स्रष्टा परिचय : प्रा.डा. माधवप्रसाद पोखरेल

~डिसन कार्की~

भाषाविज्ञानका अथक साधक

१. परिचय

माधवप्रसाद पोखरेल (जन्म : वि.सं. २००५) नेपाली भाषा–साहित्य क्षेत्रका सुपरिचित नाम हो । उनी मूलतः भाषावैज्ञानिक, निबन्धकार, समालोचक, अनुवादक तथा अन्वेषकका रूपमा चिनिन्छन् । ‘सादा जीवन र उच्च विचार’का हिमायती पोखरेल भाषाविज्ञानका अथक साधक, कुशल र लोकप्रिय प्राध्यापक अनि नेपाली सांस्कृतिक जगत्का मर्मज्ञ पनि हुन् । यसरी हेर्दा उनी बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्वका रूपमा साधनारत छन् ।

नेपालको पूर्वी जिल्ला सुनसरीको धरान विजयपुरमा वि.सं. २००५ मङ्सिर ७ तदनुसार २२ नोभेम्बर १९४८ सोमबार जन्मिएका पोखरेल नेपाली वाङ्मयका अथक साधक हुन् । पिता स्व. पण्डित गङ्गाधर (वि.सं.१९६४–२०४२) र माता कृष्णादेवीका माहिलो सुपुत्र पोखरेल निम्नमध्यमवर्गीय परिवारमा जन्मिए । पिताको सन्त स्वभाव र माताको कडा अनुशासनमा हुर्किएका पोखरेल सनातन हिन्दू आदर्शका पूजारी पनि हुन् । भाषा–साहित्यको उच्च अध्ययन तथा अनुसन्धानका लागि विश्वका विभिन्न मुलुक पुगेका पोखरेल सनातन हिन्दू आचारशास्त्रलाई अक्षरशः अनुसरण गर्ने शालीन व्यक्तित्वका नमुना नै हुन् भन्दा अत्युक्ति नहोला । उनको निकट रहेर कार्य गर्ने जो–कोही उनको भद्र व्यक्तित्वबाट प्रभावित र प्रेरित हुन्छ । तसर्थ नेपाली जनजीवनका सबै प्रकारका दुःखसुख र अभाव देखेभोगेर खारिएका प्रा.डा. माधवप्रसाद पोखरेल एक उदात्त आदर्श व्यक्तित्वका दुर्लभ नमुना हुन् ।

२. भाषावैज्ञानिक व्यक्तित्व

नेपाली भाषाविज्ञानका ‘मरुपिप्पल’ हुन् प्रा.डा. माधवप्रसाद पोखरेल । आर्थिक अभावका कारण आफूले चाहेको विषयहरू (पहिले विज्ञान र पछि अर्थशास्त्र) को अधुरो अध्ययन गरी छोड्न विवश प्रा.डा.पोखरेल अन्ततः नेपाली भाषावैज्ञानिक बन्न पुगेका छन् । स्व.प्रा.डा. वल्लभमणि दाहालको प्रेरणाबाट ‘सुरुमा करले पछि रहरले’ भाषाविज्ञानतर्फ लहसिएका प्रा.डा. पोखरेल अहिले नेपाली भाषाविज्ञान क्षेत्रका विशाल वृक्ष बनेर उभिएका छन् । सामान्यतः भाषाको सुख्खा मरुभूमिमा भासिन जोकोही व्यक्तिले हिम्मत गर्दैन । यदि हिम्मत गरिहाले पनि भाषाको चट्टानी भूमिछेदन गरी भाषारूपी निर्मल पानीले यो धरा हराभरा बनाउने अथक साधना र सामथ्र्य ‘मरुपिप्पल’सँग मात्र हुन्छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ कवितांशले भनेझैँ प्रा.डा. पोखरेलले जस्तोसुकै अभावलाई पनि सुन्दर अवसर मानेर भाषाविज्ञानको गहन अध्ययन–अवलोकन र अनुसन्धान गरी भाषावैज्ञानिकका रूपमा सुपरिचित हुन सफल भए । आज उनकै गुरुकुलको शीतल छहारीबाट सयौँ भाषाशास्त्रीहरू दीक्षित भई भाषिक चिन्तन, मनन र अन्वेषणमा क्रियाशील छन् । तथापि उनले भाषाका क्षेत्रमा पु¥याएको समग्र योगदानको वस्तुगत अध्ययन, अवलोकन, विश्लेषण र मूल्याङ्कन हुन बाँकी नै रहेको देखिन्छ ।

