~निशब्द प्रमोद~
हे परमेश्वर!
तानाशाह हौ तिमी
सत्ताको मोहमा सदैव लिन
कति ढाक्छौ काला कर्तुत
सबै देखी सकें
अलिकति त मान घिन।
आऊ तिमी मेरो देशमा
हौ आज आमुन्ने-सामुन्ने
काँतर हुन्छौ कति तिमी
जासुस पठाउँछौ ढुङ्गाको भेषमा।
मेरा खुसी खोसी
चलाउँछौ सत्ता कति तिमी
आऊ !
आऊ हे परमेश्वर तिमी
मैदानमा उत्र अब
म स्वतन्त्र उमेद्वार तानाशाह राजा तिमी।
छ तिमीमा साहस भने
सक्छौ मुकाबला गर्न भने
आऊ
आऊ हे परमेश्वर तिमी यहाँ
अन्तिम लडाई लढौं अब
कति गर्छौ अन्याय तिमी
तिम्रै जासुस तिम्रै पत्थर
बोक्छु तिम्रै खिलाफ अब।
म
झोलामा तिम्रो काला कर्तुतका वेद बोकेर हिँड्छु
तिमी अनि तिम्रा चाकडी पुरेतका कर्तुतका पूराण सुनाउँदै हिँड्छु
यो पूराण सुरुवात हो
तिम्रो अन्त्यको
वेदसँगै झोलामा लड्नलाई निर्मलाहरुका रोदन बोकी हिँड्छु ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )