~अनिल सम्राट~
म के सोच्दैछु, त्यो मलाई पनि थाहा छैन, जे सोच्दैछु, सायद राम्रै सोच्दैछु होला…
म त राम्रो मान्छे हो भनेर मलाई सधैं लागिरह्यो तर अाज खै के भो मलाई…? मलाई त्यो राम्रो मान्छेको छवि कता-कता गायब भएको जस्तो लाग्यो, मेरो कहानी धेरै अचम्म भयो । कहानी त हरेक व्यक्तिको जिन्दगीको हुन्छ तर अाफ्नो जस्तो कहानी कसैको पनि बन्दैन भनेर सबैलाई लाग्छ ।
मैले अब के गर्नुपर्छ भनेर मलाई नै थाहा छैन, अब म के गर्छु भनेर पनि थाहा छैन, के गर्ने भनेर पनि पत्ता लगाउन सकेको छैन, अब त धेरै नराम्रो अवस्थामा पुगिसकें ।
सोचेको जस्तो जिन्दगी नपाएको त होइन, तर के नपुगे जस्तो हुन्छ । सोचे जस्तो जिन्दगी त प्राय:ले पाउने कुरै भएन तर मैले जे चाहें, त्यो पाइनै रहेकोछु । अहिलेको जिन्दगी भने मैले चाहेको जिन्दगीभन्दा बिल्कुलै फरक छ । खल्तीमा १ रुपैयाँ पनि नहुने स्थिति, कस्तो स्थिति ? पेट्रोल हाल्नको लागि क्षमता नहुनु अवस्था, कस्तो अवस्था ? खाजा खान अाफैले खर्च गर्न नसक्नु स्थिति, कस्तो स्थिति ? अझ मोबाइलमा रिचार्ज गर्न पनि नसक्ने स्थिति, कस्तो स्थिति ? नयाँ मोबाइल किन्ने त कुरै छाडौं…
सायद यस्तै कारणले होला, हिजोअाज धेरै रिस उठ्छ । अाफ्नो मान्छेहरुसँग रिसाउने बानी नै भैसक्यो । मोबाइल फुटाउने कुरा त परको नै हो, अाफैले अाफैलाई दु:ख दिएको त कसलाई थाहा छ र ? कस्तो पनि दिन देख्नुपर्यो…
हुन त मैले धेरै राम्रा दिनहरु पनि बिताएको छु, बाइक किन्ने इच्छा थियो, किनें । डान्स सिक्ने रहर थियो, पूरा गरें । नाम कमाउने सोच थियो, पूरा गरिसकें भने दाम पनि कुनै बेला नकमाएको होइन । चाहे जति खर्च गरेर हिंडेकै हो । चाहे पछि जे पनि पाउँछु भन्ने मेरो विश्वासले नै यस्तो भएको हुनसक्छ, तर अाज किन त्यो विश्वास यो मनमा जगाउन सकेको छैन, अब मैले के गर्नुपर्छ त…?
मेरो सिर्जनशिलताको प्रयोग नै गर्न सकिरहेको छैन, मेरो प्रशंसा गर्ने व्यक्तिहरु कम छैनन् तर पनि त्यो प्रशंसाको हकदार अाफूलाई मान्न सकिरहेको छैन । खै किन हो, यो जिन्दगीदेखि म दिक्क भै’सकें र अब नयाँ जिन्दगीको शुरुवात गर्न चाहन्छु तर कसरी शुरुवात गर्ने…? शुरुवात के हो पनि त थाहा छैन, यो जिन्दगीको अन्त्य के हो पनि थाहा छैन, मलाई किन यस्तो भइरहेछ पनि थाहा छैन । जतिसुकै खुलेर हाँस्न खोज्दा पनि नक्कली हाँसो मात्र निस्कन्छ । के मेरो मुस्कान अब फर्कंदैन ? म मुस्काउन चाहन्छु, मेरो त्यो सबैले मनपराउने मुस्कान फर्काउन चाहन्छु । नयाँ जिन्दगी… सबैले मनपराउने नयाँ जिन्दगी बाँच्न चाहन्छु । मलाई माया गर्ने मान्छेहरुलाई निराशामा राख्न कदापि चाहिनँ तर पनि नसोचेको यो जिन्दगीले मलाई कहाँ पुर्यायो । अब त किन-किन बाँच्ने इच्छा पनि कम हुँदैछ, तर के गर्ने…? अामाको स्वास्थ्य अवस्था बिग्रेको बेला छोडेर पनि कसरी जानु ? अामा-बाबुले छोरा-छोरीलाई धेरै माया गरेको हुन्छ, मलाई पनि धेरै माया गर्नुभएको छ, मैले किन त्यो माया फर्काउन सकिनँ त ? माया फर्काउन भएपनि मैले बाँच्नुपर्छ, म बाँचेर धेरै काम गर्नुछ । मर्ने कुरा सोच्नुसम्म नि हुँदैन । हुनत म मरेर कसलाई के नै हुन्छ र ? मलाई माया गर्ने व्यक्तिहरुलाई केहि समय गाह्रो हुन्छ, अनि फेरि अाफ्नै दुनियाँमा फर्किहाल्छन् नि…मलाई माया गर्ने यो संसारमा कति जना नै छन् होला र…? म मरेर कति जना दु:खी हुन्छन् होला ?
मिडियामा लागेर अलिकति नाम कमाएको छु, त्यहि नाम थाहा हुनेहरुलाई मनमा चसक्क पर्ला । परिवार-अाफन्तलाई केहि समय रुवाउला । साथीभाईहरु केहि दिन स्तब्ध होला । मलाई धेरै माया गर्ने मान्छे केहि समय रोला । स्कूल-कलेजका साथीहरुलाई नराम्रो लाग्ला । दुश्मनहरु खुशी होलान्, मलाई त के हुन्छ र ? मर्नुभन्दा अगाडि गाह्रो हुन्छ तर मरेपछि के हुन्छ, मलाई के थाहा ? तर… म किन मर्ने ? म त सबैको अाशाको केन्द्र, मैले त यो संसारमा धेरै राम्रो काम गरेर नाम अनि दाम कमाउनु छ, र त्यो काम गर्ने मेरो प्रतिवद्वता भयो !!
[यो मनोवाद वि. सं. २०६८-११-११ मा तनाव हुँदा नन-स्टप लेखिएको हो]
(स्रोत : रचनाकारको ब्लगबाट सभार)