प्रतिसोधले अझ तपाईँलाई थप संकटमा पारेको छ । मानिसभित्रको मानवीय भावनालाई दबाएर जति सुकै दानवीय भएपनि आखिर ऊ मानव नै हो । त्यसैले उसलाई यस्ता कुराले कहिल्यै शान्ति मिल्दैन । तपाईँ आफूलाई सत्यको न्यायलयमा निसाफ पाउन चाहनुहुन्छ भने आफूलाई आत्मसमपर्ण गराउनुहोस् । तब मात्र तपाईँले सत्यको न्यायलयमा निसाफ पाउनुहुनेछ नत्र तपाईँ जीवनभर कहिल्यै सुख पाउनु हुनेछैन । तपाईँ समाज घट्ने विभिन्न घटनाको एउटा सत्य उदाहरण हुनुहुन्छ । म तपाईँको यो कथा सार्वजनिक गरेर समाजलाई एउटा उज्यालो बाटो देखाउन चाहन्छु र भन्न चाहन्छु — धनसम्पत्ति कमाउने र थुपार्ने लालचमा मानवीय संवेदनालाई कहिल्यै नमारौँ । यदि मानवीय संवेदनालाई हामीले तिरस्कार गर्यौँ भने ती भावनाहरू प्रतिकार गर्न हामी माथि नै हथियार उठाउन सक्छन् त्यो समय तपाईँको करौडौको धनसम्पत्तिले तपाईँको मृत्युलाई छेक्न सक्दैन । त्यसैले समाजमा म होइन हामी भएर बाचौँ । समाजमा भएको गरिबी र धनीको विषमताको खाडल पुर्ने प्रयास गरौँ । आफू मात्र बाँच्नु खोज्नु भनेको आफनो अहित आफैले निम्ताउनु हो । यो परम मन्त्र सबैले हृदयङ्गगम गर्नैपर्छ ।”
च्याट गर्दागर्दै हाम्रो संवाद टुट्यो किनभने लोडसेडिगको मूड अफ भइसकेको थियो ।
भोलिपल्टसम्म यो संवादीय कथा बिर्सन्छु भनेर मैले कापीमा उतारेर राखेँ । त्यसपछि रात्रिकालीन विश्राम लिएँ ।
भोलिपल्ट उठेर रातिको घटनालाई मस्तिष्कमा पुनर्जीवित गराएँ । मेरो मन र मस्तिष्कमा उही हत्याराको संवाद र उसका मार्मिक कथामा घुमिरहेको थियो । उषाकालीन दायित्व सकेर म पत्रिकाहरूको दैनिकी न्युज भ्रमणमा फन्को मार्न थालेँ । पत्रिकाको फ्रन्टपेजमा नै यस्तो लेखिएको थियो
‘व्यापारी कृष्णमोहनको हत्याको आरोप लागेका हत्यारा सुरेशको गोली हानी आत्महत्या …..’
मैले यो भन्दा धेरै पढ्न सकिनँ । मेरो मस्तिष्कमा उक्त हत्याराले छद्म नाम प्रयोग गरी च्याट गरेका संवादहरू घुमिरह्यो । अहिले म केही बोल्न नसक्ने भइसकेको थिएँ । मैले लेखेको कथाका शब्दहरू आफै बोलिरहेका थिए ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )