~मोहन बन्जाडे~
कहिले देखिने वृष्टिछायाँ, र
कहिले नदेखिने तप्केनीमा परेर
साघुरिएको सानो फुलबारी
कहिले आफ्नो आकारको चिन्तामा हुन्छ
कहिले मालीहरुको टकरारको चिन्ताले रुन्छ
उताकाहरु एकै रंगको फूल रोप भन्छन्
अरु विरुवालाई नासिने गरी खोप भन्छन्
उताको बीउ मात्र रोप्न
अलिकति ज्याला –
हात हातै छोप भन्छन्
कहिले माली माली बीच
झगडा सल्काउँछन्
कहिले मालीहरु नै किन्न खोज्दै
भित्र भित्रै पल्काउछन्
उहिले ठूला दुखले आर्जेर
जोगाउँदै आएको सानो फूलबारी माथि
सधै जन्मजात पापी आँखा टल्काउछन् |
अनि तिनकै लालचले डसेर वा
तिनकै कुटिल चालमा फँसेर
कहिले कसैले – म त छप्काउँछु भन्छ
कहिले कुनैले – जरैदेखि चप्काउँछु भन्छ
कुनै बारबेर भत्काउन व्यस्त छ
कुनै परचक्रीसंग मिलेर –
धुलिसात पार्ने षडयन्त्रमा मस्त छ
कोही कुलो भत्काउन लागेका छन्
कोही दुलो ठूलो पार्न लागेका छन्
कोही मुखले साख्यै पार्दै
आफ्नो चुलो बाल्न पल्केका छन्
र, कोही भने
फूलबारी नै मास्न
अर्कैसंग सल्केका छन्|
कोही ऐजेरु उमार्न खोज्दै छन्
कोही पैंठे जोरी रोज्दै छन्
तैपनि जोगिदै जोगाउँदै आएको
सबै फूल अटाएको सानो फूलबारीलाई
गलत विचारका लाहीबाट –
वेइमान मालीको नक्कली वाही वाहीबाट
इमान धर्म बेच्नेको जालीको प्रकोपबाट
कुटिलहरुको प्रायोजित कोपबाट
जोगाउने हो भने
युगले हात मागेको बेला
बगैंचाले साथ मागेका बेला
मालीहरु हातेमालो गरेर आउ
कुण्ठा मन्साएर आउ
घृणा पन्छाएर आउ
अर्को पुस्तालाई सुम्पन
यो सबैको फूलबारी
भक्षकबाट रक्षा गर्न – त्रिसुल बोकेर आउ
रक्षकहरुलाई साथ दिन
हात हातमा
एक एक थुंगा फुल लिएर आउ ||