नाटक : लट्ठी

~जेबी दर्लामी ‘सिरुखर्के जेठा’~Sirukharke Jetha

—दृष्य १—

एउटा खरले छाएको सानो घर । अँध्यारोमा जाँतो पिसेको आवाज छिनछिनमा रोकिँदै आइरहेको हुन्छ । जाँतोको आवाज रोकिएको समयमा मान्छे बोलेको केही गुनगुन आवाज पनि सुनिन्छ तर शब्द बुझिन्न । एकछिनपछि विस्तारै उज्यालो हुन्छ । बृद्ध उमेरका दुईजना मानिसहरु देखिन्छन्, लोग्ने र स्वास्नी । जाँतो एकछिन घुमाउँछन् । त्यसपछि थाकेर रोकिन्छन् । रोकिएको समयमा उनीहरुको सम्वाद यस्तो हुन्छ ।
यताउति हेर्दै बूढाको आवाज आउँछ—

बूढा— हेर् त बूढी घाम लागिसकेछ । एक छाक पनि पिस्न सकिएन अझै ।

बूढी— हाम्रो छोरा पनि घरमा भएको भए हाम्ले यस्तो दुःख गर्नु पर्दैनथ्यो होला हैन त बूढा ?

बूढा— हो नि खुपै । गाउँ डुल्न ठिक्क हुन्थ्यो । के नाप्या थियो र त्यल्ले घरमा हुँदापनि ?

बूढी— हाम्ले यस्तो दुःख पा’को त देख्नेथियो नि अरु केही नगरे नि । यस्तरी जाँतो पिस्न त पर्दैनथ्यो होला हाम्ले ।

बूढा— अँ हो नि हो । अब त्यल्ले जाँतो पिसिदिएर खान्थिस् नि तैँले बसी बसी । बारी बाँझो राखेर विदेश गाको छ ।

उनको आवाजमा कसोकसो ठट्टा सुनिन्छ । जाँतो घुमाउन थाल्छन् । बूढीले साथ दिन्छिन् ।

एकछिनमै थाक्छन् र रोकिन्छन् ।

स्याँस्याँलाई सकेसम्म दबाउन खोज्दै बूढीको आवाज सुनिन्छ—
बूढी— छोरा घरमा भा’को भए बुहारी ल्याइदिँदो हो ।

बूढा— हो नि हो । तेरै लागि ल्याउँदो हो नि ।

बूढी— बुहारी भएसी हाम्रो यो दुःख जाँदो हो ।

बूढा— जाँदो हो कि थपिँदो हो कुन्नि ? अचेलका बुहारीले जाँतो पिसेर तेरो पेट भरिदिन्थी नि खुपै ।
फेरि जाँतो घुमाउन थाल्छन् ।

एकछिनमै जाँतो रोकिन्छ । दुवैजना थाकेका हुन्छन् । पसिना पुछ्छन् । स्याँस्याँ गरिरहन्छन् । बूढीले पिसिसकेको मकैको च्याँख्ला उठाउँदै भन्छिन्—

बूढी— जाँतो पिसेरै एकबारको जूनी गयो बूढा ।

बूढा— खै ? तैँले पिसिस् कि जाँतोले तँलाई पिस्यो !!

बूढी— यै सोँच्छु मपनि कहिलेकाहीँ बूढा ।

बूढी यति बोलेर हाँस्ने कोशिस गर्छिन् ।

दुवैजना उठ्छन् ।

पर्दा खस्छ ।

०००

—दृष्य २—

त्यही घर । बूढाबूढी भान्सामा हुन्छन् । केही खानेकुरा बनाउने उपक्रममा जुटिरहेझैँ देखिन्छन् । बूढाले दाउरा उचालेर आउँछन् र आगोमा जोर्छन् । बूढीले ढुँग्रो लिएर आगो फुक्न थाल्छिन् । एकछिन फुकेपछि बेस्सरी काँस्छिन् । उनको काँसो धेरैवेर रोकिन्न । बूढाले बूढीको हातबाट ढुँग्रो लिँदै आगो फुक्न थाल्छन् । आगो बल्छ ।

बूढा— तैँले आगो फुक्दा म अझैपनि हाम्रा ती जवानीका दिनहरु सम्झने गर्छु बूढी ।

बूढी— मान्छेको प्राण जालाजस्तो भा’छ । तिम्लाई जवानीका दिन सम्झनु प¥या छ खुब ।

बूढा— हो नि त । तैँले आगो फुक्ने बेलामा म तँलाई हेर्नकै लागि तेरो अगाडि आएर बस्थेँ ।

बूढी— ठिक्क नपार त बूुढा अहिले ।

बूढा— हो भन्या । आगो फुकिरहँदा तेरो गाला रातो हुन्थ्यो । भर्खरै रगत चुहिन्छ कि जस्तो । कति राम्री देखिन्थिस् तँ ।

बूढी— भनेसी अहिले म राम्री छैनँ । हैन त ?

बूढा— अहिले पनि राम्री छेस् नि बूढी । त्योबेला र योबेलाको सुन्दरता फेरिएको मात्र हो ।

बूढी— नढाँटी भन त बूढा, अहिले म कस्ती देखिन्छु ?

बूढीको आवाजमा अलिकति प्रसन्नता सुनिन्छ ।

बूढा— अहिले त रङ उडेको रुमालजस्ती छेस् ।

बूढाको भावुकता पोखिन्छ तर लगत्तै सम्हालिएर ठट्टाको शैलीमा बोल्छन्— म कस्तो देखिन्छु त ?

बूढी— तिमी ?

