~दिलकुमारी डङ्गोल~
कामबासनाको
मानसिक रोगले ग्रस्त
ओ ! कलियुगका पुरुष
आऊ ……. !
म माथि भोग गर्न
तिम्रो इमोसन तृप्त पार्न
तयार छु म
र
हरेक हिसाबबाट
बलात्कृत हुन पनि ।
मेरो
रुप नहेरी आऊ
उमेर नसोधि आऊ
साईनो बिर्सेर आऊ
योजना तय गर्दै
मानसिक रोगी जस्तै सुस्तरी आऊ
अनि झम्ट तिमी मलाई
बाघले पठ्याङग्रीलाई पाए जस्तै गरी
कुनै पनि अवस्थामा
कुनै पनि घडीमा
जब म प्रतिकारमा चिच्याउदै
गुहार्न थाल्छु नि
आवाज दबाइदेऊ तिमीले मेरो
घाँटी थिचेर
मुखमा कपडा कोचेर
तिम्रो इमोसन तृप्त भएपछि
फालिदेऊ झाडीमा
पुरिदेऊ माटोमुनि
बगाइदेऊ खोलामा
तिमीभित्रको पुरुषत्वपनको गर्व गर्दै
अनि पुरुषार्थको बिजय मनाउँदै
त्यसपछि,
चुपचाप-चुपचाप बाघको चालमा
कुनै ठूलो रुखको छहारीमा
ओत खोज्दै आऊ
सम्बन्धहरु बढाऊ
ओभानो बन्नलाई
सायद बलात्कारी भन्न सक्ने छैन
तिमीलाई
किनभने तिम्रो सकलको अगाडि
बलत्कारी बनेर उभिसकेको हुनेछ
सोझा, गरिव, मानसिक सन्तुलन गुमाएका
यस्तै-यस्तै हामी मध्यबाट
जो कोही पनि
हो, लुटदै आऊ
यसरी नै मुकुण्डो ओढेर
आफ्ना प्यास तृप्त बनाउँदै आऊ
म जस्तैबाट
तिमी पुरुषले
यसरी हरेक पटक
बलात्कृत भएर
तिमी पुरुषको हातबाट
मार्दा र मर्दा
तिमीले बंश सोचेका त छौ ?
भोलीको लागि ……. !!