~शिव प्रकाश~
‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको छ, उसको मुख । मस्तिष्कका बारुद भरिएको छ।
मान्छेले भनेको सुनेको छ, ‘नांगा आँखाले देखेका सपनामात्रै पूरा हुन्छन् ।’
वाचा गरेको छ, ‘आज सुत्दिनँ । निदाएँ र अर्को सपना देखेँ भने मेरा नांगा आँखाले देखेको सपनाको पहाड ढल्छ ।’ यी शब्द पनि सबै आवाज बन्छन् । आफ्नै मुखबाट निस्किन्छन् ।
उही मस्तिष्कमा धेरै दिनदेखि एउटा आदिम प्रश्नको जिउँदोमुर्दा पनि नाचिरहेको छ, ‘जीवनको खाली ठाउँ सधैं खालीले कति भर्नु ? ‘
हुन त उसलाई थाहा छ, कतिपय मान्छेको भागमा शून्य पनि हुँदैन । शून्य पनि सधैं शून्यले भरिएको हुन्छ ।
‘म त्यही शून्यले भरिएको महाशून्य हुँ तर अब शून्यलाई भरीले भरेर भरपुर हुन्छु ।’ मनमा सपनाको अर्को महल ठडिएको छ । महलमा एउटा साइनबोर्ड झुन्ड्याएको छ, ‘ह्वाई नट मी ? ‘
अहिले पनि मनमनै बोलेको छ । तर, शब्दशब्द आवाज बनेर आफ्नै अगाडि दौडिरहेका छन् ।
उसै पनि ऊ बोल्न छोडेको धेरै भइसकेको छ । बोल्नुको अर्थ छैन । आजकल ए… मात्र भन्छ, सुन्छ । भर्खर बुझ्दै छ, डिसअडर्ड पेण्डुलम हो मान्छेको टाउको । जता पनि घुम्छ । जता पनि हल्लिन्छ । दायाँबायाँ-तलमाथि-उल्टोसुल्टो । बायोलिजिकल प्लस मेक्यानिकल डिफेक्ट छ, गडड्याम मान्छेको टाउकोमा।
डिफेक्टेड टाउको भिरेको मान्छेभित्रको मान्छे खोज्दाखोज्दा लखतरान भइसकेको छ । थकित मन बोल्छ, ‘म बोल्न छोडिसकेको छु तर आवाज किन निस्किरहेको छ ? ‘
निक्कैबेर सोच्छ । उपाय लगाउँछ । एक हातले मुख थुन्छ, ‘अब त पक्कै निस्कँदैन ।’ तर यी शब्द पनि आवाज बन्छन् । आवाज उसैको मुखबाट निस्किन्छ, फिजिन्छ ।
‘हुनै नसक्ने कसरी हुँदैछ ? ‘ अहिले पनि सोचेको मात्र छ, सोच्दासोच्दै नसोचेको हुन्छ । अँध्यारो कोठाभित्र ब्रम्हाण्ड छिर्छ । नाच्न थाल्छ, ब्रम्हाण्ड ।
ब्रम्हाण्डमा आफू लडेको धरती पनि छ । धरतीको एउटा डोरामा एउटा मन तुन्द्रुङ््ङ झुन्डिएको छ । त्यो मन दायाँ-बायाँ बतासिएको छ । बेलाबेलामा तलमाथि हुइँकिन्छ, मान्छेको डिफेक्टेड टाउको जस्तो ।
त्यो मनमा एउटा छाया पनि देखिन्छ । छाया आफ्नै हुन्छ । एकाएक एकमुठी साससँगै एकबिटो त्रास भित्रबाहिर गर्न थाल्छ । हेर्दाहेर्दै त्रासले आकार लिन्छ । डरलाग्दो मोनेस्टर जस्तो पहाड बन्छ छाया, थिच्छ । भित्रभित्रै चिच्याउँछ । आँखा चिम्लिन्छ ।
