समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~

लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना पाका वरिष्ठ स्रष्टाहरूले भने उहाँलाई एउटा कुशल साहित्यकारको रूपमा चिनेका छन् । संयोग वरिष्ठ स्रष्टा शेरचनसँग म २०६४।०६५ सालतिर परिचित हुन पाएँ । यसको श्रेय भने बागलुङ निवासी स्रष्टा काजी रोशनलाई जान्छ ।

मलाई भैरहवा निवासी लुम्बिनी शिशु सदन पहिलो प्राइभेट स्कुल संस्थापक प्रिन्सिपल वाइ बी रसाइली, आफ्नो साथीको बैनी भनेर जानेपछि मैले उहाँको हार्दिक सामीप्यता पाउँदै गएँ । यसैको फलस्वरूप नचिताएको कुरा ०७४ सालमा मेरो पहिलो कृति प्रकाशित भएको खुसीमा सहृदय उहाँले मलाई अप्रत्यक्ष पुरस्कार रु ११ हजार दिनुभयो, आभार प्रकट गर्दछु ।

२०७४ सालमा प्रकाशित नाटक निरर्थक त्याग मलाई २०७४ चैत्र २७ गते लेखकबाट सप्रेम उपहार प्राप्त भयो । २०७५ जेष्ठ महिना १० गतेसम्ममा बल्लतल्ल पढेर भ्याएँ । कारण अरू पनि कृतिहरू पढ्ने पत्रपत्रिकामा लेख छपाउने र साहित्यिक जमघटमा रम्ने भएकोले । यो कृति पढेपछि मनमा लागेका कुराहरू पाठक समक्ष प्रष्फुटन गर्ने जमर्काे गरेँ । म समीक्षक चाहिँ होइन ।

जन्म मिति ७ डिसेम्बर १९३८ इ.स आमा कृष्णकुमारी बाबा भक्तिप्रसाद शेरचन, जन्मस्थान टुक्चे बजार थाक, धौलागिरी अञ्चल, शिक्षा एम.ए., प्रकाशित कृतिहरू ः दुई खुट्टाले टेकेर कविता सङ्ग्रह (२०२४), दुई कप्टेराको माझमा (२०२५) कविता सङ्ग्रह, साँढे चार दशकाको क्रन्दन (२०६९) कविता सङ्ग्रह, सोभियत युनियन र बुलगेरिया भ्रमणको डायरी (२०६८) नियात्रा, कुहिएको कुभिण्डो ः विषमाताको (२०३७) कविता सङ्ग्रह, भीम खोला बहुलाउँदा (२०६८) नाटक, निरर्थक त्याग (२०७४) नाटक, सम्पूर्ण सद्भावनाको साँचो सङ्घात्मक शासन व्यवस्था (२०६८, पहिलो संस्करण) निबन्ध सङ्ग्रह, सम्पूर्ण सद्भावनाको साँचो सङ्घात्मक शासन व्यवस्था (२०६९, दोस्रो संस्करण) निबन्ध सङ्ग्रह । प्रकाशोन्मुख वेवारिसे बलिदान (नाटक) ।

भ्रमण ः रुस, चीन, चेकोस्लोविया, मलेसिया, रोमानिया, युगोस्लेभिया, पोल्याण्ड, पूर्वी जर्मनी, हङ्गेरी, वुलगेरिया, अमेरिका, जापान, सिङ्गापुर, वर्मा, थाइलेण्ड ।

यो कृति काठमाडौँबाट प्रकाशित कृति हो । प्रकाशिका लेखक श्रीमती शान्ता देवी । यो कृति पुस्तक आकारमा ५०० पानाको छ । लेखकीय मन्तव्य ३ पानाको छ, कृति आफ्नी ममतामयी माताप्रति समर्पण गरिएको छ । कुनै पनि विद्वान स्रष्टाहरूको मनतव्य रहेको छैन । भाषा शैली सरल शिष्ट छन् । धेरै जसो कुराकानीहरूले मन रोमान्चित र पुलुकित गराउँछ । हसेउली र ठटेउली शब्दहरूले पनि स्थान पाएको छ । यो कृति वियोगान्त कृति हो ।

मलाई सुरुमा यो कृतिको नाम देख्दा पक्का पनि राजनीतिक घटनामा आधारित कथावस्तुहरू होलान् । आफ्नै जीवनको तीतो यथार्थ होला । मलाई यस्तो किन लाग्यो भन्दा उहाको राजनीतिक इतिहास थाहापाएकोले यो पाठकको मनले पुस्तक नपढी यही कुरा सोच्यो । लेखकीय मन्तव्य अध्ययन पश्चात मैले सोचे विपरीत भयो । तर केही कथावस्तु स्वयं लेखकको नै हो नि भन्ने पनि भान गरायो ।

यो नाटक पारिवारिक, सामाजिक, राजनीतिक ऐतिहासिक परिवेश भित्र केन्द्रित छ । यो नाटक १४ अङ्क सम्म दृष्य १।२।३ रहेको छ । विशेष गरेर लुम्बिनी अञ्चलकै सेरोफेरोमा रहेर कथावस्तुले ठाँउ पाएको छ । साथै गोरखपुर र बनारस पनि पर्दछन् । प्राकृतिक तथा भौगोलिक परिवेशलाई मनोरम ढङ्गमा उनिएको छ । हाम्रो समाजमा दोहोरो चरित्र प्रस्तुत गर्ने व्यक्तिको बारे खुलासा भएको छ । पाठकले सोचे विपरीत अन्त्य भएको छ ।

यस नाटकमा पहिलो अङ्कमा बाबा शब्द सम्बोधन बारे गएिको विश्लेषणले मेरो मन पक्कै छोयो । हुन पनि हो, मैले नि जान्दासम्म छरछिमेकमा सम्बोधन गर्नुपर्दा बाबा भनेको जानिनँ । बरु काका मामा अङ्कल, बडा, ठूला बा भनेको याद छ । यसैै कुरालाई ३ पेजसम्म विश्लेषण भएको छ । यसबारे जानकारी पाएपछि मेरो अवोध भदैनीले मलाई दिदी भनेको सुनेपछि मेरो अन्तरे दाजुले फुपुलाई नि दिदी भन्छेस् तेरी आमाले जन्माएको हो र भनेर भदैनीलाई नराम्रोसँग झपारेको कुरा झलझली याद आयो ।

यो नाटकको मोटाई देखेर सुरुमा त पढ्न खासै जाँगर चल्दैन तर पढ्दै गएपछि भने बिस्तारै रस पस्दछ । अब के हुन्छ उत्सुकता नजानिँदो ढङ्गले जगाइदिन्छ । यो नाटकका मुख्य पात्रहरू नेपालको पहाडी भेग बेनी भन्ने ठाउँबाट तराई फाँटमा सरेको मुख्य पात्र प्रितमको घरपरिवारमा आधारित नाटक हो । यस कृतिमा २००५ साल देखि सुरु भएको कुरा ०४१ सालमा गएर अन्त्य भएको छ ।

यस नाटकका पात्रहरू राजनीतिक क्षेत्रमा प्रवेश गर्दै शिक्षा हासिल गर्दै गरेका पात्रहरूको चयन भएको छ । एम ए पास गरेको पीएचडी गर्नुपर्ने परिवारको चाहना चकनाचुर भएको छ । राजनीति गर्ने केटो प्रितमले आफ्नो प्राण प्यारो घर परिवारसँग कुनै राय सल्लाह नलिकनै विवाह गरेपछि उनको सम्पूर्ण परिवारसँग नाता तोडनुप¥यो, जसले गर्दा जीवन भताभुङ्ग भएको घटनाले मन सारै छुन्छ । यो कथा दामपत्य जीवनसँग आधारित घटना भइदिएको छ । सम्बन्ध विच्छेदन गर्न अड्डाअदालत धाउनुपर्दैन चिठीकै भरले नि नातासम्बन्धमा विच्छेद हुँदो रहेछ भन्ने जानकारी गराउँछ । ससुरा नन्द बाहादुरलाई मोहडा बनाएर तेस्रो पक्षले फाइदा लिएको छ । सम्पत्तिको निहुमा प्रितमको दाम्पत्य जीवन नै भताभुङ्ग भएको छ । प्रितमको सङ्र्घषमय जीवन साथै अन्तिम मोडमा भोग्न परेको व्यथा र विदेशमा देहान्त भएको घटनाले पाठकको मन रुवाँउछ । यस कृतिमा भारतका केही ठाउँहरूको मनोरम दृश्यबारे वर्णन भएको छ । यो लेखकको खुबी लाग्यो ।

