~राजु नेपाल~
परेला खुल्ला छन्, दृष्टि बन्द छ। कस्तो अनौठो परिस्थितिमा छु म। दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन्। दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन्। यति धेरै मान्छेको भीडको वरिपरि छु, तर मेरो मनले एक्लो अनुभूति गरिरहेछ।
आँसु र हाँसोको दोसाँधमा छ मन, कस्तो असमञ्जस हो यो? न धक फुकाएर हाँस्न सकिरहेको छु, न डाँको छोडेर रुने हिम्मत छ मसँग। कसैको अनुहार देखेको छैन मैले।
अघि नै भनिसकेँ नि– परेला खुल्ला छन्, दृष्टि बन्द छ।
मन र मस्तिष्क दुवैमा शून्यता भरिएको छ, मानौं आँधी आउनुअघिको सन्नाटा हो यो।
उफ्! कसरी वर्णन गरूँ? मेरी छोरी आकांक्षा आज अन्मिँदैछे र अर्कै घर जाँदैछे– सधैंका लागि। घरमात्रै होइन, गोत्रसमेत परिवर्तन गर्दैछे ऊ।
यज्ञबाट आएका पवित्र मन्त्रोच्चारण घरिघरि कानमा आएर ठोक्किन्छन्। तिनैले केही ऊर्जा दिन्छन् सायद, उभिएर छोरीको अनुहारमा चिहाउने सामर्थ्य जुटाइरहेको छु। घुम्टोभित्र उसको मुहार दिप्तीमय छ। कुनै परीभन्दा कम देखिएकी छैन ऊ। म आज मेरी परीलाई पराईसामु सुम्पिँदैछु।
मान्छेको संवेदना कति प्रकारको हुन्छ हँ? अनि दुःख र खुसीको आँसुको रसायन एकै हुन्छ कि फरक! मन कहालिएर आउँछ। थर्थराउँदो छातीलाई दुवै हत्केलाले ढ्याप्प थिच्छु। परेलाका ढक्कन केही बेर झिमझिमाउँछन्, गुडुल्किनै लागेका आँसुका थोपालाई रोक्न खोज्छु।
इन्दिरा टुप्लुक्क अगाडि आइपुग्छिन्। उनितिर पुलुक्क हेर्छु– उनको अनुहारमा पनि विषादका धर्काहरू यताउता सल्बलाइरहेका देखिन्छन्। आँसुले ओसिएको मधुरो हाँसो खिसिक्क हाँसेर म उनलाई ढाडस दिन खोज्छु। मलाई थाहा छ, मैले रुनु हुन्न। यद्यपि फुस्कँदै गएको मनको गाँठो कस्ने कुनै उपाय बाँकी छैन। लाग्छ– घरको लक्षिन अन्माएर म रित्तो हुँदैछु। यतिन्जेल कसिलो बनिरहेको सम्बन्धको डोरीको पोयो फुक्दै गएको महसुस गर्दैछु।
जब म जीवनका बाइस वसन्त पार गर्दै थिएँ, आकांक्षा टुप्लुक्क आइपुगी– अर्को वसन्तझैं खुसी लिएर। उसको पहिलो रुवाइले मेरो छाती गर्वले डम्म भरिएको थियो। उसको पहिलो स्पर्शले म धन्य भएको थिएँ। उसको पहिलो पाइलाले मलाई हजारौं माइल तय गर्ने उत्साह भरिदिएको थियो। पिता हुनुको पहिलो अनुभूति, उसले मलाई गराएकी थिई। इन्दिराले आफ्नो कोखबाट मेरो काखमा सुम्पिदिइन्। उनको काख र मेरो काँध नै आकांक्षाको पहिलो पाठशाला बन्यो। मेरो यौवन र उसको बालापन एकसाथ गुजि्रयो। थाहै नपाई एक–अर्काका परिपूरक बन्यौं हामी। ऊ हाम्रो हृदयकी मोती भई। आँखाकी पुतली भएर हुर्किई। मलाई नजिकबाट चिन्ने मेरी एउटी मात्रै मिल्ने साथी भइदिई।
आफ्नो गुजि्रएको बालपनमा नपुगेका कतिपय रहर म उसलाई पुर्याएर सन्तुष्ट हुन्थेँ। जब ऊ विद्यालयको पोसाक लगाएर तयार हुन्थी, म उसको पानीको बोतल भरिरहेको हुन्थेँ। जब ऊ साइकलका पांग्रा घुमाउने प्रयास गर्थी, म पछाडिबााट धक्का मारिरहेको हुन्थेँ। उसले कुनै कुराको माग राख्नुअघि नै उसको आवश्यकताबोध गरिसकेको हुन्थेँ। आफ्ना कतिपय अधुरा सपनासमेत मैले उसैमाथि आरोपित गरेँ। मेरी पुतली मेरा अधुरा आकांक्षा पूरा गर्ने भरोसा बनिदिई। उसले कहिल्यै गुनासो गरिन। कहिल्यै मलाई निराश तुल्याइन। आफ्ना भाइबहिनीका लागि समेत ऊ सदैव आदर्श बनिरही। हामीले उसका भाइबहिनीलाई समेत उसकै बाटोमा हिँडाउने प्रयास गर्यौं। समयको दौडसँगै ऊ मेरी सानी साथी भएर हुर्की। मैले उसका लागि तानिदिएका मर्यादाका रेखा कहिल्यै पार गरिन।
