~जनक कार्की~
ऋतु मेरो प्राण्
धेरै ऋतूहरू यो बूढो घरको बाल्कोनीबाट
मलाई स्पर्श गरेर गुज्रिएका छन्।
नछोएको त तिमीले मात्रै हो ऋतु
किन प्रकृतिमा ऋतू जस्तै सन्तान फर्किने नियम छैन?
यो मेरो शयनकक्ष भित्र
धुलाम्य भएर बसेको छ तिम्रो पास्नीको तस्वीर
एकचोटि मात्र एकचोटि आएर धुलो पुछेर जाउँ
मेरो दृष्टि बन्द हुनु भन्दा पहिले
म तिमीलाई हेर्न चाहन्छु ऋतू।
तिम्रो बाबाले ल्याएको क्लाशिक घडी
तिमी आउने पछिल्लो समयको घोषणामा
अवरुद्ध भएर झुण्डिएको छ
यो स्थिर समय; तिम्रो आगमनले चलायमान होस्
हाम्रो वगैँचाको त्यो आँपको वृक्ष
जाहाँ तिमीलाई आँप खुवाउथे म
आज बूढो भएको छ म जस्तै
थोती,कुप्री,उजाड, उदास छ
गुँड लगाएर बसेका जुरेली पनि बसाइँ सरिसके
ढल्नु भन्दा पहिले त्यो वृक्ष आएर समापन गरिदेउ `ऋतू।
सास त चलेकै छ `ऋतू
यो आशाको आश मर्दैछ
सास चल्नु मात्रै पनि जीवित हुनु रहेनछ
आश नभएको जीवनको अनुराग भएन।
कुनै दिन तिम्रो व्यस्त समयमा
यो आशा तिम्री आमालाई सम्झियौ भने
धेरै त केही भएको हुनेछैन
मेरो माशंपेशीहरू गलिसकेका हुनेछन
अस्थीहरू तिम्रो स्वागतमा तत्पर रहनेछ।
मेरो हातमा एउटा चिठी हुनेछ
जसमा लेखिएको हुनेछ
मेरो अन्त्योस्टीमा; मेरो अस्थी सङ्गै तिम्रो पश्यताप जलाइदिनु
तिमी दुखी भएको हेर्न सक्दिन
यो बूढो घर बेँचिदुनु
र तमाम त्यी व्यस्त सन्तानहरूलाई पारिश्रमिक स्वरूप दिनु
जसले आमालाई जीवित भेटिदिएर आफ्नो कर्तव्य पूरा गर्नेछन
अन्त्यमा मैले तिमीलाई सिकाउन बिर्सेको जीवनज्ञान्
तिम्रो सन्तानलाई सिकाउनु
पैसा भन्दा ठूलो ममता र करूणा हो
तिम्री आमा आशा साहनी।
(केही समय पहिले 2017/08/07 मुंबईमा यस्तो घटना घट्यो।जसले मानव हुनुमै लज्जास्पद र प्रश्नचिन्ह उठाउछ।
आशा साहनी ६३ वर्षिय जो मुंम्बईमा एक्लै ६ करोडको घरमा बस्दै हुनुहुन्थ्यो।उहाँको छोरा ऋतुराज साहनी अमेरिकामा हुनुहुन्छ।पटक-पटक आमाले अब आफू एक्लै वस्न नसक्ने र मिल्छ भने कि अमेरिका नत्र यतै कतै ओल्ड एज हाउसमा लग्दिन अनुरोध गरेको तर छोराले व्यस्तताको कारणले नभ्याएको कुरा आएको छ। छोराले पछिल्लो चोटि 23 अप्रील २०१६ मा कुरा गरेको बुझिएको छ।जब छोरा आमा भेट्न र लिन आए आमाको अस्थी सोफामा थियो।कहिले कसरी मृत्यु भयो केही थाहा भएन।
यस घटनाले मुटु हल्लाए पछि आशा साहनी बनेर लेखाइएको कविता हो ।)