उसै अन्धकार, आँखा चिम्लिनुको अर्थ छनै तर चिम्लिन्छ ।
एकछिन्मै अर्को चमत्कार हुन्छ । चारैतिर झममल्ल उज्यालो ! बन्द आँखाभित्र उज्यालो संसार ! सारा धरती उज्यालो ! ब्रम्हाण्ड उज्यालो ! इलिएनहरूको अलौकिक लोक जस्तो । कुनै ओम्नी थिएटर जस्तो । जहाँ सधैं उज्यालो नै उज्यालो छ । जहाँ सधैं अल्माइटी पावरको प्रकाश छ ।
‘म कुनै फेन्ट्यासी संसारमा त छैन ? मेरो नांगा आँखाले देखेको सपनाको चमत्कार त हैन, यो ? ‘
ट्राफिक लाइटजस्तो आफ्नै छाया आफ्नैवरिपरि पिलिक्पिलिक् हुन थाल्छ । आफ्नै आवाज इको हुन थाल्छ । एकैछिनमा त्यो छाया कुनै बादशाहको सुनौलो कुर्सीमा बसेको देख्छ । आफूभित्र इलुमिनेट शक्ति भरिएको ठान्छ । खुसी हुन्छ ।
‘मलाई थाहा छ, तेरो खुसीको कारण ! नांगा आँखाले देखेको सपना … !’
अर्को आवाज गुञ्जिन्छ । एक हातले मुख थुनिरहेको छ तर यो आवाज पनि आफ्नै मुखबाट निस्किन्छ ।
‘के भयो मलाई ? ‘ मनमनै बोल्छ । यी शब्द पनि जिउँदो आवाज भएर चारैतिर फैलिन्छन् ।
‘केही भएको छैन तर अब …!’ फेरी उसैको मुखबाट अर्को आवाज निस्कन्छ ।
‘अब के ? म बौलाएँ ? ‘
‘छैन तर अब बौलाउन पनि पाउँदैनस् । प्यादा पसलमा बौलाहा हैन, भोकाहरूको व्यापार हुन्छ !’ आवाजको दोहोरो आँधी चल्छ ।
आफ्नै मुखबाट प्रश्न पनि उत्तर पनि ! मनमनै सोचेका सबै कुरा आवाज बनेर फैलन्छन् । भएभरको डरले उसलाई छोप्छ । कोठाका झ्याल ढोका फुट्ने गरी चिच्याउँछ ।
‘चन्द्राग्नी ! चन्द्राग्नी ! चन्द्राग्नी !’
स्वप्नलोकमा डुलिरहेकी छे, चन्द्राग्नी ।
धरती फाट्नेगरी फेरि चिच्याउँछ । आफ्नै आवाजमात्र सुन्छ । आँखा खोल्न खोज्छ । खुल्दैनन् ।
‘यो आवाज त सुन्छस् । यो आवाज म सुन्छु । अरु कसैले सुन्दैन ।’ एक हातले मुख थुनिरहेको छ । फेरि पनि आवाज आफ्नै मुखबाट निस्किरहेको छ । इको भइरहेको छ, त्यो आवाज ।
‘को होस्, तँ ? ‘ चिच्याउँछ ।
‘तँ हुँ, म ।’ आवाजको अर्को मुस्लो निस्किन्छ । त्यो पनि फेरि आफ्नै मुखबाट । झन् डाराउँछ । एक हातमा विश्वास लाग्दैन । दुवै हातले च्याप्प पार्छ, मुख ।
धरती हो कि आकाश । सपना हो कि विपना हो छुट्याउन सक्दैन । एकछिन् नि:शब्द हुन्छ । एकैछिनमा अर्को आवाजको तुवाँलो फैलन्छ ।
‘अब तँ त्यहाँ जान्छस्, जहाँ एकाबिहानै गएको थिइस्- द फ्रेङ्किन्स्टाइन सोसाइटी !’
