~गोविन्दप्रसाद आचार्य~
गर्भभित्र छोरी भए फाल्ने चलन मुर्दावाद
गाउँ बस्ती शहर बोल छोरी जिन्दाबाद
बोल नारी अब कोही छोरी फाल्न जाँदैनौँ
छोरी फाल्ने विष पनि हामी खाँदैनौँ
सबै जना बोल्नुपर्छ आउ ताँती लागेर
छोरी मार्ने चलनको विरोध गरेर
राम्रा चलन ल्याउनुपर्छ विगतलाई तोडेर
नारी बोक्सी भने टुप्पी गोडेर
आमा जाति मार्नु भनी भन कहाँ लेख्या छ ?
डङकिनी र बोक्सी भाको कसले देख्या छ ?
शासनले भुलाएको सुधारका नारामा
चेतनाले नछोएको छोरी मारामा
हुने खाने भन्न थाले देश मुक्त भइसक्यो
अत्याचारी सामन्तको शासन गइसक्यो
खोले खान नपाउनेले दरबारमा बसेका
खाली खुट्टा हिंड्नेहरू गाडी चढेका
क्रान्ति भा’को छैन अझै देश तातो पार्ने हो
त्यै तातोले अत्याचारको झेङ्को झार्ने हो ।।
रूप फेर्ने आन्दोलनमा नारी कहाँपछि छन्
पढी हेर इतिहासमा नारी अघि झन् ।।
उठ नारी जलाउने हो छोरी मार्ने चलन
विद्रोहमा गाउँ, बस्ती शहर उठ्न
नारी थुन्ने कोठीहरू, लोकतन्त्र बन्द गर
नारी बेच्ने झुण्डायाउनलाई उठ गाउँ शहर
दैलो पोत्छौँ गोबर फाल्छौँ देशको शासन चलाउँछौँ ।
छोरी मार्ने संसारका चलन जलाउँछौँ ।।
दाइजोसँग बिहे गर्ने जमिन्दार मुर्दावाद ।
विरोधमा बिगुल फुक्ने सारा जिन्दाबाद ।।
बोक्नु परे बोक्छौँ हामी बम बन्दुक बन्चरा ।
आयु छोटो छ है झेली धेरै नकरा ।।
मै हुँ भन्थ्यो दरबारले कर्कलो झै गलेको ।
देखेनौँ र सत्ता छाडा दरबार ढलेको ।।
दरबार झैं ढल्नु पर्ला गर्दा नारी शोषण ।
छोरी मार्न बन्द गर असतीको घर ।।
ठग्ने कानुन भयो भने हामी आगो लगाउँछौँ ।
दाइजो माग्ने संस्कारका चलन जलाउँछौँ ।।
ढाँट छलको नीति बन्यो साँचो नीति बनेन ।
अत्याचारी शासनले हाम्लाई टेरेन ।।
गर्भभित्र छोरी हेरी मार्ने यन्त्र मुर्दावाद ।
छोरी मार्ने शासनको कानुन मुर्दावाद ।।
आधा आकाश भए किन छोरीहरू मारिन्छन् ।
स्वतन्त्रता भए किन नारी थुनिन्छन् ।।
क्रान्तिबाट निखार्ने हो छोरी मार्ने चलन ।
कतिन्जेल सहने हो शोषण दमन ।।
जता पनि थिचोमिचो अति भयो सहेको ।
गर्भबाट छोरी फाल्ने चलन चलेको ।।
क्रान्ति पूरा भयो भन्छन् विदेशका दलाल ।
जनवादी गणतन्त्र हुन्छ नेपाल ।।
भन्नेहरू भन्दै गर तर आँधी रोकिन्न ।
अत्याचारी पाखण्डको शासन जोगिन्न ।।
नेपालमा ढले शासन राणा, पञ्च, राजाको ।
हुन्छ क्रान्ति आउँछ सत्ता सर्वहाराको ।।
विगतका आन्दोलनले शोषण दमन गएन ।
छोरी मार्ने चलनको अन्त्य भएन ।।
गाउँघर रित्तो पारी मलेसिया अरबमा ।
अत्याचारी रमाएका तिनकै रगतमा ।।
शोषण दमन अति भयो अराजकता जागेको
क्रान्ति गर्ने विचारबाट छैनौँ भागेको ।।
हामी सबै लाग्नुपर्छ जाग्नुपर्छ चेतना ।
समानताको संसार हो हाम्रो चाहना
अन्तरजातीय विवाहको पीडा
–हेमराज आश्रम
तीज आयो भन्छन्, सङ्गी हो ।
आफ्ना जति पराई भए, कहाँ जाने हो ।।
अर्को जातमा बिहे गरें, सङ्गी हो ।।।
समाजले बुझ्दैन, कसो गर्नी हो ।।।।
सानो ठूलो जात भनी, मान्छे मान्छे लडाउने ।
यो कुरीति हटाउन हामी किन डराउने ।।
उठ्नु पर्छ दिदीबहिनी, सङ्गी हो ।।।
यो विभेद हटाउन कम्मर कस्नी हो ।।।।
हामी झन् झन् गरिब भयौँ, हाम्रो चेतना उठेन ।
छुवाछूतको यो प्रथा, अझै गएन ।।
चुपलागी नबसौँ, सङ्गी हो ।।।
अन्धविश्वास हटाउन, अब हिंड्ने हो ।।।।
अब देश अघि गयो मान्छे सबै समान ।
जातिपाति कु–विचार अब कोही नमान ।।
रातो रगत सबैको सङ्गी हो ।।।
मान्छे आखिर मान्छे हो, सबै एउटै हो ।।।।
वर्गीय लडाई हाम्रो, होइन जातजातिको ।
देश बचाउन उठौँ अब, ए नेपाली हो ।।
सबै मिले नहुने के होला, सङ्गी हो ।।।
हामी सबै मिलेर अघि बढ्ने हो ।।।।
(अखिल नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला समितिद्वारा प्रकाशित ‘प्रगतिशील तीज गीत सङ्ग्रह–२०७१’ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३९ – Aug.27, 2014 – २०७१ भाद्र ११, बुधबार)