बूढा— अँ के अँ ।

बूढी— तिमीचाहिँ रङ उडेको रुमाल राखेको फाटेको खल्तीजस्तो देखिन्छौ ।

अनि दुवैजना उन्मुक्त हाँसो हाँस्न थाल्छन् । केहीवेर उनीहरु हाँसिरहन्छन् तर हाँस्दाहाँस्दै दुवैजना काँस्न थाल्छन् । काँस्दाकाँस्दै उनीहरुलाई दुःख भइरहेको देखिन्छ । नजिकै पानीको गाग्री हुन्छ । अम्खोरा हुन्छ । उनीहरुको तिर्खालु आँखाले ती नियालीरहन्छन् तर त्यहाँसम्म पुग्न पनि उनीहरुलाई गाह्रो भइरहेको देख्न सकिन्छ । केही समयपछि बूढाचाहिँ लर्खराउँदै उठ्छन् र पानी बोकेर आउँछन् । आफुले पिउँछन् अनि बूढीलाई पनि पिउन दिन्छन् । पानी पिएपछि उनीहरुको काँसो रोकिन्छ ।

बूढा— मर्ने बेला पानी दिने मान्छे पनि नहुने भए यो घरमा ।

बूढी— मर्ने कुरा नगर त ।

झर्केको स्वरमा भन्छिन् ।

बूढा— यो घरमा मात्र हैन यो गाउँमै मान्छे रित्तिसके ।

बूढी— खै के खान हिँडेका हुन् ? कहाँ जान हिँडेका हुन् । मपनि छक्कै पर्छु । आफ्नो गाउँठाउँ छाडेर हिँड्न कसरी सक्या होलान् मान्छेहरुले ?

बूढा— जवानहरु विदेश हिँडे । गाउँका मान्छेहरुलाई मधेशको मोहनी लागेको छ । मधेशमा पनि काम नगरी बाँच्न त सकिन्न होला ।

बूढी— खै के हो के हो । उनीहरु नै जानून् ।

चूल्होमा पाकेको खाना डढ्न थालेको हुन्छ । आत्तिँदै उनीहरुले खानाको भाँडो निकाल्छन् ।

बूढा— हेर् त । गफमा भुलेर आटो डढेको पनि थाहै भएनछ । के साँच्चै बूढो भा’कै हो त हामी ?

बूढी— हैन नि । के को बूढो हुनु ? हामी त भर्खर सत्र वर्षे हौँ नि ।

बूढा— साँच्चै हो बूढी । तँ मेरो अगाडि हुँदा म आफु अझैपनि वैँशालु उमेरमै छु जस्तो लागिरहन्छ भन्या ।

बूढी— भो भो धेरै वैँशालु बन्नु नि प¥या छैन ।

बूढा— तँलाई नि यस्तै लाग्नुपर्ने ? लाग्दैन र ? तन बूढो भएपनि मन बूढो नहुँदो रहेछ । साँच्ची के रैछ यो मन भन्ने चीज ?

बूढी— म के जानुँ त ?

बूढा— मैले तँसँग सोध्या पनि हैन ।

अनि फेरि दुवै हाँस्छन् । यसपाली पनि उनीहरुको हाँसो लम्बिने देखिन्छ तर बूढीचाहिँले तुरुन्तै आफ्नो हाँसो रोक्दै बूढाको पनि मुख बन्द गरिदिन्छिन् ।

बूढी— धेरै नहासम् भो । पानी सकियो भने लिन जान धौ हुन्छ ।

बूढा— हो नि त । पानी लिन पनि बजार गा’भन्दा पर पुग्नुपर्छ ।

बूढी— अब हाँस्न पनि अड्कलेर हाँस्नुपर्ने भो ।

बूढा— कसले खोस्यो होला हाम्रो यो हाँसो ? हाम्रो रहलपहल खुसी पनि कसले लुट्यो होला ?

बूढी— छोरा घरमा भा’को भए यत्ति धेरै त हुन्थेन बूढा । तिम्ले जे भनेपनि ।

बूढा— मलाई थाहा छ । बाउआमालाई सुखमा राखुँला भनेर नै ऊ विदेश गा’को छ । मलाई सप्पै थाहा छ । म के उसको बाउ हैन र ?

बूढी— कहाँ के गर्दै होला हाम्रो सहारा ? कति दुःख पाइरा’ होला उसले पनि !

दुवैले लामो सास फेर्छन् ।

पर्दा खस्छ ।

०००

—दृष्य ३—

बूढाबूढी घरभित्र बसिरहेका हुन्छन् । बूढीले सिँयोमा धागो छिराउने कोशिस गरिरहेकी हुन्छिन् । उनका आँखाले भेऊ पाउन सक्दैनन् । हातहरु पनि काँपिरहेका हुन्छन् । बूढाचाहिँ डोरी बाटिरहेका हुन्छन् । बूढीले हैरान हुँदै सिँयोधागो बूढालाई दिन्छिन् ।

बूढी— मैले सकिनँ लौ तिमी बल गर त ।

बूढा— यत्ति छिराउन नि केको बल खर्च गर्नुप¥यो ? बूढेशकालको बल ।

चर्को स्वरमा भन्छन् । भन्न त भन्छन् तर उनको पनि त्यही हाल हुन्छ । हातहरु थर्थर काँप्छन् । आँखाहरुले काम गर्दैनन् । बूढाले सुस्केरा हालेको देखेर बूढीले जिस्क्याउँछिन् ।

बूढी— अघि त खुपै धाक लगाइरथ्यौ त बूढो ? सकेनौ ?

बूढा— अहँ सकिनँ । अब नसकिने रछ बूढी ।

बूढी— त्यै भएर धेरै गफ दिनहुन्न भन्छु म ।

बूढा— के गर्ने ? मनले तन्नेरी नै छु जस्तो लाग्छ । तनको हालत यस्तो छ ।

बूढी खिकखिक गर्दै हाँस्छिन् । बूढा पनि हाँस्छन् उस्तै रुञ्चे हाँसो ।

त्यही बीच बूढाले भन्छन्— यो मन किन होला कहिल्यै बूढो नहुने ?

बूढी नोस्टाल्जीक बनेर बूढालाई हेर्छिन् ।

त्यही समय घरको ढोकामा कसैले ढकढक गरेर प्रहार गर्छ । त्यसपछि मान्छे बोलेको आवाज पनि आउँछ ।

आगन्तुकको स्वरमा अनौपचारिकता सुनिन्छ ।

आगन्तुक— ए ढोका खोलओ त । यी बूढाबूढी के अरेर बस्याछन् हँ ?

