~देबेन्द्र बस्याल~
खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने र नक्कल गर्ने समय हो यो उसको । त्यहि उमेरका कारणले आजभोली उसले उसको स्वभाव देखाउन थालेको छ ।
गाउँभरीका केटाकेटी जम्मा गरेर पुत्ला बनाएर नारा लगाउदै मूर्दावाद र जिन्दावाद भन्दै हिड्छ उ । कहिले झुम्राहरु जुत्ताको मोजामा भरेर गोलोबनाएर भलिवल खेल्छ । कहिले बारीको डिलमा टिन ठटाएर नाचेर गाएर बाँदर धपाउछ । पछि गएर कस्तो निक्लने होला यो सन्ते देख्ने जान्नेहरु पनि छक्कै पर्छन उसको स्वाभाव देखेर । हरेक प्रश्नको उसलाई उत्तर चाहिन्छ ।
उसले देखेका आश्र्चयहरुको उसले सहि जवाफ खोजीरहन्छ । एकदिन उसले यो बादल किन कालो त कहिले सेतो किन हुन्छ बाबा भनेर सोध्यो । म दुईचार क्लास पढेर गाईबाख्राको पुच्छर समातेर हिडेको मान्छेले के जान्नु, “कानो गोरुलाई औंशी न पूर्णिमा” म विलख बन्दमा परिहालें । एक दिन त उसले चन्द्रमामा विजुली नचाहिने हाम्रोमा चाहिने, चन्द्रमा जस्तै यहाँ उज्यालो किन नभाको होला भनेर सोध्यो बा, आजभोली उसले प्रश्नै प्रश्नहरुको बर्षानै गर्न थालेको छ ।
यो समयमा उसलाई असल शिक्षित अभिभावक, कुशल शिक्षक र वेष्ट साथीको खाँचो छ । किनभने “संगत गुनाको फल” भने जस्तै सप्रिनेकी विग्रिने भन्ने दोसाँधमा छ उ । उ एउटा काँचो माटो हो । उसको दिमागमा जुन चिज भऱ्यो त्यही दिगो बन्न पुग्छ त्यस बालामनमा । जाँड, रक्सी खानु हुन्न, धुम्रपान गर्नु हुँदैन किनभने यी सबै हाम्रो स्वास्थ्यको लागि हानिकारक छन् । अपशब्दहरु बोल्नु हुँदैन, असल बानी व्यवहार शिक्नु पर्छ भनेर सिकाउने अराउने समय, साथी र समाज चाहिएको छ उसलाई ।
चरा चाखुराका बचेरा, कुकुर बिरालोका छाउरा भनेपछि हिरिक्कै हुन्छ सन्ते । बचेरा र छाउराहरुलाई अतिनै माया र हेरबिचार गर्छ । हिजै उसले रातो कुकुरको छाउरो खै कहाँबाट ल्याएको छ घरमा । कचकच र किचकिच थियो त केवल हिजोसम्म उही सन्तेको मात्र थियो घरमा तर आजबाट भने रातो कुकुरको छाउराको आवाज पनि थपिएको छ । त्यही कुकुरको स्याहार सम्भार खानपान र उसको कुरीको व्यवस्थापन तथा पढाइलेखाई अहिले सन्तेको दिनचर्या भएको छ । बाबा आमा भाई बहिना भन्दा प्यारो लाग्छ उसलाई त्यो छाउरो । साँच्चै कति राम्रा र मायालु हुन्छन सानोछँदा कुकुर बिरालोका छाउराहरु ।
