नियात्रा : म्यानमार यात्राको सम्झना

~अर्जुन थापा~

बैंककबाट बर्मा अर्थात म्यानमारको योङ्गन सिटी मेरो यो वर्षको अन्तिम विदेश भ्रमण थियो । दक्षिण एसियाको पाँच देशको भ्रमण त्यो पनि एक महिनामा गर्ने अठोटका साथ निस्केको थिएँ म । सानै देखि बर्माको बारेमा सुन्दै आएको मैले किन आफ्नै आँखाले नहेरौं भन्ने उद्देश्यका साथ योङ्गन पुगेको थिएँ एक्लै ।

बैंककको डङ् मियोङ् एयरपोर्टबाट १ घण्टा २० मिनेटमा एयर एशियाको फ्लाइट बाट योङ्गन पुगेको थिए । यो भन्दा पहिला एयर एशिया प्लेन चढेको थिइन । एयरपोर्ट नजिकै घर भएकोले गर्दा रातो रङको एयर एशिया लेखिएको प्लेन उडेको देख्दा राम्रो लाग्नाले पनि यहि प्लेनको टिकट लिएको थिए । समयमै इमिग्रेशनको चेक जाँचको प्रकृया पछि ड्युटी फ्रिमा गएर घुम्न थाले । बचेको समयमा गुगल म्यापमा योङ्गनको बाटोको नक्सा डाउनलोड गरेर पूर्ण रुपमा तयार पारे आफुलाई ।

मिठो मुस्कानले स्वागत गरेकी एयर होस्टेजले टिकटमा उल्लेखित सिटमै लगेर बस्न आग्रह गरिन । मेरो सिट संगैको सिटमा पहिल्यै दुई जना बसिसकेका थिए । अलिक बोलाकीली खालकी रहेछिन् उनी । ब्रिटिस नागरिक र उनी संगैको पुरुष उनका श्रीमान । पेशाले डाक्टर रहेछन् दुवै जना । १ घण्टा २० मिनेट समय बितेको पत्तो नै पाइएन उनको कुराहरुले ।

नेपाली भाषिका बर्मेलिहरु । नेपाली भाषा, रीतिरिवाज, चाडपर्वलाई जोगाउन विभिन्न कार्यक्रमहरु गरी राखेका छन् । म्यानमार पुग्दा अर्को देश नभएर आफ्नै देशमै कतै छु भन्ने लाग्छ आदि जस्ता कुराहरु सुनेको थिएँ मैले ।

प्लेनबाट जब एयरपोर्टभित्र पसे म । अचम्म लाग्यो मलाई त्यहाँको भव्यता देखेर । जति हामीले दक्षिण एसिया, सिंगापुर, बैंकक, मलेसियाको नाम सुन्छौं । त्यसको तुलनामा म्यानमारको कम मात्रामा नै नाम आउँछ । त्यसमा म्यानमारको पनि एउटा स्टेट योङ्गन । एकछिन समय दिएर घुमे एयरपोर्ट भित्रै । रातको १०ः३० बजिसकेको थियो । एयरपोर्टबाट होटल सम्म जान ३० मिनेट लाग्ने र रातको समयमा ट्राफिक जाम पनि कम हुने भएकोले अलिक बेर एयरपोर्ट मै बिताए घुम्नलाई । मोबाइलको सिमकार्ड र पैसा साटेर बाहिर निस्के होटल जानलाई । ट्याक्सी कुर्दै गर्दा मलाई त्यही एयरपोर्टको स्टाफ महिलाले सल्लाह दिइन कि एयरपोर्टबाट योङ्गनको सुले पागोडा सम्म बस जान्छ भनेर ।

बिहान ६ बजे देखि रातको ११ बजे सम्म १५–१५ मिनेटको फरकमा चल्ने आधुनिक बस । जुन एयरपोर्टबाट मूख्य मूख्य ठाउँमा रोकिँदै शहरको मध्यभागमा रहेको सुले पागोडा नजिकै रहेको बसस्टपमा रोकिने रहेछ । सफा र व्यवस्थित थियो बस । बसको साइडमा कुन कुन ठाउँमा बस रोकिन्छ भनेर लेखिएको नक्सा टाँसिएको थियो । बस भाडा पनि पैसा अथवा कार्डबाट तिर्न मिल्ने रहेछ । जब विस्तारै एयरपोर्टको बाटो हुँदै योङ्गन भित्र प्रवेश गरे त्यहाँका ८ लाइनका बाटाहरु जसमा विभिन्न जात जातका बोट विरुवाहरुले योङ्गनको सुन्दरता प्रदर्शन गरेको थियो । विस्तारै मेरो म्यानमारको बारेमा रहेको सोच सानो र गरिब मुलुक भन्ने हराउँदै गएको थिया । झन झिलीमिली बत्ती तथा ट्राफिक संकेत पनि व्यवस्थित र राती नै भएतापनि सबैले पालना गरि रहेका ट्राफिक नियमहरु देख्दा आफ्नै देशका हामीसंग तुलना गर्न पुग्थें ।

अन्तिम बस स्टपमा बस रोकिदा रातको ११ः१५ बजिसकेको थियो । बसबाट ओर्लेर अघि डाउनलोड गरेको नक्सा हेर्दै होटल तिर लाग्छु । सिमसिम पानी परीरहेको थियो । मान्छेहरुको चहलपहलमा कुनै पनि कमी थिएन । चोकचोकमा रहेका पसलहरुबाट खानाको बास्ना मेरो नाकमा आएर ठोक्किरहेको थियो । गुगलमा हेरे अनुरुप नै हाम्रो खाना र त्यहाँको खानामा धेरै समानता थियो । हामीहरुको रातको ९ बजेपछि बिस्तारै मान्छेहरुको चहलपहल कम हुँदै जान्छ । तर त्यहाँ त्यस्तो केही थिएन । नक्साअनुसार नै बिना कष्ट होटेलमा पुगे । ठिक्कको होटल थियो त्यो, तर हरेक सुविधाले युक्त । भोली घुम्ने स्थानको तथा रोड नक्सा डाउनलोड गरेर पल्टी दिन्छु म ।

बिहानको ५ बजे नै उठ्छु । बाहिर अझै पानी परिराखेको नै छ । सेडुलअनुसार आज भ्याएसम्म पैदल हिँडेर नै नजिकको ठाउँ घुम्ने भनेर नक्सा पनि डाउनलोड गरेको थिए । मलाई के लाग्छ भने गाडीमा बसेर बाहिरको दृश्य अवलोकन गर्नुभन्दा पैदल हिँडेर आफुलाई मन लागुन्जेल हेर्दै हिँड्दा बढी सन्तुष्ट होइन्छकी भन्ने । नेपालबाट आएर यही एक ठुलो कम्पनीमा ठुलो पदमा काम गर्दै रहनुभएको आशिष दाईसंग आज भेट्ने कार्यक्रम पनि थियो ।

दिउँसोको नास्ता उहाँसंगै खाएपछि निक्ल्यौं स्एडागोन पाया तिर । पानी पर्न अझै रोकिएको थिएन । उक्त स्एडागोन पाया भित्र जानु अगाडी लगाएको जुत्ताहरु खोलेर जानुपर्ने रहेछ । जसअनुरुप यहाँ प्लास्टिकका झोलाहरु राखिएको थियो । स्वयम्भुको ठाडो भ¥याङ्ग जस्तो थियो त्यहाँ तर फरक यति थियो कि हाम्रोमा खुल्ला र अव्यवस्थित । चारैतिर काठैकाठले विभिन्न आकृतिले युक्त सुरुङ्गमार्ग जस्तै थियो । साथमा साइड साइडमा सुभिनियरका पसलहरुले झन आकर्षक दिलाएको थियो । लगभग ५ मिनेटको भ¥याङ्ग चढेपछि बल्ल भव्य स्एडागोन पायाको दर्शन पाइयो ।

एक छिन मेरा आँखा तिरमिराए त्यहाँको सुन्दरता देखेर । सुनको जलप लगाएको ठुलो स्तुपा अर्थात स्एडागोन पाया । वरिपरी स–साना मन्दिरहरु र स्तुपाहरु । सफा र शान्त वातावरण । भक्तालुहरु र पर्यटकहरु सबै आआफ्नै तरिकाबाट सक्दो आनन्द लिईरहेका थिए । बिस्तारै पालैपालो हेर्न थाले । मन रोमाञ्चित भईरहेको थियो । ध्यान गरेर बसि राखेका भक्तालुहरुलाई देखेर मलाई पनि ध्यान गर्ने इच्छा जागृत भएर आयो । आधा घण्टाको ध्यान पछि फेरी घुम्न थाले र सक्दो त्यहाँको सुन्दरतालाई क्यामेरामा उतारेर बिस्तारै फर्के त्यहाँबाट ।

त्यसपछिको बुद्ध मन्दिर तिर लागे । लामो ठुलो बुद्धको मुक्ति जुन सुतेको आकृतिमा थियो । बैंककमा रहेको बुद्धको मुर्ति, जस्तै आकृतिमा थियो । तर बैंककमा ठुलो र पुरै सुनको जलपमा थियो भने यो सेतो मार्वलमा र सानो पनि । त्यहाँका रैथानेहरुभन्दा पनि विदेशीहरुको उपस्थिती बढी थियो । प्रवेश शुल्क तिरेर मात्र भित्र छिर्ने व्यवस्था रहेछ । आफ्नो देशमा रहेका मठ मन्दिरलाई कसरी राम्रो गरेर र त्यसै माध्यमबाट बढी भन्दा बढी पर्यटकहरुलाई लोभ्याउन सकिन्छ भने ज्वलन्त उदाहरण देखे मैले ।

