~विश्वेश्वरप्रसाद कोइराला~
सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरू टाढै उभिएजस्ता थिए ।
सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केझैं गरेर नदीका किनारमा गुम्लुंग परेर सुतेका चार–पाँच जना उठे । उठ्नासाथ सबैका मनमा प्रश्न उठ्यो— पेट कसरी भर्ने ?
एउटाले अर्काको मनोभाव बुझेजस्तै गरेर सबै मुखामुख गर्न थाले । विधवाको दृष्टि गोरेमाथि थियो । उनले सबैलाई सम्बोधन गर्दै भनिन्, “होइन, तिमरु घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?”
सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ”
बूढाले भन्यो, “मेरो थियो तर म अब घरबार नभएको छु । तर, नानी ! तिम्रो भए किन यहाँ आएकी त ?”
घरबार नभएका यी चार जना— माग्ने भनौं कि कुल्ली भनौं— काम पाए कुल्ली नत्र माग्ने—का माझमा घरबार भएकी विधवा हँसिली थिइन् । तिनले अन्नपूर्णझैं झट्ट हातको पोकोबाट च्युरा झिकिन् र भाग लगाउन थालिन् । अनि सबैको च्युरामाथि चाकुका डल्ला राखिन् । सबैका आँखामा अकस्मात तेज आयो । र, सबैका हृदयमा विधवाप्रति महान आदरको भाव उत्पन्न भयो ।
गोरेलाई आफ्नो भागबाट च्युरा थपिँदिदै भन्यो, “तिमी जवान छौ, तिमीलाई अरुभन्दा बढ्दा भोक लाग्दो हो ।”
फेरि सबैलाई सम्बोधन गर्दै भनिन्, “मधेसतिर हिँडेको । कोही छैनन् । सासू—ससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रुखो माया गथ्र्यो । तर, पोइ नभएको घरमा टिक्न सकिनँ ।”
यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पा¥यो । खान पाइने ठाउँ, पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू विधवालाई झन् मान गर्न थाले ।
उनले सोधिन्, “तिमीहरू कहाँ हिडेको नि ? तिमीहरूले त राति पनि केही खाएको देखिनँ । त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरू नजिक आएर सुतें । रातभरि तिमीहरूको माया लागिरह्यो ।”
भोटेले बडो आश्चर्य मानी सोध्यो, “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंका पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।”
विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।”
हिजो दिनभरि नखाएको पेटमा च्युराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई–कराई कुरा गर्न थाले ।
बूढाले भन्यो, “नानी, हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रो कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।”
उत्तिनै खेर सबैले मधेस लाग्ने निश्चय गरे । यी चार जना लोग्ने मानिस, एक स्वास्नी मानिस पाँचै जना दक्षिणको बाटो लागे ।
बूढाले आफ्नो जीवनका बितेका घटनाहरूलाई भन्यो—
उसले एकचोटि निकै पैसा कमायो । १७ रोपनी खेती गथ्र्यो । पछि त्यसै बिग्री–बिग्री आयो । त्यसबेला ऊ जवान थियो । निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ! अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकी यताउति हिँड्नु परेको ।
विधवाले भनिन्, “मेरो त मधेसमा गएर राम्ररी घरबार गरी बस्ने इच्छा छ । सानो खेतीबारी ग¥यो । त्यहाँ खेती गर्न सजिलो छ रे ! जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू—ससुराको कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा, त्यसै उच्चाट लागेर आउने ।”
भोटे र धने तिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए । तर, आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबैभन्दा पछाडि गोडा धसारी हिँडिरहेको थियो । विधवाले गोरेका निम्ति पर्खिइन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिक आएपछि विधवाले भनिन्, “के थाक्यौ गोरे ? घाम पनि अघ्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।”
उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकोमा राखिदिइन् । फेरि सबैजना हिँड्न थाले । त्यो बूढो, बूढो भन्नुमात्रै थियो । सबैभन्दा अघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो व्यतीत जीवनका घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्दा बूढो झन् सुरिएर भएनभएका कुरा गर्न थाल्यो । भोटे र धने पक्क भएर सुनिरहेका थिए । भित्रभित्रै तिनीहरू बूढाको आदर गर्थे ।
गोरे र विधवा पछिपछि बिस्तारै–बिस्तारै आइरहेका थिए । गोरेको उमेर २५ वर्षको हुँदो हो, विधवाको ३० । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको कठिन परिश्रमले तल भास्सिएको थियो । आँखा ज्योतिहीन थिए ।
विधवाले सोधिन्, “तिमी मधेस गएर के गर्छौ ?”
गोरेले भन्यो, “कुन्नि !”
विधवाले भनिन्, “के तिमी घरवार गर्दैनौ ? खेतबारी गरी बस्न मन छैन ?”
गोरेले भन्यो, “पैसा खोइ नि ?”
“ह्वाँ खेत सित्तैमा पाइन्छ । तिम्रो उमेर के भएको होला र ! घरबार गर, स्वास्नी पाल । छोराछोरी पाल । यस्तो उरेन्ठेउलो भएर कति दिन बिताउँछौ ?” विधवाले फेरि एक्कासि प्रश्न गरिन्, “तिमीलाई स्वास्नी मानिस मन पर्दैनन् ?”
गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हे¥यो, “किन मन पर्दैनन् र !”
विधवाले भन्न थालिन्, “मधेस गएर खेतीपाती गर्छु, घरवार गर्छु । तर, स्वास्नी मानिसले मात्रै घरवार चलाउन सक्दैनन् । लोग्ने मानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो । किन हामी दुईजना मिलेर घर नचलाऊँ ?”
गोरेले विधवालाई विस्मयको दृष्टिले हे¥यो । विधवाले अलि अप्रतीत भएर भनिन्, “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएन ।”
गोरेले चकित भएर विधवालाई हेरिरह्यो ।
विधवाले भनिन्, “गोरे ! मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्दिनँ र ? ख्वै मेरा छोराछोरी, ख्वै मेरो आफ्नो घर ? ख्वै मेरो आफ्नो मान्छे ?”
विधवाको मुख अकस्मात रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुटु तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निःस्तब्धतालाई भंग गर्दै भनिन्, “गोरे, मसँग अलि गहना पनि छ । रुपियाँ पनि छ । त्यसैले गएर खेती किनौंला । घरबार बनाउँला । तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।”
अलिक पर बूढो, भोटे र धने एउटा ठूलो ढुंगामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरू आइरहेको देखेर टाढैबाट बूढाले भन्यो, “अब बस्ने हैन ? खाने के नि ?”
सबैको दृष्टि विधवामाथि प¥यो । उनले भनिन्, “अलिकता च्युरा बाँचेको छ । पेटभरि नभए पनि अलिअलि त थेग्ला ।”
तिनीहरू बसेर च्युरा फाँक्न थाले र खाकाशलाई छानो बनाएर गुडुल्किएर बाटोकै छेउमा सुते । दिनभरि हिँडेका हुनाले तिनीहरू लड्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।
बिहान सूर्यको पहेंलो किरणका साथसाथै बूढो उठ्यो र खोक्न थाल्यो । सबैजना उठे तर गोरेको पत्तो थिएन । विधवाले आत्तिएर सोधिन्, “गोरे खै ?”
बूढोले शान्त भएर भन्यो, “गयो होला कतै । अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय त हुन सक्छ ।”
विधवाको हृदय भारी भयो । उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुईदिनको सङ यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनू ? तिनी आफ्ना पोका बटुल्न थालिन् । उनको हृदय ढक्क भयो— गहनाको पोको छैन ।
सबैजना हिँड्न तयार भए तर विधवा बसेर पोका बाँधबुधमात्रै गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, “के गरिरहेकी ? हिँडिहालौं । नत्र साँझसम्म पुगिँदैन । भोक्कै सुत्नुपर्ला ।”
विधवाले रुन्चे स्वरमा भनिन्, “मेरो गहनाको पोको छैन ।”
सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नू !”
विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्, “चुप लाग् बूढा । त्यस गहनाले मैले के–के गरूँला भनी विचार गरेकी थिएँ । खेती किनौंला, बिहा गरौंला, घर जमाउँला, छोरा पाउँला… मेरो सारा आशा नष्ट भयो ।”
यति भनेर उनी डाँको छाडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, “किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ, तिम्रो घर पनि हुन्छ । नआत्तेऊ । लौ हिँड ।”
विधवा टोलाएर उभिइन् र बूढाको पछिपछि लागेर हिँड्न थालिन् । त्यो टाढाको टाकुरामा पुगेर बूढाले बडो उत्साहसँग दक्षिणतिर आँखाले भ्याउन्जेलसम्मको ठूलो मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो, “ऊऽऽ त्यै हो मधेस । त्यहाँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामी अघाउन्जेल खान पाउँछौं ।”
भोटे र धनेको आँखामा उत्साहको आभा दगु¥यो । भोकले सुकेका गालामा पनि आनन्दको गुलाफ देखियो । कानसम्म मुखको कुना पु¥याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे । तर, विधवामा उत्साह थिएन । आफ्नो उमेर ढल्किसकेको थियो । उनले तिनी गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई आफ्नो सानो घर, छोराछोरी सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैं भताभुंग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।
(कोइरालाको कथासंग्रह ‘दोषी चश्मा’बाट साभार)