को हो ? —ढोकातिर आँखा लगाएर कान सतर्क बनाउँदै बूढाले सोध्छन् ।

म हो के म । ढोका खोल त पहिला ।

को हो भन्छु ? —बूढाको चर्को स्वर सुनिन्छ ।

त्यै गफाडी कान्छा हो क्या । जाऊ खोलिदेऊ ढोका । अब तिम्रा कानले पनि लत्त छाडेजस्तो छ बूढा । —बूढीले भन्छिन् ।

कति कामले आइस् ? पानी खान पाउन्नस् अरु भन् । —बूढाले बसी बसी नै चर्को स्वरमा भन्छन् ।

हत्तेरी ढोका त खोल । तिम्रा पानी खाइदिन्न भो, यस्तो जाडोमा । —आगन्तुकको बोलीमा हैरानी सुनिन्छ ।

नामै त गफाडी । गफ लडाउँदै गाउँ घुम्ने काम पा’को छ । —बूढी फत्फताउँछिन् । बूढाचाहिँ लौरो टेकेर थर्थराउँदै ढोकातिर सोझिन्छन् । बूढीचाहिँले पानीको गाग्रो सकीनसकी भित्रपट्टि नदेखिने ठाउँमा लगेर राख्छिन् ।

गफाडी कान्छा भित्र प्रवेश गर्छ । ऊ हाँस्दै आउँछ । बूढाले ढोका ढप्काउँछन् ।

ए बा, ढोका नलाए हुन्न ? —गफाडी कान्छा पिँढीमा बस्दै चिच्याउँछ ।

हुन्न । सिरेटोले कस्तरी हान्या छ, देखिनस् ? —बूढा पनि चर्कै स्वरमा बोल्छन् ।

यति नाथे सिरेटो खप्न नि नसक्ने भयौ है ? —गफाडी कान्छाले जिस्क्याउँछ ।

बूढाले पिटुँलाझैँ गर्दै लौरो उज्ज्याउँछन् । गफाडी कान्छाले डराउँदै हत्तपत्त आफ्नो टाउकोमा हात राख्दै छल्छ । अनि बूढाले नहानेको देखेपछि बल्ल हाँस्दै भन्छ—

ए हानेनौ ? म त आज बूढाको लौरोले आशिर्वाद दियो भन्ठानेको थिएँ ।

तेरो पनि पालो आउँछ्, पख् न । सिरेटो हैन आफ्नै सास भारी हुने दिन तेरा पनि आउँछन् । हेर्दै जा । —बूढा यति भन्दै पिँढीमा बस्छन् । बूढीचाहिँले सकी–नसकी च्याठ्ठिँदै सोध्छिन् यसपाली—

तँचाहिँ के खान हिँड्याछस् नि ?

ए साँच्चै तिम्रो छोरो कुन देश रे गा’को ? —बूढीको कुरा नसुनेझैँ गर्दै गफाडी कान्छाले सोध्छ ।

खै हामी के जानौँ । मलेसिया भन्छन् । —बूढाचाहिँले जवाफ दिन्छन् ।

ल अब बर्बाद भो । बर्बादै भो । —यति बोलेर गफाडी कान्छा बेवास्तापूर्वक उतातिर फर्कन्छ । फेरि यता फर्कँदै भन्छ— बूढेशकालमा जन्माको छोरोलाई थपक्क घरमा नराखेर किन विदेश पठाउनु प¥या तिमर्ले ?

अब उसैले जिद्दी गरो त हामी के गरौँ कान्छा ? नजा त भनेकै हौँ नि हाम्ले । मानेन । —बूढीले भन्छिन् ।

विदेश पनि काँभन्दा मलेसिया रे । —गफाडी कान्छा बोल्दै जान्छ ।

मलेसिया जानै नहुने हो र ? सबै गइराछन् त । —बूढाले जोडले लौरो समात्दै गफाडी कान्छालाई रिसाएझैँ हेर्दै भन्छन् ।

जान हुन्छ तर जाँदाखेरि केटोले आइमेहर्ले लाउने चप्पल लगेर गयो कि नाईँ त ? —गफाडी कान्छाले बडो विशेषज्ञजस्तो घुँडामा राखेको खुट्टा हल्लाउँदै सोध्छ ।

किन ? मलेसियामा लोग्नेमान्छेले के स्वास्नीमान्छेको चप्पल लाएर हिँड्नुपर्छ र ? —बूढाले उल्टै सोध्छन् । उनको बोलीमा निश्छलता सुनिन्छ । अनुहारमा सोझोपन झल्कीरहेको हुन्छ ।

त्यहाँ त केटीहरु ए बरै केटाहरु बस्या कोठैमा आउँछन् रे नि त । ढोकाबाहिर आइमे मान्छेले लाउने चप्पल राख्दिएसी बल्ल आउन्नन् रे । —यति बोलेर गफाडी कान्छा जोस्सिँदै जुरुक्क उठ्छ अनि हातको ईशाराले आफ्नो साप्रा नाप्दै कराउँछ—

ईः हेर यता । यत्ति ! देख्यौ ? यत्ति यत्ति जाँगे लाएर हिँड्छन् रे त्यहाँका केटीहरु । बाइफाला कोरलीहरु ।

अनि के भो त ? —बूढाले निस्फिक्री भावमा सोध्छन् ।

गफाडी कान्छा एकछिन ट्वाल्ल परेर बूढालाई हेर्छ । आफ्नो कुराले खासै महत्व नपाएको चाल पाएर किञ्चित छक्क पनि पर्छ । अनि हतारिँदै भन्छ— के भो त रे ? तिम्ले आफ्नो जवानीका दिन बिस्र्यौ ? कस्तो हुन्थ्यो ? हँ ? भन त बूढा ।

बूढाले फेरि आफुले टेकेर बसेको लौरो गफाडी कान्छाको टाउकोतिर सोझ्याउँछन् । गफाडी कान्छाले डराउँदै आफ्नो शीरमा हात राख्छ । बूढाले हिर्काउँदैनन् । गफाडी कान्छाले पल्याकपुलुक यताउति हेर्छ अनि बूढीचाहिँतिर हेर्दै भन्छ—

ए आमै पनि हुनुहुँदो रछ र पो । यी बाको मुख किन टम्म बन्द भो भनेर सोँच्दैथिएँ म । जेहोस् लाज अझै गा’ रैनछ ।

चुप् लाग् गफ पनि कति आउँछन् यल्लाई । —बूढीले झिँजो मानेझैँ गर्दै भन्छिन् ।

ल म गएँ । —एउटा सानोतिनो होहल्ला सिर्जना गरेर गफाडी कान्छा जानलाई तयार हुन्छ ।

त्यही समय कसैले ढोका ढक्ढक्याउँछ ।

को हो ? —यसपाली बूढाबूढीलाई उछिन्दै गफाडी कान्छाले सोध्छ ।

बाहिरबाट कुनै केटीको आवाज आउँछ— म हो के म ।

को म ? —यसपाली पनि गफाडी कान्छाले नै सोध्छ ।

म काली हो के । ढोका खोल्नुस् छिट्टो । चिट्ठी ल्याइदे’र आ’की छु ।

कसको चिट्ठी ? —यसपटक हतारिँदै बूढाले सोध्छन् ।

तपाईँको छोराको । अरु कसको हुन्छ ? —यति भनेर काली गनगन गर्छे— ढोका खोल्ने हैन, रेडियामा पत्रकारले सोध्याजस्तो के के सोध्या छ सोध्या छ । को हो रे । कसको रे ।

ल ल ढोका खोलियो । भित्र आइजा । जा गफाडी ढोका खोल्दे । —भन्दै बूढाले गफाडी कान्छातिर लौरो उज्ज्याउँछन् । गफाडी कान्छा अघिजस्तै शीरमा हात राख्दै जुरुक्क उठ्छ । अनि भुन्भुनाउँदै ढोकातिर जान्छ—
झुँक्केर बूढोले कहिले लौरो हान्छ । अब बस्न हुन्न यहाँ ।

गफाडी कान्छाले ढोका खोल्छ । बाहिर एउटी ठिटीको अनुहार देखा पर्छ । अनि उसका हातहरु अगाडि बढ्छन् । त्यहाँ एउटा चिठ्ठी हुन्छ । चिठ्ठी दिएर ठिटी बाटो लाग्छे । गफाडी कान्छा चिठ्ठी लिएर भित्र आउँछ । ढोका बन्द गरेपछि ऊ चर्को स्वरमा बोल्न थाल्छ—
देख्यौ ? देख्यौ हैन ? तिमीहर्को छोरो बिग्रेको पर्मान अरु के चाहियो ? ल भन त ? आफ्नै आँखाले देख्यौ नि हैन ?

यो त चिठ्ठी हो । के प्रमानका कुरा गर्दैछस् तँ जैरैले ? —बूढापनि रन्किन्छन् ।

कुरै बुझ्दैनन् यी बूढाबूढी । —गफाडी कान्छा चर्कँदै बोल्दै जान्छ— चिठ्ठी त हो नि । कल्ले हैन भन्या छ र ? तर कल्ले दिन आयो ? देखेनौ ? बाउआमालाई पठा’को चिठ्ठी त्यो कालीको हातमा कसरी प¥यो ? त्यो च्याँखुरीको हातमा हुँदै कसरी आयो ? सिधै तिमीह’र्को हातमा किन आएन ? ल भन त मलाई ।

गफाडी कान्छाले आफ्नो कुराको अन्त गर्दाखेरि एउटा हत्केलामा चिठ्ठी राखेर अर्को हत्केलाले तीनपटकसम्म बेस्सरी पिट्यो ।

गफाडी कान्छाका बाङ्गा कुरा नबुझेर बूढाबूढीले एकअर्कालाई हेराहेर गर्छन् । एकछिनपछि सम्हालिँदै बूढाचाहिँ बोल्छन्—
हुन दे, हुन दे । बरु चिठ्ठीमा के लेख्या र’छ । पढि दे न तैँ । मेरा आँखाले भ्याउन्नन् ।

हुन दे रे ? अब त्यो कालीलाई बुहारी भन्नुपर्ने भयो तिमर्ले । —गफाडीले जिस्क्याउँदै भन्छ ।

ए हुन दे न कान्छा । के काली काली भनीरा’छस् ? नाम पो काली, मान्छे त गोरी नै छे नि । फेरि काली नै भएपनि के भो त ? छोरोलाई मन पर्छ भने हामीलाई के फरक पर्छ र ? —बूढीले भन्छिन् यसपाली ।

हेर यिनका कुरा । —गफाडी कान्छा चिच्याइरहन्छ— त्यसले के के चलाउँछे रे फोनमा । दिनमा एउटा फोटो नखिची बस्दिन त्यो । कोरीबाटी चुलठीमा दिन बिताउँछे । त्यस्तीलाई बुहारी बनाउने तिमर्ले ?

हैन के चलाउँदी र’छ फोनमा त्यल्ले ? —बूढाले उत्सुक हुँदै सोध्छन् ।

खै ? फेसबुक भन्छन् । सप्पै गर्न मिल्छ रे त्यसमा । —गफाडी कान्छा बडो जान्ने हुँदै बोल्छ ।

कस्तो सप्पै गर्न ? —बूढा अझै जिज्ञासु हुन्छन् । बूढी पनि उत्सुक हुँदै गफाडी कान्छालाई हेरिरहन्छिन् । गफाडी कान्छा अझै जान्नेजस्तो बनेर बोल्न थाल्छ—

एऽऽऽऽ आफ्नो फोटो राखेर अरुलाई देखाउन मिल्छ रे । त्यहीँभित्रबाट अरुलाई चिठठी पठाउन नि मिल्छ रे ।

हाम्रो छोराले नि फोन किन्नुस बा भनेको थियो । हाम्लाई चलाउन आउन्न भनेर नकिनेको । बरु चिठठी नै पठा भनेर लाइदे’को छु । —बूढाले भन्छन् ।

छिटो पढेर सुना त गफाडी । के लेख्याछ ? —बूढीले ताकेता गर्छन् ।

के लेख्या होला र ? —गफाडी कान्छाले यति भन्दै चिठ्ठी खोल्छ अनि पढ्न थाल्छ । उसको आवाज चर्को र झोँक्किएको सुनिन्छ—

पूजनीय बाबाआमा सेवाढोग । सञ्चै छु । तपाईँहरुलाई पनि सञ् चै होला भनी आशा गरेको छु । परदेश साह्रै दुःखको ठाउँ रहेछ । न खाने समयको ठेगान न सुत्ने समयको । न सुरक्षा छ न त भनेजस्तो कमाई । अस्ति भर्खरै एकजना सँगै काम गर्ने साथीलाई बाटोमा हिँडिरहेको बेला पछाडिबाट आएको मोटरसाइकलमा बसेका मान्छेहरुले हेल्मेटले हानेर टाउको फुटालिदिए । नौदिनसम्म अस्पतालमा राख्दा पनि बाँचेन । भर्खर बिहे गरेर आ’को छु भन्थ्यो, बिचरा म¥यो । हामीभन्दा दुईवर्ष अगाडि आएको एकजना रुकुमको साथी सुतेको सुत्यै भएर म¥यो । साँझ सँगै खाना खाएर एकछिन भलाकुसारी गरेर सुतेको मान्छे बिहान हामीले थाहा पाउँदा मरिसकेको थियो । एउटै कोठामा सुतेकाहरुले पनि ऊ छटपटाएको थाहा पाएनन् । कति साथीहरु मेशिनमा परेर अपाङ्ग भएका छन् ।

