कविता : पूजारी बाजे

~दिल थापा~

मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई
साँझ बिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई
रिठे कामीको आणविक आराममा
पाइन बस्ने गरी अजार्पेको खुकुरीले
रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ ।
शक्तिपिठहरुलाई खुसी पार्न ।
अद्श्य मानिसको भाकल पूरा गर्न

ए! पुजारी बाजे
आजभोलि तपाईँलाई खुबै सम्झन्छु
मलाई किचकिच गरिरहने प्रेमिकालाई भन्दा बढी
खन्करी डाँडालाई पनि सम्झन्छु
त्यो डाँडाका सबै रुखहरूलाई पनि सम्झन्छु
रुखका फेदहरूमा भएका
पूजाका थानहरूलाई पनि सम्झन्छु
दर्शन ढुङ्‌गाका देउता देउतीहरुलाई पनि सम्झन्छु
पातीको पातलाई मसिनो पारी
तारी खेतको आँपझुप्टे चामलको अक्षतामा
कालो च्वाचेको
रातो भालेको
रातो रगतमा मिसाई
मेरो अभागी निधारमा तपाईँले टिका लगाई दिनुभएको
मेरो कानेगुजी भएको कानले आर्शिवाद ग्रहण गरेको
तपाईँले तैँले गलगाँड भाकी श्रीमती पाएस भनेको झनै सम्झन्छु ।

आजकाल मलाई मधुरो मधुरो सम्झना आउँछ ।
रविन्द्र मिश्रको भ्यु टावर कवितामाथिबाट बसेर सोच्दा ।
देशको राजधानीले नदेखेको
सधैँ उपेक्षा गरेको ।
अनि राजधानीको सत्तासंघर्ष
चलिरहने ठूला-ठूला रुखहरूमा
पूजाका थानहरू बनाउन चेतना नभएका पुजारीहरु पनि देखे।
राजधानीका ठूला-ठूला रुखका थानहरुमा
भष्ट्रचारको रगतले शक्तिफोबियाहरु होली खेलेको बेला ।
सायद हाम्रा मगर पूजारी बाजेहरू
बुढो चिलाउनेको फेदमा थान बनाउँदै होलान् ।
जिजुबज्यैको थान पल्लोतिर
जिजुबाजेको थान वल्लोतिर
अनि ठूलोबीजको थान पुस्तौंदेखि पिरोली रहने
पिराहा बडाबाजेका थान भनेर ।
राजधानीले नश्लवादको गिदी प्रयोग गरेर विभाजन गरेको प्रदेशजस्तै ।

मेरी आमाले गएको भर्दौदेखि
बडो दुःखका साथ जोगाड गरेकी होली रातो भालेको
अनि लाम डाँडा वनतिर गोठालो जाँदा जोगाड गरे होलान्
मेरा बाबाले साल धूपको ।
आमाले भन्थिन l
कार्तिकको एक रात बिहान बास्नुपर्ने भाले
रातीको एक बजे बास्यो रे।
त्यसको भोलि पल्ट मैले राहदानी बनाएको
राजधानीमा नराम्रो अनिष्ट भए रे।
अनिष्ट भएको भोलि पल्ट
पूजारी बाजेले
त्यो भालेको घाँटी निमोठी
घुमाउने घरको धुरी कटाउनु भो रे।

पूजारी बाजे तपाईँले बालेको
सालधुपको बास्ना पशुपतिनाथलाई मिठो लाग्छ कि लाग्दैन होला ?
अनि राजधानीले पशुपतिनाथमा कालो च्वाँचेको भाकल गर्छ की गर्दैन होला ?
हो पूजारी बाजे
म आजभोलि यस्तै यस्तै प्रश्नहरूको उत्तरको खोजी छु ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.