आकांक्षा! आज मैले अन्माएर पठाउनुपर्नेछ। मेरो थर र गोत्रबाट आज ऊ अर्कै थर र गोत्रकी हुनेछ। मेरो वात्सल्यको आँगन तरेर आज ऊ पराईको घर सिँगार्न जानेछे। कत्रो उत्साहपूर्वक मैले उसको विवाहको तयारी गरेको थिएँ। एक वर्षपहिले नै पढाइको सिलसिलामा अस्ट्रेलिया गएकी ऊ विवाहकै लागि आएकी थिई।
इन्दिरा पन्त र रमा दाहालजस्ता मेरा अन्तरंग साथीहरू मात्रै हैनन् मेरा अरू आफन्तहरू हिजैदेखि भनिरहेछन्, ‘छोरी अन्माउने बेलामा तिमी पक्का रुन्छौ!’ मैले जवाफ फर्काइनँ तर मन दरिलो पार्ने प्रयास गरिरहँे। आफैंसँग भनिरहेको छु– म छोरी अन्माउँदा रुने छैन। मेरा आँखा रसाउने छैनन्।
आफ्नै मनसँग मस्तिष्कको संघर्ष चलिरहेछ। घरि एउटाले जित्छ, घरि अर्कोले उछिन्छ। दुवैको तानातानमा म मूकप्रायः छु। मन भुल्याउनकै लागि पनि यताउता गर्छु। छोरीलाई आशीर्वाद दिन उपस्थित अतिथिहरूसँग कुराकानी गर्छु। कसलाई भेटिरहेछु, के बोलिरहेछु, आफैंलाई थाहा छैन। को आयो, को गयो ध्यान दिऊँ भन्दाभन्दै पनि असमर्थ हुँदै गइरहेको छु।
आँगनमा नौमती बाजा घन्किरहेछ। त्यो मेरो कानसम्म आइपुग्छ। अरू बेलाझैं त्यसको सुरमा म रमाउन सकिरहेको छैन। आकाशको मेघ गर्जनझैं मेरो मनमा पनि विचारको गर्जन चलिरहेछ।
सन्तानको विवाह, त्यसमा पनि खासगरी छोरीको; बोझका रूपमा होइन उत्सवका रूपमा लिनुपर्छ भन्ने मेरो मान्यताअनुरूप त्यही तयारी गरेको थिएँ। बाह्र–पन्ध्र सय आगन्तुकको आतिथ्य र घर तथा मण्डपको सजधजमा कुनै कन्जुस्याइँ गरेको थिइनँ। आँखालाई यताउता त्यसैमा डुलाएर मन भुल्याउन खोज्छु। खै किन किन बेचैनी कम हुँदैन।
आज महसुस भइरहेछ, छोरी अन्माएपछि पिता मणि खोसिएको नागझैं हुँदो रहेछ। फरक यति हो, म मेरो मणि राजीखुसीले सुम्पिरहेछु, सुशान्तको हातमा। उनलाई पनि मैले र आकांक्षाले लाखौंमा रोजेर मन पराएका हौं। मेरा आशामुखी नजर छिनछिनमा सुशान्तको अनुहारमा पुगेर अडिन्छन्। मेरो आहात मनको याचना सायद उनले बुझिदिनेछन्। उनका ओठमा खेलिरहेको हाँसोलाई परैबाट नियाल्छु। मनमा केही शीतलता भरिएर आउँछ। सुशान्तका आँखाको गहिराइमा म मेरी आकांक्षाको जीवन तैरिरहेको देख्छु। सायद त्यसैले उनी मेरा लागि खास भएका छन्।
वैवाहिक कार्यक्रम अघि बढिरहेको छ। मैले मेरी छोरीको हात सुशान्तको हातमा सुम्पिसकेको छु। उसले आफ्नो शिरमा सिन्दुर स्वीकार गरिसकेकी छ। हामी लगभग बिदाईको तयारीमा छौं। मण्डपमा जुत्ता लुकाउने खेल र पैसा लेनदेनको जुहारी चल्दैछ। सानी छोरी सदीक्षा एक्लै जन्तीतर्फका बीसभन्दा बढी केटाकेटीका लागि भारी छ त्यसका लागि। सायद साली–धर्म निभाउने उसको काम सुरु भयो। दुवैतर्फका आफन्त रमाइलो मानेर हेरिरहेछन्, तर त्यो रमाइलोले मलाई छोएको छैन। मेरो मनमा कुनै किसिमको भाव छैन। आँखा टिल्पिलाउन लागिसकेका छन्। तिनमा भरिएको पानी खुसीको हो या पीडाको म छुट्याउन सक्दिन। एक वर्षअघि ऊ अस्ट्रेलिया पढ्नका लागि जाँदा पनि मैले उसलाई भारी मनले बिदाई गरेको थिएँ। तर त्यो बिदाई र आजको बिदाईमा निकै फरक छ। आकाश–जमिनको फरक।