३. निबन्धकार व्यक्तित्व

प्रा.डा. माधवप्रसाद पोखरेल आत्मपरक निबन्धकार पनि हुन् । उनको निबन्धकारिता मेरो अध्ययनको मुख्य विषय हो । निबन्धकार पोखरेलका ‘मेरो मान्छे’ (२०५४), ‘नागदहको थिति’(२०५९) र ‘गार्गीको गाँठो’ (२०६२) गरी तीनओटा निबन्ध–सङ्ग्रहभित्रका करिब ९६ ओटा निबन्धहरूको मैले वि.सं. २०६५ सालमा कालक्रमिक अध्ययन गरेर उनको निबन्धकारितालाई साङ्गोपाङगो रूपमा पर्गेल्ने प्रयत्न गरेको थिएँ । तत्कालीन समयमा आदरणीय गुरुवर प्रा.डा. कुलप्रसाद कोइराला (हालःनेपाल संस्कृत विश्वविद्यालयका कुलपति) को निर्देशनमा एम.ए. नेपाली विषयको दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका निम्ति मैले प्रा.डा. पोखरेलका निबन्धहरूलाई मूलतः (१) विषयवस्तु, (२) शैलीशिल्प र (३) विचार वा उद्देश्य गरी तीन शीर्षकमा अध्ययन गरी यो शोधपत्र तयार पारेको थिएँ । उक्त तीन शीर्षकमा मैले निबन्धकार पोखरेलका निबन्धहरूको अध्ययन गरिरहँदा दोस्रो शीर्षक ः शैलीशिल्पको अध्ययन, विश्लेषण गर्न निकै सकस भएको थियो । सो सकसको मूल कारण मेरो शैलीशिल्पसम्बन्धी अधकल्चो अध्ययन नै हो भन्ने लाग्छ । उनका निबन्ध रचनाको शैलीशिल्प राम्ररी खुट्ट्याउन नसक्नुमा मेरो अध्ययनको अल्पज्ञानलाई मानेको छु । त्यसबेलै म यी निबन्धहरूको शैलीशिल्प विश्लेषण गर्दा सन्तुष्ट थिइनँ । अनि पछिल्ला अध्येताका लागि उक्त शोधपत्रको अन्त्यमा प्रा.डा. पोखरेलका बहुआयामिक विविध व्यक्तित्वहरूमध्ये सम्भावित पाँच शीर्षक उल्लेख गरेको थिएँ । तीमध्ये एउटा निबन्धकार पोखरेलको ‘निबन्धात्मक रचनाविधान’ पनि छ ।

४. स्रष्टा पोखरेलको द्रष्टा–दृष्टि

निबन्धकार पोखरेलको निबन्धकारिताको अध्ययन गर्ने सिलसिलामा मैले एउटा प्रश्नावली समेत तयार गरेको थिएँ । सो प्रश्नावली निबन्धकार माधवप्रसाद पोखरेलको जीवनवृत्त र उनका निबन्धको सरोफेरो समेट्ने गरी बनाएको थिएँ । जसमा निबन्धकार पोखरेलका निबन्धको रचनाविधानसम्बन्धी जुन सकस मलाई परेको थियो, त्यो सकसरूपी गाँठो फुकाउने एउटा प्रश्न पनि उक्त प्रश्नावलीमा समावेश गरेको थिएँ । शोधनायक पोखरेलकै हस्तलिपिमा उक्त प्रश्नावलीको लिखित जवाफ अन्तर्वार्ताका रूपमा लिएको थिएँ । त्यो मेरो प्रश्नावलीका प्रश्नहरूमध्ये निबन्धसम्बन्धी चुरो प्रश्न यस्तो थियो– ‘‘नेपाली निबन्ध परम्परामा आप्mनो स्रष्टा व्यक्तित्वलाई आप्mनो द्रष्टादृष्टिले कसरी मूल्याङ्कन गर्नु भएको छ ? स्पष्ट पारिदिनुहुन्थ्यो कि !’’