कहिले बसमा ड्राईभरले गाली गर्छ । कहिले कम्पनीमा सुपरभाइजरले दुःख दिन्छ । काम गर्ने ठाउँमा झेल्नुपर्ने सास्ती त के लेख्नु ? कम्पनीले तलब रोकेर दुःख दिन्छ । अनेक बहाना बनाएर पैसा काट्छ । बस्ने होस्टेलमा उस्तै दुःख छ । बाख्राको खोरजस्तो ठाउँमा बीस पच्चिसजना कोच्चिएर बस्नुपर्छ ।

कत्रो सपना देखेर परदेश आएको थिएँ । एउटा सानो चिटिक्क परेको पक्की घर बनाउँला । बाआमालाई हावा वारपार गर्ने कोठामा राखुँला । कोठामा एउटा ठूलो रेडियो राखिदिउँला । बगैँचा सजाउँला । कुकुरबिरालो पालुँला । सपना अधुरै रहन्छ कि भनेर डर लागिरहेको छ ।

बाबा आमा, अरु धेरै के लेखुँ र ? परदेशको कुरा यस्तै छ । आफ्नै देशमा नअटाएका हामीलाई परदेशले किन पो माया गरोस् र ? घृणा र अपमान सहेर बाँच्नुपरिरहेको छ । हाम्रो पीडा देखाउने ठाउँ यहाँ कतै छैन ।

…….

यति पढिसकेर गफाडी कान्छाले टाउको हल्लाउँदै बूढाबूढीलाई आँखैको ईशारामा भन्छ— देख्यौ ? देख्यौ हैन छोराको गति ?

अल्लि सुस्तरी पढ्न सक्दैनस् ? —बूढाले झोँक्किँदै सोध्छन् । गफाडी कान्छा झन चिच्याउँछ—
यस्तै लेख्या छ त मैले के गर्नु ? बिग्रेछ तिमीहर्को छोरा । यस्तो रिसाएर लेख्ने हो चिठ्ठी ? अझ आफैलाई जन्म दिने बाउआमालाई ?

बूढा र बूढी मुखामुख गर्छन् । त्यसपछि दुवैको नजर भूईँतिर झुक्छन् । एकछिनपछि बूढीचाहिँले गफाडी कान्छातिर हेर्दै सोध्छिन्— साँच्चै त्यसले यस्तै रिसाएर लेखेको छ ?

यस्तै त लेखेको छ नि ? सम्झाओ तिम्रा छोरालाई । सुन्यौ हैन ? कस्तरी झोँक्केको छ बाउआमासित ? अलिकति नरम भएर लेख्या भए नि त्यसको के जान्थ्यो ? कालीलाई त चिल्लो घसेर लेखेको होला । मलेसिया जाने मान्छे सप्पै यस्तै हुन् । म गएँ अब । —भन्दै गफाडी कान्छा आफैले ढोका खोलेर बाहिर निस्कन्छ । यतिञ्जेलको हल्ला अब गहिरो शान्तिमा परिणत हुन्छ । बूढा र बूढी शीर झुकाएर केहीवेरसम्म उभिइरहन्छन् । त्यसपछि बूढा पिँढीमा थचक्क बस्छन् । बूढीचाहिँ पनि बूढालाई भर दिँदै सँगै बस्छिन् । लौरो एकातिर राख्दै बूढाले लामो सुस्केरा काढ्छन् । बूढीचाहिँले बूढाको अनुहारमा हेर्दै सोध्छिन्— हाम्रो छोरा हामीसित यस्तरी किन रिसा’को होला बूढो ?

बूढा— तेरै छोरालाई गएर सोध् । उसैले जानोस् । —बूढाको स्वर चर्को तर काँतर सुनिन्छ ।

बूढी— छोरा त तिम्रो पनि त हो नि ।

बूढा केही बोल्दैनन् । स्याँस्याँ गर्दै ठूलो आवाजमा सास फेरिरहन्छन् ।

बूढी बोल्छिन्—
अझै एकफेरा कसैलाई पढ्दिन भनम् न । त्यो गफाडी कान्छाको त विश्वासै लाग्दैन मलाई ।

बूढा— जा ढोका खुला राख् । बाटामा कोही हिँडेको देखिए त्यसलाई बोलाउनू भित्र ।

बूढी उठेर ढोका खुला राख्छिन् र फर्कन्छिन् ।

खाइनखाई त्यल्लाई हुर्काएर आज गफाडी कान्छाका अगाडि यत्रो बेज्जत गरो त्यल्ले । गाउँभरि फैलाइसक्यो होला गफाडीले । —बूढाले रुन खोजेको बोलीमा भन्छन् ।

सानो हुँदा मर्ला भन्नी डर ठूलो भएसी मार्ला भन्नी डर । —बूढीपनि रुन खोज्छिन् ।

अल्लि राम्ररी लेख्न सक्थ्यो नि त्यल्ले चिठठी । किन रिसाउनै परेको ? —बूढा ।

त्यै त नि । कस्तो भयो होला है हाम्रो छोरा ? सानोमा कति ज्ञानी थियो । —बूढी कल्पनामा डुब्छिन् ।

कस्तो हुने नि ? ईः यस्तै त भएछ नि । —बूढाले हातको चिठ्ठी पट्याएर खल्तीमा राख्दै भन्छन् । उनको चर्को बोली सुनेर बूढीको कल्पना भताभुँग हुन्छ ।

पर्दा खस्छ ।

०००

—दृष्य ४—

अघिजस्तै बसेर बूढाले साप्रामा खिप्दै डोरी बाटिरहेका देखिन्छन् । बूढीचाहिँले कपाल कोरिरहेकी हुन्छिन् । ढोका खुलै देखिन्छ । ढोकाबाहिरबाट कसैको आवाज आउँछ—
को छ बूढो घरमा ?