टाढाबाट हेर्दा कुनै अरण्यमहल जस्तो देखिन्थ्यो तर मध्य सहरमा छ, त्यो । टाउको मन्दिर र शरीर दरबार जस्तो छ । त्यो भवन, जहाँ आत्माको कारोबार हुन्छ ।
अचम्मको छ कम्पाउन्ड, षट्कोण आकारको । भीड छ । आइरहेका छन् तर फर्कने कोही छैनन् । कहाँ जान्छन् ती ? छक्क पर्छ, हेर्छ ।
धेरैले घाँटीमा अनौठो माला लाएका छन् । साथी बनेका उसका केही साथीका घाँटीमा पनि उही माला थिए । पुरुष छन्, नारी छन् । नारी र पुरुषको बायलोजिकल भिन्नताअनुसार मालाको बनावट फरक छ ।
केको माला भनेर साथी नाउँको साथी पीतप्रसादलाई सोधेको थियो । बोधीफलको भनेको थियो । पत्यायो उसले । नपत्याओस् पनि कसरी, बोधीफल कहिल्यै देखेको थिएन ।
गेटमै छे, लुसिफर । भित्र लान्छे । मूलढोकामा रोकिन्छे । ढोकामाथिको कोटेसनतिर औंलाले इसारा गर्छे, ‘दु:खको दैलो हो, आत्मभोक ! सुखको द्वार हो, आत्मभोग !’
एउटा ‘कोजीरुम’मा छिराउँछे । महलका भित्रीकोठा अन्त:पुरजस्ता छन् । जहाँ शरीरका आदिम खेलहरू हुन्छन् ।
‘मेरो नाउँ ललितादेवी हो, तर म यहाँ लुसिफर । हामी सबैले अलग नाम धारण गरेका छौं । यो हाम्रो अर्गनाइजेसनको नियम हो ।’ हात मिलाउँछे ।
फरक छ, कोठाको बनोट र अवस्था । तीनकुने कोठो । चिटिक्क परेको बार । छेउमा सोफाबेड । अर्को छेउमा लभसिट । मिल्किडिम लाइट् । सँगै बस्छे । नियम हो, बस्नै पर्छ ।
सागरजस्ता नीला आँखा । जो कोही हराउँछन्, लुसिफरका आँखामा । ऊ पनि हराउँछ ।
मेसिनले बनाएजस्ती छे, लुसिफर । सेप र साइज चटक्क मिलेकी । पोटिलो जोबन । क्रिमी स्किन ! फायरफुल शरीर । एक्ट्रिम एन्ड अमेजिङ सेक्स अपिल ! शरीरको आधाभागमा ब्ल्याक सुट !
सेक्सी देखिन धेरै उदांगिनु पर्दैन । जवान केटीका पिँडुला नै काफी छन् नाथे पुरुषका आँखालाई । उसलाई थाहा छ, लोग्नेमान्छेको लिंडे खुट्टो कतिबेला सल्बलाउँछ । हाइली एक्स्पिरियन्स छे, लुसिफर ।
भातभन्दा मातको भोको हुन्छ गडड्याम ‘तीनखुट्टे’ लोग्नेमान्छे ! ऊ पनि अपवाद हैन । भोको आत्माले स्वैरसेक्सी लुसिफरको शरीरलाई मानसिक भोग गर्छ । भित्रभित्रै र्याल काड्छ । घुटक्क एकघुट्को थुक निल्छ । चन्द्राग्नी सम्झिन्छ, डराउँछ । चित्त बुझाउँछ ।
‘संसार भोक र भोग हो । मुड् फ्रेस गर्नु हुन्छ ?
भोक पचाउँछ । फुस्रो हाँसो हाँस्छ, बोल्दैन । हाँसो देखेर लुसिफरले बुझ्छे ।
काम जे गर्नु परोस्, लुफिरकको काम ग्राहक खुसी बनाउनु हो । अकोधारी हुन मानसिकरूपले पूर्ण तयार पार्नु हो ।
अर्को कोठामा लान्छे । मान्छेको लाइन छ । सबै खाइलाग्दा छन् । टाइसुटमा छन् । दौरा-सुराल, कोट-टोपी ढल्काएका छन् । सुकिला धोती-कुर्ता लगाएका पनि छन् । महात्मा भेषमा एकदुई ज्ञानी-विज्ञानी पनि छन् । सबै एक-से-एक छन् । आफूलाई फिक्का देख्छ ।
चिनेका पनि छन् । नचिनेका पनि छन् । निचेकामा देशका प्रचलित नेताहरू छन् । पूर्वप्रधानमन्त्री छन् । मन्त्री छन् । न्यायाधीश छन् । वकिल छन् । प्रशासन-प्रहरीका ठूल्ठूला हाकिम छन् । डाक्टर छन् । प्रोफेसर छन् । कहलिएका लेखक, कवि, पत्रकार पनि छन् । कलाकार छन् । उद्योगी-व्यापारी छन् । समाजसेवी-अधिकारकर्मी छन् । विभिन्न उमेरका नारी पनि छन् । सबैलाई कोड भाषामा अकोधारी भनिन्छ ।
अकोधारीको अर्थ के होला भन्ठान्छ, चारैतिर आँखा घुमाउँछ । धेरैजसो नेताहरू नै छन् । सबैभन्दा लो प्रोफायलमा आफैंलाई देख्छ ।
पालो आउँछ । कम्प्युटरमा इन्ट्री गर्ने अपोलियनले उसको निजी विवरण लिन्छे । प्रोफायल बनाउँछे । तीनपुस्तेसहित नाम, थर, वतन, उमेर, व्यवसाय, कर्म-कुकर्म…. आदि ।
तपाईंको रिफरल ?
‘पातीप्रसाद ।’ पातीप्रसाद उही साथी नाउँको साथी थियो । समाजसेवी बनेर समाज ठग्थ्यो ।
‘द फादर अफलाई हुनुहुन्छ उहाँ । पातीप्रसादजी हाम्रो बेस्ट रिफरल र कस्टमर हो ।’ मुसुक्क मस्कुराउँदै थप्छे अपोलियन, ‘अकोधारण गरेको एकवर्षमै द बेस्ट मेफिस्टोफिलिज् अवार्ड पाउनुभयो । दुई वर्षमा कायापलट ।’
अकोधारीलाई संगठनभित्र मेफिस्टोफिलिज् पनि भनिन्छ । उत्कृष्टलाई प्रत्येक वर्ष द ‘गोस्ट डे’का दिन वाइल्ड सेरमनीमा पुरस्कृत गरिन्छ ।
‘वाइ द वे म यहाँ अपोलियन, बाहिर अर्पणा ।’ हात मिलाउँछे । माझीऔंलाले हत्केलामा कोट्याउँछे । एउटा आँखो झिम्क्याउँछे । गर्नैपर्छ, जागिरको नियम हो । ऊ ङिच्च गर्छ । रङरोगन उडेको सहिदको शालिकजस्तो हुन्छ, हेर्छ ।
अपोलियनले अर्को भव्य कोठामा लान्छे । कुर्सीमा बसेको मान्छेतिर देखाउँदै भन्छे, ‘उहाँ लर्ड डेभोल । सबैले डेभोल स्वामी भन्छन् ।’ स्वामी मुसुक्क हाँस्छ ।
पत्यार लाग्दैन उसलाई, ‘यो मान्छे यहाँ ? ‘ छक्क पर्छ । देशले जानेमानेको ठूलो मान्छे । मनमनै भन्छ, ‘गडड्याम मान्छेभित्रको मान्छे !’ स्वामीलाई बाहिरी संसारले चिन्ने नाउँ जगतमान हो ।
‘वास्तवमा उहाँ त प्रमिथियस हो । मानवकल्याणका लागि ईश्वरको घरको आगो चोर्ने खतरा पनि मोल्नुहुन्छ तर शत्रुले ….!’
अपोलियनले बिट मार्न पाउँदिन । स्वामीको मुख खुल्छ, ‘शत्रु कसका छैनन् ? ईश्वरलाई दैत्य देख्ने आँखा पनि मान्छेकै हुन् ।’ आफूलाई ईश्वरावतार ठान्छ, मुस्कुराउँछ ।
स्वामीका दस औंलामा २० औंठी छन् । घाँटीमा देवीदेउताका टाउका कुदिएका अनेक माला छन् । शिरमा अनौठो टोपी छ । टोपीजस्तो पनि छ, मुकुटजस्तो पनि छ । टोपीमा राष्ट्रिय झन्डाको ठूलो पिन छ । पिन सुनको छ । हीरामोती जडिएको छ । स्वामीका दायाँबायाँ डेगन र ड्याकुला उभिएका छन् । पछाडि म्यामोन र येन्लो । ढोकामा कायोटी र इभल । छेउमा निजा । अलिपर्तिर सेटन ।
निजा, निजी सेक्रेटरी हो । सेटन प्रेस सेक्रेटरी र बाँकी बडीगार्ड । सबै गेरुसुटमा छन् । पवित्रताका प्रतीक देखिन्छन् ।
निजाले उसको प्रोफायलको ब्लुप्रिन्ट स्वामीलाई दिन्छे । ब्लुप्रिन्ट हेर्छ । हाँस्छ ।
‘तपाईं लेखक हुनुहुदो रहेछ । तपाईंको मार्केट एकदमै लो छ । त्यसमा पनि तपाईं चल्तापुर्जा हैन ।’ नम्र भाषा, मीठो बोली छ स्वामीको ।
‘किन ? ‘
‘लेखकलाई हाम्रो मार्केटमा लो क्वालिटी प्रोडक्ट मानिन्छ ।’
कारण ?
‘सिम्पल छ । लेखेर केही हुनेवाल छैन । गरेर देखाउनेको भ्यालु छ ।’
मतलव ?
‘अहिले नेताको मार्केट सबैभन्दा हाई छ । १०, २० वर्षअघि प्यालेसवालाको थियो ।’
”अर्थात् ? ‘ कुरा बुझ्दैन ।
‘अर्थात् ! नेता, जो चल्तापुर्जा छन् । देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हुन सक्छन् । जेसँग देशलाई सजिलै मेनुपुलेट गर्ने सम्भावना, शक्ति र सामथ्र्य छ ।’
‘जस्तो को को ?
स्वामीले नेताको प्रिन्टेड नेमलिस्ट दिन्छ । पढेर छक्क पर्छ । देशका पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि वर्तमानका सबै छन् ।
‘यी सबै ? ‘
‘हो, यी सबै !’
‘यी सबैका आत्मा बिकिसकेका छन् ? ‘
स्वामी मुस्कुराउँदै सहमतिको टाउको हल्लाउँछ । धेरैबेरसम्म त्यो टाउको ढिकीजस्तो तलमाथि गरिरहन्छ । स्वामीले थप्छ, ‘यस्ता नेताका लागि इन्टनेसनल खरिदकर्ता पाइन्छ । पेमेन्ट डलर, युरो र कम्तीमा पनि भारुमा हुन्छ । यो प्रोडक्टले मरणोपरान्त रोयल्टी पनि पाउँछ ।’
बोल्दाबोल्दै स्वामी एकछिन् रोकिन्छ । फेरि ब्लुप्रिन्ट हेर्छ । आँखा चिम्लिन्छ । हँ…. गर्दै भारी मुन्ठो दायाँबायाँ गर्छ ।
‘अनफर्चुनेट्ली तपाईं हाम्रो मार्केट बिगार्ने लेखक हुनुहँदो रहेछ, अलमोस्ट नो चान्स !’ स्वामी मुस्कुराउँछ । स्वामीको मुस्कानमा आफ्ना नांगा आँखाले देखेको सपना टुक्राटुक्रा भएर धूलोपीठो हँदै उडेको त्रासद दृश्य देख्छ । उदास-निरास हुन्छ ।
‘सरी सर, सरी… जसरी भए पनि मलाई एडजस्ट गरिदिनु हुनेछ भन्ने विश्वास छ । म सबैकुरा गर्न तयार छु ।’
‘प्राइड इज फोरइभर, पेन इज टेम्प्रोरोरी !’ स्वामीले थप्छ, ‘ओके, म्यामोनाले टेक केयर गर्छिन् ।’
म्यामोना आउँछे । अर्को कोठामा लान्छे । छेउमा बसाउँछे । उस्तै छ म्यामोना लुक्स पनि लुसिफर र अपोलिनको जस्तै । घुटुक्क थुक निल्छ । म्यामोनाको वास्तविक नाउँ मायावती हुन्छ । म्यामोना सेकेन्ड सेक्रेटरी हो ।
‘हामी सबैको रेकर्ड राख्छौं । हाम्रो डेटाबेसमा तपाईंको क्रेडिट राम्रो छैन । त्यसैले गाह्रो छ । तपाईंभन्दा राम्रो क्रेडिट भएका लेखक क्युमा छन् ।’
‘कुनै सिक्वेन्सले मिल्छ कि ? ‘
‘कुनै हाई प्रोफाइलवाला नेताको सिफारिस भए राम्रो हुन्थ्यो ।’
‘आत्मा बेच्न पनि नेताको सिफारिस ? ‘
सबैतिर त्यही चाहिन्छ, आजकल । तर पनि म मिलाउँछु ।’ म्यामोनाले आस देखाउँछे भित्रभित्रै खुसी हुन्छ ।
‘नो मोर ब्लुज इन लाइफ । रोड टु रिच । अनलिमिटेडल अच्भिमेन्ट !’
ओके भन्छ । झन् खुसी हुन्छ । म्यामोना उसको सम्पत्ति विवरण हेर्छे, ठीकै छ । खानलाउनै नपाउने छनै । त्यहाँ जाने भनेको हुनेखाने नै हो । जोसँग नैतिकमूल्य शून्य र भौतिकसपनाका चुलीमात्र हुन्छन् । भोका नांगा पुग्नै सक्दैनन् ।
बेनिफिटस् र डिस्क्लोजर पढेर सुनाउँछे । हेडलाइमा लेखिएको छ, ‘फेम एन्ड फरचुन्- पपुल्यारिटी-सेक्स अफर!’
अर्को लाईमा लेखिएको छ, ‘अल विलोङ् टु मनी, अल द टाइम्स् ।’
मुन्तिर लेखिएको छ, ‘रातारात धन-दौलत, शक्ति-सामथ्र्य, साथी-सहयोगी । पत्रपत्रिकामा नाम-फोटो । मान-सम्मान, समाजमा इज्जत-प्रतिष्ठा ।
अर्को परिच्छेदमा लेखिएको छ, ‘आत्मविक्रय सबैभन्दा सजिलो काम हो । यहाँ मान्छेको “इनर आइडेन्टिटी” फेरिन्छ । आत्माको स्थानमा एउटा राक्षसी शक्ति भरिन्छ । त्यसले जुनसुकै काम गर्न पनि प्रेरित गर्छ ।’
फुटनोटमा लेखिएको छ, ‘अकोधारणपछि मान्छेले “सेकेन्ड लाइफ” पाउँछ । त्यसपछि जे पनि गर्न सकिन्छ । जे पनि गरेपछि जे पनि हुन सकिन्छ । लाज, घीन र शरम सबै स्वत: हराउँछ । सधैंका लागि हराउँछ ।’
‘अरू केही ? ‘
‘छैन तर अकोधारण भनेको ? ‘
‘ओके, फाइनल डिल इकारसरले गर्छ । उसैले बुझाउँछ । बी फ्रि फ्रम मेन्टल सफरिङ् । गुडलक !’ अर्को ग्राहक लिन्छे, म्यामोना ।
इकारस आउँछ । उसको वास्तविक नाउँ ईश्वरदास हुन्छ । अर्को कोठामा लान्छ ।
‘अकोधारण जति छिटो भयो, उति छिटो डिल डन् । क्युमा अरू धेरै छन् ।’
‘तर अकोधारण, अकोधारी ? ‘
‘यो काम मेडिकल कलेजमा हुन्छ । यो कागज लिएर मेडिकल कलेज जानुस्, तुरुन्तै हुन्छ ।’ इकारसले केही मेडिकल कलेजको लिस्ट दिन्छ । सबै नाम चलेका स्वर्गीय नेताका नाउँमा छन् ।
निस्कन्छ । निस्कने गेट बेग्लै छ । पस्ने एउटा, निस्कने अर्को । गेटमाथि लेखिएको छ, ‘आत्मभोग गरौं, सुखी बनौं ।’
मेडिकल कलेज जान्छ । जाँदाजाँदै अप्रेसनको तयारी हुन्छ । छक्क पर्छ । मनमनै ठान्छ, ‘केही भएको छैन, अप्रेसन !’