आकांक्षा हुकर्िंदै जाँदा हरेक पिताको झैं मलाई पनि जिम्मेवारीबोध भएको थियो– उसलाई कुनै दिन कन्यादान गरेर पठाउनैपर्छ। आज त्यो विशेष दिन साकार भएको छ। मनमा उसको कन्यादान गर्न पाएको खुसी जति छ, मुटुको टुक्रा निकालेर सुम्पिनुपर्दाको पीडाले अनुहारको हाँसो लुप्त भइसकेको छ। त्यही आँसु र हाँसोको दसगजामा उभिएको छु म।
भित्र कोठाको पूजा सम्पन्न हुनासाथ बिदाईको घडी पनि आइपुग्यो। इन्दिरा छोरीलाई समातेर विशेष गरी सजाएको जग्गेको परिक्रमा गर्न थालिन्। म पनि ज्वाइँको पछिपछि लागेँ। हाम्रा अघिअघि बाजा थियो जग्गे घुम्ने। सम्हालिराखेको मन फुस्किँदै–फुस्किँदै आएर आँखामा टम्म भरिएको थियो। म कसैको अनुहार नियाल्ने हिम्मत जुटाउन सकिरहेको थिइनँ, आकांक्षाको पनि। जग्गे घुम्दा अनायासै मेरी आमालाई देखेँ एकपटक ढोकैको छेउमा, तर उहाँ के सोच्दै हुनुहुन्थ्यो कल्पना गरिनँ। उहाँका मलिन अनुहारले धेरै कुरा बताइरहेका थिए। यस बेला सायद छोरी पनि जन्मघर छोड्नुपर्दाको पीडाबाट आहत थिई। ऊ निहुरिएर मण्डप घुमिरहेकी थिई। मैले चाहेर पनि उसका आँखामा नियाल्न सकिनँ। उसको धपक्क बलेको अनुहारको डिलसम्म आँसु नबगे पनि रसाएको आँखा देख्दा हजार सूर्यको तेजले एकैपटक पोलेझैं भयो मेरो मन।
मण्डप परिक्रमा सिध्याएर हामी छोरीलाई लिएर गाडीमा चढाउन गयौं। मेरा पाइताला फूलझैं हलुंगा भएका थिए। त्यसको ठिक उल्टो छाती भने बडेमाको जाँतोले थिचेझैं गह्रौं भएको थियो। मन र मस्तिष्कमा शून्यताशिवाय केही थिएन। मन चंगा थियो तर म केही सोच्न सकिरहेको थिइनँ।
छोरीलाई सिँगारिएको गाडीमा बसाएर पछि फर्केको मात्र थिएँ, मेरा सामुन्ने इन्दिरा उभिएकी थिइन्। उनको अनुहार आँधी आउन लागेको आकाशझैं कालोनीलो थियो। उनका दुवै आँखाबाट निर्बाध आँसुको खहरे बगिरहेको थियो। लाग्यो– एक पलको निम्ति उनलाई सम्हालूँ। आखिर हामी दुवैको पीडा अलग पनि त थिएन्ा। उनी पनि आफ्नो मुटुको टुक्रा अन्माउँदाको पीडाबाट आहात होलिन्। तर अहँ, मनको बाँध रोक्न खोज्दाखोज्दै पनि सकिनँ। अन्ततः फुट्यो बाँध र छुट्यो भक्कानो। त्यो भेलको गड्गडाहट डाँको बनेर बर्सियो। केही बेरअघि साथीहरूसँग नरुने भनेर गरेको वाचा पनि मलाई याद रहेन। मेरो आँगनको डिलबाट अघि बढ्न थालेको छोरीको गाडीलाई पनि फर्केर हेर्न सकिनँ। हिम्मत जुटाउनै सकिनँ मैले।
आफन्त र साथीभाइ मलाई सम्हाल्ने प्रयास गरिरहेका थिए। केही बेरपछि मन शान्त भयो। जन्ती फर्किसकेको रित्तो मण्डपलाई मैले निकै बेर हेरिरहेँ। मेरो छातीमा आँधी आएर भर्खरै थामिएको थियो। भिजेका परेलालाई बन्द गरेर म उभिएँ। एकै छिनमा मेरा आँखामा आकांक्षाको सुन्दर भविष्यको लोभलाग्दो चित्र उदायो। त्यसैको सहारामा मैले मनलाई थुम्थुम्याएँ। आखिर मणि हराएको नागझैं बनेको छु म। तर यस अर्थमा खुसी छु– उसले त्योभन्दा विशेष मणि पाएकी छे।
– ३ जेष्ठ, २०७१
(स्रोत : नागरिक – शनिबार)