कविता : पोथीको हत्या

~बिमल गुरुङ~bimal-gurung

कसले हत्या गर्‍यो पोथीको?
जो बासेको थियो
दिउँसो !

आगो त्यसलाई छाड्दैन

कसले हत्या गर्‍यो पोथीको?
जो बासेको थियो
दिउँसो !
कसले कलेजो भुट्यो कराहीमा पोथीको?
मृत्यु त्यसलाई उत्तरी ध्रुबतिर लान्छ
ठण्डा पार्छ
शेष पार्छ कक्राएर ।

कसले चपायो मासु पोथीको?
बिच्छिले त्यसलाई छाड्दैन
चैन दिंदैन

कसले हत्या गर्‍यो पोथीको?
जो
बासेको थियो दिउँसो
धिक्कार छ त्यसलाई
जसले
दिउँसो पोथी बास्दा
अलच्छिन हुने हल्ला फैलायो ।

पोथीको काम
के अरुलाई उज्यालोमा ल्याउने मात्र हो?

कुन्ता दिदी !
पोथी बास्न पाउनु पर्छ, हैन त?
मौन धर्ती माता !
तिमी किन भन्दिनौ –
पोथी बास्न पाउनु पर्छ ।
पर्खालहरु चाहिरहेछन्
पोथी बास्न पाउनु पर्छ ।

कसले आज्ञापत्र जारी गर्‍यो पोथी हत्याको?

कसले हत्या गर्‍यो पोथीको?
जो
बासेको थियो दिउँसो ।

फूलका डाँठहरु सोचिरहेछन्
बासुन्,
बास्न पाउनुपर्छ
पोथीहरु दीनको ठिक बाह्र बजे
बास्न पाउनु पर्छ ।

भाले र पोथीको
समवेत स्वरले मात्र
यो अर्को भित्ता पनि ढल्न सक्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.