स्रष्टा पोखरेलको द्रष्टादृष्टि लिखित रूपमा यसरी अभिव्यक्त भएको थियो– ‘‘निबन्ध विधा एउटा भए पनि निबन्धकारै पिच्छे निबन्धको सामग्री, प्रस्तुति र लक्ष्यमा समानता हुँदैन । यस दृष्टिले देवकोटा, हृदयचन्द्र, कृष्णचन्द्र, लामिछाने, भैरव अर्याल, जनकलाल शर्मा, मनुजबाबु मिश्र, खगेन्द्र साङ्ग्रौला, रुद्र खरेल, कृष्ण धरावासी, विमल निभा, भाउपन्थी, जनकविक्रम राणा, जय छाङ्छा, अभि सुवेदी, गोविन्द भट्टराई, राजेन्द्र सुवेदी, मोहनराज शर्मा, चूडामणि रेग्मी, अच्छा राई ‘रसिक’ कोही पनि एकअर्कासँग मिल्दैनन् । सबैलाई चिनाउने फरकफरक अभिलक्षण छन् । अरू कसैसँग नमिल्ने मेरा निबन्धका लक्षण निम्नलिखित छन् :

(क) आफूले गरेको अध्ययनको व्यापकताबाट बटुलेका निबन्धमा कुनै पनि प्रवेश पाउन अयोग्य छैनन् ।
(ख) आप्mना अनुभव र सामान्यज्ञानका सबै सामग्रीको प्रयोग मेरा निबन्धमा छन् ।
(ग) म हरेक निबन्ध आफूलाई परेको समस्याको गाँठो फुकाउने अथवा मनोरोगको उपचार गर्ने लक्ष्य राखेर मात्र लेख्छु र निबन्ध टुङ्गेपछि समस्याको गाँठो फुकेको अनुभव गर्छु ।
(घ) मेरा हरेक निबन्धमा कम्तीमा एउटा निर्णय हुन्छ ।
(ङ) कुनै समस्या साँध्न आफूसँग भएका सबै सामल प्रयोग गरेर हरेक निबन्धमा एउटा व्यङ्ग्य अवश्य हुन्छ । त्यो व्यङ्ग्य निबन्धको भाषा सजिलो भयो भने पनि शीर्षक बनाउँदा बुनिएको हुन्छ । मेरा निबन्धको शीर्षकमै समग्र व्यङ्ग्य गुट्मुटिएर गाँठो पर्छ ।
(च) मेरो अध्ययनशील व्यक्तित्व, मेरो प्राध्यापक वा शिक्षक व्यक्तित्व, समाजलाई हेर्ने मेरो दृष्टिकोण र मैले परिकल्पना गरेको समाजवादी आदर्श अनि हास्य र व्यञ्जना मेरा कुनै पनि निबन्धबाट छुट्तैनन् ।
(छ) मेरा निबन्धहरू समाजशास्त्रीय दृष्टिले एकअर्काको पूरक हुन्छन्, त्यसैले एउटा निबन्धमा लेखिएको कुराले अर्को निबन्ध बुझ्ने टीकाको काम गर्छ । मेरा सबै निबन्धका अङ्ग–प्रत्यङ्ग जोड्दा सिङ्गो जिउ बन्छ ।
(ज) मेरा निबन्धमा म सकेसम्म धेरै नेपालीले बुझ्ने सजिलो भाषा प्रयोग गर्छु । म नेपाली बोलचालकै शब्दलाई सकेसम्म सौन्दर्य दिनुपर्छ भन्ने पक्षमा छु । त्यसैले भरसक संस्कृत शब्द पनि चलाउनु नपरे हुन्थ्यो भन्ने कोसिस गर्छु । मेरो नेपाली भाषा भरसक संस्कृतबाट पनि नबिटुलिए हुन्थ्यो भनेर म मेरा निबन्धमा भरमग्दुर प्रयत्न गर्छु ।
(झ) म मेरा निबन्धमा गणितको “ीयअगक एचष्लअष्उभिस्भ्त्रगबतष्यल या तजभ ीयअगक” का आधारमा आपूmसँग भएका तथ्य जोड्छु ।’’