दाम्पत्य जीवनमा बाँधिन घरपरिवारको सरसल्लाह अत्यन्तै जरुरी ठहरिएको छ । यस नाटकमा आमा माइजु दाजु र स्वयं प्रितमले लेखेका चिठीहरूले पाठकको मन छोएको छ । जसलाई सहृदय सहयोग ग¥यो उसैबाट ठूलो धोका षड्यन्त्र भएको छ, एउटा पाठ पनि सिकाएको छ । जीवनका कैयाँै मोडहरूमध्ये सबैभन्दा ठूलो मोड भनेको बिहे हो सही बाटो छान्न नसक्ने मानिसले अकल्पनीय दुःखकष्ट र विध्नवाधाको सामना गर्नुपर्दछ ।

वैवाहिक सूत्रमा आबद्ध हुन चाहने बरबधु दुवैले दुवैका व्यक्तिगत र पारिवारिक समेत छिद्रान्वेषण गर्न अत्यन्तै आवश्यक हुन्छ ।…(४४९)

यस नाटकका मुख्य पात्र प्रितमको निधनले यो नाटक दुःखान्त भएको छ । यो नाटक हाम्रै गाँउघर समाजको इतिहास र यहाको परिवेश बोलीचाली चालचलन राजजीतिक कथा वस्तु कम्युनिष्ट सङ्गठन भित्रका आचरण जाली फटाहरूसँगै मित्रहरूको आपसी सम्बन्ध आदि विषयहरूमा केन्द्रित रहेको छ । पाठकलाई यस नाटकले बेनीदेखि बुटवल मणिग्राम, फरेन्दा, परासी, लुम्बिनी अञ्चल वरिपरिका जिल्लाहरू बनारस गोरखपुर अन्य भारतका सहरहरूमा पु¥याएको छ ।

यो कृति आकारमा अत्यन्तै ठूलो भएको छ । एक जना स्रष्टालाई मैले पाँच सय पानाको नाटक पढँेभन्दा ए त्यो त उपन्यास नै भइहाल्यो नि भन्नुभयो । ल हेरम् पढम् भन्ने कुरै छैन । लेखकले पाठकलाई नि यसो मनन गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो । हाम्रो प्रवृत्ति भनेको आफ्नो कृति अरूले पढुन् भन्ने हो । लेखकले आफ्ना मनका सम्पूर्ण भावनाहरू अत्यन्तै विस्तृत रूपमा पस्कनुभएको छ । यति हुँदाहुँदै पनि प्रितमको बिहेमा जन्ती जानुभन्दा अगाडिका कुराहरू अत्यन्तै लामो ढङ्गमा प्रस्तुत भएको छ तर जन्ती नै नगएको देखाएर एक्केै पटक सुहागरातको कुराले अलि मलाई नमज्जा गरायो । भाषा सरल सिष्ट र मर्यादित छ । यो उमेरमा यति धेरै पेजमा कृतिको जन्म हुनु चानचुने कुरा भने पक्कै होइन । यो कृतिले कोमल हृदय हुने पाठकहरूको आँखा रसाउँछ, मुटु भक्कानिन्छ ।

कृतिको मूल्य छैन । कृतिकारको परिचय नभएर खल्लो महसुस भएको छ । यो कृति पठनीय एवं सङ्ग्रहणीय छ । नेपाली भाषा साहित्य कलाको निम्ति प्रशंसनीय र अमूल्य कृति हो भन्दा फरक नपर्ला ।

(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.