को हुने नि ? बूढो घरमा बूढाबूढी छौँ । को हो ? भित्रै आए हुन्छ नि । —बूढा यति भन्दै आगन्तुकलाई स्वागत गर्न लौरो टेक्दै ढोकातिर जान्छन् । आगन्तुक बूढाको पछिपछि घरभित्र पस्छ । बूढाले हतारिँदै खल्तीमा हात हाल्छन् र चिठ्ठी निकाल्छन् । त्यसपछि बूढीतिर हेर्दै उसरी नै हतारिँदै भन्छन्—
खै पानी ल्याएर दे न पाहुनालाई ।

बूढीले अम्खोरामा पानी ल्याएर आगन्तुकलाई दिन्छिन् । पानी पिइसकेपछि आगन्तुकले सोध्छ—
अनि सबै ठीकठाक हुनुहुन्छ नि हैन ?

हामी त ठीकै छौँ बाबु तर हाम्रो छोरालाई के भयो कुन्नि ? —बूढीले भन्छिन् ।

आगन्तुक— किन ? के भयो र ? कहाँ हुनुहुन्छ तपाईँका छोरा ?

बूढा— मलेसिया गा’को छ । नजा भनेको मानेन र बटारिँदै गयो । आज चिठ्ठी आइपुग्या छ । ईः हेर्नुस् त । —चिठ्ठी आगन्तुकलाई देखाउँछन् ।

आगन्तुक— के लेख्नुभा’रै’छ त ? सबै ठिकै होला नि त ?

बूढी— बाबुले एकफेरा वाचीदिनुभए हुन्थ्यो ।

आगन्तुक— ए ए पढ्नु पर्ने भयो हैन त ?

बूढा— हो बाबु हो । लौ न । मेरा आँखाले ठम्याउँदैनन् ।

आगन्तुकले चिठ्ठी खोलेर पढ्न थाल्छ । उसको मधुर आवाज घरभरि छरिन्छ । उसको आवाजमा बूढाबूढी लठ्ठिँदै जान्छन् । आगन्तुक चिठ्ठी पढीरहन्छ—
पूजनीय बाबाआमा सेवाढोग । सञ्चै छु । तपाईँहरुलाई पनि सञ् चै होला भनी आशा गरेको छु । परदेश साह्रै दुःखको ठाउँ रहेछ । न खाने समयको ठेगान न सुत्ने समयको । न सुरक्षा छ न त भनेजस्तो कमाई । अस्ति भर्खरै एकजना सँगै काम गर्ने साथीलाई बाटोमा हिँडिरहेको बेला पछाडिबाट आएको मोटरसाइकलमा बसेका मान्छेहरुले हेल्मेटले हानेर टाउको फुटालिदिए । नौदिनसम्म अस्पतालमा राख्दा पनि बाँचेन । भर्खर बिहे गरेर आको छु भन्थ्यो, बिचरा मरयो । हामीभन्दा दुईवर्ष अगाडि आएको एकजना रुकुमको साथी सुतेको सुत्यै भएर मरयो । साँझ सँगै खाना खाएर एकछिन भलाकुसारी गरेर सुतेको मान्छे बिहान हामीले थाहा पाउँदा मरिसकेको थियो । एउटै कोठामा सुतेकाहरुले पनि ऊ छटपटाएको थाहा पाएनन् । कति साथीहरु मेशिनमा परेर अपाँग भएका छन् ।
कहिले बसमा डाईभरले गाली गर्छ । कहिले कम्पनीमा सुपरभाइजरले दुःख दिन्छ । काम गर्ने ठाउँमा झेल्नुपर्ने सास्ती त के लेख्नु ? कम्पनीले तलब रोकेर दुःख दिन्छ । अनेक बहाना बनाएर पैसा काट्छ । बस्ने होस्टेलमा उस्तै दुःख छ । बाख्राको खोरजस्तो ठाउँमा बीस पच्चिसजना कोच्चिएर बस्नुपर्छ ।

कत्रो सपना देखेर परदेश आएको थिएँ । एउटा सानो चिटिक्क परेको पक्की घर बनाउँला । बाआमालाई हावा वारपार गर्ने कोठामा राखुँला । कोठामा एउटा ठूलो रेडियो राखिदिउँला । बगैँचा सजाउँला । कुकुरबिरालो पालुँला । सपना अधुरै रहन्छ कि भनेर डर लागिरहेको छ ।

बाबा आमा, अरु धेरै के लेखुँ र ? परदेशको कुरा यस्तै छ । आफ्नै देशमा नअटाएका हामीलाई परदेशले किन पो माया गरोस् र ? घृणा र अपमान सहेर बाँच्नुपरिरहेको छ । हाम्रो पीडा देखाउने ठाउँ यहाँ कतै छैन ।
…….

चिठ्ठी पढिसकेर आगन्तुक “ल म गएँ है” भन्दै बाहिर निस्कन्छ । छोराको चिठ्ठी सुनेर भावुक बनेका बूढाबूढीले स्वर खोलेर “हुन्छ जाऊ” भन्न पनि सक्दैनन् । चुपचाप उभिन्छन् । बूढाले सुस्तरी हात उठाएको मात्र देखिन्छ ।
केहीवेरपछि बेहोशीबाट होशमा फर्केजस्तो गर्दै बूढा चिच्याउँछन्—

बूढा— कहाँ रिसा’छ ? खै ? कहाँ रिसा’छ मेरो छोरा ?

बूढी— बल्ल मेरो छोरा ? अघिसम्म त तेरो छोरा थियो त ?

बूढा— भैगोन्त । लु तेरो पनि भयो । भयो ? कहाँ रिसा’को र’छ र ? अघि गफाडी कान्छाले पढ्दा किन रिसा’जस्तो सुन्या हाम्ले ? हँ बूढी ?

बूढी— त्यै त भन्दैछु म । हाम्रा कानले नि अब धर्म छोडेजस्तो छ बूढा । हाम्रो छोरा हामीसित किन रिसाओस् र ?

बूढा खुसीले लौरो एकातिर राखेर नाच्न थाल्छन् । नाच्दै गर्दा लर्खरिँदै भूईँमा उत्तानोचित् हुन्छन् । बूढीले आत्तिँदै उठाउँछिन् र भन्छिन्— लौरो किन राख्नुपरेको होला यी बूढालाई ?

बूढा— जे भा’ नि हाम्रो सहारा हो । हाम्रो टेक्ने लट्ठी उही त हो । हाम्रो भन्नु अरु के छ र ? को छ र ?

बूढी— हो नि त । ऊ घरमा भइदिया’ भए तिम्ले यस्तरी चङरङ्ग पनि हुनुपर्ने थिएन । —बूढीले अघि बूढा लडेकोतर्फ ईशारा गर्छिन् ।

त्यही समय गाउँ डुलेर फर्केको गफाडी कान्छा भित्र छिर्छ र चिच्याउँछ—
बिगा¥यौ । तिमीहर्ले छोरा बिगा¥यौ । किन पठाउनु परेको मलेसिया ?

के भनिस् ? हाम्रो टेक्ने लठ्ठीलाई बिग्रेको भन्नी तैँले ? मनपरी भन्छस् ? —बूढी झम्टँदै गएर गफाडी कान्छाको कान समातिदिन्छिन् ।

हाम्रो सहारालाई तैँले बिग्रियो भन्नी ? लु खा । तँलाई बज्जे । —भन्दै बूढाले आफ्नो लौरोले उसको ढाडमा हिर्काउँछन् । गफाडी कान्छा “ऐया ऐया” गर्दै निस्केर भाग्छ ।

पर्दा खस्छ ।

०००

—दृष्य ५—

बूढा र बूढी अगेनोको छेउमा आगो तापेर बसिरहेका हुन्छन् । त्यही समय कसैले ढोकाबाहिरबाट बोलाउँछ—

काका ? ए काका ? ……. काकी ?

को हो ? —भन्दै बूढाचाहिँ ढोकातिर लम्कन्छन् । बीच बाटैमा लड्छन् । बूढीले छिट्छिटो लौरो ल्याएर आउँछिन् र बूढालाई उठ्न सघाउँदै कराउँछिन्—

लौरोविना कतै नहिँड भन्छु, मान्ने हैन । अझै पच्चिस वर्षे सम्झन्छौ होला आफैलाई !

बूढीको हातको भरमा उभिँदै बूढाले जिस्कन्छन्—

सम्झिन्छु त अनि । मन बूढो हुने भा’ पो ?

बूढाले बूढीको अनुहार ताकेर हेरिरहन्छन् । ढोकाबाहिरबाट बोलाएको आवाज अघिभन्दा चर्को सुनिन्छ—
ढोका खोलौँ त काका ? ए काकी ?

बूढीले धकेल्छिन् । बूढा ढोकानिर पुग्छन् र सोध्छन्—
—को हो ?

—म हो के काका । म विरे ।

—ए ए विरे हो ? कहिले आइस् विदेशबाट ? हाम्रो छोरासँग भेट हुन्थ्यो कि नाईँ ? तँपनि मलेसिया हैन र गाको ? —बूढाले ढोका खोल्नै बिर्सन्छन् ।

बूढी भित्रबाट कराउँछिन्— ढोका नखोलेर के सोधिरा’को हो ? यो बूढो पनि बरै …. ।

बूढा आफ्नी बूढीतिर फर्कँदै बोल्छन्—

आ … खोलम्ला नि । के को हतार छ र ?

अनि ढोकाको चुकुलमा हात राख्दै फेरि सोध्छन्—
कहिले आइस् तँ ?

म हिँजो साँझ आ’को काका । ढोका खोल्नुस् । मैले तपाईँको लट्ठी ल्याइदिएर आ’को छु । तपाईँको सहारा । —बाहिरबाट आवाज आउँछ ।

बूढा झसङ्ग हुन्छन्, फुरुङ्ग हुन्छन् । ढोका खोल्न छाडेर फेरि भित्र फर्कन्छन् र उत्साहित हुँदै बूढीसँग भन्छन्—
सुनिस् ? सुनिस् तैँले ? हाम्रो छोरो आयो । हाम्रो सहारा । हाम्रो लट्ठी । सुनिस् हैन तैँले ?

त्यसपछि बूढा र बूढी एउटै लौरोमा झुत्ती खेल्दै ढोकातिर हान्निन्छन् ।

हतारिँदै ढोका खोल्छन् । विरे भित्र पस्छ । उसले एउटा सानो झोला भिरेको छ । बूढाबूढीले केही खोजेझैँ उसको वरिपरि हेर्छन् । विरे पिँढीमा आएर बस्छ । बूढीचाहिँ उसको अगाडि आएर उभिन्छिन् र “पानी पिउँछस्” भनी सोध्छिन् । विरेले मुण्टो हल्लाउँछ । बूढी गाग्रोतिर लम्कन्छिन् ।

बूढाचाहिँ केहीवेर ढोकानिर उभिएर बाहिर हेरिरहन्छन् । शीर झुकाउँछन् । फेरि उठाउँछन् र बाहिर हेर्छन् । दुईतीन पटक यो क्रम दोहोरिन्छ । त्यसपछि मनले खप्नै नसकेर उनी ढोकानिर जान्छन् र शीर मात्र ढोका बाहिर निकालेर चियाउँछन् । त्यतिले पनि मन मान्दैन र उनी ढोकाबाट बाहिरै निस्कन्छन् । उनको हाउभाउमा कसैलाई खोजेको प्रष्ट देखा पर्दछ । उनले आफ्नो छोरालाई खोजिरहेका हुन्छन् । विरेलाई गिलासमा पानी दिएर बूढीले पनि ढोकातिर पुलुक्क पुलुक्क हेरिरहन्छिन् । बूढा निराश मुद्रामा बाहिरबाट भित्र छिर्छन् । ढोकामा चुकुल लगाउनुअघि एकपटक अझै टाउको निकालेर बाहिर हेर्छन् । चुकुल लगाएर केहीवेर शीर झुकाएर टोल्हाउँछन् । त्यसपछि विरेसँगै पिँढीमा बस्न आइपुग्छन् । लौरो एकातिर हुत्याएर फाल्छन् ।

पानी पिइसकेर विरेले बडो रहस्यमयी भावमा आफुले बोकेको झोला खोतल्न थाल्छ । बूढाले छेउमा बसेर अनि बूढीचाहिँले पर अगेनो छेउमा उभिएर विरेलाई उत्सुक नजरले हेरिरहन्छन् । विरेले झोला खोतलखातल पार्न केही समय लगाउँछ । धेरैवेरपछि बल्ल उसले केही चिज झोलाबाट बाहिर निकाल्छ । त्यो चिज छोटो अनि सानो आकारको छ । त्यसलाई बूढाको हातमा थम्याउँदै विरेले भन्छ—
लौ समात्नुस् तपाईँको सहारा । तपाईँको लट्ठी ।

हैन के भन्छ यो ? —भन्दै बूढाले त्यो चीज आफ्नो हातमा लिन्छन् । एकछिन ओल्टाइपल्टाइ पार्छन् । के चीज हो भनेर चिन्न नसकेपछि सोध्छन्—

के हो विरे यो ? के हो यस्तो ?