नर्सलाई सोध्छ, केको अप्रेसन ? ‘
नर्स मुसुक्क मुस्कुराउँछे । कामुक नजरले हेर्दै भन्छे, ‘अण्डकोशको !’
‘अण्डकोशको ! किन ? ‘ अनुहार रातोपिरो हुन्छ । लजाउँछ । डराउँछ । अत्तालिन्छ ।
‘हामी तपाईंलाई अकोधारण गराउँछौं ।’
‘अकोधारण ? ‘
‘अण्डकोश निकालेर माला बनाउँछौं । त्यही माला तपाईंलाई लगाइदिन्छौं । अण्डकोशको माला धारण गर्नेलाई नै अकोधारी भनिन्छ ।’
‘ती सबैले लगाएको त्यो अनौठो माला त्यही हो ? ‘ छेउमा उभिएको डाक्टरतिर हेर्दै सोध्छ ।
‘हो, यी हामीले पनि लगाएका छौ ।’ डाक्टरले माला देखाउँछ ।
अलौकिक हैन आफू कुनै राक्षसीलोकमा पुगेजस्तो लाग्छ । थर्रथरी काम्न थाल्छ । पसिनापसिना हुन्छ ।
‘अरूलाई थाहा नहालो तर चन्द्राग्नीले के ठान्ली ? ‘ अगाडि स्वास्नी देख्छ । आफैंलाई धिक्कार भन्छ । झ्याबाट हामफाल्छ, भाग्छ । भाग्दाभाग्दै अचानक सबै अन्धकार हुन्छ । फेरि दुवै हातले मुख थुनेर अन्धकारमा दौडन्छ ।
दौडँदादौडँदै आफ्नै आवाजको राँको बल्छ, ‘अकोधारी ! आत्माबिनाको शरीर ! घाँटीमा अण्डकोशको माला !’
‘कसको आवाज हो, यो ? ‘
‘मेरो ।’
‘को होस् तँ ? ‘
‘आत्मा ? ‘
‘कसको आत्मा ? ‘
‘तेरो ।’
‘के म मरिसकेँ ….?
आफ्नै आवाजको आगोले पोल्छ । चिच्याउँछ । आँखा खुल्छन् । आफ्नै कोठामा छ । सबैकुरा उही छ ।
‘ओहो ! कस्तो डरलाग्दौ ऐठन ? ‘ मुख थुनेका दुबै हात झार्छ । एक घुट्को रक्सी पिउँछ । डर भगाउँछ । चन्द्राग्नीतिर हेर्छ । मग्न निद्रामा छे । फत्रक्क हुन्छ । लामो सास फेर्छ ।
डायरीमा लेख्छ, ‘नांगो संसार जस्तो छ, त्यस्तै देखिन्छ । तर, गडड्याम अकोधारी मान्छे …?
(नोट: फ्रेङ्किन्स्टाइन, मेरी सेलीको साइन्स फिक्सनको प्रमुख पात्र हो । जसले आफूलाई शक्तिशाली राक्षस बनाउँछ र आफैं नष्ट हुन्छ । अन्य पात्रहरू ग्रिक, जर्मन तथा दक्षिण अमेरिकी मिथका राक्षसी पात्र हुन् ।)
(स्रोत : नागरिक – शनिबार)