~मिलन ढुङ्गाना~
सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन ।
तिमीदेखी टाढा भएँ माया मार्न सकिएन ।
तिमी सम्झि ननिदाइ धेरै रात काटिसकेँ
यो मनलाइ किनकिन आफ्नै पार्न सकिएन ।
विरह र वेदनाका लप्का छातिभित्र उठ्छ
मनको राप शान्त पार्ने आँशु झार्न सकिएन ।
मेरो जस्तै तिम्रो पनि कोमल त्यो मन पोल्दोहोला
किन कुन्नी मायाको यो कुरा टार्न सकिएन ।
यस्तै यस्तै हुन्छ क्यारे दुइटा मन एउटै हुँदा
आफु बाहेक मनको पिर कतै सार्न सकिएन ।
सम्झनाको यो नाउलाइ पारी तार्न सकिएन
तिमीदेखी टाढा भएँ माया मार्न सकिएन ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)