विरेले मुस्कुराउँदै त्यस रहस्यमयी चीज आफ्नो हातमा लिन्छ । बूढा उत्सुक बन्दै विरेको नजिक आउँछन् । बूढीपनि परबाट वरवर सर्दै विरेको छेउमा आइपुग्छिन् । विरेले त्यस चीजलाई दुईतिर समातेर अलिकति बल गरेर तान्छ । त्यो एउटा टेक्ने लट्ठी हुन्छ । हात राख्ने ठाउँमा घुम्रेको । फोल्डिङवाला लट्ठी । विरेले त्यस लठ्ठीलाई उठेर टेक्दै बूढाको हातमा राखिदिन्छ र भन्छ—
—तपाईँको लट्ठी । तपाईँको सहारा । छोराले पठाइ दे’को ।

त्यसपछि विरे ‘गएँ म’ भन्दै बाहिर निस्कन्छ । बूढा र बूढी मौन त्यहीँ उभिइरहन्छन् । उनीहरुको अनुहारमा हतप्रभ बनेको भाव खेल्छ । मन दुखेर बोली पनि निस्कन सकिरहेको हुँदैन ।

बूढा पुर्पुरोमा हात राखेर थचक्क बस्छन् । आँसुमा चुर्लुम्म डुबेको उनको आवाज सुनिन्छ—
हाम्रो सहारा हाम्रो लट्ठी ऊ आफै हो । यति कुरा उसलाई किन था’ नभा’ होला ?

बूढी— उसको पनि त बाध्यता होला । उसको पनि समस्या होला । नत्र घरको माया त उसलाई पनि त लाग्दो हो ।

बूढा— बारी बाँझै राखेर परदेशमा दुःख पाउन कसले पठा’छ त्यल्लाई ?

बूढी— आउनेछ बूढा । दुःख नमान । हाम्रो छोरो फर्केर आउनेछ । आखिर हामीलाई सुख दिन भनेरै त ऊ परदेश गएको छ ।

बूढा— अनि हामीले रातदिन खुब सुख पाएका छौँ । —बूढाको बोलीमा कसो कसो कटाक्ष प्रकट हुन्छ ।

बूढी बोल्दिनन् । बूढाकै क्रन्दनजस्तो बोली सुनिन्छ फेरि—
सबै कुरा लुटेको छ परदेशले । पारिवारिक माया र लगाव, समाजको आत्मीयता सबै खोसेको छ परदेशले । हाम्रा सबै सबै सम्बन्धहरुलाई अप्ठ्यारोमा पारिदिएको छ परदेशले ।

अनि बूढा र बूढीले एकअर्कालाई सम्झाएको, मन बुझाएको अनि एकअर्कालाई भर दिएर उठाएको दृष्य देखिन्छ । उनीहरुको गुनगुन सुनिन्छ तर अस्पष्ट ।

पर्दा खस्छ ।

०००

—दृष्य ६—

समयको क्रम चलिरहन्छ ।

रात हुन्छ । दिन हुन्छ । जाँतो पिस्ने र रोकिने निरन्तरता उस्तै छ । दुःखका साथ पानीको गाग्रो बोकेर आउने बूढीको दैनिकी उस्तै छ । लट्ठीविना हिँड्दा पाहा पछारिएझैँ पछारिने बूढाको नियति उस्तै छ ।

घरमा बढारकुढार, भातभान्सा, आगो धूँवा र काँसो, अतीतको याद, छोराको सम्झना, थोरै हाँसो र केही रुवाई चलिरहन्छ ।

त्यही समय कुनै दिन बाहिर मानिसहरुको कल्याङमल्याङ सुनिन्छ । केही मानिसहरुले ढोका खोल्ने आग्रह पनि गरेको सुनिन्छ । बूढा र बूढीले व्यग्र हुँदै ढोका खोल्छन् । चारजना मानिसले काँधमा एउटा कफन–बाकस बोकेको बाहिरको उज्यालोमा छर्लँङ्गै देखा पर्छ ।
छाती ढक्क हुन्छ बूढीको । उनी डराउँदै एक पाईला पछाडि सर्छिन् र काँतर नजरले बाहिर हेर्छिन् । बूढाको नजरमा र हाउभाउमा हैरानी र हतार देखिन्छ तर उनी मौन छन् । त्यही समय कुनै मानिसले कारुणिक र भावुक स्वरमा भन्छ—
—तपाईँहरुको लट्ठी भाँचियो । तपाईँहरुको सहारा ….. ….

ऊ पूरै बोल्न पनि सक्दैन ।

कहालिँदै बूढी भूईँमा ढल्छिन् । बूढाको शरीर पनि थर्थर काँप्न थाल्छ । उनी ढोका समातेर थामिन्छन् । बाहिर मानिसहरुले कफन–बाकसलाई भूईँमा राख्छन् । बूढा पनि थचक्क भूईँमा बस्छन् । उनको अनुहारमा लाचार, निरिह र विवश भाव छचल्कन थाल्छ । बूढी शिथिल भएर रुन पनि नसकेर ढलेकी हुन्छिन्, बूढाचाहिँ कुहिनोमा अनुहार लुकाएर बालकझैँ रुन थाल्छन् ।

बाहिर मान्छेहरुको कल्याङमल्याङ उस्तै छ । बूढाको रुवाई जारी छ । बूढीचाहिँको होश फर्केको छैन । त्यही समय पाश्र्वमा कतै एउटा गीत बज्न थाल्छ—

दुःख कष्ट विमारले तिम्लाई पनि छुँदो हो
दुःख पर्दा तिम्रो पनि मन मुटु रुँदो हो
तिमी थियौ हाम्रो लट्ठी तिमी थियौ सहारा
सहारा त तिम्लाई पनि चाहिएको हुँदो हो
……

पर्दा खस्छ ।

०००

०समाप्त०

(गन्तव्य मासिक, अगष्ट २०१६ मा प्रकाशित)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नाटक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.