प्राय सबै जनाहरुले लुङ्गी लगाएको पाए । जुन त्यहाँको राष्ट्रिय पोशाक रहेछ । पान पसलहरु छ्याप छ्याप्ति देखिने । नेपालमा खाएको पान र यहाँकामा धेरै फरक पाए मैले । तर पनि सबैले मुखमा पान चपाई रहेको देख्दा नेपालमा नै छु भन्ने महशुस भईरह्यो । अर्को एउटा कुरा चाँहि लेख्नै बिर्सेको । त्यो के भने त्यहाँका साना होस वा बृद्धा सबैले अनुहारमा चन्दनको पाउडर लगाएका जोगीहरुले खरानी घसेको जस्तै ।

विदेशमा जाँदा पिपलको बोट मुनि पानी चढाई रहेको देख्नु । राधा कृष्णको मन्दिरबाट हरर आएका धुपका बास्नाहरु महशुस गर्न पाउँदा । मिठाई पसलहरु देख्नु । बोल्ने शैली फरक नै किन नहोस मिठो मुस्कानले नेपालीमा बोलेको सुन्दा कसको मन आनन्दले गदगद नहोस । हो, मलाई पनि त्यहि अनुभुति भएको थियो । त्यहा बजारमा घुम्दा भेटिएका नेपाली बर्मेलीहरुसंग भेट्न र बोल्न पाउँदा । मिठाई पसलमा गएर जेरी पुरी खान पाउँदा । मन्दिरमा गएर राधा कृष्णको दर्शन गर्न पाउँदा । स्ट्रीट मार्केट होस वा चाइना टाउन जाँदा थोरै भए पनि नेपाली भाषी बर्मेलीसंग भेट हुन्थ्यो । अझ सुले पगोडा नजिकै रहेको माहा बण्डुला पार्कमा जाँदा त आफुलाई नेपालको कुनै पार्कमा छु जस्तो भान हुन्थ्यो ।

आशिष दाई तथा त्यहा भेट भएका नेपालीका भनाई अनुसार, उनीहरुले नेपाली भाषा लोप नहोस र आगामी पिडीहरुमा पनि नेपाली भाषाको महत्व भई रहोस भन्ने उद्देश्यले त्यहा समर तथा वीन्टरको छुट्टीको २.३ महिना आफ्ना बच्चा बच्चीहरुलाई नेपाली भाषा सिक्न पठाउने गरेका रहेछन् । प्रत्येक चाडपर्व जस्तै दशैं, तिहार र तिजहरु जस्ता पर्वहरुमा सब सहभागी भएर मनाउने गरेका रहेछन् । नेपालमा बरु नेपाली भन्दा अंग्रेजी भाषालाई बढी जोड दिएको छौं । तर म्यानमारमा नेपाली भाषालाई उनीहरुले अझै महत्वका साथ लिएको पाए ।

म्यानमारको एउटा स्टेट योङ्गन भएता पनि हरेक कुराको व्यवस्था थियो । स्तुपा, बुद्धका मुत्ति होस वा ठुला ठुला चर्चहरु र मस्जिदहरुको भव्यता देखेर अचम्म लाग्यो । म्यानमारमा बुद्ध धर्म मान्नेको बाहुल्यता भएपनि हरेक धर्मको सम्मान गरिएको पाए । आन्तरिक द्वन्द्वबाट मुक्त भएको देश भएतापनि छोटो समयमा धेरै अगाडी विकासको फड्को मार्न सफल भएको देख्न र सुन्न पाए । ठुला, सफा र व्यवस्थित सडकहरु ट्राफिक सिग्नल अनुसार गुडिएका सवारी साधनहरु । ठाउँठाउँमा बनाइएका पार्कहरु आदी देख्दा हामी धेरै पछाडी परीसकेछौं भन्ने लागिरह्यो ।

दक्षिण एसियामा जहाँ पनि पुगे म प्राय सबै बुद्धको मुर्ति तथा स्तुपाहरुले लोभ्याएर पर्यटन विकास गरीरहेका थिए । सानै स्तुपा नै किन नहोस । तर सफा र व्यवस्थित गरीराखेका थिए । जबजब त्यहाँका स्तुपा र बुद्धका मन्दिरमा पुगे लाग्थ्यो कुनै म्युजियममा छु । हरेक कुराहरु मिलाएर बनाइएको थिए । देशको पहिचान भनेकै त्यस्ता कुराहरुले हुने गर्छन । नेपालबाट निस्कदा जुन सोच थियो म्यानमारको बारेमा फर्कदा ठिक उल्टो सावित भएको थिए ।

४ दिनको छोटो बसाइमा सक्दो योङ्गनलाई चिन्ने र बुझ्ने कोशिस गरे । त्यहाँको प्राकृतिक सुन्दरतालाई आफुले सक्दो मानसपटलमा कैद गर्दै फेरी आउने बाचाका साथ मन नलागी नलागी विदा मागे । एयरपोर्ट पुग्दा पनि मनमा खिन्नता रही रहेको थियो । झ्याल पट्टिको सिटको अनुरोध गरेर प्लेनले धावनमार्ग छोडे देखि झ्यालबाटै देखिए जति योङ्गनलाई हेर्दै थोरै समयमा नै न्यानो माया दिएकोमा धन्यवाद दिए ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.