उनीहरुसंग खेल्नु, उफ्रनु, कुद्नु लुकामारी खेल्नु जस्तो आनन्द जीवनमा अरु के नै हुनसक्छ जस्तो पनि लाग्छ कता कता एकपटक । हो त्यही आनन्दमा व्यस्त छ सन्ते आजकल । लाग्छ सन्तेको शरिरको कुनै अंग नै हो त्यो छाउरो, छाउरोलाई दु:ख्दा सन्तेलाई पनि दु:ख्छ, छाउरो रुँदा सन्तेपनि रुन्छ । उनीहरुले सँगै खान्छन, सँगै खेल्छन र सँगै रमाउछन । कसैले छाउरोलाई छोयो कि सन्ते जाइलागिहाल्छ । म उनीहरुको घनिष्टताको व्याख्या गर्नै सक्दिन किनभने मैले कसरी वर्णन गरुँ त्यहाँ कुनै शब्द नै भेटाउँदिन ।
समय वित्दै गयो छाउरो पनि ठूलो हुँदै गयो । सन्तेको पनि बुद्धि पस्दै छ । अहिले छाउराको नाम पनि राखेको छ सन्तेले “बिजुली” । नाम अनुसारको काम छ बिजुलीको । बाँदर देख्नै हुँदैन बिजुलीको गतिमा उड्छ छाउरो । शत्रुको पत्तासाफ गर्नु बिजुलीको शिषेसता हो । कति जाद्रो छ छाउरो भने पछि नयाँ मान्छे, झुत्रेझाम्टे देख्नै हुँदैन झ्याप्पै जान्छ टोक्न । गलत कुराको सुँइको उसले सुँगेरै पत्तालगाउँछ । उडेको चरो पनि छोप्ला जस्तो गतिवान छ बिजुली । रातभरी पिंढीको डिलमा हुन्छ डिउटी उसको, भुकेर रातभरी घर समाजको सेवा गर्छ बिजुलीले । लाग्छ बिजुलीले पनि यो समाजको सेवा, परिवर्तन र उन्नती चाहेको होला ।
समाजमा सान्ती सुव्यवस्था कायम गर्ने उसको कर्तव्य वा सपना होला । बिजुलीको काम देखेर घर समाज र सन्ते निकै हर्षित छन । बिजुलीको काम अनुसारको सेवा दिन सन्तेले एउटा छुट्टै कुरी बनाएको छ । खानापानी ओड्ने ओछ्याउने सबै कुरिमै तयार पार्छ सन्तेले बिजुलीको लागि । बिहान दिसापिसाव, मर्निङवाक लगाएतका आवश्यक सबै सुविधा दिलाउछ सन्तेले । हिजो अस्ती पिंढीको डिलमा बसेर घर र गाउँको सेवा गर्ने बीजुली आजभोली कुरीभित्र बस्छ, फर्कि फर्कि सुत्छ, ज्यान तनक्क तन्काउछ। कुनै आवाज सुन्यो भने कुरीबाटै नुर्कन्छ बिजुली । बारीमा बाँदर आएर चेचे भन्यो भने कुरीभित्रै उता घुसारीन्छ बाहिर निक्लनै मान्दैन ।
बिजुलीको बानी व्यवहारमा आएको नाटकीय परिवर्तनले घरपरिवार,समाज र सन्ते अचम्मीत भएका छन । आवश्यक भन्दा बढी सुविधाले मानव मात्र होइन पशुमालाई पनि आलस्यता र विलासितामय बनाउछ भन्ने कुरा बिजुलीले देखाइरहेको छ । उसको व्यवहारले आक्रान्त भएको सन्तेले केही हप्कीदप्की गर्न थालेको छ त्यो व्यवहार बीजुलीले बुझिसकेको छ । अब सन्तेबाट दानपानी र सेवासुविधा मिल्दैन भन्नेकुरा बिजुलीले जानिसकेको छ । आजभोली उ जस्ले दानपानी दिन्छ उसैसंग लाडिन्छ, खेल्छ, सन्तेलाई देख्यो कि नुर्कने टोक्ला जस्तो गर्ने स्वभाव देखाउछ । बढो अचम्मै छ दानापानी र सेवासुविधाले पशुलाई पनि छोएको हुँदोरहेछ ।
– देबेन्द्र बस्याल, जापान
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )