कथा : द्वन्द्व

~गुप्त प्रधान~

आइतबारको दिन, राधाकी आमाले झोलाभरि बजार सौदा गरेर आउँदा साथमा एक किलो मासु पनि लिएर आई। घरमा पुगेर सौदा बिसाएपछि ठूली छोरी राधालाई चिया बनाउन लगाई अनि आफू चाहिँ झोलाका सौदाहरू एक एक गर्दै थन्काउन लागी। सौदाहरू थन्काइसकेपछि त्यो मासुको पोकालाई छेउको ताकको स्टीलको थाल तानेर त्यसैमा हाली।

राधाले चिया बनाएर ल्याई। यसै बेला तल्लो घरकी जसमतिकी छ – सात वर्षकी कान्छी छोरी सीता पनि खेल्दै त्यहाँ आइपुगी। चिया पिइसकेपछि राधाकी आमाले त्यस मासुलाई कागजबाट निकाल्न लागी। तर कागज भने मासुमा ठाउँ ठाउँमा टालिएर रहेको थियो। उसले ती टालिएका कागजका टुक्राहरूलाई एक एक गर्दै सामुबाट उप्काउन लागी। यो देखेर सीता त्यहीं छेउमा टुक्रुक्क बसी अनि नाकभरिको सिँगानलाई एकापट्टिको बाहुलाले सोहोरेर पुछ्दै राधाकी आमालाई सोध्न लागी, “फुपू, यो केको मासु हो?”

“तँलाई केको जस्तो लाग्यो?”

राधाकी आमाले उल्टो सीतालाई नै सोधी।

“सुङ्गुरको होला। तपाईंहरू त सुङ्गुरको मासु पनि खानुहुन्छ, नि?” सीताको अबोधपन बोल्यो।

“सुङ्गुरको मासु? कसले भन्यो तँलाई?”

“आमाले….।” उसले सहज उत्तर दिई।

“हो, सुङ्गुरकै मासु हो। अहिले मरमसलाहरू हालेर मीठो बनाएर पकाउँछु र तँलाई पनि दिन्छु। खानुपर्छ है, ल?”

“अहँ खाँदिनँ। हामीले सुङ्गुरको मासु खानु हुँदैन।” सीताले भनी।

“कसले भन्यो तिमीहरूले सुङ्गुरको मासु खानु हुँदैन भनेर?”

“आमाले…।”

“तिमीहरूले खायौ भने के हुन्छ अरे?” फेरि राधाकी आमाले सोधी।

“आमाले भनेको, हामीले सुङ्गुरको मासु खायो भने जात जान्छ। जात गएपछि मान्छे मर्छ अरे।”

“धत्, झुटो कुरा! कहिले मान्छेको जात पनि आउने र जाने गर्छ? ढाँटको नि त्यसै बित्थामा।” फेरि राधाकी आमाले भनी।

“हो त, आमाले मात्तै होइन, बाबाले पनि भनेको।” सीताले आफ्नो भनाइलाई जोर दिँदै भनी।

“तिमीहरू नि, के केको मासु खान्छौ?”

“हामी त खसीको मात्तै खान्छौं। … फुपू, ऊ: यो ठूलो डल्लो मासु के हो?…कलेजो हो? त्यो तान्नुहोस् त, हेरूँ।”

सीताले त्यही मासुमा नजर गाड़ेर हेर्दै भनी।

“कुन, यो?” राधाकी आमाले मासुसित चेपिएर बसेको कलेजोको टुक्रालाई त्यहाँबाट निकालेर देखाउँदै सोधी।

“हो, त्यही नै।”

“हो, कलेजो नै हो। मासु किन्दा सानो टुक्रा कलेजो पनि हालिमागेकी थिएँ।”

मासुबाट कागजका सबै टुक्राहरू निकालिसकेपछि छातीमा खुकुरीको बींड़लाई अडाएर ठाडो पारी अहिले राधाकी आमा मासु काट्न लागिरहेकी थिई। यसरी काट्दै गरेको मासुबाट दृष्टि हटाएर सीतालाई हेर्दै उसले सोधी, “आज तिमीहरूको घरबाट बजार गर्नु को गयो?”

“आमा नै गा’को छ।” सीताले भनी।

“उसो भए आमाले पनि बजारबाट मासु लिएर आउँछ होला।”

“अहँ, ल्याउँदैन। अघि बिहानै आमाले भनेको – बाबा बिमार भएर काममा मगएकोले आमासित पैसा छैन अरे। अब बाबा जाती भएर काममा गएर पैसा ल्याएपछि मात्तै आमाले बजारबाट मासु किनेर ल्याउने अरे।”

“तँलाई मासु कत्तिको मनपर्छ?”

के मन आएर हो, राधाकी आमाले सोधी।

“मलाई खसीको कलेजो कस्तो मन पर्छ। घरमा आमाले मासु पकाउँदा कलेजो जति मलाई नै दिन्छ। तर बाबा बिमार भएदेखि आमाले मासु नै ल्याएको छैन।”

“कति भयो आमाले मासु नल्याएको?” राधाकी आमाले सीतालाई हेर्दै सोधी।

“कति भयो कति। एक महीना, दुइ महीमा जति भइसक्यो नि।” सीताले ठीक हिसाब लगाउन नसकेर भनी।

“उसो भए यो कलेजो पकाएर तँलाई दिन्छु, खा ल?” राधाकी आमाले भनी।

“अहँ, खान्न यस्तो सुङ्गुरको कलेजो।” सीताले विरोध जनाई।

“उसो भए के खान्छस् त?”

“केही पनि खाँदिनँ।” फेरि सीताले बाहुलाले सिंगान सोहोरेर पुछ्दै भनी।

“उसो भए यो मासु पाकेपछि हामी योसित भात खान्छौं। तंलाई चाहिँ यसको सट्टा दूधसँग भात दिन्छु, खा ल?”

राधाकी आमाले टिठ्याउँदै भनी।

“अहँ, खाँदिनँ त्यस्तो दूध र भात।… पछि बाबा जाती भएपछि आमाले नै बजारबाट खसीको मासु र कलेजो किनेर ल्याएर पकाइहाल्छ नि। तेति बेला नै खसीको कलेजोसँग भात खान्छु।…तपाईंहरूकोमा त सुङ्गुरको मासु पो पकाउने रहेछ।… होस् बरू आफ्नै घरमा जान्छु।”

अनि उ त्यस घरबाट निस्केर ओह्रालो लागी।

(जून 2011)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.