यसरी निबन्धकार पोखरेलले आप्mनै निबन्धका अभिलक्षण द्रष्टा दृष्टिबाट निर्धारण गर्दा मलाई परेको सकस त्यसबेला केही सहज भएको थियो । वास्तवमा निबन्धकार पोखरेल भाषालाई मिहिन ढङ्गले खेलाउने र केलाउने भाषावैज्ञानिक हुन् । उनका निबन्ध अध्ययन गर्दा जोकोही भावकलाई यो अनुभूति हुन्छ । उनका निबन्धका शीर्षकै पनि रोचक, घोचक र कलात्मक छन् । जस्तै – लालबुझक्कड (मधुपर्क २६९ः४७–४९), ठूल्दाइ (बगर ५८ः४६–५०), गुलियो गाली (गोधूलि ९ः२६–३१), गार्गीको गाँठो (समकालीन साहित्य ४९ः४४–४७), शाकाहारीको अड्को (मधुपर्क ४२८ः१६–२०), अरौटे कम्प्युटर (उत्तराधुनिक विमर्श ५७८–५८१) आदि ।

५. अन्तमा

नेपाली निबन्ध परम्परामा आफ्नो विशिष्ट चिनारी दिन सफल प्रा.डा. पोखरेल निजात्मक निबन्धकार हुन् । विश्व साहित्यमा कान्छो तर अत्यन्त लोकप्रिय विधा निबन्ध मोन्तेन (सन् १५३३–१५९१) द्वारा प्रवर्तन गरिएको देखिन्छ । नेपाली सहित्यमा भने निजात्मक निबन्धलेखनको आरम्भ निबन्धकार लक्ष्मीप्रसाद देवकोटा (वि.सं.१९६६–२०१६)ले नै गरेका हुन् । निबन्ध विधामा कलम चलाउने प्रेरणा प्रा.डा. पोखरेलले देवकोटाकै ‘के नेपाल सानो छ ?’ बाट पाएको देखिन्छ । जसको प्रभावमा ‘आमा’ निबन्ध लेखी धरान नर्मल स्कुलको मुखपत्रमा प्रकाशित भयो । अनि भैरव अर्यालको प्रभावमा परी वि.सं.२०२६ तिर ‘चोरेको चिउरा’ निबन्ध लेखिएको देखिन्छ । यसपछि उनले देवकोटा, शंकर लामिछाने, भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान आदि सिद्धहस्त निबन्धकारहरूको कित्तामा रही निबन्ध लेखिरहेका छन् । उनको पहिलो मौलिक निबन्ध चाहिँ ‘हाम्रो संस्कृति खोइ ?’ (छाया, २०२६) हो । यसरी वि.सं. २०२६ देखि २०७४ सम्म उनले एक सतकभन्दा बढी निबन्धहरू लेखेका छन् । निबन्धकार पोखरेलका निबन्धहरूको कालक्रमिक अध्ययन गर्दा झन्झन् रोचक, घोचक र गहन बन्दै गएका छन् । उनका निबन्धलाई राम्ररी बोध गर्न चाहने भावकले कालक्रमिक अध्ययन गर्नैपर्ने हुन्छ । उनका अघिल्ला निबन्ध र पछिल्ला निबन्धबीच अन्तरसूत्र अन्योन्याश्रित रूपमा गाँसिएका हुन्छन् ।

अतः मेरा शोधनायक प्रा.डा. माधवप्रसाद पोखरेल बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन् । उनी करिब दुई दर्जनजति भाषाका ज्ञाता र अथक भाषावैज्ञानिक, कुशल समालोचक, दक्ष प्राध्यापक तथा लेखक, सफल अनुवादक, शालीन संस्कृतिविद् जस्ता अनेकन व्यक्तित्वले सुपरिचित छन् । उनी अहोरात्र भाषा–साहित्यको सेवामा तल्लीन छन् । उनका व्यक्तित्वका जुन पाटो नियाले पनि उत्तिकै सशक्त, प्रेरणाप्रद र मार्मिक लाग्दछ । उनको सरल, शालीन, आकर्षक, भद्र एवम् अध्ययनशील व्यक्तित्वको ओजले सबैलाई ‘सादा जीवन उच्च विचार’को मार्गमा हिँडाउन प्रेरणा दिइरहन्छ ।

(लेखक डिसन कार्कीले प्रा.डा. माधवप्रसाद पोखरेलको निबन्ध लेखनका सम्बन्ध गरेको शोधकार्यमा आधारित आलेख)

(स्रोत : लोकलय मासिक, ०७४ जेठ अंकबाट)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.